भर्खरै :

के शासकहरूमा राजनीतिक चरित्र र नैतिकता हुँदैन ?

के शासकहरूमा राजनीतिक चरित्र र नैतिकता हुँदैन ?

नेपाली काङ्ग्रेससहितको पुरानो गठबन्धन हटाएर नयाँ गठबन्धनको सरकार बन्नुको कारण वैचारिकभन्दा कुर्सीको लडाइँ हो भन्दा फरक पर्दैन । आफूले चित्तबुझ्दो पद पाउञ्जेल जोसुकै दलसँग मिल्ने र नपाएपछि सरकार ढाल्ने र अर्को सरकार बनाउने खेलमा नेका र एमाले लागिरहेकोमा शङ्का छैन । आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनमा गठबन्धन दलको साझा उम्मेदवार तयार नहुनु या आ–आफ्नै दलका उम्मेदवारहरू उठाउनु यसको पछिल्लो दृष्टान्त हो । उपनिर्वाचनमा सत्तारूढ दलभित्रै सहमति जुट्न नसकेको खबरले उनीहरू पद र पैसाको निम्ति राजनीति गर्छन् भन्ने बोध हुन्छ । यसको कारण भर्खरै बनेको नयाँ सत्ता समीकरणमा भुइँचालो आउने हो कि भन्ने चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ ।
चैत १५ को अन्नपूर्णमा ‘सरकार छिटो फेरिन्छन्, प्रतिबद्धता भुलिन्छन्’ शीर्षकको समाचार छापियो । नयाँ सरकार गठन गर्दा या नयाँ समीकरणको सरकार बन्दा सबैले ढिलो चाँडो साझा कार्यक्रम ल्याउँथे । तर, ती साझा कार्यक्रमहरू लागु हुँदैन या लागु गर्न नपाउँदै अर्को सरकार फेरिन्छ । प्रतिबद्धता र वास्तविकतामा धेरै अन्तर हुन्छ । विगतमा सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि अहिलेको सरकारले गरेको प्रतिबद्धता पनि लागु गर्ला कि नगर्ला ? शङ्का गर्ने ठाउँ छ । नयाँ सत्ता समीकरण बनेकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलि लामो समय प्रधानमन्त्री बन्ने लालसा देखिन्छ । राजनीतिक विश्लेषकहरू उनलाई अवसरवादी, छिनछिनमा बोली, वचन र रङ्ग फेर्ने पदलोभी नेताको रूपमा चिन्छन् । पुराना र ठुला पार्टीबाट केही हुँदैन भनी सत्तोसराप गर्ने पार्टी पनि त्यही पार्टीको सरकारमा सामेल भएको छ ।
सरकार जतिपटक फेरे पनि या नयाँ समीकरण भए पनि सरकारले गर्ने काम पुँजीवादी व्यवस्थाकै पक्षपोषण गर्ने या त्यसलाई बलियो बनाउनु नै रहेको छ । नेका या एमालेसँग चुनावमा गठबन्धन नभए माओवादीको स्थिति एकीकृत समाजवादी भन्दा खस्नेमा शङ्का छैन । त्यही भएर माओवादीका अध्यक्ष दाहाल पार्टी जोगाउन कहिले को कहिले कोसँग मिल्छन्, गठबन्धनमा सहभागी हुन्छन् । यसैलाई अध्यक्ष दाहाल क्रमभङ्ग भएको ठान्छन् । यसैलाई अध्यक्ष दाहाल ठुलो काम गरेको भनी गर्व गर्छन् । कहिले एकले अर्कोलाई हिलो छ्याप्ने, पानी बाराबारको स्थितिमा पु¥याउने र कहिले सँगै बस्न नसक्नेसम्मको बाण छेड्ने अनि सत्ताको कुरा आएपछि घाँटी जोड्ने पनि तिनीहरूको क्रमभङ्ग नै होला । हिजो एमालेसँगको गठबन्धन बेठीक आज कसरी ठीक भयो ? वामपन्थीहरूसँगको गठबन्धन आज ठीक हिजो किन बेठीक भयो र नेकासँग घाँटी जोड्न पुग्यो ? सत्ताको सहकार्य विचार मिल्नेसित मिल्नुपर्छ भन्ने थाहा हुनेले हिजो किन विचार नमिल्ने नेका र राप्रपासित गठबन्धन भयो ? के सरकारले नेतृत्व गर्न पाएपछि शत्रु पनि मित्र, मित्र पनि शत्रु हुन्छ ? देश र पार्टी चलाउने नेताहरूको यो कस्तो चाला ?
कुनै दलसँगको सहमति तोडेर अर्को दलसँग सत्ता समीकरण गर्नु विश्वासघात गर्नु हो; बेइमानी गर्नु हो । बेइमान गर्ने विश्वासघातीहरू कसरी सच्चा र सज्जन हुन्छन् ? हो, धोका र बेइमानको पनि हद हुन्छ । हरेक पटकको धोका र बेइमानीलाई क्रमभङ्ग भन्दै गर्व गर्ने शासकहरूमा के राजनीतिक चरित्र र नैतिकता हुँदैन ? पार्टीभित्रको धोका, एउटा पार्टीले अर्को पार्टीलाई धोका, गठबन्धनभित्रका दलहरूबिचको धोका नेपाली जनताले कहिलेसम्म हेरिरहने ? कहिलेसम्म सहिरहने ? के नेपाली जनताले शासकहरूको दुर्दशामात्र हेरेर बस्ने ? शासकहरूमा इज्जत र नैतिकता हुँदैन ? उनीहरू देशलाई आघात पार्ने काम गर्न किन तम्सिन्छन् ? सत्ताको वरिपरि रहेर उनीहरू रजाइँ गर्न मात्र जान्दछन् कि देशको विकास उचाइमा पु¥याएर जनताको जीवनस्तर उठाउन पनि जान्दछन् ? प्रगतिको उचाइमा पुग्नुपर्ने देश किन दुर्गतिमा झरिरहेको छ ? यसबारे सत्तासीन दलका नेताहरूले चिन्तनमनन गर्नुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *