भर्खरै :

विज्ञान र प्रविधिमा भएको विकाससँगै समाजको आवश्यकतालाई ध्यान दिन आवश्यक

विज्ञान र प्रविधिमा भएको विकाससँगै समाजको आवश्यकतालाई ध्यान दिन आवश्यक

भूकम्प इन्जिनियरिङ विषयको स्नातकोत्तर तहको पाठ्यक्रम विकास कार्यशाला भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा गर्ने अवसर पाएकोमा हामी खुसी छौँ । यस कलेजमा कार्यशाला गर्ने ठाउँ छनोट गर्नुहुने पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छौँ ।
ख्वप इन्जिनियरिङ कलेज स्थानीय तहबाट सञ्चालित नेपालको पहिलो कलेज हो । २०५८ सालबाट सुरु भएको यस कलेजलाई भूकम्प इन्जिनियरिङसम्बन्धी स्नातकोत्तर अध्ययन अध्यापन गर्ने स्वीकृति प्रदान गर्ने पूर्वाञ्चल विश्वविद्यालयप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
भक्तपुर नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ । ख्वप इन्जिनियरिङ कलेज पनि त्यसमध्येको एक हो । यस कलेजले अध्ययन अध्यापनको साथै अनुसन्धान र प्रकाशनमा पनि जोड दिँदै आएको छ । भूकम्प इन्जिनियरिङसम्बन्धी हेर्ने छुट्टै विभागको स्थापना गरी थप व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ ।
समयअनुसार पाठ्यक्रममा परिमार्जन हुन सकेन भने विद्यार्थीहरूको आकर्षण घट्ने सम्भावना हुन्छ । विज्ञान र प्रविधिमा भएको विकाससँगै समाजको आवश्यकतालाई ध्यानमा राखेर पाठ्यक्रम परिमार्जन हुनु जरुरी छ ।
अहिले धेरै विद्यार्थीहरू विदेशतिर आकर्षित हुँदै छन् । गत आ.व. २०७९/०८० मा एक लाख १० हजार र चालु आवको ८ महिनामा ८५ हजार विद्यार्थीले विदेश पढ्न जान नो अब्जेक्सन लेटर लिएको तथ्याङ्कले हाम्रो विश्वविद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापनमाथि प्रश्न उठाएको छ । विश्वविद्यालयमा समयमा परीक्षा नहुनु, परीक्षाफल ढिलो प्रकाशित हुनु, परीक्षा कापी हराउनु, बन्द–हडताल, आगजनीजस्ता घटनाहरू नै विद्यार्थीहरूको विश्वास घट्नुका कारणहरू हुन् । पढाइ सकेपछि पनि बेरोजगार बस्नुपर्ने बाध्यता अर्काे कारण भएको बताइन्छ । हामी हाम्रा विद्यार्थीहरूलाई कस्तो शिक्षा दिइरहेका छौँ ?
विद्यार्थीहरू यही गतिमा विदेश गइरहने हो भने देशका धेरै कलेजहरू बन्द हुनेछन् । अहिले नै ५०० वटाभन्दा बढी कलेजहरू बन्द हुने अवस्थामा पुगेको समाचारमा आइरहेका छन् । त्यसको लागि जिम्मेवार को को हुन् ? गम्भीर भएर सोच्न आवश्यक छ ।
उत्पादन श्रमसँग मिलाउने शिक्षा आजको आवश्यकता हो । अहिले विश्वविद्यालयहरू शैक्षिक प्रमाणपत्र वितरण गर्ने संस्थाजस्तो बनेका छन् । हरेक विद्यार्थीलाई आत्मनिर्भर बनाउने र देशको निम्ति काम गर्ने भावना जागृत गर्ने शिक्षा अहिलेको आवश्यकता हो ।
नेपालको लागि भूकम्पसम्बन्धी इन्जिनियरिङ अत्यन्त महत्वपूर्ण विषय हो । २०७२ सालको भूकम्पमा सबभन्दा बढी क्षतिग्रस्त जिल्लामध्ये भक्तपुर पनि एक हो । यस कलेजका इन्जिनियरहरूको प्राविधिक सहयोग त्यतिबेला क्षतिग्रस्त अधिकांश सम्पदाहरूको भक्तपुर नगरपालिकाले पुनःनिर्माण, जीर्णाेद्धार सम्पन्न गरिसकेको छ । अझै केही निर्माणाधिन अवस्थामा छन् । ख्वप इन्जिनियरिङ कलेजले भूकम्पसम्बन्धी नयाँ नयाँ ज्ञान हासिल गरी देशको निम्ति सक्दो बढी योगदान दिने उद्देश्यले नियमितरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना गर्दै आएको छ । २०८१ साल माघ महिनामा भूकम्प इन्जिनियरिङसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन र २०८२ साल माघ महिनामा चौथो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको पनि आजको यस कार्यक्रममार्फत यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ । पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गर्दछौँ ।
आजबाट सुरु हुने कार्यशालाले २१ औँ शताब्दीका चुनौतीहरू सामना गर्न सक्षम र योग्य जनशक्ति तयार गर्ने पाठ्यक्रम निर्माण गर्न सकोस् र भविष्यमा हुने भूकम्पबाट क्षति न्यूनीकरण गर्ने प्राविधिक जनशक्ति निर्माण गर्न पाठ्यक्रम सफल हुने विश्वासका साथ कार्यशालाको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौँ ।
(पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायको आयोजनामा भएको स्नातकोत्तर तह भूकम्प इन्जिनियरिङ शैक्षिक कार्यक्रमहरूको दोस्रो, तेस्रो र चौथो सेमेस्टरको पाठ्यक्रम विकाससम्बन्धी कार्यशालामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा बिहीबार व्यक्त विचार–स.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *