भर्खरै :

कोल्ड ड्रिङ्क्सको कुलत

कोल्ड ड्रिङ्क्सको कुलत

आधुनिकताको नाममा धेरै मानिसहरू स्वस्थकर तथा पोषिलो दही, मोहीको सट्टामा बजारको हानिकारक पेयपदार्थ पिउने गर्छन् । ग्रामीण क्षेत्रमा समेत दूध, दहीजस्ता पोषिलो पेयपदार्थ बेचेर विभिन्न ब्रान्डका पेयपदार्थ पिउँछन् । यस्ता पेयपदार्थले मोही, सर्वतलाई नै विस्थापित गर्दै गएका छन् ।
अति गुलियो र रसायन मिसिएका पेयपदार्थले दाँत, पेट, हाडजोर्नीलगायत शरीरका अन्य अङ्गहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराउँछ । यस्ता पेय पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगको शिकार भइन्छ ।
समाजका ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर कोल्ड ड्रिङ्क्सको कुलतमा परेका छन् । यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ । बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ ।
पेयपदार्थ पिउने बानीले नशाकैजस्तो अम्मल लाग्छ ।
एक कोल्ड डिङ्क्सको अध्ययन गर्दा त्यसमा क्यान्सर पैदा गर्ने तत्व मापदण्डभन्दा निकै बढी भएको पाइएको तथ्य थियो । द सेन्टर फर इन्भायरमेन्ट हेल्थले सो पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो ।
सन् १९६९ मा जाम्बियामा एउटा ठुलै घटना भयो । त्यहाँका थुप्रै आमाहरूले कोल्ड ड्रिङ्क्स उत्तम ठानेर बालबालिकालाई बजारका प्रचलित कोल्ड ड्रिङ्क्सहरू खुवाए । आमाको दूधको सट्टा कोल्ड ड्रिङ्क्स खाने धेरै बालबालिका कुपोषणका कारण अस्पताल भर्ना हुन पुगे । अस्पताल भर्ना भएकामध्ये ५४ प्रतिशत बालबालिकालाई चिसो पेयपदार्थ खुवाइएको पत्ता लागेको थियो । त्यसरी कुपोषित भएका बालबालिकालाई फान्टा बेबी नामकरण गरिएको थियो ।
अमेरिकन डायबेटिक एशोसिएसन र अमेरिकन हार्ट एशोसिएसन दुवैले चिनी भएको कोल्ड ड्रिङ्क्सको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायबिटिज एसोसिएसनले डायविटिज भए चिनीबिनाको चिया, कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ ।

कोल्ड ड्रिङ्क्समा हुने हानिकारक तत्वहरू
चिसो पेय भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरू आउने ग्यासहरू राखिएको पानी हो । चिसो पेय बढी पिउनेको पिसाबबाट बढी मात्रामा खनिज तत्वहरू जानसक्छ । शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यती नै बढी हाड फुसफुसे भई कमजोर हुने, हड्डी बाथ सुजन हुने, थाइराइड ग्रन्थिको कमजोरी हुने, मुटुको धमनीका रोगहरू हुने, उच्च रक्तचाप र जस्ता स्वास्थ्य समस्याको जोखिम सामना गर्नुपर्ने हुन्छ ।

क्याफिन
क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रूपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगति बढाउँछ । उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको र थकाइ मेटिएको अनुभव हुन्छ । तर यो क्षणिक हुन्छ ।
शारीरिक कसरतपछि चिसो पेयपदार्थ पिउँदा शरीरमा क्यालसियम र पोटासियमको कमी हुन्छ । जसका कारण मांशपेसीहरू सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्छ ।
चिसो पेयपदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् ।

चिनी
चिनी सबै चिसो पेयहरूमा पाइने एक प्रमुख तत्व हो । यसमा धेरैमात्रामा फ्रक्टोज वर्गको चिनी वा त्यस्तै विभिन्न स्वादहरू मिश्रित तरल पदार्थहरू राखिएको हुन्छ । अधिकांश चिसो पेयमा ४ देखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । एक चिया चम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्छ । १५ चम्चा चिनीमा २ सय ४० क्यालोरी अर्थात ५ चम्चा नौनी खाए बराबरको क्यालोरी उत्पन्न हुन्छ । बढी क्यालोरीयुक्त खाद्य वस्तुले शरीरको तौल वृद्धि गर्छ ।
विश्व स्वास्थ्य सङ्घले प्रकाशन गरेको एक बुलेटिन अनुसार अहिले चिनी मिसाइएका पेयपदार्थको उपभोग विश्वमा नै बढिरहेको छ । अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरू जस्तोः टाइप २ डायबिटिज र अधिक मोटोपनको वृद्धिको एउटा मुख्य कारक तत्व पेयपदार्थ भएको पाइएको छ ।

कृत्रिम बास्ना
चिसो पेयबाट आउने बास्नाहरू सबै कृत्रिम हुन्छन् । टारटजिन नामक रङ्गले सुन्तले पहेँलो रङ्ग दिन्छ । यसलाई क्यान्सरको सम्भावित कारक पनि मानिएको छ ।
धेरैजसो चिसो पेयहरूमा सोडियम पनि हुन्छ । डाइट सोडामा सोडियमको परिमाण ज्यादा हुन्छ । १८० मिलि डाइट सोडामा ३१ मिलीग्राम सोडियमको परिमाण भेटिएको छ । सोडियम बढी हुँदा शरीरमा अनेक प्रकारका स्वास्थ्य समस्या हुन्छन् ।

दुःखद दृश्य
सरकारी र निजी अस्पतालका क्यान्टिनमा प्याकेट बन्द पत्रु खाना, केक, चिसो पेय पदार्थ धमाधम बेचिन्छन् ।
मानिसहरू मुटु र मिर्गौला खराब पार्ने तिनै वस्तु धमाधम खाइरहेका हुन्छन्, अस्पतालभित्र परिवारका कुनै सदस्यको मुटु वा मिर्गौलाको उपचार चलिरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *