भर्खरै :

आम्रको मृत्यु

आम्रको मृत्यु

बिहानीपख दक्षिण गाजाको एउटा खुला चौरमा आम्र अब्दुल्ला मारिए । आमा, बुबा, दुई भाइ र काकीसँगै रमादानको प्रार्थना गर्न उनी झिसमिसेमै उठेका थिए ।
उनीहरूले सँगै प्रार्थना गरे, “तिम्रै पूजा गर्छौ; तिमीसँगै सहायता माग्छौ । हामीलाई सोझो मार्गमा डो¥याऊ; तिमीलाई क्रोधित पार्ने बाटोमा होइन; तिमीबाट भड्किने बाटोमा होइन; तिम्रो आशिष पाउने मार्गमा लग ।”
चकमन्न अँध्यारो थियो । तिनीहरू फर्केर आफ्नै पालमा आए । तिनीहरूको पुरानो जीवन भताभुङ्ग भइसकेको छ । आम्रका बाबुले पर्सियाली खाडीमा ३० वर्षसम्म काम गरे र पुख्र्यौली थलो अल–करारामा एउटा सानो घर हाले । गाउँको त्यो घर, तिनको बगैँचा, विद्यालय, स्थानीय मस्जिद र ईपू. ४००० यताका प्राचीन सामग्री सङ्ग्रह गरिएको नगरको सांस्कृतिक सङ्ग्रहालय सबै नष्ट भइसकेको छ । बमले ती सबै संरचना खण्डहरमा परिणत गरेको छ ।
आम्र १७ वर्ष पुगेका थिए । यो वर्ष उनको स्कूले जीवन सकिँदै थियो । तर, नोभेम्बरमै विद्यालय बन्द भयो । नत्र उनी कलेज गइरहेका हुन्थे । आफ्नो बुबाजस्तै इन्जिनियर बन्न पढाइमा दत्तचित्त हुन्थे । उनका बुबा टोलका सम्मानित अगुवा हुन् । आम्र जेहनदार विद्यार्थी थिए । तर, अहिले उनी ‘सुरक्षित क्षेत्र’ भनाउँदो पालमा बसिरहेका थिए । उनी र उनको परिवारलाई पहिल्यै थाहा थियो, त्यो ठाउँ सुरक्षित छैन भनेर । त्यहाँ इजरायलले छिटफुट बमबारी गरिरहन्थ्यो ।
जाडो र झरी परेको थियो । न्यानो पार्न परिवारजन एउटा कुनामा च्यापिएर बसेका थिए । भोकले पेटमा मुसा दौडिरहेको थियो ।
“आम्रको बारेमा कुरा गर्नु भनेको जूनको बारेमा कुरा गर्नुजस्तै हो,” न्युजर्सीमा बस्दै आएका उनका काका अब्दुलबासेत अब्दुल्लाले मसँग भने । उनले भने, “ऊ विशेष थियो† सुन्दर, प्रतिभाशाली र दयालु थियो ।”
इजरायली आक्रमण उत्तरी गाजाबाट सुरु भयो । त्यसपछि त्यो दक्षिणतिर सर्दै थियो । डिसेम्बर १ शुक्रबार बिहान इजरायली ड्रोनहरूले आम्रको गाउँमाथि पर्चा फाले ।
पर्चामा लेखिएको थियो, “अल–करारा, खिर्बेत अल–खुजा, अब्सान र बानी सोहिलाका बासिन्दाहरू, तिमीहरूले तत्काल गाउँ खाली गरेर राफा क्षेत्रमा शरण लिनुपर्छ । खान युनिस सहर भयावह युद्धक्षेत्र बन्दै छ । चेतना होस् । हस्ताक्षर : इजरायली प्रतिरक्षा बल ।”
गाजामा परिवारहरू संयुक्तरूपमा एकै छानामुनि पुस्तौँ–पुस्तादेखि बस्दै आएका छन् । त्यसैले एउटै हवाई हमलामा परेर एकै परिवारका दर्जनौँ सदस्य एकैचोटि मर्छन् । आम्र पनि काका–काकी र तिनका छोराछोरीसँग बस्दै आएका थिए ।
इजरायली पर्चा पढेपछि गाउँलेहरू आत्तिए । केहीले मालताल मिलाउन थाले । केहीले घरखेत छोड्न मानेनन् ।
आम्रका एक काकाले घर नछोड्ने अड्डी कसे । उनी घरमै बस्ने भए भने बाँकी परिवार ‘सुरक्षित स्थल’ तिर जाने भए । उनका छोरा नासिर अस्पतालमा डाक्टर थिए । आम्रका ती दाइ बुबालाई घर छोडाउन अस्पतालबाट आए । ती बाबु–छोराले घर छोड्दाबित्तिकै सडकभरि बमबारी हुन थाल्यो ।
आम्र र उनको परिवार खान युनिसमा रहेका नातेदारकहाँ गयो । केही दिनपछि झन् धेरै पर्खा बर्सिन थाल्यो । पर्चामा सबैलाई राफा जान भनियो ।


अब खान युनिसका नातेदारहरू पनि आम्रको परिवारसँगै थिए । राफा हप्हपी छुट्ने दुस्वप्न साबित भयो । हतास–निरास प्यालेस्टिनीहरू त्यहाँ सडक र खुला चौरमा बसिरहेका थिए । खाना वा पानीको हाहाकार थियो । आम्रको परिवार आफ्नै कारमा सुत्यो । जाडो थियो† झरी परिरहेको थियो । ओढ्नलाई सिरक थिएन । उनीहरूले कही पाल पाइन्छ कि भनेर खुबै खोजखाज गरे । तर, कहीँकतै पाल पाइएन । उनीहरूले थोत्रो प्लास्टिक भेटाए । त्यसले कारको पछिल्तिर छाएर उनीहरूले ससानो सुरक्षित स्थल बनाए । शौचालय थिएन । त्यसको लागि मानिसहरू सडकको एउटा कुनातिर जान्थे । दुर्गन्ध तीव्र थियो ।
एक हप्ताभित्रै उनीहरू दुईचोटि विस्थापित भइसकेका थिए ।
आम्रका बुबा मधुमेह र उच्च रक्तचापका बिरामी थिए । नयाँ माहोलमा उनी सिकिस्त भए । परिवारले उनलाई खान युनिसनजिकै युरोपेली अस्पताल लगे । डाक्टरले अपुग खानाले उनी बिरामी भएको बताए ।
डाक्टरले उनलाई भने, “हामी तपाईँलाई उपचार गर्न सक्दैनौँ । योभन्दा पनि सङ्गीन समस्याहरू छन् यहाँ ।”
आफ्ना जेठा दाजुबारे अब्दुल्लाले भने, “दाइसँग चिटिक्कको घर थियो । अहिले बेघरबार हुनुभयो । गाउँका सबैलाई चिन्नुहुन्थ्यो । अहिले बिराना मानिसहरूको भिडमा सडकमा बस्दै हुनुहुन्छ । कसैसँग पनि पुग्दो खाना छैन । सफा पानी छैन । सरसफाइको कुनै सुविधा छैन† पाइखाना छैन ।”
आम्रको परिवारले फेरि अल–मवासी जाने निधो ग¥यो । इजरायलले त्यसलाई ‘मानवीय क्षेत्र’ तोकेको थियो । त्यहाँ बस्नलाई कम्तीमा केही ठाउँ पाइने थियो किनभने परिवारको नाममा त्यहाँ अलिकति जमिन थियो । समुद्री तटमा रहेको अल–मवासीको बालौटे थुम्काथुम्कीमा अहिले ३ लाख ८० हजार विस्थापित प्यालेस्टिनीहरू बस्दै छन् । इजरायलले अल–मवासीमा अन्तर्राष्ट्रिय मानवीय सहायता ल्याउन दिने वाचा गरेको थियो । त्यसमध्ये थोरै राहत सामग्री आएको पनि छ । त्यहाँ ट्रकबाट पानी लिनुपर्छ । बिजुली छैन । जनवरीमा इजरायली युद्धविमानहरूले अल–मवासीको आवास क्षेत्र वरपर बमबारी ग¥यो । त्यहाँ अन्तर्राष्ट्रिय उद्दार समिति तथा प्यालेस्टिनीहरूका निमित्त मेडिकल सहयोग नामक संस्थामा कार्यरत मेडिकल टोली र तिनका जहान परिवार बस्दै आएका थिए । बमबारीले तीमध्ये धेरैलाई चोटपटक लाग्यो । एउटा इजरायली ट्याङ्कले फ्रान्सेली डाक्टरहरूको स्वयंसेवी समूह ‘सीमा नभएका डाक्टरहरू’ का स्टाफ र तिनका परिवार बसिरहेको घरमा तोप हान्यो । फेब्रुअरीको त्यो हमलामा २ जना मारिए र ६ जना घाइते भए ।


आम्रको परिवारले खजुरका स्याउला र प्यालस्टिक जोडजाड गरेर कमचलाउ पाल बनायो । इजरायली ड्रोनहरू रातदिन बस्तीमाथि घुमिरहन्थे ।
मर्नुभन्दा एक दिनअघि फोनको जोगाड गरेर आम्रले क्यानडामा बस्दै आएकी दिदीसँग कुरा गरे । दूरसञ्चारको समस्याले गर्दा बिचबिचमा सम्पर्क काटिए पनि उनीहरूले आपसमा कुराकानी गरे ।
आम्रले बिन्ती बिसाए, “जसरी हुन्छ हामीलाई यहाँबाट निकाल्नुस् ।”
इजरायलले हमला गर्नुभन्दा अगाडि इजिप्टस्थित ‘हाला’ नामक संस्थाले ३५० डलर लिएर गाजावासीहरूलाई इजिप्टमा प्रवेश गर्ने यात्रु अनुमतिपत्र दिलाएको थियो । (अरबी भाषामा हालाको अर्थ स्वागत हुन्छ ।) जातिसंहार सुरु भएपछि भने त्यो संस्थाले शुल्क बढाएर वयस्कलाई ५ हजार डलर र बालबालिकालाई २५ सय डलर लिएर यात्रु अनुमतिपत्र दिलाइरहेको छ । कहिलेकाहीँ उसले प्रतिव्यक्ति १० हजार डलर पनि असुल्दै आएको छ ।
इजिप्टको राजधानी कायरो र राफा दुवै ठाउँमा हालाका कार्यालयहरू छन् । हालाले अमेरिकी डलरमात्र लिन्छ । पैसा बुझिसकेपछि निवेदकको नाम इजिप्टका अधिकारीहरूको हातमा पुग्छ । अनुमति पाउन हप्तौँ लाग्न सक्छ । गाजाबाट बाहिरिन आम्रको परिवारलाई २५ हजार डलर लाग्ने भयो । विधवा काकी र उनका छोराछोरीलाई पनि लग्ने भए दोब्बर पैसा लाग्ने भयो । विदेशमा बस्ने आम्रका नातेदारहरूको लागि त्यो रकम फलामका चिउरासरि भयो । उनीहरूले विदेशमा ‘गो फन्ड मी’ नामक चन्दा सङ्कलन पेज बनाए । उनीहरूले अझै पनि रकम जम्मा गर्दै छन् ।
इजिप्ट पसेको एक महिनाभित्रै प्यालेस्टिनीहरूले पाएको अनुमतिपत्रको म्याद नाघ्छ । इजिप्ट पस्ने धेरैजसो प्यालेस्टिनी शरणार्थीहरू विदेशबाट नातेदारहरूले पठाउने पैसाले बाँच्ने गर्छन् ।
झिसमिसेमै आम्रको निद्रा खुल्यो । रमादान पर्वको पहिलो शुक्रबार थियो । परिवारसँगै उनले बिहानी प्रार्थना गरे । प्रार्थना सक्दा बिहानको पाँच बजे गरिने त्यो प्रार्थनालाई फज्र भनिन्छ ।
मुसलमान धर्मावलम्बीहरू रमादानको महिनामा दिनभरि उपवास बस्छन् । घाम डुबेपछि बिहान घाम झुल्किनुभन्दा अगाडिसम्म उनीहरूले खानपान गर्छन् । तर, अहिले त खानाको नै अभाव थियो । अलिकति जैतुनको तेल र जातारको धुलो थियो । त्यो पुग्दो थिएन ।
प्रार्थना सकेपछि उनीहरू आफ्नो पालमा गए । आम्र आफ्नी काकी र उनका छोराछोरीसँगै पालभित्र थिए । एउटा बम पालनजिकै खसेर पड्कियो । बमको छिर्काले काकीको खुट्टा काट्यो र उनका छोराछोरीलाई गम्भीर घाइते बनायो । अतासिएर आम्रले तिनीहरूलाई सहयोग गर्न खोजे । दोस्रो बम विस्फोट भयो । त्यसको छिर्काले आम्रको पेट चि¥यो र पिठ्युँबाट निस्कियो ।
आम्र जुरुक्क उठे । उनी लर्खराउँदै पालबाट बाहिर निस्के र ढले । उनका दाइदिदीहरू दौडिँदै उनीतिर गए । कारमा उति धेरै ग्यास त थिएन । तैपनि, उनीहरूले आम्रलाई गाडीमा राखेर तीन माइल परको नासिर अस्पतालमा लगे ।


बाटोमा दाइदिदीले सोधे, “आम्र, ठिक्कै त छौ ?”
“अँ,” आम्र सुँक्सुँकाए ।
केही मिनेटपछि उनीहरूले फेरि सोधे, “आम्र, ठीक छ ?”
“अँ,” आम्रले सुस्तरी भने ।
उनीहरूले आम्रलाई कारबाट निकाले र बोकेर अस्पतालको भिडभाड छिचोल्दै भित्र लगे । उनीहरूले आम्रलाई भुइँमा राखे ।
आम्र मरिसकेका थिए ।
उनीहरूले आम्रको शरीरलाई कारमै राखे र परिवार बसिरहेको शिविरमा ल्याए ।
आम्रका काकाले मलाई आम्रकी शोककुल आमा छोराको लासअघि रोइरहेको भिडियो देखाए ।
भिडियोमा आम्रकी आमा देब्रे हातले आम्रको अनुहार सुम्सुम्याउँदै बिलौना गर्दै थिइन्, “आम्र, छोरा, मेरो प्राण । तिमीबिना कसरी बाँच्ने ? के गर्ने ?”
उनीहरूले आम्रलाई एउटा कामचलाउ चिहानमा गाडे ।
त्यही दिन राति इजरायलीहरूले फेरि बमबारी गरे । धेरै प्यालेस्टिनीहरू मारिए । केहीलाई चोटपटक लाग्यो ।
अघिल्लो दिन आम्रको परिवार बसिरहेको पालले छाएको रित्तो घरलाई नामेट भयो ।

स्रोत : ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *