पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
भविष्य सदा विष्मयकारी हुन्छ । तैपनि, हामी आफ्नै अड्कलको आधारमा योजना बनाउँछौँ । कही कमीकमजोरी भए त्यसलाई हामी पछि सच्याउँछौँ । अड्कल काट्दै गर्दा कमीकमजोरी हुने सम्भावनालाई पनि हामी ध्यान दिन्छौँ । बिरामी परिएला अथवा कुनै भइपरी आउला र योजना तुहिएला भन्ने कुरालाई उति वास्ता गर्दैनौँ । यही कुरालाई आधार मानेर मैले गाजा, इजरायल र बाँकी विश्वसँग तिनको सम्बन्धलाई लिएर केही अड्कलबाजी गर्दै छु । तस्बिर उति उज्यालो नहोला । यसमा म अगाडि नै माफी माग्न चाहन्छु ।
पहिलो, दुःख र खेदका साथ भन्नुपर्छ, गाजामा बचेखुचेका प्यालेस्टिनी जनतालाई कि त मारिन्छ कि त खेदिन्छ । अधिकांशलाई खेदिनेछ । हामीले जेजति गरे पनि यति त हुने नै छ ।
हालै एरोन डेभिड मिलरले यसको मुख्य कारण खुलाएका छन् । प्यालेस्टिनी सर्वसाधारणमाथि भयावह चोट नपु¥याई इजरालयको पक्षमा समाधान दिने वैकल्पिक बाटो जो बाइडेनसँग छैन भनी मिलरले बताए ।
अझै खुलाएर भन्ने हो भने यो दोस्रो विश्वयुद्धपछिकै ठुलो जातिसंहार हो । बाइडेन सरकारले सोचेको साँचो चित्र यही हो भने संरा अमेरिकाले इजरायललाई सैन्य सामग्री दिन जारी राख्नेछ भन्नेमा शङ्का गर्नुपर्दैन । यी सामग्री निश्चय नै गाजाका जनतालाई सखाप पार्न प्रयोग हुनेछन् । इजरायललाई सैन्य सामग्री दिन्न भन्ने विकल्प जो बाइडेन र उनको सोचबाहिरको कुरा हो । यो विकल्पको अर्थ राष्ट्रपति कार्यालयको आरामदायी र प्रतिष्ठित जीवन त्याग्नु बराबर हुन्छ ।
जो बाइडेन ड्वाइट आइजनहावर होइनन् । जोन केनेडी त परको कुरा भयो उनी रिचर्ड निक्सन र जिमी कार्टरधरी होइनन् ।
अहिले अमेरिकामा कसैसँग प्रतिवाद गर्ने ह्याउ र हिम्मत भएका राष्ट्रपति छैनन् । कम्तीमा अमेरिकामा सक्रिय यहुदीवादी लबी वा दबाब समूहलाई बाइडेन नाइँ भन्न सक्दैनन् । भविष्यमा पनि ह्वाइट हाउसमा यस्तो व्यक्ति आउला भनी कल्पना गर्ने आधार हामीसँग छैन ।
डोनाल्ड ट्रम्पले त्यसो भन्लान् र ? बाइडेनलाई भन्दा ट्रम्पलाई इजरायल गुटको खाँचो छ । इजरायल लबी ट्रम्पसँग खुसी नभएको भए धेरै अघि नै त्यसले ट्रम्पको उम्मेदवारी खारेज गराइसक्थ्यो । बाइडेन र ट्रम्पको नैतिकस्तर नेतन्याहुको भन्दा माथि फरक छैन । अब अर्को अड्कलमा जाऔँ ।
के युद्धविराम होला ? म यो सम्भावना देख्दिन ।
नोभेम्बरमा एक सातालाई युद्धविराम भयो किनभने दुवै पक्षले रणनीतिक हिसाबले धेरै गुमाएका थिएनन् । बरु राजनीतिकरूपले दुवै पक्ष लाभान्वित भए । यसखाले लेनदेनको सम्भावना अहिले छैन । हमासले सबै बन्धन छोड्यो भने ऊसँग साटफेर गर्नका लागि केही बाँकी रहनेछैन । त्यसकारण, हमासले तीन चरणमा सम्झौता गर्न चाहेको हो । अन्तिम चरणमा ऊ आत्मरक्षाको अधिकारसहितको स्वाधीन प्यालेस्टिनी राज्य चाहन्छ । साथै ऊ नयाँ राज्यको सुरक्षा र स्वाधीनताको बहुपक्षीय ग्यारेन्टी पनि चाहन्छ ।
यसमध्ये कुनै पनि प्रस्ताव इजरायललाई मान्य छैन । उसले यो कुरा खुलेर भनेको पनि छ । इजरायली शासकहरू ‘कब्जा गरिएको भूभाग’ लाई ‘ग्रेटर इजरायल’ भन्दै छन् । उनीहरू ती भूभागमा यहुदीवादी सोचका यहुदीले आवाद गरिनसकेको ठान्छन् । ‘ग्रेटर इजरायल’ मा गैरयहुदीहरू बसिरहेको कुरा उनीहरू कदापि देख्न चाहन्नन् । नयाँ भूभागमा यहुदीवादी सोचका यहुदीहरूलाई बसाली उनीहरू औपचारिक सीमा बढाउने ताकमा छन् । पछि उनीहरूले त्यो काम पनि गर्नेछन् । अहिलेलाई उनीहरूले गाजालाई खाली गर्ने कामलाई प्राथमिकतामा राखेका छन् । जहाँसम्म दुई राज्य समाधानको कुरा छ, इजरायलले यो समाधानलाई वार्ताको टेबलमा बस्ने, सम्झौतालाई सकेसम्म पर धकेल्ने र सम्झौता नहुनुको दोषजति प्यालेस्टिनीहरूमाथि थोपर्ने चालको रूपमा प्रयोग गर्दै आएको छ । अब यो ‘समाधान’ उनीहरूको सोचबाहिर गइसकेको छ ।
इजरायली जातिसंहार टुङ्गिएपछि परिणाम कस्तो देखिएला ? पहिलो, कम्तीमा २० लाख प्यालेस्टिनीहरू गाजामा रहनेछैनन् । माथि भनेजस्तै ती सबै कि त मारिनेछन् कि गाजाबाट लघारिनेछन् । मारिएका बालबालिकाभन्दा टुहुराटुहरीको सङ्ख्या थोरै हुनेछ । बाँचेका टुहुराटुहुरीलाई धर्मसन्तान बनाउनलाई जहाजमा राखेर पश्चिमा देशहरूमा ओसारिनेछ । यसरी तिनलाई आफ्नै नाम र सांस्कृतिक सम्पदाबाट वञ्चित गरिनेछ । तर, म निर्धक्क के भन्न सक्छु भने तिनले मायालु अभिभावक पाउनेछन् र तिनीहरू पश्चिमा नागरिकको रूपमा अनुकूलित हुनेछन् ।
जहाँसम्म इजरायलको कुरा छ, अक्टोबर ७ पछि उसको संसार बदलिएको छ । पहिलो, उसले आफ्ना उदार जनताको साथ गुमाउँदै छ र गुमाइरहनेछ । वर्षौँअघि यो क्रम सुरु भएको हो । तर, २०२३ अक्टोबर ७ यता इजरायलको जनसङ्ख्या झन्डै १० प्रतिशतले घटेको छ । प्यालेस्टिनमा पनि यति नै प्रतिशत मानिस घटेको छ । तर, उनीहरू स्वेच्छाले नभई जातिसंहारका कारण घटेका (वा मारिएका) हुन् ।
इजरायल छोड्नेहरूमा जातिसंहारक सोच भएका कट्टरपन्थीहरू छैनन् । बरु परम्परागत यहुदी मूल्यमान्यतामा विश्वास राख्ने अथवा ती मूल्यमान्यतालाई अन्धकारको स्रोत नमान्ने व्यक्तिहरूले नै इजरायल छोड्दै छन् । तिनले यहुदीवादी लक्ष्य परित्याग गरेका छन् । अर्काको भूमि हडप्ने यहुदीवादी लक्ष्य लत्याउनेमा तिनीहरू एक्ला भने छैनन् । संरा अमेरिका र अन्य पश्चिमा देशमा बसोबास गरिरहेका धेरै यहुदीहरूको यहुदीवादी लक्ष्यप्रति मोहभङ्ग भएको छ† कसैको स्वाभिमानलाई सम्मान गर्ने लालसा जागेको छ ।
यसको अर्थ अब इजरायल पहिलेभन्दा बढी एक्लो हुनेछ । पहिले इजरायलको पक्ष लिने संसारभरिका यहुदी र गैरयहुदी समुदायले उसलाई समर्थन गर्नेछैनन् । जातिसंहारजस्तो ‘सानो घटना’ ले मित्रहरू शत्रुमा फेरिनेछन् ! मलाई लाग्छ, विश्वभरि इजरायली मालसामान, सङ्घसंस्था र संस्कृतिलाई सबैले घृणा गर्न थाल्नेछन् । अमेरिकामा टेलिभिजन कार्यक्रमहरूमा विजयी भएको खण्डमा पुरस्कारस्वरूप इजरायल घुमाउन जाने चलन छ । यसमा बिराम लाग्नेछ ।
इजरायलले गाजा कब्जा गर्नेछ । यसमा मलाई एकरत्ति शङ्का छैन । मलाई लाग्छ, घरजग्गा कारोबारी र ठेकेदारहरूले गाजावासीहरूको चिहान र भग्नावशेषमाथि समुद्री तटमा लहरै यहुदीवादी स्वप्नटोलहरूको निर्माण गर्नेछन् । तर, त्यहाँ बस्नको लागि तिनीहरूले सोचेजस्तो सङ्ख्यामा विदेशी आप्रवासीहरू ओइरिनेछैनन् । इजरायलको भविष्य नै छ भने पनि भावी इजरायल यहुदीवादी बहिष्कार–पथको हिंस्रक किल्ला बन्नेछ । आज संरा अमेरिकालगायत विश्वका विभिन्न मुलुकलाई प्रयोग गरी इजरायलले त्यहाँको स्रोतसाधनलाई आफ्नो लागि प्रयोग गर्दै छ । यसको लागि उसले विश्व यहुदीवादी सञ्जाल र त्यसको लाभबाट हिस्सा लिएर मोटाउने साझेदार सङ्घसंस्थालाई उपयोग गर्छ । भोलिको दृश्यमा इजरायललाई बिस्तारै खुम्चिँदो अवस्थामा रहेका यिनै संस्थाको मात्र साथ रहनेछ ।
अब तपाईँ आफैँ सोच्नुस् के यसलाई सफलताको सूत्र भन्न सकिएला ?
स्रोत : ‘ग्लोबल रिसर्च’ बाट
अनुवाद : सम्यक
Leave a Reply