नेपालको मौलिक तथा धार्मिक साहित्य स्वस्थानी व्रतकथा
- माघ १, २०८१
पुँजीवादी व्यवस्थाको पात टिपेर फाल्दैमा पुँजीवादी रूख ढल्दैन । पुँजीवादी रूख ढाल्न जरा नै उखेल्नुपर्छ । यो कुरा सामान्य किसानलाई पनि थाहा भएको कुरा हो । तर, लामो समय राजनीति गरेका र अनुभव भएका सत्तासीन र ठुला दलका नेताहरू यही पुँजीवादी व्यवस्थामै रहेर समाजवाद स्थापना गर्ने कुरा गरेर हाँस्यका पात्र बन्छन् । पुँजीवादी व्यवस्थामा रहेर, पुँजीवादी निर्वाचनमा भाग लिएर, पुँजीवादी व्यवस्थाका केही कमी कमजोरी हटाएर या सुधारेर समाजवाद स्थापना हुँदैन । निरङ्कुश पञ्चायती व्यवस्था बहुदलवादीले पञ्चायती निर्वाचनमा भाग लिएर अन्त्य भएको होइन । पञ्चायती व्यवस्था अन्त्य गर्न २०३६ सालमा आन्दोलन भयो । २०४६ सालमा आन्दोलन भयो । आन्दोलनले नै पञ्चायती व्यवस्थालाई फाल्यो । यो यथार्थ हो ।
हालको पुँजीवादी व्यवस्था पनि सङ्घर्ष नगरी फाल्न सकिँदैन । कम्युनिस्टहरू पुँजीवादी व्यवस्थाका पक्षपाती होइनन्, पुँजीवादविरोधी हुन्छन् । कम्युनिस्ट नेता, कम्युनिस्ट लेखक र कम्युनिस्टप्रति आस्था राख्ने कति राजनीतिक विश्लेषकहरू यो पुँजीवादी व्यवस्थामै रहेर समाजवाद ल्याउने कुरा फुक्छन् । यो कम्युनिस्ट विचार होइन । यसले ती व्यक्तिहरू सच्चा कम्युनिस्ट होइनन् भन्ने थाहा हुन्छ । यसले देशमा परिवर्तनको निम्ति सङ्घर्ष आवश्यक छैन भन्ने अर्थ लाग्छ । यसले पुँजीवादी व्यवस्था नै ठीक छ भन्ने अर्थ लाग्छ ।
सच्चा कम्युनिस्ट पार्टीहरू सङ्घर्षबिना समाजवाद स्थापना हुन्छ भन्ने विश्वास गर्दैनन् । तर, नेपालको राजनीतिक मञ्चमा सामन्ती र पुँजीवादी नेताहरू मात्र होइनन्; कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार नमान्ने कम्युनिस्ट नेताहरू पनि छन्; ‘कम्युनिस्ट पार्टी’ भन्दै तिनीहरूले पुँजीवादी गणतन्त्रलाई आत्मसात गरेका छन् । पुँजीवादी सत्तामा रहेर पार्टी चलाइरहने बाटो खोजेका छन् । तिनीहरू साँचो मानेमा समाजवाद स्थापना गर्न चाहँदैनन् । उनीहरू क्रान्तिको बाटो त्यागी सत्ताको लोभमा पदको निम्ति लुछाचुँडी गर्छन् । पद नपाउने बित्तिकै तिनीहरू सरकार समर्थन फिर्ता लिने या अर्कै दलसँग मिलेर नयाँ सरकार गठन गर्ने धम्की दिन्छन् । भियतनाम, कम्बोडिया, लावसको साम्राज्यवादविरोधी सङ्घर्ष र त्यहाँको राजनीतिक हेरफेरबाट शासक कम्युनिस्टहरू शिक्षा लिँदैनन् । सारमा, तिनीहरू पुँजीपतिवर्गकै पक्षमा राजनीति गर्छन्, गरिरहेका छन् ।
यो पुँजीवादी सरकारले बहुमत जनताको हितमा शासन चलाएको छैन । मजदुर, किसान, बहुमत जनता गरिबी, अभाव, रोग, शोक र शोषणको मारका परेका छन् । यो व्यवस्था कामदारवर्गको शोषणमा आधारित छ । यो व्यवस्थाले कामदारवर्गमाथि नै शोषण गरिरहेको छ, शासन गरिरहेको छ । रूसका सर्वहारावर्गका नेता लेनिनले भनेका थिए, “राजसत्ता एक वर्गले अर्को वर्गलाई दबाउने ज्यावल हो । त्यो ज्यावलले एक वर्गको रेखदेखमा अरू वर्गलाई अधीनमा राख्छ ।” यसकारण, कम्युनिस्टहरू पुँजीवादी गणतन्त्रमा भुलिरहने होइन । बहुमत जनताको हितमा ध्यान राखेर मजदुर र किसान आन्दोलन अघि बढाउनुपर्छ । क्रान्ति सङ्घर्षबाट सम्भव छ; यसमा शङ्का गर्ने ठाउँ छैन । शान्तिपूर्ण र संसदीय बाटोबाट क्रान्ति हुन्छ र समाजवाद आउँछ भन्ने कुरा भ्रम हो ।
पुँजीवादी निर्वाचनमा भाग लिनुको अर्थ देशमा समाजवादी व्यवस्था स्थापना गर्न होइन । चुनावमा भाग लिनुको अर्थ क्रान्तिको निम्ति संसदीय सङ्घर्षलाई उपयोग गर्न हो या संसदलाई क्रान्तिकारी संसद्वादको रूपमा उपयोग गर्न हो । पुँजीवादी व्यवस्थामा रहेर पुँजीवादी निर्णय र कामको विरोध गर्न या पुँजीवादी सरकारलाई गलत निर्णय र गलत काम नगराउन खबरदारी गर्नको निम्ति उपयोग गरिएको हो । वर्गसङ्घर्षलाई संसदीय सङ्घर्षमा मात्र सीमित राखिँदैन । त्यसको मातहतमा राख्न खोज्नु पनि पुँजीपतिवर्गको पक्षमा जानु हो या कम्युनिस्ट चरित्रको विरोध गर्नु हो या कम्युनिस्ट आन्दोलनलाई पछि धकेल्नु हो । संसदमा खालि अवसरवादमाथि गाली गरेर या विरोध गरेर कुनै दल क्रान्तिकारी हुँदैन । संसद्मा सरकारको विरोध गरेर देश र जनतासित सम्बन्धित रहेर राजनीति गर्दैन; देशमा परिवर्तनको बाटो खोज्दैन भने त्यो दलले दिशा निर्देश गर्न सक्दैन; देशको मुहार फेर्न सक्दैन । भ्रष्टाचारका फाइलहरू खोज्नु राम्रो हो । तर, फाइल खोजेर त्यसै छोड्छ या कारबाहीको प्रक्रिया अघि बढाउँदैन भने त्यो लोकाचारको मात्र राजनीति हुन्छ ।
Leave a Reply