भर्खरै :

घोडेजात्राको संस्कृति

घोडेजात्राको संस्कृति

वसन्तु ऋतुको आगमनसँगै काठमाडौँको टुँडीखेलमा मनाइने उल्लासमय पर्वको रूपमा घोडेजात्रालाई लिने गरिन्छ । यसपालिको घोडेजात्रा चैत २६ गते परेको छ ।
नेपाली सेनाले घोडाहरूलई उचित लालनपालन गरेर प्रशिक्षण दिने गर्छ र यो चाडमा तिनीहरूको कला–कौशल कुशलतापूर्वक प्रदर्शन गरिन्छ । प्रतियोगी टीमहरू पुरस्कारको भागीदारी हुन्छन् । यो विशेषखालको परम्परागत राष्ट्रिय पर्व हो । घोडेजात्रा सांस्कृतिक पर्वको रूपमा मनाउनुमा केही जनमानसमा प्रचलित जनश्रुतिहरू छन् । जुन देहायअनुसार छन् :
जनश्रुति १
राणाकालमा प्रधानमन्त्री जुद्धशमशेर विदेश भ्रमण गर्ने क्रममा उनले घोडादौड देखेछन् । उनी नेपाल फर्केपछि लाजगालले पनि नेपालमा घोडा दौड संस्कृतिको थालनी गरे जुन हालसम्म निरन्तरता पाइरहेको छ ।
जनश्रुति २
काठमाडौँ उपत्यका असङ्ख्य देवी–देवताका मूर्तिहरू, सांस्कृतिक, धार्मिक सम्पदाहरूले भरिपूर्ण छ । जस्तै –जय बागेश्वरी, नक्साल भगवती दिदी–बहिनीको रूपमा गनिन्छ । प्राचीन धार्मिक कथनअनुसार काठमाडौँ टेबहालकी सङ्कटा, भद्रकाली, असनकी देवी, म्हैपी, नरदेवीलाई पनि सन्ततिकै रूपमा लिइन्छ । एउटै सन्तानबिच पनि काठमाडौँकी लुटेदेवी विपन्न थिइन् । अन्य दिदीबहिनीहरूले बेला–बखतमा भोजभतेर, तडकभडक गर्दा पनि उनी लाचार भएर बस्नुपर्ने अवस्था विद्यमान थियो । खाना खाँदै गर्दा आफ्नो खानामा विषालु सर्प भेटेर सबै खाना फालेको ठाउँ वरपर सुनैसुन भएछ । त्यो वैभव प्राप्त भएपछि दरिद्र ‘लुटदेवी’ धनीमानीमा परिणत भइन् । दिदीबहिनीहरूको फूर्तिफार्तिको परिणामस्वरूप इर्षालु बनेर उनले मङ्सिर कृष्ण चतुर्दशीको दिन पशुपतिको दिवङ्गत आत्माहरूको स्मरण गर्दै अर्को ‘बाला चतुर्दशी’ पर्व सञ्चालन गर्न थालिन् ।
जनश्रुति ३
फागु पर्वको विसर्जनसँगै चैत्र कृष्ण अष्टमीको दिन, पशुपति क्षेत्रबाट एक शिवलिङ्ग ल्याएर, काठमाडौँस्थित ब्रह्मटोलको बुद्ध विहारमा राखिन्छ । यस्तो नेवारी चालचलनलाई ‘लुकेको देवता’ ‘सुकुमाद्यो’ भनिन्छ । सो देवतालाई पिशाच, चतुर्दशीमा नुहाइधुवाइ गराई तामसी भोजन गराइन्छ । शिव गण, नन्दी–भृङ्गी, भूत–प्रेत, पिशाचलाई पूजा गरेमा मुलुकभरि नै दुःखकष्ट, बाधा–अड्चन हट्ने विश्वास लिइन्छ । स्मरणरहोस्, घोडेजात्राको एक दिन अगाडि चैत्र कृष्ण चतुर्दशीको दिनलाई ‘पिशाच चतुर्दशी’ को नामले चिनिन्छ ।
काठमाडौँको चावहिल गणेशस्थान, नक्साल भगवती, जयबागेश्वरी र पशुपतिको वत्सलामा विशेषजात्रा मनाउने सिलसिलामा काठमाडौँका पुराना नेवारवासीहरूले ‘पाहाँ च¥हे पर्व’ मनाउने गर्छन् । यो पर्वले सभ्यताको सन्देश सम्प्रेषण गरेको पाइन्छ । प्रत्येक घर, बहाल, टोल, बस्तीमा महादेव लुकेर बसेका हुन्छन् भन्ने सोच बनाएर प्रत्येक कुना–काप्चा, घर–आँगनमा सफा–सुग्घर राख्ने गरिन्छ । एक पटकको कुरा हो, शिव–पार्वतीबिच केही कुरामा मनोमालिन्य भई पार्वती रिसाएर तिमीले ‘मांशाहार गर’ भनिछन् । भोलेबाबाले पनि तत्काल पिशाचको रूप बदलेर माशांहार गर्न थालेकाले, यस दिनलाई पिशाच चतुर्दशी भन्न थालिएछ ।
जनश्रुति ४
भारतका कामरू कामाक्षबाट काठमाडौँका शाश्वतबज्र नामका तान्त्रिकले अलौकिक तन्त्र साधनाको मद्दतले त्यहाँको भद्रकाली माईलाई काठमाडौँ ल्याई रानीपोखरी नजिकै रहेको जमलको भुइँमा राखी पिसाब फेर्न गए । जमिनमा आफूलाई राखेर अपमान गरेको भनी देवी तान्त्रिक फर्केपछि रिसाइन् । देवीलाई जुरूक्क उठाएर लैजान खोज्दा उठाउन सकिएन र देवीले पनि अन्यत्र नजाने भनी अड्डी लिइन् । तान्त्रिकको इच्छामा कुठाराघातपर्नेदेखि उनले देवीलाई अनुनय–विनय गरी आफूले एउटा ऐतिहासिक मौलिक घोडे जात्राको शुभारम्भ गर्ने मनसायले जमलदेखि अलि पर टुँडीखेलको छेउछाउमा राख्न चाहेको अवगत गराए । तान्त्रिकको कुराले फकिएकी देवीलाई बोकेर लगे र अहिलेको टँुडिखेलको पूर्वपट्टि भद्रकाली परिसरमा स्थापना गराई वर्षैपिच्छे घोडेजात्रा पर्वलाई व्यवस्थित र सुसंस्कृत ढङ्गले चलाएको किंवदन्ती छ ।
जनश्रुति ५
सरकारीस्तरबाट मान्यता प्रदान गरिएको यो जात्रा विश्वकै मौलिकता जोडिएको नेपालको अद्भूत संस्कृति र परम्पराको द्योतक हो । टुँडिखेलमा सैनिक खेलको प्रदर्शन गर्नुको साथै विविध अश्वकलाको माध्यमले सँगै रहेकी भद्रकाली मातालाई खुसी तुल्याउनु जात्राको मूलभूत उद्देश्य हो भने संस्कृति, संस्कार र परम्परालाई जीवन्त राखी नेपाल र नेपालीको पहिचान कायम गर्नु नेपालीको कर्तव्य हो ।
हनुमानढोका परिसर वसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई घोडचढीसहित बग्गीमा राखी टुँडिखेल ल्याएपछि सेनाको सलामी अर्पण गरिन्छ र खास घोडेजात्रा (घोडा दौडाएर) शुभारम्भ हुन्छ । घोडेजात्राको श्रेय सबै नेपाली सेनामा निहित छ । घोडेजात्राको प्रचलनपश्चात् चैत्र कृष्ण औँशीको दिन बिहान सखारै भद्रकालीको दर्शन गर्ने परम्परा बसेको पाइन्छ । तत्काली राजा भारदारहरू भद्रकालीको दर्शन गर्ने हेतुले घोडामा सवार भई जाने गर्थे ।
लुकुवा महादेवको मूर्ति ऊँ बहालमा अहिले पनि जस्ताको तस्तै देख्न पाइन्छ । एक वर्षसम्म जमिनमुनि रहने यो मूर्तिलाई घोडेजात्राको स्तुति गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *