भर्खरै :

नेमकिपाका एक किसान कार्यकर्ताका सम्झनाहरू

नेमकिपाका एक किसान कार्यकर्ताका सम्झनाहरू

पार्टी सङ्गठनको निर्देशन पालन गर्नु र कार्यान्वयन गर्नु पार्टी कार्यकर्ताको कर्तव्य हो । पार्टीले दिएको काम पूरा गर्ने जिम्मेवारी पार्टी कार्यकर्ताको हो । यही शिक्षा–दीक्षा पाउँदै, सिक्दै आएका हामीलाई पार्टीबाट दिएको काम गर्न र खटाएको ठाउँमा जान कुनै अप्ठ्यारो हुँदैनथ्यो ।
आधारभूत तहमा अध्ययन गरिरहँदा नै जिल्लाभित्रका गाउँ गाउँमा सङ्गठनको पत्र सङ्गठनका कार्यकर्ताहरूमा पु¥याउने काम गर्दै आएको सम्झना छ । त्यसबेला जहाँ गए पनि हिँडेर जानुपथ्र्यो । तीन–चार वटा गाउँ डुल्दा दिन नै बित्थ्यो ।
२०३२ सालदेखि नै पार्टीको आदेश र खबर चितवनमा पु¥याउने काममा मलाई पनि पठाउने गरिन्थ्यो । त्यसबेला मुग्लिन–नारायणघाटको बाटो बनेको थिएन । चितवन जान टिस्टुङ–पालुङको पहाडी बाटो भई हेटौँडा पुगेर जानुपथ्र्यो । भक्तपुर–काठमाडौँबाट चितवन रत्ननगर÷नारायणघाटसम्म चिट्ठी पु¥याई फर्कन घटीमा ३ दिन लाग्थ्यो । माढी–शक्तिखोरसम्म पु¥याउनुप¥यो भने ५÷६ दिन लाग्थ्यो । माढी पुग्न रत्ननगरबाट एक दिन हिँडेर जानुपथ्र्यो । । त्यस्तै शक्तिखोर पुग्न पनि एक दिन लाग्थ्यो ।
चितवनका साथीहरूको घर बजारतिर कमैको मात्र थियो । धेरैजसो साथीहरूको घर गाउँको बस्तीमा थियो । गाउँमा पुग्ने व्यवस्थित बाटो थिएन । गोरेटो र घोडेटो बाटोबाट जानुपथ्र्यो । एक–दुई पटक पुगेको घरमा पछि जाँदा अल्मलिन्थ्यो ।
एकपटक कहिल्यै नभएको जस्तो भयो । एकजना साथी र म पहिलेझैँ चितवनमा चिट्ठीपत्र पु¥याउन गएका थियौँ । हामी रत्ननगरमा झिसमिसे साँझमा पुगेका थियौँ । गाउँको साथीकोमा जानुपर्ने थियो । समयमै पुगिन्छ भनी हामी गाउँतिर लाग्यौँ । धानको बोट सप्रिसकेको समय थियो । गोरेटो बाटोको ठाउँठाउँमा पानी बगिरहेको थियो । धान बारीको गोरेटो बाटोबाट जाँदा जाँदै अँध्यारो हुनथाल्यो । साथीको घर पुगेको होइन । बाटोमा घर एउटा पनि थिएन । कोही मान्छे भेटेको पनि होइन । हामीलाई त के गरौँ, कसो गरौँ भयो । अँध्यारोमा अन्दाजको भरमा साथीको घर खोज्दै गयौँ । राति करिब ८ः३० बजे एउटा घरमा पुग्यौँ । हामीले त्यो घरमा ढकढकायौँ । ढोका खुल्यो । आखिर त्यो घर नै साथीको रहेछ ।
साथीको घर सोधौँला, थाहा नभए बास मागौँला भन्ने मनसायले ढोका ढक्ढक्याउँदा साथीले नै ढोका खोल्न आउँदा हाम्रो मन एकैचोटी हलुका भयो । मनमा उब्जिएको डर–त्रास–चिन्ता सबै हटी आनन्दको अनुभूति भयो ।
हामीलाई घर भित्याउँदै साथीले अचम्म मान्दै भन्नुभयो, “यति अबेला, अँध्यारोमा तपाईंहरू कसरी आउनुभयो ? हामी सधैँ हिँडिरहेकालाई नै गा¥हो हुन्थ्यो !”
साथी र भाउजूले तत्काल हामीलाई खाना पकाउनुभयो । तात्तातो मीठो खाना खाई आनन्दले सुत्यौँ ।
त्यसबेला चितवनमा बराबर जानुपर्ने हुन्थ्यो । पार्टीको कुनै खबर पु¥याउनुपर्दा धेरैजसो मलाई पठाउने गरिन्थ्यो । पार्टीबाट अ¥हाएपछि नाईनास्ती गर्ने कुरा पनि भएन । एउटा झोला बोकी हिँडिहाल्थेँ ।
साउन–भदौको समय थियो । चितवनमा म एक्लै गएको थिएँ । त्यसबेला बाइरोड (टिस्टुङ–पालुङ भई जाने) को बाटो भई हेटौँडा जाने बस थियो । तर, हामी कहिल्यै बसबाट गएनौँ । प्रायः साथीहरू बसबाट नगई ट्रकमा जाने गर्थे । कारण बसले भन्दा ट्रकले ज्यादै सस्तो भाडामा लग्थे । वीरगञ्जबाट सामान ल्याउनको लागि काठमाडौँबाट खाली मालवाहक ट्रकहरू धेरै नै जान्थे । ट्रकले ४÷५ रुपैयाँमा हेटौँडा–वीरगञ्ज पु¥याउने गथ्र्यो । त्यसैले हामी प्रायः कालीमाटीबाट ट्रकमा जाने गथ्र्यौँ । म पनि ६ रुपैयाँमा ट्रकको अगाडिको सीटमा बसी हेटौँडा पुग्थेँ ।
हेटौँडा–नारायणगढ–बुटवलको बाटो निर्माण भइरहेको समय थियो । सडक प्रायः तयार भइसकेको थियो । तर, पुलहरू बनाएको थिएन । खोला–नदीबाट नै गाडीहरू वारपार गर्ने गर्थे । हेटौँडाबाट म बसमा बसी चितवन जाँदै थिएँ । एउटा नदीको वारितिर बस रोकियो । यात्रुहरू सबै झरे । नदीमा ठुलो बाढी आइरहेको रहेछ । नदीमा बाढी कम नभइकन बस, मानिस कोही नदी तर्न सक्ने सम्भावना थिएन । हामीलाई ल्याएको बस हेटौँडा नै फक्र्यो । यात्रुहरू सबै अलमलमा परे । बाढी आएको हेर्दाहेर्दै अँध्यारो हुनथाल्यो । मानिसहरू यताउता लागे । मलाई कहाँ जाउँ, कता जाउँ भयो । जहाँ बसेर भए पनि रात त बिताउनैप¥यो । बास बस्न यताउता सोधिहिँडे । बाटो छेउको एउटा सानो छाप्रोमा सोध्न गएँ । एकजना बुढी बज्येमात्रै देखेँ । बुढी बज्येले छाप्रोको पिलि (आँगन) मा बस्ने भए बस भन्नुभयो ।
राति अँध्यारो आँगनमा एक्लै पल्टी बसेँ । नजिकै खेतमा भ्यागुतो ट्वारट्वार गर्दै थियो । सर्पको साथै जङ्गली जनावरको डर पनि थियो । रातभरि पटक्कै निदाउन सकिन । बिनानिद्रा रात बित्यो ।
भोलि बिहान नदीको बाढी केही कम भएको थियो । एक दुई–जना मानिसहरू एक आपसमा हात समाई नदी पार गर्न थाले । नदीमा पानी मानिसको छातीसम्म आएको थियो । बस गाडी कुनैले पनि नदी पार गरेन । हेटौँडाबाट आएको बस नदीको पारिसम्म मात्र आउँथ्यो र नारायणगढबाट आएको बस नदीको पारिसम्म आई फर्किन्थ्यो ।
नदीको बाढी कम हुँदै थियो । मानिसहरू दुई–तीन जना मिली एक आपसमा हात समाई नदी तर्नेको सङ्ख्या बढ्न थाल्यो । म पनि नदी तर्न तयार भएँ । सर्ट–पाइन्ट फुकाली झोलामा राखेँ । झोला टाउकोमा बाँधे । अरु दुई जनाको साथमा नदी तर्न सफल भएँ ।
चितवनमा जाँदा फरक फरक गाउँका धेरैजना साथीहरूसँग भेट तथा चिनजान भयो । एकदिन राति चितवन रत्ननगर नजिकको एउटा समितिको बैठकमा साथीले मलाई पनि सँगै लानुभयो । एउटा घरको जमिन तलाको कोठामा १०÷१२ जना साथीहरू थिए । हामी पुगेपछि बैठक सुरु भयो । बैठकमा साथीहरूले पालैपालो उठेर आ–आफ्नो मन्तव्य राखेँ । त्यस बैठकमा मलाई पनि बोल्न लगाएको थियो । मैले समाजको वर्ग विभाजन र शोषणको विषयमा आफूले जानेअनुसार बोलेँ । मलाई हेर्दै ध्यानपूर्वक सुनेको देखेँ । चितवन सङ्गठनको बैठकमा भाग लिएको त्यो पहिलो बैठक थियो ।
चितवनमा जाँदा हामी कहिल्यै होटेलमा बस्ने र होटेलमा खाने गर्दैनथ्यौँ । हामी त्यहाँ पुगेपछि साथीहरूले खाने र बस्ने व्यवस्था गर्नुहुन्थ्यो । साथीहरू पालैपालो खाना खुवाउने जिम्मा लिनुहुन्थ्यो । साथीहरूले पठाएको घरमा जाने र साथीहरूको घरमा जे पाक्छ, खाइन्छ हामी पनि त्यही खान्थ्यौँ ।
हामीले धेरैजना साथीको घरमा पुगी खाना खाएका थियौँ । सबै साथीहरूका घरमा साधारण खाना हुन्थ्यो । धेरैजसोको घरमा थोरै चामलको भात र बढी ढिडो हुन्थ्यो । दाल र सागको साथमा ढिँडो खान्थ्यौँ ।
एकदिन रातिको खाना एक गुरुङ साथीको घरमा खान लगियो । गुरुङहरूको बस्ती अलि फरक देखियो । धेरै परिवार एउटै चोकमा हुन्थ्यो, काठ–बाँसले बनाएको, घाँस–परालले छाएको जमिन तल्लामात्र भएको घर, भित्ता बाँस र घाँसको परालले बनाएको थियो । ठुलो परिवारसँगै खाने गर्थे । गुरुङहरू चामलको भात, दाल र सागको तरकारी थपी थपी खाएको अझै सम्झना छ ।
सङ्गठनले हामीलाई सिकाएको त्यही हो – जनताको सेवामा लागेका मानिस जनतासँगै बस्नुपर्छ, जनताले जे खान्छन्, हामीले त्यही खानुपर्छ, जनता जहाँ बस्छन्, जसरी बस्छन्, त्यसरी नै बस्न सक्नुपर्छ । जनतासँग बस्ने, जनतासँगै सिक्ने र जनतालाई दिने कम्युनिस्टको सिद्धान्त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *