वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
बिहान तातोपानी तथा अर्गानिक चियाको चुस्कि लिएर भक्तपुर नगरपालिकाद्वारा आयोजित सद्भाव सभामा सहभागी भएँ । यसअघि हामी दत्तात्रयतिर पुग्यौँ । मानिसहरूको चहलपहल धेरै थियो । सद्भाव ¥यालीमा सहभागी हुन चारैतिरबाट सहभागीहरू आउँदै थिए । कलेज, स्कूल, क्लव, सङ्घ संथाहरूले आ–आफ्नो नयाँ वर्षको शुभकामना लेखिएका, आ–आफ्नै विशेषता झल्काउने झन्डा र ब्यानरमा सहभागी भइरहेका थिए । हाम्रो नजर दत्तात्रय मन्दिरको वरिपरिका दृश्यतिर घुम्दै थियो । कला, संस्कृति र सम्पदाको धनी भक्तपुरको दत्तात्रय मन्दिर अनेकौँ कला कौशलले सजिसजाउ र भरिभराउ थियो । कलात्मक शैलीमा निर्मित यो मन्दिरको अगाडि दुईवटा अग्ला ढुङ्गाका खम्बाहरू छन् भने खम्बाको शिर वा टुप्पोमा मौलिकता झल्कने मूर्ति राखिएको छ । चारैतिर सुन्दर, रमणीय मानव निर्मित कलाकौशलले सजिएका दृश्यहरूको ठीक अगाडि ठुलो ब्यानर झुन्ड्याइएको थियो । उक्त ब्यानरमा लेखिएको थियो, ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’, ‘जात्रालाई शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गरौँ !’ भक्तपुर नगरपालिकाले आयोजना गरेको बिस्का जात्रा तथा नयाँ वर्ष २०८१ सालको शुभकामना तथा सद्भाव ¥याली लेखिएको थियो ।
मन्दिरको फिल्डमा साना ठूला विद्यार्थीहरूका आआफ्नो ब्यानरसहितको लस्करै लाइन लागेका थिए । प्रत्येक लाइनको बिचबिचमा शिक्षक शिक्षिका तथा स्वयम्सेवकहरूले जात्रामा पालना गर्नुपर्ने अनुशासन, नैतिकता तथा इमानदारितासम्बन्धी निर्देशन दिँदै गरेको देखिन्थ्यो । विभिन्न जिल्ला तथा देश विदेशबाट भ्रमणमा आएका पर्यटकहरूले बिचबिचमा पसेर फोटो खिच्ने, भिडियो बनाउने, सेल्फि लिने, टिकटक बनाउने काममा व्यस्त भएका दृश्य आकर्षक थिए । फोटो खिच्ने, भिडियो क्लिप बनाउने, आपसमा सूचना तथा जानकारीहरू आदानप्रदान गर्ने काम हामीले पनि गर्यौँ । यतिखेरसम्म भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहित जनप्रतिनिधिहरू उपस्थित भइसक्नुभएको थियो । व्यवस्थित, अनुशासित ¥यालीलाई भक्तपुर नगरपालिका ९ नं. वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रममा स्वागत गर्दै जुलुस परिक्रमा गर्ने रुट, अनुशासन आचरणका सम्बन्धमा जानकारी दिँदै हुनुहुन्थ्यो । हामीले पनि केही जम्काभेटका क्षणहरूलाई मोबाइलमा राख्यौँ । सद्भाव ¥यालीमा सहभागी भएका सर्वसाधारणहरू, स्वदेशी तथा विदेशी बटुवाहरू, पर्यटकहरू फोटो लिँदै, रमाइलो महसुस गर्दै थिए । यत्तिकैमा माइकिङ सुरु भयो । सबै सहभागीहरूलाई ¥यालीमा सहभागी हुन, अनुशासनसम्बन्धी, झन्डा, ब्यानर, जुलुसको नियम सुनाएपछि बिस्तारै जुलुस अगाडि बढ्यो । जुलुसको अग्रस्थानमा सुरक्षा कवजको रूपमा स्वयंसेवक र सुरक्षाकर्मीहरू थिए । त्यसपछि भक्तपुरका विभिन्न बाजागाजाहरू थिए । अनुशासितरूपमा निश्चित नियम र पद्धतिको आधारमा जुलुस बनेको थियो । यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, रेडक्रस सोसाइटी तथा अन्य संस्थाका प्रतिनिधिहरू थिए भने । पछाडि स्कूल, कलेज, सहकारीबाट सहभागी भएका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू, स्काउट र क्लवका व्यक्तिहरू थिए । बुढाबुढी, युवायुवतीहरू तथा अन्य सर्वसाधारण सँगै सबैभन्दा अन्तिममा सामाजिक कार्यकर्ता, स्थानीय अगुवा तथा भक्तपुर नगरपालिकाका कर्मचारीहरूको टीम थियो ।
कला, संस्कृति, संस्कार, चाड पर्व र सम्पदाप्रेमीहरूको ¥याली ऐतिहासिक कलात्मक भक्तपुर नगरीका विभिन्न क्षेत्रहरूको परिक्रमा गर्दै पाँचतले मन्दिर टौमढीमा पुग्यो । ठुला अक्षरमा प्रसिद्ध बिस्का जात्रासम्बन्धी सद्भाव सभा लेखिएको ब्यानर थियो । प्रमुख अतिथि तथा अतिथिहरूको लागि मञ्च बनाइएको थियो । विश्व प्रसिद्ध बिस्का जात्रा ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको गौरवशाली यो जात्रा आठ रात नौ दिनसम्म भक्तपुरको टोलटोलमा भव्यताका साथ मनाइने रहेछ । २०८० चैत २७ गते भैरवनाथको रथ तानेर बिस्का जात्रा आरम्भ हुन्छ । चैत ३० गते लिङ्गो उभ्याउने र वैशाख १ गते नववर्षको दिन लिङ्गो ढालेर जात्रा गरिने रहेछ । २०८१ वैशाख ५ गते भैरवनाथको रथ तानेर व्यवस्थापन गरेपछि जात्राले पूर्णता पाउने बुझियो । भक्तपुरको पहिचान र गरिमासँग जोडिएको, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको बिस्का जात्रालाई सभ्य, भव्य, सुरक्षित, शान्तिपूर्ण र मर्यादित ढङ्गले मनाउन लागेको देखियो ।
भनपा वडा नं. १ इनागबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै टौमढी चोकमा पुगेको थियो ।
सद्भाव सभामा हजारौँ व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भएको उक्त सभाको प्रमुख अतिथि सभासद् प्रेम सुवाल हुनुहुन्थ्यो । प्रमुख अतिथिले सद्भावना मन्तव्य राखेको उक्त सभामा प्रमुख जिल्ला अधिकारी, गुठी संस्थानका प्रमुख, विभिन्न सुरक्षा निकाय प्रमुखको गरिमामय उपस्थिति थियो । सभामा स्वागत योगेन्द्रमान बिजुक्छेँ र सञ्चालन रवीन्द्र ज्याख्वले गर्नुभएको थियो । चैत मसान्तको दिन विश्वध्वजोत्थान गरी वैशाख सङ्क्रान्तिको दिन ढालेर मनाई यो पर्व हाल आठ रात र नौ दिन मनाइन्छ ।
इतिहास, संस्कृति र पुरात्तत्वविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले अन्तरङ्गका तरङ्गहरू भन्ने पुस्तकमा उल्लेख गर्नुभएको छ, “विश्वनाथ भैरवको जात्रा विश्व जात्रा हो । विश्वनाथ भैरवको लिङ्गमा फहराइने एक जोडी ध्वजा स्वयं विश्वनाथ भैरव र उनका शक्ति भद्रकालीका प्रतीक हुन् । ती ध्वजा कुशलमङ्गलका प्रतीक पनि हुन् जसको दर्शनले महामारीलगायतका दुर्भिक्षको अन्त्य भई सहकाल आउँछ, यस लोकमा रहेकाहरूलाई सुस्वास्थ्य, समृद्धि र सुख, शान्ति प्रदान गर्दै शत्रु नाश गर्दै परलोकमा रहेका मृतात्माहरूले जन्म र मृत्युको बन्धनबाट मुक्ति पाउँदै मोक्ष प्राप्तको कामनाले यो जात्रा मनाइन्छ ।”
बिस्का जात्राको औपचारिक सुरुवात दिउँसो तीन बजे रथ तानेर गरिने कार्यक्रम थियो । हजारौँ सहभागी हुने, देशका विभिन्न क्षेत्रहरूबाट तथा विभिन्न देशबाट यो जात्राको आनन्द लिन सहभागीहरूको भिड हुने रहेछ । पाँचतले मन्दिरको माथिल्लो सिँढीमा बसेर जात्राको अवलोकन गर्यौँ । दुईतिरबाट हजारौँ व्यक्तिहरूले असिन पसिन हुँदै रथ तानेको दृश्य आश्चर्यजनक, अनौठो र रमाइलो थियो । मोटा मोटा धागोका लामा लामा चार÷चार वटा डोरीहरू रथको दुवैतिर बलियोसँग बाँधिएको थियोे । सयौँ जनाले दुबै तिरबाट तानातान गर्दा एक पक्षले केही रथलाई केही टाढा तान्थ्यो भने फेरि अर्को पक्षले भएभरको शक्तिले आफूतिर तानिहाल्थ्यो । टौमढी वरिपरि कहीँकतै जमिन देखिँदैनथ्यो । टौमढी वरिपरि रहेका सबै घरहरू, होटल र चियाखाजाका पसलहरूका छतहरूमा, झ्याल र ढाकाहरूबाट जात्राका दृश्यहरूलाई अवलोकन गर्ने, फोटो खिच्ने, भिडियो बनाउने, आकाशमा ड्रोनहरू उडाउनेहरू खचाखच भरिएका थिए । पाँचतले मन्दिर, तलेजु मन्दिर वरिपरि रहेका पसलहरूमा पर्यटकहरू खचाखच भरिएका थिए । अधिकांश पर्यटकहरूले बिस्का जात्राको आनन्द, रमाइलो तथा सुसमाचारलाई अनलाइनका अनेकौँ माध्यमबाट आ–आफ्नो देशमा रहेका आफन्त तथा साथीहरूलाई प्रत्यक्ष प्रसारण गरिएको देखिन्थ्यो । विभिन्न टेलिभिजन च्यानलहरूले ड्रोनको प्रयोग गरेर प्रत्यक्ष प्रसारण गरिरहेका थिए । विभिन्न सुरक्षा निकायका अङ्गहरूले प्रत्यक्षरूपमा तथा सीसी टीभीबाट अवलोकन गरिरहेका थिए । सकारात्मक सन्देश दिने, परम्परा, कला संस्कार र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको यस जात्रामा कुनै दुःखद घटना नहोस् भन्ने सबैको चाहना हो ।
अन्तमा, कला, संस्कृति, संस्कार, परम्परा र सम्पदाको राजधानी भक्तपुरको निरन्तर उन्नति र सफलताको कामना ।
Leave a Reply