भर्खरै :

यहुदीविरोध उद्योगले पश्चिमा शासकहरूको सेवा गर्छ

यहुदीविरोध उद्योगले पश्चिमा शासकहरूको सेवा गर्छ

धेरै वर्षअघिको कुरा हो । यहुदी अमेरिकी विद्वान नर्मन फिङ्केल्स्टिनले एउटा बहुचर्चित पुस्तकले लेखे । त्यो किताबले ठुलै खैलाबैला मच्चायो । खासगरी ‘होलोकस्ट उद्योग’ ले जुन समूहको मकुन्डो उदाङ्ग्याएको थियो, तिनीहरू बेस्सरी आत्तिए । यी मानिसहरू नाजी नरसंहार होलोकस्टका प्रत्यक्ष पीडित थिएनन् । तर, तिनले दोस्रो विश्वयुद्धमा यहुदीहरूले भोगेका दुःखकष्टबाट फाइदा उठाएर नाफा कमाउने बाटो रोजेका थिए ।
यहुदी समुदायका नेताको रूपमा मानमनितो पाएका ती व्यक्तिहरूको रुचि होलोकस्टबाट ज्यान जोगाई भागेका वास्तविक पीडितलाई सघाउनुमा थिएन । अर्को होलोकस्ट रोक्नुमा पनि तिनको एकरत्ती रुचि थिएन । होलोकस्टलाई जीवनको मन्त्र बनाएका व्यक्तिले यी कुरालाई उच्च प्राथमिकतामा राख्नैपर्ने हो । यथार्थ भने अर्कै छ । होलोकस्ट उद्योगले जर्मनीजस्ता देशहरूसँग लाखौँलाख रकम क्षतिपूर्ति पनि माग्यो । तर, त्यसको एक अंश पनि वास्तविक होलोकस्ट पीडितहरूको हातमा पुगेन । यसको प्रमाण फिङ्केल्स्टिनले आफ्नो पुस्तकमा दस्ताबेजीकरण गरेका छन् ।
त्यो सानो जमातले होलोकस्टलाई आफ्नो लाभका लागि हतियार बनायो । सम्पत्ति र प्रभाव हासिल गर्न तिनीहरूले आफूले जन्माएको उद्योगलाई फैलाउँदै लगे । तिनीहरू कसैले छुन वा समात्न नसक्ने बने, आलोचनाभन्दा माथि रहे । किनभने, तिनीहरू होलोकस्टजत्तिकै ‘पवित्र’ उद्योगमा आबद्ध थिए ।
फिङ्केल्स्टिनले पुस्तकमा ‘यहुदीविरोध उद्योग’ (एन्टिसेमेटिज्म इन्डस्ट्री) लाई पुरानो उद्योगको रूपमा अनुसन्धान गरेका थिए । पुस्तकले साबित ग¥यो – ती पिशाचहरूको चासो यहुदीविरोधसँग छैन । वास्तवमा यिनीहरू डोनाल्ड ट्रम्पदेखि लिएर भिक्टर ओर्बानजस्ता पश्चिमका कट्टर यहुदीविरोधीहरूसँग कुममा कुम जोड्छन् ।
बरु तिनीहरूको चासो इजरायलमा छ । आफ्नो भावनात्मक र वित्तीय लगानी जोगाउनका लागि तिनको चासो यहुदीविरोधलाई हतियार बनाउनुमा छ । अमेरिकी राजनीतिक, कूटनीतिक र सैनिक जीवनमा इजरायललाई केन्द्रबिन्दुमा राखेर तिनीहरू अकुत नाफा कुम्ल्याउँछन् । इजरायललाई तिनीहरू निम्न कार्यमा प्रयोग गर्छन् :
१. प्यालेस्टिनी भूमि रैथाने जनताबाट खोसेर तिनीहरू इजरायललाई यामानको घरबार कारोबार केन्द्र बनाइरहेका छन् र कालो धनलाई सेतो बनाइरहेछन् ।
२. प्यालेस्टिनी जनताविरुद्ध नयाँ–नयाँ हतियार र निगरानी उपकरणहरू परीक्षण गर्न इजरायललाई प्रयोगशाला बनाइरहेछन् ।
३. तेलमा धनी मध्यपूर्वका देशलाई अरब राष्ट्रवादको झन्डामुनि एकीकृत हुनबाट रोक्न इजरायललाई डरधम्की दिने र भाँडभैलो मच्चाउने पश्चिमा ज्यावल र अत्यन्त हतियारबद्ध उपनिवेशवादी राज्य बनाइरहेका छन् ।
४. दोस्रो विश्वयुद्धपछि युद्धजन्य अत्याचार रोक्नका निमित्त कायम गरिएका वैधानिक र नैतिक सिद्धान्तलाई तहसनहस पार्ने काममा इजरायललाई अग्रमोर्चामा उभ्याउँदै छन् ।
त्यसैले, यहुदीविरोध उद्योगलाई चुनौती दिने जोसुकैले इजरायललाई चुनौती दिएको ठहरिन्छ । सार्वजनिक जीवनमा यहुदीविरोध उद्योगले गर्दै आएको यहुदी प्रतिनिधित्वको विरोधमा उभिनेहरूलाई यहुदीविरोधी अथवा आत्मघृणा गर्ने यहुदीको बिल्ला लगाइन्छ र सताउन थालिन्छ । आज अमेरिकाका मूर्धन्य यहुदी फिल्मकार जोनाथन ग्लाजेरलाई अहिले यसरी नै तारो बनाइएको छ । उनले ‘द जोडन अफ इन्ट्रेस्ट’ फिल्मबाट सर्वोत्कृष्ट निर्देशकको ओस्कर पुरस्कार हासिल गरेका थिए । फिल्ममा ओस्विज नाजी यातनागृहमा खटिएको एक नाजी कमान्डरको परिवारले नृशंस यातनाहरूप्रति आँखा चिम्लेर पर्खालै पर्खालले घेरिएको बगैँचाभित्र आरामदायी जीवन बिताइरहेको देखाइएको छ ।
ग्लाजेरले ओस्कर समारोहमा बोलेको कुराले हङ्गामा मच्चिएको विषयमा यो टिप्पणीकारले लेखिसकेको छ । पुरस्कार लिएपछि उनले यहुदीपन र होलोकस्टलाई एकलौटी बनाएकोमा निन्दा गरेका थिए । यही एकलौटी व्याख्याका आधारमा धेरै दशकसम्म इजरायलले अर्काको भूमि कब्जा गरिरहेको र लगातार नयाँ–नयाँ उत्पीडन गरेकोमा उनले खेद प्रकट गरे । अक्टोबर ७ मा हमासबाट पीडित भएका इजरायली हुन् वा बितेका पाँच महिनामा इजरायली सेनाबाट मारिएका, अङ्गभङ्ग भएका र आमाबाबु गुमाएका प्यालेस्टिनी हुन्, सबैलाई उनले यही भाष्यका सिकार बताए ।
इजरायली पर्खालभित्रको बगैँचा
‘द जोन अफ इन्ट्रेस्ट’ निर्माण गर्ने बेला फिल्मकारले इजरायलसँग तुलना गर्न खोजेका थिए वा थिएनन् भन्ने कुरा स्पष्ट छैन । तर, अन्तर्राष्ट्रिय अदालतले नै गाजाविरुद्ध इजरायलले जातिसंहार गरिरहेको बताएपछि सो फिल्मले विशेष अर्थ र सादृश्य राख्न पुगेको छ ।
गत १७ वर्षमा इजरायलीहरू पर्खालले घेरिएको बगैँचामा सानन्द बाँचे । एक पाइला पल्तिर प्यालेस्टिनीहरू खुला आकाशमुनि यातनागृहमा पिल्सिरहेका थिए । यातनागृहलाई जमिन, समुद्र र हावा जताततैबाट इजरायली सेनाले थुनेको थियो ।
प्यालेस्टिनीहरूलाई तिनको कैदखानाबाट बाहिर निस्किन अनुमति थिएन । माछा मार्नका लागि तिनका डुङ्गालाई समुद्री तटबाट एकाध माइल टाढा मात्र निस्किन दिइन्थ्यो । गाजाको आकाश सदैव ड्रोनहरू उडेको आवाजले गुञ्जायमान हुन्थ्यो । ती ड्रोनले प्यालेस्टिनीहरूमाथि निगरानी गर्थे । आज तिनै ड्रोनले बिनाकारण घातक मिसाइल फाल्दै छन् भन्दा हुन्छ ।
यातना शिविर बिस्तारै मृत्यु शिविर बन्दै छ । प्यालेस्टिनीहरूलाई तिनको कैदखानाभित्र मर्नका लागि बेवारिसे छाडिएको छ । विश्वले त्यसको पहिचान गर्न ढिलाइ गर्दै छ ।
एक दशकसम्म संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्र बसोबासका लागि अयोग्य भइरहेको चेतावनी दिइरह्यो । एउटा सानो भूभागमा २० लाखभन्दा बढी प्यालेस्टिनीहरू कोच्चिएर बस्न विवश भइरहे ।
बहुसङ्ख्यक गाजावासीहरू बेरोजगार थिए । काम पाउने कुनै सम्भावना थिएन । व्यापारको कुनै अर्थ थिएन किनभने इजरायलले व्यापार हुनै दिन्नथ्यो । यसको अर्थ अलग्गै अर्थतन्त्र थिएन । गाजा झन्डैजसो हातहातै सामान आदानप्रदानमा बाँचिरहेको थियो । गाजामा स्वच्छ खानेपानी थिएन । प्रदूषित र अतिदोहनमा परेको भूतलको विषाक्त पानी प्रयोग गर्दा गाजावासीहरू बिस्तारै थलिँदै थिए ।
इजरायलीहरूलाई पर्खालले घेरिएको बगैँचा पर के भइरहेको छ भनी जान्नुपर्ने कुनै कारण थिएन । त्यो बगैँचा सन् १९४८ मा प्यालेस्टिनी घरपरिवारबाट खोसिएको थियो । तिनै प्यालेस्टिनीहरूबाट जो पर्खालपल्तिर गाजामा गुम्सिएका थिए ।
प्यालेस्टिनीहरूको एक जमातले कारागारबाट घरमै बनाएको रकेट फालेर अलिकति गनगन गरे पनि इजरायलसँग मिसाइलप्रतिरोधी आइरन डोम प्रणाली थियो । त्यसले जुनसुकै प्रहारक रोक्न सक्थ्यो । इजरायलीहरू चुपचाप र शान्त थिए । पश्चिमा सञ्चारमाध्यमले भन्ने गरेको त्यो ‘शान्ति’ अक्टोबर ७ सम्म जारी थियो ।
ग्लाजेरले ‘द जोन अफ इन्ट्रेस्ट’ को आधुनिक संस्करण निकाल्न चाहे भने अक्टोबर ७ गते गाजाको पर्खालनजिकै इजरायली भूमिमा आयोजित नोभा सङ्गीत उत्सव गतिलो मसला हुनसक्छ । अघिल्लो रात गाजा यातनागृहको दैलोमै इजरायली युवायुवतीहरू नाचगानमा मग्नमस्त थिए । फरक यत्ति हो आजको यो ताजा कथामा अनपेक्षित मोड हुने थियो : आफ्नो ढोकापल्तिर २० लाख मानिसहरू दुस्वप्नलोकमा पिल्सिरहेको बेला स्वप्नलोकमा रमाइरहेका युवायुवतीले अक्टोबर ७ गते हमासले गाजा कैदखाना भत्काउन खोज्दा आफूलाई पनि दुस्वप्नलोकमा पाउने थिए ।


‘गलत प्रवृत्तिका यहुदी’
इजरायलबारे पश्चिमाहरूले पचाउँदै आएको भाष्यमा यहुदीविरोध उद्योगको पकड छ । ओस्कर समारोहमा त्यो पकडको भण्डाफोर गर्नु नै ग्लाजेरको अपराध बन्न गयो ।
बेलायतमा यस्ता व्यक्तिलाई यहुदीविरोध उद्योगले ‘गलत प्रवृत्तिका यहुदी’ भन्ने गर्छ । समस्त मानव जातिको दुःखसुर्ता लिने तर यहुदीहरूको दुःख नहेर्ने व्यक्तिलाई यस्तो आक्षेप लगाइन्छ । यहुदीहरूको नाममा प्यालेस्टिनी जनताविरुद्ध अपराध गर्न नमान्ने यहुदीहरूलाई ‘गलत प्रवृत्तिका यहुदी’ भनिन्छ । लेबर पार्टीका पूर्व नेता जेरेमी कोर्बिन, उनका यहुदी–गैरयहुदी समर्थकहरूलाई यहुदीविरोधीको बिल्ला लगाउँदै चरित्रहत्या गर्न रातदिन प्रेतसरि लाग्नेहरूलाई यहुदी भनिन्छ बेलायतमा ।
पुरस्कार वितरण समारोहमा पाएको दुर्लभ अवसर प्रयोग गर्दै ग्लाजेरले यहुदीविरोध उद्योगबाट माइक खोसे र पश्चिमाहरूबाट टाढा राखिएको यहुदी आवाज घन्काए । ओस्करको मञ्चलाई प्रयोग गर्दै उनले प्यालेस्टिनीहरूको पीडालाई रेखाङ्कित गरे । इजरायली र यहुदी दुःखमा जस्तै प्यालेस्टिनीहरूको दुःखमा सुर्ता लिनु उत्तिकै सामान्य कुरा हो भनी उनले जोड दिए ।
फिङ्केल्स्टिनले जस्तै ग्लाजेरले यी ‘यहुदीविरोधी बोक्सीखोजक धामी’ जर्नेलहरूलाई नङ्ग्याए । तिनीहरू वास्तवमा डरलाग्दा र झूटा वैद्य हुन्† सही अर्थमा ठग हुन् भनी ग्लाजेरले सत्य बोले ।
यहुदीविरोध उद्योगले भन्दा विपरीत ग्लाजेरसँग भन्नलाई होलोकस्ट र मानव विडम्बनाबारे निकै गहिरो र सर्वकालिक चीज छ । उनी आफ्नै मानवता, सूक्ष्मदर्शिता र सिर्जनशीलता घोटेर जीविका चलाउँछन् । आफ्नो लोकप्रियतालाई अरूलाई दास बनाउनका लागि आतङ्क फैलाउने मुङ्ग्रो बनाउँदैनन् ।
यही पृष्ठभूमिमा राखेर हामीले डेभिड शाएक्टरलाई हेर्नुपर्छ । हिजोआज मिडियामा उनको ठुलो प्रचार छ । उनी होलोकस्टपीडित फाउन्डेसन अमेरिका शाखाका प्रमुख हस्ती हुन् ।
शाएक्टर इजरायलले प्यालेस्टिनी जनताको भूमि खोसेको तथ्य अस्वीकार गर्दै आएका छन् । त्यसकारण, होलोकस्ट दोहोरिने सम्भावना टार्न स्थापना गरिएको अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको जगलाई नै अस्वीकार गर्छन् । उनी भन्छन्, “साठी लाख यहुदीहरूको तर्फबाट तिमीले बोल्न खोज्नु अशोभनीय हो । तीमध्ये १५ लाख त बालबालिकामात्र थिए । यहुदी पहिचान भएकैले मात्र तिनको हत्या गरिएको थियो ।”
निश्चय नै शाएक्टरले सबैलाई एकै डालोमा हाले । ग्लाजेरले नभई लाखौँ यहुदीहरूको तर्फबाट उनी आफैले बोल्न खोजे ।
होलोकस्टबाट बाँच्नेहरू धेरै छन् । उनीहरूले इजरायल र प्यालेस्टिनी जनताविरुद्ध उसको दुव्र्यवहारको निन्दा गरेका छन् । जस्तो फिङ्केल्स्टिनकै आमा र चर्चित भौतिकशास्त्री हायो मायर इजरायलका कठोर आलोचक थिए । मायरले नियमितजसो इजरायलले प्यालेस्टिनीहरूप्रति गरेको व्यवहारलाई आफूजस्ता यहुदीहरूप्रति नाजीहरूले गरेको व्यवहारसँग तुलना गर्थे ।
शाएक्टरले भन्दा फरक मायरले होलोकस्टपीडितको नाममा कुनै फाउन्डेसन खडा गर्ने चन्दा वा सहायता पाएनन् । उनलाई पश्चिमा मिडियाले चर्चामा ल्याएनन् । उनलाई यहुदी समुदायको प्रवक्ताको रूपमा व्यवहार गरिएन । उनको आवाजलाई कतै घन्काइएन ।
वास्तवमा कुरा उल्टो भयो । मायरले आफ्नो आवाज दबाइएको र यहुदीविरोधीको रूपमा आफूलाई बदनाम बनाएको देखे । मृत्युको भएको चार वर्षपछि सन् २०१८ मा उनकै नाम ल्याएर लेबर पार्टीभित्र यहुदीविरोधलाई मलजल गरेको आरोप त्यसका नेता कोर्बिनमाथि लगाइयो । कोर्बिनले सन् २०१० को होलोकस्ट स्मृति दिवसको समारोहमा मायरसँगै मञ्च साझा गरेका थिए । त्यसको पाँच वर्षपछि मात्र लेबर पार्टीका नेता बनेका थिए ।
यसैकारण, कोर्बिनले मायरको विचारको निन्दा गरेर होलोकस्ट पीडितसँगै उभिँदा ‘पर्न गएको चोट र चिन्ता’ का लागि माफी माग्नुपरेको थियो ।
आज जीवित रहेका भए बेलायती लेबर पार्टीको सदस्य हुनाले नै आफू प्रतिबन्धित हुनुपरेको देखेर मायर चकित हुने थिए । किनभने, पार्टी सदस्यताका लागि उनी अयोग्य हुनुको कारण भने यहुदीविरोध हुने थियो । धेरै पश्चिमेली प्रमुख राजनीतिक दल र सङ्घ सङ्गठनले जस्तै बेलायतको लेबर पार्टीले यहुदीविरोधको नयाँ परिभाषा पारित गरेको छ । इजरायलको आलोचना गर्नुलाई यहुदीप्रतिको घृणाको रूपमा परिभाषित गरिएको छ ।
मायर होलोकस्टपीडित थिए । सर्वकालिक सदाचारमा उनको आस्था थियो । आज जीवित रहेको भए आज उनलाई बेलायतका सबै प्रमुख पार्टीमा ढोकाबाटै फिर्ता पठाइने थियो । ग्लाजेर मानवतावादी यहुदी फिल्मकार हुन् । उनी प्यालेस्टिनीहरूलाई अन्य यहुदीलाई जत्तिकै ध्यान दिन्छन् । आज उनलाई मायरलाई जस्तै प्रतिष्ठित समाजबाट बहिष्कार गरिँदै छ ।
हामीले पश्चिमा शासनलाई आफूमाथि यहुदीविरोध उद्योगका यी झूटा वैध र ठगहरू थोपर्न दिएको हुनाले नै आज यो स्थिति आएको हो । यो समय आफ्नो रोबरवाफ र खल्तीमा ध्यान दिने व्यक्तिको भन्दा मानवतामा ध्यान दिने व्यक्तिको कुरा सुन्नुपर्ने समय हो ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *