भर्खरै :

क्युवाबारे तीन झूट

क्युवाबारे तीन झूट

कर्पोरेट मिडियाहरूमा आज क्युवा र त्यहाँको क्रान्तिमाथि हमला गरेर तीनवटा कथाको खुब प्रचार गरिन्छ । लोडसेडिङ र खाद्यान्न कमीलाई लिएर सान्टियागो सहरमा प्रदर्शन भएपछि संरा अमेरिकाको बाइडेन सरकारले क्युवामा सङ्कट चर्किने आशा लिएको छ । तर, क्युवाको कठोर जीवनचर्याको वास्तविक कारक अमेरिकी सरकार आफै हो ।
यो साम्राज्यवादको चिरपरिचित चाल हो । सन् १९७३ मा अमेरिकी गुप्तचर निकाय सीआईएले चिलीमा सत्ताविद्रोह गरायो र निर्वाचित राष्ट्रपति साल्भाडोर एयेन्डेलाई सत्ताच्युत ग¥यो । अमेरिकाको निक्सन सरकार चिलीको ‘अर्थतन्त्रलाई रन्थन्याउन’ चाहन्थ्यो । त्यसपछि चिली सरकारले जनताको विश्वास गुमाउने उसले आश लिएको थियो । तर, क्युवा फर्केर पुनः वासिङटन र वालस्ट्रीटको उपनिवेश बन्न आवश्यक छैन । बरु, क्युवा बाइडेनको नाकाबन्दी अन्त्य भएको देख्न चाहन्छ !
झूट नम्बर १ : विद्युत् र खाद्यान्न अभाव क्युवा सरकारको बिफलताको परिणाम हो ।
सत्य : ६० वर्षदेखि अमेरिकी सरकारले बाँकी विश्वबाट अलग्याएर क्युवाली अर्थतन्त्रको घाँटी थिच्दै आएको छ । अमेरिकी कम्पनी वा व्यक्तिहरूलाई क्युवासँग व्यापार गर्न अनुमति दिइन्न । नाकाबन्दीको अर्थ यत्ति होइन । विश्वका कुनै पनि देशका व्यक्ति वा संस्थाले क्युवासँग व्यापार गरेको खण्डमा ती व्यक्ति वा संस्थालाई संरा अमेरिकामा व्यापार गर्नमा रोक लगाइन्छ । यो नाकाबन्दीका कारण क्युवाले दैनिक डेढ करोड डलर गुमाउँदै आएको छ ।
क्युवालाई इन्धन आयात गर्नमा रोक लगाइएको छ । त्यही भएर बेलाबेला विद्युत्गृह बन्द गर्नुपर्ने हुन्छ । साथै, क्युवालाई बाहिरबाट मेसिनका पार्टपुर्जा किन्न दिइन्न । त्यसैले यी विद्युत्गृहको कुनै हिस्सा भाँच्चियो भने त्यसको मर्मतसम्भार असम्भव हुन जान्छ । आधुनिक कृषि मेसिनमा पनि त्यही समस्या छ । जलवायु परिवर्तनका कारण आँधीबेहरी झन्झन् जोडदार बन्दै छ । यसले क्युवाको अन्नबालीमा ठुलो क्षति पुग्दै छ । नाकाबन्दीका कारण बाहिरबाट अन्न ल्याउन पनि मिल्दैन ।
झूट २ : जनतालाई दबाउन क्युवा सरकारले हिंसाको प्रयोग गर्छ ।
सत्य : बियाट्रिज जोन्सन उरुसिया कम्युनिस्ट पार्टी सान्टियागो शाखाका नेता हुन् । प्रदर्शनकारीहरूको पीडा सुन्न नसकेर उनी आफँै आन्दोलनमा पुगेका थिए । क्युवाली राष्ट्रपति मिगुएल डायज–कानलले प्रदर्शनकारीहरूलाई भन्नुभयो, “नाकाबन्दी निसास्सिँदो छ, तैपनि हामीले हाम्रा जनताको माग पूरा गर्न, तिनका कुरा सुन्न, तिनीहरूसँग संवाद गर्न र परिस्थिति सुधार्न गरिएका प्रयासहरूबारे बताउन छोड्नेछैनौँ ।” सरकारका अगुवाहरूले परिस्थितिको फाइदा उठाउँदै बाह्य शक्तिहरूलाई हिंसा भड्काउन दिन नहुने विषयमा आन्दोलनकारीहरूलाई सचेत पारेका छन् ।
यसलाई अमेरिकी सरकारका गतिविधिसँग तुलना गरौँ । सन् २०२० मा अमेरिकामा जातिवादविरुद्ध लाखौँ जनता सडकमा आए । त्यसबेला के राष्ट्रपति डोनाल्ड ट्रम्प जनताको समस्या सुन्न सडकमा पुगे ? पुगेनन् ! बरु आन्दोलनकारीहरूलाई दबाउन उनले सेना र प्रहरीलाई आदेश दिए । यही हो हुनेखाने धनाढ्यहरूको सेवा गर्ने पुँजीवादी सरकार र जनताको सेवा गर्ने समाजवादी सरकारबिचको भिन्नता ।
झूट ३ : राष्ट्रपति बाइडेनलाई क्युवाली जनताको ‘प्रजातन्त्र’ र ‘मानवअधिकार’ को चिन्ता छ ।
सत्य : अमेरिकी नाकाबन्दी हटाएर बाइडेनले क्युवाली जनतालाई सास फेर्न दिन सक्छन्; बाँच्न दिन सक्छन् । तर, उनी क्युवाली जनताको कठोर जीवनचर्याको पक्षमा छन् । तबमात्र अमेरिकी सरकारले क्युवाली क्रान्तिको घाँटी निमोठ्न सक्छ । अलिकति पनि दया भए बाइडेनले क्युवालाई अनर्थकारी राज्यनियोजित आतङ्कको सूचीबाट तुरुन्तै हटाउन सक्छन् र ट्रम्पले क्युवामाथि थोपरेको थप २४३ प्रतिबन्धहरू फुकुवा गर्न सक्छन् । तर, उनलाई क्युवाली जनताको स्वाभिमानपूर्वक बाँच्ने अधिकारमा रत्तिभर रुचि छैन ।
क्युवाली जनताले आफ्नो नेता आफैँ निर्वाचित गर्छन् र राज्यको निर्णय प्रक्रियामा भाग लिन्छन् । यहाँ प्रजातन्त्र वा लोकतन्त्रको कुरा छैन । त्यहाँको सरकारले वासिङ्टनप्रति बफादार छ कि छैन भन्ने कुरामा अमेरिकाको चासो छ । साउदी अरबमा राजाको तानाशाही छ । तर, त्यो सत्तामा बाइडेनका राम्रा साथीहरू छन् । बाइडेनलाई साँच्चै उत्प्रेरित गरेको एउटा कुत्सित आकाङ्क्षाले हो । उनी क्युवालाई क्रान्तिअघिको जस्तै अमेरिकी कर्पोरेसनहरूले जबरजस्ती उपनिवेश बनाएको हेर्न चाहन्छन् । तर, जनताले मात्र बाइडेनलाई यो दुष्कर्म गर्नबाट रोक्न सक्छन् !
(एमआर अनलाइनबाट ।)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *