भर्खरै :

‘संरा अमेरिकी शैलीको लोकतन्त्र’ को पाखण्ड–२

‘संरा अमेरिकी शैलीको लोकतन्त्र’ को पाखण्ड–२

३. संरा अमेरिकी पैसामुखी राजनीतिको संस्थागत प्रणाली
उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा संरा अमेरिकाको पैसामुखी राजनीतिमा ‘पोर्क–व्यारलिङ’ राजनीतिक प्रणालीको विकास भयो । निर्वाचनमा मत दिएबापत वा कुनै प्रकारको राजनीतिक समर्थन गरेबापत मत दिने वा समर्थन गर्ने व्यक्ति वा समूहको हितमा राज्य कोष लगानी गर्ने अभ्यासलाई अमेरिकामा ‘पोर्क–व्यारलिङ’ भनिन्छ । संरा अमेरिकामा चुनावमा विजयी भएको राजनीतिक पार्टीले चुनावी अभियानमा सहयोग गर्ने व्यक्तिहरूलाई सरकारी पदमा नियुक्त गरिन्छ । त्यस्ता व्यक्तिहरू राजनीतिक दलका मेरुदण्ड (प्रमुख व्यक्ति) र चुनावमा पार्टीका चन्दादाता हुने गर्छन् । ‘पोर्क व्यारलिङ’ ले राजनीतिक र सरकारी अधिकारीहरूबिच भ्रष्टाचारलाई प्रश्रय दिन्छ । त्यसले संरा अमेरिकाको प्रशासनिक चुस्तता पनि घटाएको छ । बीसौँ शताब्दीको सुरुदेखि संरा अमेरिकाले राजनीतिक दललाई चन्दा दिन थप बन्देजहरू लगाउने प्रयास ग¥यो । तथापि संरा अमेरिकी लोकतन्त्रको पैसामुखी चरित्रमा कुनै प्रकारको परिवर्तन हुन सकेन । राजनीतिक व्यवस्थामा परिवर्तनको हरेक प्रयत्नले फेरि पनि कुनै न कुनै छिद्र भने छोडेकै हुन्छ । पैसामुखी राजनीतिको लागि पछाडिको चोर बाटो खोलेकै हुन्छ । वास्तवमा त्यसले पैसामुखी राजनीतिलाई वैधता दिने गरेको छ ।
प्रथमतः ‘चन्दा उठाउने ठेकेदारी’ (सुपर फन्ड रेजर) प्रणालीले यतिमात्र चन्दा उठाउन पाउने भनी तोकिएको सीमा नै वैधरूपमा नाघ्न दिन्छ । चुनावको लागि ठुलो परिमाणमा चन्दा उठाउने चन्दा ठेकेदार (महाचन्दा सङ्कलक) भनेको आफैँ पनि धनी व्यक्ति हुन्छ । उसको प्रत्यक्ष सम्बन्ध व्यापारिक घराना, कारोबारी, मनोरञ्जन उद्योगी र सांसद एवं नेताहरूलाई प्रभाव पार्न सक्ने व्यक्तिहरू (लबिस्ट) सँग हुन्छ । ती चन्दा ठेकेदारसँग धेरै स्रोत र सम्बन्ध हुन्छ । उनीहरूले आफ्नो व्यक्तिगत सम्बन्ध प्रयोग गरेर धेरै सङ्ख्यामा स–साना चन्दादाताबाट छोटो समयावधिमा धेरै परिमाणमा निश्चित उम्मेदवारको नाममा चन्दा सङ्कलन गर्न सक्छन् । उदाहरणको लागि सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा १ हजार ‘चन्दा ठेकेदार’ ले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनको लागि सम्पूर्ण चुनावी खर्चको एकतिहाइ चन्दा सङ्कलन गरेका थिए । ठुलो परिमाणमा चन्दा सङ्कलन गर्ने यो प्रणालीअन्तर्गत कुनै व्यक्तिले ठुलो परिमाणमा दिएकोे चन्दालाई कानुनी सीमाअनुसार हिसाब मिलान गरिन्छ । कानुनले तोकेको सीमाभन्दा बढी बाँकी रकम व्यक्तिगत नाममा राखिन्छ । ठुलो परिमाणको चन्दालाई वैध बनाउने यो एउटा तरिका हो । यस प्रकारको ठुलो परिमाणको चन्दा कसले दिएको हो भन्ने कुरा उम्मेदवारलाई थाहा हुन्छ । राजनीतिक प्रभाव र संरक्षणको लागि धनी व्यक्तिले चन्दा दिन यो तरिका अवलम्बन गरेको हुन्छ ।
दोस्रो, संरा अमेरिकाको सर्वोच्च अदालतले राजनीतिक दललाई दिइने चन्दा (सफ्ट मनी) माथिको बन्देजलाई खुकुलो बनाएको छ । दुईदलीय चुनावी अभियान सुधार ऐन, २००२ (Bipartisan Campaign Reform Act -BCRA_ of 2002) ले निश्चित उम्मेदवारलाई समर्थन गर्न राजनीतिक दललाई दिइने चन्दामाथि रोक लगायो । सङ्घीय चुनावी अभियान ऐन (The Federal Election Campaign Act – FECA) ले चुनावलाई प्रभावित बनाउन पैसा प्रयोग गर्नमा रोक लगाए पनि खासमा पैसा त्यस्तै प्रयोजनको लागि खर्च गरिन्छ । (FECA) ऐन खारेज गराउन त्यसविरुद्ध लगातार मुद्दा दायर हुँदै आएको छ । सन् २००७ मा विनकन्सिन राइट टु लाइफ कम्पनीविरुद्ध सङ्घीय निर्वाचन आयोगको मुद्दामा संरा अमेरिकी सर्वोच्च अदालतले चुनावको अन्तिम चरणमा सङ्घीय चुनावका उम्मेदवारको पक्ष वा विपक्षमा कुनै व्यापारी कम्पनी र सङ्गठनले आर्थिक मद्दत गर्न निषेध गर्नु संरा अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्त उल्लङ्घन भएको आदेश दियो । सो सर्वोच्च अदालतको आदेशले दुईदलीय चुनावी अभियान सुधार ऐनले निर्देशित गरेको प्रावधानलाई खारेज गरेको छ । फलतः राजनीतिक क्षेत्रमा ठुलो परिमाणमा वैधानिकरूपमा चन्दा दिन छुट भएको छ । सन् २०१४ मा सङ्घीय चुनाव आयोगविरुद्ध मेकोनेल मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशले राजनीतिक क्षेत्रमा चन्दा दिन नहुने प्रावधानलाई खारेज ग¥यो । सो आदेश जारी हुनुअघि एक जना उम्मेदवारलाई २ हजार ६ सय अमेरिकी डलरले नबढ्ने गरी मात्र चन्दा दिन सकिने प्रावधान थियो । सङ्घीय चुनावको उम्मेदवार र राजनीतिक पार्टीलाई चन्दा दिन सकिने कुल चन्दा रकममा लगाइएको सीमा सो आदेशले खारेज ग¥यो । निर्वाचनमा एकै समय एक जनाभन्दा बढी उम्मेदवारलाई चन्दा दिन सकिने र राजनीतिक दललाई असीमित परिमाणमा चन्दा दिन सो आदेशले मार्गप्रशस्त ग¥यो ।
तेस्रो, पैसामुखी राजनीतिको मुख्य ज्यावल भनेको राजनीतिक गतिविधि गर्न महासमिति (Super political action Committees (PACs)) हुने गरेको छ । यो समितिले चुनावी प्रयोजनको लागि चन्दा सङ्कलन गर्छ र सङ्कलित रकम कुन उम्मेदवारलाई कति दिने निर्णय गर्छ । धनाढ्य चन्दादाता (व्यक्ति र कम्पनी ) ले प्रत्यक्षरूपमा उम्मेदवार र राजनीतिक पार्टीलाई चन्दा दिनुबाहेक त्यस्ता महासमितिमार्फत पनि चन्दा दिन सक्छन् । यस्ता महासमितिको अभ्यास सन् १९३० को दशकबाट आरम्भ भएको थियो । महासमिति व्यापारी र स्वतन्त्र राजनीतिक समूह सम्मिलित राजनीतिक समिति हो । यस्ता समितिले चन्दा सङ्कलन गर्नुका साथै व्यक्ति तथा व्यापारिक सङ्गठनले दिन मिल्ने चन्दाको सीमासम्बन्धी संरा अमेरिकी कानुन मिच्ने वैधानिक बाटो खोल्छ । महासमितिले सबै व्यक्तिसँग चन्दा सङ्कलन गर्छ र उम्मेदवारहरूलाई के कति चन्दा दिने निर्णय गर्छ । महासमितिहरू ठुला व्यापारिक सङ्गठन र विशेष स्वार्थ समूहसँग सम्बन्धित हुन्छन् । महासमितिहरूले प्रायशः निश्चित उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्छन् । तिनीहरूले चन्दा दिने व्यापारिक सङ्गठन र स्वार्थ समूहका हितको प्रतिनिधित्व गर्छन् । सन् १९७१ मा सङ्घीय चुनाव अभियान ऐन जारी भएपश्चात् चुनावी अभियानमाथिका बन्देज न्यून भएपछि यस्ता समिति निकै तीव्रगतिमा विकास भए । महासमितिले देखाएका तरिकामार्फत चुनावमा व्यापारिक कम्पनी, व्यक्ति र स्वार्थ समूहका पैसा चुनावी गतिविधिमा ओइरियो । सन् २०१० मा सर्वोच्च अदालतले जारी गरेको एउटा आदेशले स्वतन्त्र महासमितिलाई व्यक्तिगत र साङ्गठनिक माध्यमबाट चन्दा दिन सबै प्रकारका बन्देज खारेज ग¥यो । त्यो आदेश महासमितिहरूका लागि फलिफापसिद्ध भयो । त्यसपछि संरा अमेरिकामा महासमितिका सङ्ख्या एकाएक बढ्यो । तथ्याङ्कअनुसार सन् २०१६ को अगस्ट ८ सम्ममा २ हजार ३१६ गैरनाफामुखी र गैरदलीय महासमिति औपचारिक दर्ता गरिए । महासमितिहरूसँग चन्दा सङ्कलन गर्ने बलियो क्षमता हुन्छ र चुनावमा उनीहरूले बलियो प्रभाव पार्न सक्छन् । व्यापारी र धनी व्यक्तिले त्यस्ता महासमितिमार्फत चुनाव प्रभावित हुने गरी बिनारोकतोक प्रत्यक्ष आर्थिक लगानी गर्न सक्छन् । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा त्यस्ता महासमितिहरूले धेरै चन्दा सङ्कलन गरेका थिए । प्रायोरिटी यूएसए एक्सन नामको महासमितिले १७ करोड ६० लाख अमेरिकी डलर बराबरको चन्दा सङ्कलन गरेको थियो । त्यसले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई समर्थन गरेको थियो । सोरोस नामका एक जना महाधनाढ्य लगानीकर्ताले प्रायोरिटी यूएसए एक्सनलाई ६ करोड अमेरिकी डलर चन्दा दिएको थियो । थोमस स्टेएर नामको एक जना अर्का लगानीकर्ताले ५ करोड ७० लाख अमेरिकी डलर बराबरको चन्दा अर्को एउटा महासमितिलाई दिएको थियो । त्यसले पनि हिलारी क्लिन्टनलाई नै समर्थन गरेको थियो ।
४. पैसामुखी राजनीतिका दुष्परिणाम
पहिलो कुरा त पैसामुखी राजनीतिले सर्वसाधारण जनतालाई आफ्ना राजनीतिक अधिकारबाट वञ्चित गर्छ । संरा अमेरिकाले प्रायशः ‘एक व्यक्ति एक मत’ को संरा अमेरिकी शैलीको लोकतन्त्रको कुरा गर्छ । तर, वास्तविकतामा न्यून आय भएका संरा अमेरिकी नागरिकको मताधिकार निषेध गरेको हुन्छ । संरा अमेरिकी न्युज एन्ड वल्र्ड रिपोर्टले सन् २०१० देखि २०१५ सम्म प्रकाशित समाचारअनुसार संरा अमेरिकाका २१ वटा राज्यले मताधिकारमाथि निषेध गर्ने नयाँ कानुन ल्याएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा १४ वटा राज्यले मताधिकार निषेध गर्ने नयाँ कानुन कार्यान्वयनमा ल्याएको थियो । ती कानुनको मूल ध्येय भनेको गरिब जनतालाई मताधिकारको लागि पञ्जीकरण गर्नबाट रोक लगाउनु थियो । सन् २०१७ को नोभेम्बर २१ मा न्युजविक पत्रिकाको वेभसाइटमा प्रकाशित समाचारअनुसार गरिबीकै कारण संरा अमेरिकाका हजारौँ जनतालाई मताधिकारबाट वञ्चित गरिएको छ । संरा अमेरिका नौ वटा राज्यले महान्यायाधिवक्ता वा अदालतलाई तिर्नुपर्ने जरिवाना नतिर्ने नागरिकलाई मताधिकारबाट वञ्चित गर्ने कानुन पारित गरेको छ । अलाबामा राज्यमा मात्र अदालती दस्तुर नतिरेको भन्दै एक लाखभन्दा बढी संरा अमेरिकी नागरिकको नाम मतदाता नामावलीबाट मेटिएको थियो । त्यति मतदाता सङ्ख्या भनेको सो राज्यको कुल मतदाताको ३ प्रतिशत मतदाता हुन आउँछ । त्यसैकारण संरा अमेरिकी निर्वाचनहरूमा न्यून मतमात्र खस्ने गर्दछ । सन् १९४० को दशकयता गत सन् २०१४ को मध्यावधि चुनावमा सबभन्दा न्यून सङ्ख्यामा मत खसेको थियो । त्यो निर्वाचनमा संरा अमेरिकाभरिबाट औसत ३७ प्रतिशतमात्र मत खसेको थियो ।
दोस्रो, सरकारी पद धनी र माथिल्लोवर्गकै मौजाजस्तै बनेको छ । संरा अमेरिकी राजनीतिक अभ्यासअनुसार चुनाव जितेपछि निर्वाचित व्यक्तिले आफ्नो चुनावी अभियानमा उल्लेख्य मद्दत गर्ने व्यक्तिहरूलाई नै सरकारी पदमा नियुक्ति दिने गरेको छ । मुख्य चन्दादाता र चन्दा सङ्कलकले नै सरकारी पदमा नियुक्ति खाने गर्दछ । पदभार ग्रहण गरिसके संरा अमेरिकी राष्ट्रपतिले ठुलो सङ्ख्यामा चन्दादातालाई विभिन्न देशमा संरा अमेरिकी राजदूत बनाउने गर्छ । सन् २००० को राष्ट्रपति निर्वाचनपछि सरकारका एकतिहाइ पदमा निर्वाचित राष्ट्रपतिका आफन्त, साथी र चुनाव जिताउने प्रमुख चन्दादातालाई नियुक्ति दिइएको थियो । सन् २००८ को राष्ट्रपति निर्वाचन जित्न सहयोग गर्ने ५५६ जना ‘चन्दा ठेकेदार’ मध्ये एकतिहाइले सरकारी पदमा नियुक्ति पाएका थिए अथवा तत्कालीन सरकारका सल्लाहकार बनेका थिए । ५ लाख अमेरिकी डलरभन्दा बढी चन्दा सङ्कलन गर्ने ८० प्रतिशत चन्दा ठेकेदारलाई महत्वपूर्ण पदमा नियुक्ति दिइएको थियो ।
तेस्रो, पैसामुखी राजनीतिले प्रष्टतः धनी वर्गकै हित गर्छ । चुनावमा चन्दाको नकारात्मक परिणाम भनेको थोरै सङ्ख्यामा रहेका धनी मानिसहरूको अत्यधिक बहुमत जनताको भन्दा बढी प्रभाव हुन्छ । जसकारण धनीको हितमा ऐन कानुन बन्छ । धनीलाई ती कानुनले क्षति गरेको हुन्छ । पैसाले कानुन निर्माण र सरकारी निर्णयमा प्रभाव पार्न सकिने भएपछि धनी व्यक्तिले चुनावमा चन्दा दिन्छन् । त्यसबापत उम्मेदवारले उनीहरूलाई फाइदा दिने वाचा गर्छन् र उनीहरूको पक्षमा कानुन बनाउने प्रतिबद्धता व्यक्त गर्छन् ।
पैसाको सहारामा निर्वाचित भएका राष्ट्रपति र सरकारले निःसन्देह धनीकै हितमा काम गर्छ । धनीकै पक्षमा ऐन–कानुन बनाउँछ । खुलमखुला वा गोप्यरूपमा धनीकै हितमा उनीहरूले काम गरिरहेका हुन्छन् । यो पैसा र शक्तिको गोप्य कारोबार हो । सन् २०१७ मा निर्वाचित भएको रिपब्लिकन सरकारले संरा अमेरिकाका धनीवर्गको प्रतिनिधित्व गर्ने कुरा सर्वविदित सत्य हो । सन् २०१७ मा संरा अमेरिकी संसद््ले पारित गरेको सङ्घीय बेरोजगारी कर ऐनले कर कटौती गर्ने दाबी गरेको थियो । तर, व्यवहारमा सबै जनताको लागि कर कटौती गर्ने उद्देश्यले त्यो कानुन बनेकै थिएन । त्यो ऐनले संरा अमेरिकाका धनी र ठुला व्यापारिक कम्पनीको मात्र कर कटौती ग¥यो । गरिब जनताको टाउकोमा अझ करको भारी थोप¥यो । त्यो कानुनले धनी परिवारको आय करको दर ३९.६ प्रतिशतबाट ३५ प्रतिशतमा झा¥यो । ४.६ प्रतिशतले करको दर घटाइयो । गरिब परिवारको करको दर भने १० प्रतिशतबाट १२ प्रतिशतमा उकासियो । यसप्रकार यो ऐनले धनी परिवारलाई फाइदा गरेको छ भने गरिब परिवारलाई हानि गरेको छ । सन् २०१७ को अन्त्यतिर गलअप पोलले गरेको सर्वेक्षणले ५६ प्रतिशत नागरिकले सो कानुनको विरोध गरेका थिए । २९ प्रतिशत जनताले मात्र समर्थन गरेका थिए । व्यापारिक करको सन्दर्भमा पनि त्यो ऐनले संयुक्त साझेदारी कम्पनीहरू जस्तै ठुला र सूचिकृत कम्पनीको आयकर ३५ प्रतिशतबाट २० प्रतिशतमा झारेको थियो । १५ प्रतिशतसम्म करको दर घटाइएको थियो । जबकि ८.६ प्रतिशत संरा अमेरिकी कम्पनीले मात्र सो कर न्यूनीकरण नीतिबाट लाभ लिएका थिए । एकल स्वामित्व र साझेदारीमा चलेका स–साना ९० प्रतिशत कम्पनीले भने त्यसबाट केही लाभ हासिल गर्न सकेनन् । सो ऐनअन्तर्गत ती साना कम्पनीका मालिकले सबभन्दा माथिल्लो दरमा व्यक्तिगत कर तिर्नुप¥यो । त्यो भनेको ३७ प्रतिशतसम्म कर तिर्नुप¥यो । उनीहरूको कर लाग्ने आम्दानीमा २० प्रतिशत मात्र कर छुट गरियो । पैसाले सामाजिक समानताको अवस्था भयावह बनाएको छ । संरा अमेरिकाको सामाजिक न्यायलाई पैसाले आधारभूतरूपमा क्षतिग्रस्त बनायो ।
चौथो, पैसामुखी राजनीतिले संरा अमेरिकाका गहिरिंदो राजनीतिक र सामाजिक समस्या समाधान गर्न निकै कठिन बनाएको छ । बन्दुकको बिगबिगी र बन्दुक हिंसा संरा अमेरिकाको प्रमुख राजनीतिक र सामाजिक समस्या हो । विगत केही वर्षदेखि संरा अमेरिकी समाजलाई यो समस्याले गहिरो गरी गाँजेको छ । विद्यालय र अरु सार्वजनिक स्थानमा गोलीकाण्ड बरोबर हुने गरेको छ । हरेक वर्ष संरा अमेरिकामा ३० हजारभन्दा बढी मानिस बन्दुकबाट हुने हत्या, दुर्घटना र आत्महत्याबाट हुने गरेको छ । १० हजारभन्दा बढी मानिस बन्दुकको हिंसाबाट मारिन्छन् । दुई लाखभन्दा बढी मानिस बन्दुकको कारण घाइते हुने गरेका छन् । ती वर्षमा बन्दुकमाथि कडा नियन्त्रण गर्न सकेको भए यो अवधिमा भएका अधिकांश मृत्यु र घटना रोक्न सकिन्थ्यो । तर, बन्दुक नियन्त्रणको विपक्षी नेसनल राइफल एसोसिएसन अफ अमेरिका (एनआरए) जस्ता स्वार्थ समूहले बन्दुक नियन्त्रण गर्ने सरकारको योजना चुनावी क्रियाकलापमा सहभागी बनेर र निर्णय तहमा प्रभाव पारेर विफल पारिदियो । त्यस्ता स्वार्थ समूहहरूले संरा अमेरिकाको राष्ट्रपति तथा संसदीय चुनावमा विशेष राजनीतिक भूमिका खेल्ने गर्छन् । सन् २०१० देखि २०१८ सम्ममा एनआरएले मात्र ११ करोड ३० लाख अमेरिकी डलर बराबरको खर्च महासमितिहरूमार्फत भएको थियो । एनआरए संरा अमेरिकाको प्रमुख बन्दुक नियन्त्रणविरोधी सङ्गठन हो र त्यहाँको सबभन्दा प्रभावशाली दबाब सङ्गठन हो । त्यसको वार्षिक सञ्चालन खर्च नै २५ करोड अमेरिकी डलरभन्दा बढी छ । चुनाव हुने वर्षमा उसको त्यो खर्च बढ्ने गरेको छ । उनीहरूले गर्ने ठुलो परिमाणको खर्चको कारण एनआरएले प्रतिनिधित्व गर्ने स्वार्थ समूह आफ्नो लक्ष्यमा निकै सफल छ । उनीहरूकै दबाबमा संरा अमेरिकाका सबै बन्दुक नियन्त्रणसम्बन्धी विधेयक विफल हुन्छन् जसले त्यहाँ बन्दुक नियन्त्रण अझै कठिन हुने गरेको छ ।
पैसामुखी राजनीतिले संरा अमेरिकी समाजको चरित्र उजागर गरेको छ । संरा अमेरिकाले आफूले आफैँलाई प्रजातान्त्रिक अभ्यासको सबभन्दा उत्तम उदाहरण भनी आत्मप्रशंसा गर्छ । मानवअधिकारको रक्षा गरिरहेको दाबी गर्छ । ‘संरा अमेरिकी शैलीको लोकतन्त्र’ धनी र पुँजीपतिवर्गको लोकतन्त्र हो । त्यसले कहिले पनि संरा अमेरिकी समाजको तल्लोवर्गको हित गर्दैन । संरा अमेरिकी संविधानमा उल्लेख भएका लोकतान्त्रिक अधिकार गोजीमा दाम भएका मानिसले मात्र प्रयोग गर्न सक्छन् । पैसाले नै राजनीति, राजनीतिक सहभागिता र बहसमा नियन्त्रण रहने संरा अमेरिकामा पैसाबिना ती सबै कुरा कहिल्यै साकार हुनसक्दैन । पैसामुखी राजनीतिले ‘संरा अमेरिकी शैलीको लोकतन्त्र’ लाई धुजाधुजा बनाएको छ ।
नेपाली अनुवाद : नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *