भर्खरै :

समाज परिवर्तन गर्न क्रान्तिकारी भावना आवश्यक

समाज परिवर्तन गर्न क्रान्तिकारी भावना आवश्यक

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था शोषणमा आधारित पुँजीवादी व्यवस्था हो । निर्दलीय व्यवस्था अन्त्य भए पनि सामन्ती व्यवस्थामा भएका, रहेका शोषणका प्रवृत्ति अन्त्य भएको छैन । शोषण गर्ने यो पुँजीवादी व्यवस्थामा जुन दलले सरकारको नेतृत्व गरे पनि शोषण अन्त्य हुनेछैन । शोषक, सामन्त, जमिनदार, जालीफटाहा, प्रतिक्रियावादी, ठग, कालाबजारी, कमिसनखोर जहाँका भए पनि जनताका शत्रु हुन् । उनीहरूले या पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने शासकहरूले विगतको वर्ष र नयाँ वर्ष ‘सुशासनको शङ्खघोष’, ‘नयाँ वर्षमा समृद्धिको कार्यभार’, ‘गएको वर्ष उपलब्धिपूर्ण’, ‘नागरिकमा राज्यप्रतिको विश्वास बढेको’, ‘सुशासन प्रयासका सन्दर्भमा २०८० साल सफल हो’ आदि भने पनि व्यवहारमा त्यो देखिएको छैन । शोषणमा आधारित पुँजीवादी व्यवस्था नफालेसम्म कुनै शासक या सत्तासीन दलका नेताले बखान गरेर शोषणरहित समाज स्थापना हुने होइन । शोषणरहित समाज स्थापना गर्न पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ ।
पहाड र तराईका शोषक, सामन्त, जमिनदार, जालीफटाहा, प्रतिक्रियावादीहरू देशका श्रमजीवीवर्ग या मजदुर, किसान तथा स–साना उद्योगी, व्यवसायी र व्यापारीहरूमाथि शोषण गर्छन् या चुस्छन् । तराईका शोषक, जमिनदार र जालीफटाहाहरूले तराईका किसान मजदुरलाई धोका दिन, शोषण कायम गर्न पहाडी शोषकको विरोध गर्छन् । तर, श्रमजीवी वर्गमाथि शोषण गर्ने पहाडका होस् या तराईका जहाँ भए पनि उनीहरू शोषक नै हुन् । यसकारण, पुँजीवादी व्यवस्थामा रहेका नेका होस् या कम्युनिस्ट उनीहरू श्रमजीवीवर्गको पक्षमा लड्दैनन्; लड्न चाहँदैनन् । समाजवादको लक्ष्य हासिल गर्न, जनताका समस्या समाधान गर्न वैज्ञानिक सोच, दीर्घकालीन र दूरदर्शी नीति लिएर काम गर्नुपर्छ भनी बोलेर होइन गरेर देखाउनुपर्छ । समृद्धि र समुन्नति साझा सङ्कल्प हो भनेर मिठो र आकर्षक नारा फलाक्ने होइन पूरा गरेर देखाउनुपर्छ । नवीन सङ्कल्प, नयाँ सोच, शैली र जाँगरका साथ जनताका पक्षमा दृढ भएर अगाडि बढ्नुपर्छ भनी कति खोक्ने ? शासक दलका नेताहरूले जनतालाई राहत पु¥याउने कुरा खोक्दा खोक्दै जनता वाक्कदिक्क भइसकेका छन् । प्रतिबद्धता गर्ने, आश्वासन बाँड्ने तर पूरा नगर्ने शासकहरूको प्रवृत्तिले गर्दा नेपालीले भन्न थालेका छन्, ‘जति जोगी आए पनि कानै चिरेका ।’
सरकार र दलको नेतृत्व गर्ने नेता, प्रधानमन्त्री, मन्त्रीहरू देश र जनताको निम्ति निःस्वार्थरूपले काम गर्ने जनसेवक बन्नुपर्छ† असल राजनीतिक कार्यकर्ता बन्नुपर्छ । तिनीहरूमा समाज परिवर्तन गर्ने क्रान्तिकारी भावना हुनुपर्छ । जनताको व्यथा, कथा बुझेर समाधानको उपाय खोज्नुपर्छ । विगतदेखि हालसम्म रहेका शोषणका जन्जिरहरू चुँडाल्नुपर्छ । वर्गसङ्घर्ष, क्रान्ति र राजनीतिबाट अलगिएर यहाँ परिवर्तन सम्भव छैन । सरकारले जनतालाई काममामको प्रत्याभूति दिनुपर्छ । व्यक्तित्व विकासमा समान अवसर दिनुपर्छ । योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, शोषणको विरोधको अधिकार दिनुपर्छ । शासनमा कामदारवर्गको हुकुम हुनुपर्छ । अनि त्यो समाज समाजवादी व्यवस्था हुन्छ । यो देशलाई पुँजीवाद वा समाजवाद कतातिर लाने हो भन्ने निक्र्योल गर्ने एउटा आधार देशको संविधान र ऐन कानुनको बन्दोबस्त हो । ‘वर्षान्त; वाम वर्चस्व’ भनेर वामसोच अनुसार कुनै क्रियाकलाप गर्दैन, कुनै ऐन कानुन बनाइँदैन भने वर्चस्वको बखान गरेर के गर्ने ? समीकरणले वर्षान्ततिर सत्तामा वामपन्थीको वर्चस्व भनेर गर्व गरेर या नाक फुलाएर के यहाँ परिवर्तन हुने हो ? केही वर्षअघि दुईतिहाइको सरकार सञ्चालनको तहमा पुगेको वामपन्थी घटकको के हालत भयो ? वाम दलबिच नै विवाद उत्कर्षमा पुगेर एउटै दल तीन टुक्रा भएको होइन ?
सत्तासीन दलहरूप्रति जनताको विश्वास गुमेको यथार्थ हो । निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्नु यसको दृष्टान्त हो । दुईतिहाइ बहुमत प्राप्त नभएको सरकारले चाहेर पनि पुँजीवादी व्यवस्थाको ऐन कानुन बदल्न सक्दैन । संविधानमा राजाको अधिकार बढी हुनुको अर्थ समाजमा सामन्तवर्ग अझै बलियो छ भन्ने देखाउँछ । संवैधानिक राजतन्त्रको बन्दोबस्तले समाजमा सामन्तवर्ग र पुँजीवादीवर्गको मेल रहेछ भनी देखाउँछ । त्यसरी नै पुँजीवादी बन्दोबस्तले समाजमा सामन्तभन्दा पुँजीपतिवर्गको शक्ति बढेको देखाउँछ । अतः श्रमजीवी या बहुमत जनताको पक्षमा ऐन कानुन बनाउन समाजवादी बन्दोबस्त आवश्यक छ । त्यो सङ्घर्षले मात्र प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *