भर्खरै :

दूरदर्शी शासकहरूको अभावले देश भताभुङ्ग

दूरदर्शी शासकहरूको अभावले देश भताभुङ्ग

काठमाडौँ, २० चैत । विगतदेखि हालसम्म शासकहरूले बहुमत जनताको पक्षमा ऐन कानुन बनाएनन् र काम गरेनन् । यो यथार्थ हो । जनताको विश्वास जित्न नसकेकै कारण कुनै दलले बहुमत प्राप्त गर्न नसकेको हो । परिणामतः देशमा लामो समयदेखि मिलिजुली या संयुक्त सरकार बनिरहेको हो । भागबन्डाको आधारमा संयुक्त सरकार बनेको हुँदा गठबन्धन सरकार पनि लामो समयसम्म टिक्न सकेन र छिनछिनमा सरकार हेरफेर भइरहेको हो । सरकार गठन गर्दा या गठबन्धनको सरकार बन्दा पूर्ण कार्यकाल चल्ने उद्घोष हुन्छ । तर, सरकारको नेतृत्व या मन्त्रीको कारण या भागबन्डामा नमिलेपछि या आफूले भनेबमोजिम नभएपछि गठबन्धन दलका नेताहरूबिच विवाद सुरु हुन्छ । विवाद चरमोत्कर्षमा पुगेपछि गठबन्धन हेरफेर हुन्छ । गठबन्धन सरकार अस्थिर हुनुको कारण पनि त्यही हो । सत्ता बाँडफाँटको लागि बन्ने सरकारको राष्ट्रिय चरित्र हुँदैन, देशलाई कहाँ पु¥याउने भन्ने मार्ग निर्देश हुँदैन । अनि ती शासक दलका नेताहरू आफ्नो दायित्व भुल्छन्, गैरजिम्मेवार र अनुत्तरदायी बन्छन् । सत्तारुढ दलका नेताहरूमा कहीं कतै ठाकठुक भयो या चित्त बुझेन भने प्रमले आफूसँग भएको बन्दुक पड्काउँछन् र सरकार हेरफेर हुन्छ ।
देशमा लामो समयदेखि गठबन्धनको सरकार बनिरहेको छ । गठबन्धनको सरकार अस्थिर बनिरहेको छ । गठबन्धन सरकारमा सामेल दलका नेताहरूले एकले अर्कोलाई धोका दिएको, साथ नदिएको र प्रतिबद्धता तोडेको बताइरहेका छन् । शासक दलका नेताहरू आ–आफ्नो दलको सिद्धान्त र विचार छोडेर भागबन्डामा अल्झेर सत्तामुखी राजनीति गरिरहेको आधारमा कुनै लेखक, बुद्धिजीवीले नेपालमा कुनै पनि राजनीतिक दल विचारको आधारमा इमानदार छैनन् भन्नु सही हुँदैन । कुनै दलका नेताले धोका दियो, साथ दिएन, जिद्दी गरे भनेर सबै राजनीतिक दललाई उही दृष्टिले हेर्नु मनासिब हुँदैन । यो उनीहरूको दृष्टिदोष हो । सबै दलहरू इमानदार छैनन् भनिरहँदा सिद्धान्त र विचारको आधारमा इमानदारीपूर्वक देश र जनताको पक्षमा सङ्घर्षरत दलका नेताहरूमा कस्तो असर पर्ला ? नेताहरूले ती लेखक र बुद्धिजीवीहरूलाई कुन दृष्टिले हेर्लान् ?
ठुला दलका नेताहरू अरुको सरकार ढाल्न पाएपछि दङ्ग पर्छन् र ठुलै कार्य गरेको ठान्छन् । सरकार परिवर्तन भएपछि केन्द्रमा मात्र होइन प्रदेशसभाको सरकारमा पनि हेरफेर हुन्छ । अन्य विभिन्न पदमा आफ्नो मान्छे घुसाउन पाइन्छ । राज्यबाट धेरै सुविधा र सेवा पाउने भएकोले पनि सत्ता ढाल्ने र नयाँ सरकार बनाउने ठुला दलका नेताहरू अनेक चलखेल गरिरहन्छन् । सरकारका नेताहरू सिद्धान्त र विचारको आधारमा नचलेको कारण यो समस्या बारम्बार देखिरहेको हो । शासकहरू देश र जनताप्रति समर्पित भएनन्, जिम्मेवार बनेनन् । देश र दल चलाउने नेताहरूमै राजनीतिक चरित्र र संस्कार भएन भने देश कसरी अघि बढ्छ ? दूरदर्शी शासकहरूको अभावले देश भताभुङ्ग हुँदै छ । राम्रो, असलभन्दा नराम्रो र खराब काम बढेको छ । बेथिति बढेको छ । सर्वसाधारण जनता त के स्वयं शासक दलका नेता, कार्यकर्ताहरू नै आफ्नो सरकारप्रति सन्तुष्ट छैनन् । यसकारण, शासकहरू इमानदार हुनुपर्छ, देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । सरकार बहुमत जनताको सेवामा जुट्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *