भर्खरै :

हाम्रो मौलिक परिचय कायम राखियोस्

हाम्रो मौलिक परिचय कायम राखियोस्

जहाँ ढुङ्गा ढुङ्गामा देवताको वास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ
त्यो देश मेरो हो–२
ओम गुरुङले गाएको यो गीतमा भनिएझैँ हाम्रो देश साँच्चै स्वर्गकै टुक्रा हो । यो शैवभूमि, पाशुपत भूमि र विभिन्न ऋषिमुनिहरूको तपोभूमि हो । यो बुद्धभूमि, धर्मभूमि र कर्मभूमि पनि हो । हिमाल, पहाड, तराई, भित्री मधेस, टार, उपत्यका, खोँचले बनेको यहाँको भूबनोट साँच्चिकै अजीव र जादुमय लाग्छ । यी भूमिले संसारका जुनसुकै भूभागमा उब्जने अन्न, तरकारी तथा फलफूल उब्जाउने क्षमता राख्छन् । सानो देश भए पनि यहाँ वर्षभरिमा छवटा ऋतुको अनुभव गर्न पाइन्छ । जाडो तथा गर्मी दुवै विपरीतधर्मी मौसममा पनि यहाँको अधिकतम र न्यूनतम तापक्रमले हामीलाई अन्य देशमा जस्तो गा¥हो पार्दैन । हाम्रा विशिष्ट सांस्कृतिक विविधता र भौगोलक विशेषतामा मोहित भएर यहीँ जीवन बिताउने विदेशीहरू पनि छन् ।
अन्य देशले कृत्रिम वस्तुबाट फाइदा लिन सकेका छन् । हामीले आफ्नै मौलिक र प्राकृतिक वस्तुबाट समेत प्रशस्त फाइदा लिन सकेका छैनौँ । हाम्रा मृतसञ्जीवनी जडीबुटी त्यत्तिकै खेर गइरहेका छन् । विश्वमै जलसम्पदामा धनी देश भएर पनि पानीको सदुपयोग गर्न सकेका छैनौँ । हाम्रा नदीनालाबाट प्रशस्त जलविद्युत् निकाल्न सके हामी पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सक्ने छौँ । भविष्यमा त्यसो गर्न सकेको दिन वास्तवमा हाम्रो देशले समृद्धिको बाटो तय गरेको हुने छ ।
सगरमाथा र लुम्बिनी हाम्रा प्रमुख मौलिक परिचय हुन् । उता भारत, बुद्ध भारतमा जन्मेका थिए भनेर प्रचारबाजी गर्छ । उत्तराखण्डमा ‘पशुपतिनाथ’ पनि बनाइँदै छ भन्ने समाचार आएको थियो । भौतिक सामग्री आफ्नै देशमा भएपछि जे जे बनाए पनि भयो । देखावटीमा विश्वास गरिने आजको जमानामा सत्य लुक्ने र झूटो देखिने रहेछ ! बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेको यही होला ।
हाम्रा हिमाली/पहाडी क्षेत्रमा, तराई तथा उपत्यकामा झैँ अन्नबाली फल्दैनन् भन्दैमा तिनको महत्व छैन भन्ने होइन । त्यहाँ, यार्सागुम्बालगायतका दुर्लभ वनस्पति पाइन्छन् । मानवीय स्वास्थ्यलाई फाइदा पु¥याउने औषधीय गुणका दुर्लभ अन्न र फलफुल त्यतैतिर फल्छन् । सहरिया धुवाँ धुलो, भिडभाड र कृत्रिम जीवनशैलीबाट दिक्क भएकालाई हरेक पहाड, जङ्गल, टार, खोँच र बेँसीले स्वर्गीय अनुभूति प्रदान गर्छन् । सूर्योदय हेर्नको लागि दार्जीलिङको ‘टाइगर हिल’ जानु पर्दैन । यहाँ, नगरकोट (भक्तपुर), आमा याङ्ग्री (सिन्धुपाल्चोक), अन्तु (इलाम) देखि लिएर सयौँ ‘टाइगर हिल’ छन् ।
देवता दर्शन गर्न भारतका चार धामलगायत अनेक तीर्थ जानुपर्दैन । वराह क्षेत्र, मुक्तिनाथ, पशुपतिनाथ, हलेँसी हामीसँगै छन् । पाप नास गर्न फोहोरी गङ्गामा नुहाउन जानुपर्दैन । कोसी, गण्डकी, कर्णालीजस्ता पवित्र गङ्गा हाम्रै छन् । पितृ तार्न गया जानु पर्दैन । गोकर्ण, शङ्खमूल, शाली नदी हाम्रै छन् । ती सबैको खालि प्रचारप्रसार र भौतिक सजावट हुनमात्र बाँकी भएको हो ।
नेपालीमा एउटा उखान छ, ‘माल पाएर के गर्नु, चाल पाए पो !’ भूगोलविद् हर्क गुरुङले पनि भनेका रहेछन्, “नेपाल नचिन्नु नै नेपालीको अभिशाप हो ।” साँच्चै नै यो स्वर्गको टुक्रालाई हामीले आजसम्म चिन्न सकेका छैनौँ । यहाँको स्वच्छ पानी र बहुमूल्य खानी खजानाप्रति शक्तिराष्ट्रले आँखा गाड्दै छ । विदेशी प्राध्यापक आएर “नेपाल भनेको सुनको कचौरा थापेर भिख मागिरहेको देश हो” भनेर सम्झाए तर पनि हामीले चेत पाएका छैनौँ । त्यसैले त यहाँका सुनचाँदी फल्ने जमिन बाँझिन थालेको छ । यस्तो विचित्र वातावरणले भरपूर भूमिमा भ्रमणका सौखीन विदेशी पर्यटकहरूका प्रशस्त पाइला टेकाउन सकिएको छैन । छ वटा ऋतुको अनुभव पनि संसारलाइ गराउन सकिएको छैन । अरुको त के कुरा, विश्व सम्पदा सूचीमा परेका ठाउँलाई नै पनि अलि महत्व देखिने गरी व्यवस्थापन गरेर तीबाट आम्दानी लिन सकिएको छैन । भारतका सानातिना मन्दिरमा प्रवेश गर्दा टिकट काट्नुपर्छ । हाम्रा पशुपतिनाथ, स्वयम्भूनाथ, बूढानीलकण्ठजस्ता प्रख्यात स्थलमा प्रवेश निःशुल्क छ ।
तीबाहेक हाम्रा भाषा, भेषभूषा, संस्कृति, जातीय तथा सांस्कृतिक विविधता र त्यसभित्रको एकताले पनि हामीलाई थप चिनाउँछन् । तर, विदेशी अन्धानुकरण बढ्न थालेको हुँदा तीमध्ये कतिलाई नाश गरिसकियो । बाँकी रहेकालाई पनि कतिञ्जेल मौलिक राख्न सकिने हो, भन्न सकिने अवस्था छैन ।
यो देशको माटो मानव जीवनको लागि प्राकृतिक खाद्यभण्डार नै हो । अन्य देशको मरुभूमिमा कोही बटुवाले बाटो भुल्यो भने त्यहाँ ऊ भोकले भन्दा पनि पहिले प्यासले मर्छ होला ! तर, हाम्रो देशको कुनै पनि अनकन्टार ठाउँमा कसैले बाटो बिरायो भने कैयौँ दिनसम्म पनि ऊ भोकप्यासले मर्दैन । किनभने, त्यहाँ कतै न कतै पानी त हुन्छ नै । भोक मेट्नका लागि विभिन्न रूख/वनस्पतिका बोक्रा, पात र मुन्टाको पनि त्यहाँ दुःख हुँदैन । तीबाहेक त्यहाँ जुनसुकै मौसममा पनि कुनै न कुनै फलफुल पाकिरहेका हुनसक्छन् । यस्तो सुविधा संसारका मरुभूमिमय देशमा पाउन कहाँ पाउनु !
हाम्रो देशको यति बहुगौरवशाली परिचय भएर पनि, पछिल्लो समयमा आएर हाम्रो परिचय फेरिएको छ । १७ हजारको बलिदानी र अरबौँको भौतिक नोक्सानी मात्रै होइन, दुईदुई पटक संविधान सभाको चुनाव गरेर बनाइएको हाम्रो ‘नेपालको संविधान २०७२’ सायद संसारकै सबैभन्दा महँगो पुस्तक हुन सक्छ । ठुलाठुला आयोजनाहरू जहाँ पनि महँगा हुन्छन् नै । ठुला भइकन पनि महँगो र धेरै समय लगाएर पूरा गरिएको खानेपानी आयोजना सायद हाम्रै ‘मेलम्ची खानेपानी आयोजना’ हुनुपर्छ । परिकल्पनाको पाँच दशक र काम थालिएको दुई दशकपछि २०७७ चैत १५ बाट यो पानी काठमाडौँवासीको धारामा छोडिएको थियो । कुल खर्च ६५ अर्ब, लागत अझै बढ्दै छ । ७६.२ किमि दूरीको काठमाडौँ निजगढ फास्ट ट्र्याक, रु. एक खर्ब बा¥ह अर्बको लगानीमा चार वर्षभित्र सक्ने गरी २०७४ साल जेठ १४ मा शिलान्यास भएको थियो । यो संसारकै सबैभन्दा महँगो सडक हुने सम्भावना छ । संसारकै सबैभन्दा महँगो संसद् नेपालकै हुनसक्छ । त्यहाँबाट जनताका लागि बन्ने कानुन अति नै महँगो छ । संसारकै सबैभन्दा महँगो निर्वाचन प्रणाली पनि नेपालमै हुनुपर्छ जहाँ उम्मेदवारले पदअनुसार धेरैभन्दा धेरै खर्च नगरी विजय प्राप्त गर्न सक्दैनन् । संसारमा सबैभन्दा बढी सुविधाभोगी नेता त हाम्रै देशमा भएको छ । उनीहरू एकपटक पदमा पुगेपछि प्रायः फर्किएर सामान्य जीवनमा आउनु पर्दैन । पदमुक्त भए पनि उच्चपदस्थले सुविधा पाइरहन्छन् । अन्य देशका नेता पदमुक्त भएपछि सामान्य काम गरेर पनि जीवन यापन गर्छन् । अन्य देशमा नेताले गरेका सानातिना फजुल खर्चको पनि हिसाबकिताब र आलोचना हुन्छ । हामीकहाँ विदेशीसँग ऋण लिएर भए पनि हाम्रा नेता तथा कर्मचारीलाई आवास, तलब, भत्ता, मोटर, इन्धन इत्यादि दिनुपर्छ । सरकारी कम्पनी घाटामा गए पनि कर्मचारीलाई बोनससहितको अन्य सुविधा दिनुपर्छ ।
पछिल्लो दशकमा संसारमा सबैभन्दा बढी झूट बोल्ने नेताहरू पनि हाम्रै देशको हुनुपर्छ । भ्रष्टाचारका लागि अनेक विधि र तरिका अपनाउनमा पनि हाम्रा नेता गणलाई अन्य देशकाले सायदै भेट्टाउलान् । यस्तो भएपछि, जति भ्रष्टाचार गरे पनि कारबाही नहुनेमा पनि हाम्रै नेता पर्ने भए । यो अवस्थामा जनताको परिचय पनि असल हुने भएन । विश्वकै गरिब मुलुक, भ्रष्टाचार हुने मुलुक, आइक्युमा कमजोर जनता भएको मुलुक, प्रदूषित राजधानी सहर… – यस्ता यस्ता परिचय बोकेर बाँच्न हामीलाई सा¥है गा¥हो भइसक्यो । यत्तिका सरकार तथा जनप्रतिनिधिको बुद्धि र विवेक, देश र जनताका पक्षमा जाओस् । हाम्रो मौलिक परिचय कायम राखियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *