साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
बेलायतमा पुँजीवादको विकासले देशको सारा सम्पत्ति कारखानाको मालिक, व्यापारी, साहु, महाजन र वैकपतिहरूको हातमा थुप्रिँदै गयो । जनतामा गरिबी र भोकमरी फैलिँदै गयो । कारखानाहरूमा नयाँ–नयाँ मेसिनहरू जडान हुँदै थियो । ५०– ६० जना जुलाहा र कालिगडले गर्ने काम एउटै मेसिनले भ्याउँथे । थोरै मजदुरहरूवाट पनि छिट–छिटो र धेरै–धेरै सामान तयार हुन थाल्यो, त्यसले गर्दा जुलाहा, कालिगड र मजदुरहरूको खाँचो घट्न थाल्यो । तिनीहरूको ज्याला घट्दै गयो । पुराना मजदुरहरूको कामसमेत मेसिनले नै गर्ने भएकोले तिनीहरूले पनि काम पाउन छोडे र तिनीहरू कारखानाहरूबाट निकालिन थाले । काम नपाउने मजदुरहरूको सङ्ख्या बढ्दै गयो र मानिसहरू भोक भोकै मर्न थाले । काम गर्न चाहने ज्यामीहरूको छेलोखेलो थियो, काम थिएन र ज्यालाको दर घट्न थाल्यो अथवा कारखानाका मालिकहरूले ज्याला घटाउन थाले ।
यस्तो गाहो बेलामा मजदुर र ज्यामीहरू आपसमा सरसल्लाह गर्न र आ–आफ्ना सङ्गठनहरू बनाउन थाले । काम–माम पाउनको निम्ति तिनीहरूले हड्ताल, जुलुस र धर्ना दिन थाले । बेलायतको सरकारले मजदुर–ज्यामीहरूको सङ्गठन बनाउन नपाउने ऐन बनायो, सरकारको त्यस ऐनले मजदुर जनता झन् रिसाए । अब तिनीहरूले भित्रभित्र लुकीचोरी गुप्त सङ्गठनहरू बनाउन थाले । ती सङ्गठनहरूमध्ये एउटा सङ्गठनको नाम ‘मजदुर साथीहरूको सभा’ थियो । त्यस सँगसँगै ‘लुडाइटहरूको सङ्घ’ भन्ने एक अर्को गुप्त मजदुर सङ्गठन पनि काम गर्दै थियो ।
‘लुडाइट’ कुनै एक लडाकु मानिस वा सङ्गठनको नेताको नामबाट सुरु भएका थियो । नेड लङ नाम गरेको एक युवक कालिगड त्यस सङ्गठनका नेता थिए । उनकै नामबाट त्यस सङ्गठनकै नाम ‘लुडाइटहरूको सङ्घ’ राखियो । त्यसको अर्थ हो– ‘लडाकुहरूको सङ्घ’ । मजदुरहरूको ज्याला घट्नु र काम नपाउनुको कारण नै नयाँ–नयाँ मेसिनहरू हुन् भन्ने कुरो त्यस सङ्गठनले ठम्यायो । हातले बुनेको भन्दा मेसिनले तयार गरेकोमा सामान राम्रो र असल हुन्न भन्ने धारणा पनि त्यसबेलाका मानिसहरूमा थियो । त्यसकारण, मजदुरहरूमात्रै होइन साधारण जनता पनि मेसिनलाई मनपराउँदैनथे ।
बेलायतको दक्षिण–पश्चिम भागमा ऊनी कपडा र अरु कपडाका धेरै कारखानाहरू थिए । सन् १८०२ देखि १८०९ सम्ममा ती कारखानाहरूमा ‘जिगमिल’ भन्ने नयाँ मेसिन जडान गर्ने काम टुङ्गियो । ती मेसिनहरूले गर्दा त्यहाँका धेरै मजदुरहरू बेकामका भए । यसकारण, त्यस इलाकामा ‘लुडाइट मजदुर सङ्घ’ चालु हुन थाल्यो । मेसिनलाई जडान गर्न नदिन र त्यसलाई चालु गर्न नदिन मजदुरहरूले हड्ताल, जुलुस, धर्ना, घेराउ र विरोधका विभिन्न उपायहरू गरे । मेसिनलाई चलाउनै नदिने अनेकौँ सङ्घर्षहरू गरिए । तर, सरकारको पुलिस र पल्टनहरूले तिनीहरूको बाधा र विरोधलाई असफल बनाइ दिन्थे । स्थानीय पत्रपत्रिका र लोकमत मजदुरहरूको समर्थनमा थियो । लोकमतले लुडाइटहरूको मनोवललाई उठाइ दिन्थ्यो । लुडाइट मजदुर सङ्घले मेसिनलाई नै आफ्नो मुख्य शत्रु सम्झ्यो र मेसिनलाई ध्वस्त पारेपछि कारखाना फेरि मजदुरहरूबाटै चल्ने छ भन्ने कुरा ठम्याएको थियो । यसकारण, लुडाइटहरूले राती–राती भेष बदलेर वा मुकुन्डो लगाएर कारखानाका मेसिनहरू फोर्ने कामहरू सुरु गरे । सरकारले मिल मालिकको मद्दत गर्न पुलिस र पल्टन पठाउँथ्यो, मजदुरहरूमाथि दबाउने काम सुरु गर्दथ्यो । कारखानाका मालिकहरूले मेसिनलाई मर्मत गराउँथे, पार्टपुर्जा फेर्थे वा नयाँ मेसिन जडान गरेर कारखानालाई फेरि चालु गर्थे ।
बेलायतको बीच भागमा नोटिङ्घम भन्ने एउटा सहर छ । त्यहाँ धेरै कपडा कारखानाहरू थिए । १८११ को नोभेम्बरको महिना थियो । लुडाइटहरूले सबभन्दा पहिले त्यहीबाट मेसिन फोर्ने आन्दोलन सुरु गरेका थिए । तिनीहरूले नयाँ–नयाँ मेसिनहरू टुक्रा–टुक्रा गरेर फोरिदिन्थे, जगेडा सामानहरूमा आगो लगाइदिन्थे र कारखानाको कामधन्दालाई छताछुल्ल पारिदिन्थे । थुप्रै कारखानाहरू आगोले खरानी भए । त्यो आन्दोलन नोटिङघम र त्यसको छिमेकका जिल्लाहरूमा फैलिदै योर्कशायर, लङ्काशायर, डर्विशायर र लिसेस्टशायर जस्ता मुख्य मुख्य सहरसम्म फैलियो । जाडो महिनामा सुरु भएको त्यो आन्दोलन बसन्तसम्म चालु रह्यो, मध्य बेलायतदेखि उत्तरी बेलायतसम्म फैलियो ।
लङ्काशायर कपडा कारखानाको एक केन्द्र थियो । त्यहाँ बेस्टहोटन भन्ने एक ठाउँ छ । बेस्टहोटनको कारखानामा भापले चल्ने मेसिन जडान गर्यो । १८१२ अप्रैलको महिनामा कपडा बुन्ने जुलाहा मजदुरहरूले त्यस भापको मेसिनमा आगो लगाइदिए ।
हर्सफल नामको एक कारखाना मालिक थियो । ऊ सा¥है चुसाहा, निर्दयी र मजदुरविरोधी थियो । ऊ एक नम्बरको जाली र स्वार्थी थियो । उसले पुलिस बोलाएर मजदुरहरूलाई दबाउन दियो । उ बरोबर यस्तै गर्दथ्यो । त्यसकारण, मजदुरहरू उदेखि सा¥है रिसाएका थिए । मजदुरहरूले मेरो ज्यान लिने धम्की दियो भनेर उसले सरकारलाई उजुर गर्यो । उसकै उजुरअनुसार सरकारले त्यहाँ पुलिस र पल्टन पठायो । पल्टनका सिपाहीहरूले मजदुरहरूमाथि गोली हाने । गोली काण्डले मजदुरहरू त्यस वर्गशत्रु, कारखानाका मालिकसँग झन् रिसाए । तिनीहरूले बदला लिने निधो गरे । एक दिन मजदुरहरूले आफ्नो बाचा पूरा गरे, हर्सफलको ज्यान गयो । त्यसपछि कारखानाका मालिक पुँजीपतिवर्ग सा¥है तर्से र बहुला कुकुरझैँ रिसाउन थाल्यो । लुडाइटहरूको ‘हत्या’ र ‘आतङ्क’ को होहल्ला देशभरि फैलियो । पुँजीपतिवर्ग एक भए र लुडाइट आन्दोलनलाई दबाउन जुक्ति गर्न थाल्यो । मेसिन फोर्ने र पुँजीपति या मिल मालिकहरूमाथि हात हाल्नेहरूलाई ठुलो सजाय गर्ने ऐन बनाउन छलफल सुरु गरे ।
बेलायतको सरकार त बेलायती पुँजीपतिवर्गको सञ्चालक समिति मात्रै थियो । प्रतिनिधिसभा वा संसद्ले पुँजीपतिवर्गकै सेवा गर्दथ्यो । त्यसको अत्यन्त ठुलो बहुमत पुँजीपतिवर्गकै सेवक हुन्थे । मेसिन फोर्ने र पुँजीपतिवर्गको ज्यान ताक्नेहरूलाई ठुल–ठुलो सजाय गर्ने ऐनको खेस्रा संसद्मा पुग्यो । त्यसले देशभरि नै ठुलो होहल्ला मच्यो । संसद्भित्र र बाहिर त्यस ऐनको विरोधमा आवाज उठ्यो । तर पुँजीपतिवर्गको हुकुममा मजदुरवर्गको पक्षमा ऐन बन्ने कुरै थिएन । संसद्ले मजदुर विरोधी ऐन बनायो ।
नयाँ ऐनअनुसार योर्कशायरमा कारखानाको मेसिन फोर्ने मजदुरहरूमध्ये १४ जवानलाई फाँसीको सजाय दिइयो । वेस्टहोटनको भापको मेसिनमा आगो लगाउने लङ्काशायरका जुलाहा मजदुरहरूमध्ये ४ जवानलाई फाँसीको सजाय दिइयो । अरु १७ जवान मजदुरहरूलाई ७ वर्षको कैद सजाय दियो । सजाय पाउनेहरूमध्ये लुडाइट सङ्घका नेता पनि थिए । त्यसले गर्दा त्यो आन्दोलन केही समयको निम्ति सेलायो ।
परिस्थिति फेरिएन भने आन्दोलन दबाएर दबिन्न । १८१६ मा बेलायतको बालीनाली कहिल्यै नभएको जस्तो खराब भयो । गहुँको भाउ दोब्बर बढ्यो, आलु खेतीमा किरा पर्यो र जनताको आर्थिक अवस्था झन्झन् खराब हुँदै गयो । गरिबी र भोकमरी बढ्दै गयो । साहु–महाजन, व्यापारी र पुँजीपतिहरूको गोदामहरू मालसामानले भरिभराउ थिए । तर, मालसामान किन्न जनतासँग पैसा थिएन । सामान नबिक्नाले कारखानाहरूले नयाँ सामान बनाउन कम गर्दै गर वा सामान बनाउनै छोडे । सामान कम बनाउँदा मजदुरहरूले कम ज्याला पाए वा मजदुरहरू बेकार भए । सामान बनाउन छोड्दा कारखाना बन्द भयो र सारा मजदुरहरू बेकार भए । बेकारी अवस्थाले जनताको जीवन झन्झन् खराब हुँदै गयो । भोका–नाङ्गा मजदुरहरू झन्झन् रिसाउन थाले । ‘भोकोले के गर्दैन’ भन्ने उखान जस्तै भोकै मर्नुभन्दा तिनीहरूले पुँजीपतिवर्गसँग लडेर मर्नु राम्रो ठाने । लुडाइटहरूको केन्द्र नोटिङघममा फेरि जीवन छायो । मजदुरहरूले आफ्नो आन्दोलन फेरि चालु गर्न थाले ।
सन् १८११–१२ को आन्दोलन र दमनबाट लुडाइटहरूले आन्दोलन र सङ्गठनबारे अनेक अनुभव पाइसकेका थिए । यसकारण, सन् १८१३ देखि १८१५ सम्ममा तिनीहरूले आफ्नो सङ्गठन देभभरि फैलाइ दिए । पुरानो सफलता र असफलताबाट अनेक शिक्षा लिए, सहिदहरूको बलिदानबाट लड्ने साहस र बल प्राप्त गरे । देशभरका मजदुरहरूको अवस्था खराब त छँदै थियो, असन्तोष आन्दोलनको रूपमा सल्किँदै गयो ।
बिस्तारै बेलायतको अधिराज्त्र मेसिनहरू टुक्रा टुक्रा हुन थाले, कारखानाहरू ह्वारह्वार्ती बल्न थाले, पुँजीपतिवर्गको मिठो निद्रा खलबलियो र आन्दोलन दबाउन पुँजीपतिहरू हस्याङ फस्याङ गर्दै सरसल्लाह गर्न थाले । भएभरको बल लगाएर पुँजीपतिवर्गले आन्दोलन दबाउने निधो गरे ।
निधोअनुसार पुँजीपतिवर्गको सरकारले पुलिस, पल्टन, गुप्तचर, घोडचढी सेना, जाली–फटाहा, गुण्डा र सबै खराब तत्वहरू लुडाइटहरूको विरोधमा प्रयोग गर्यो । आन्दोलनकारीहरूले पनि आफ्नो भ्याएसम्मको बल र बुद्धि लगाएर सङ्घर्षलाई अगाडि बढाउँदै लगे । तर, त्यसबेला बेलायतमा एक प्रकारको गृहयुद्ध भएजस्तै थियो । आन्दोलनका सबै इलाकाहरूमा सैनिक चौकी र गस्तीहरू लगाएर दबाउने कामहरू भइरहेको थियो । आखिर बेलायतको पुँजीपतिवर्गको सरकारले अन्याय–अत्याचार गर्ने र थिच्ने सबै किसिमका निर्दयी उपायहरू प्रयोग गरी आन्दोलनलाई दबायो ।
आन्दोलनको असफलताको कारण र शिक्षा
त्यसबेला बेलायतका मजदुरवर्गमा मजदुर आन्दोलनको राम्रो अनुभव थिएन । मजदुर सङ्गठनहरू पनि एक थिएनन् र धेरै स–साना सङ्गठनहरूमा विभाजित थिए । मजदुरवर्गको कुनै क्रान्तिकारी राजनैतिक पार्टी थिएन । राजनैतिक पार्टी नभएको हुनाले मजदुरवर्गको मुख्य शत्रु मेसिन होइन, पुँजीवादी व्यवस्था हो, त्यसलाई आड–भरोसा दिने पुँजीवादी राज्यसत्तालाई पहिले उल्टाउनुपर्छ वा त्यसलाई चकनाचुर पार्नुपर्छ र त्यसमाथि कब्जा गर्नुपर्छ भन्ने चेतना दिने र आन्दोलनलाई राजनैतिक रूप दिने कुनै नेतृत्व नै थिएन । अथवा राजनैतिक सुझबुझ भएको सङ्गठित र बलियो एक मजदुर पार्टी थिएन । मेसिन फोर्दा दबाउन आउने दमनकारी व्यक्तिसँग लड्ने र आफ्नो आन्दोलनलाई राजनैतिक रूप दिने कुनै योजना थिएन । त्यसकारण, पुँजीपतिवर्ग त्यस आन्दोलनलाई दबाउन सफल भयो ।
तर, त्यस आन्दोलन र असफलताबाट मजदुरवर्गमा पुँजीपतिवर्गप्रति वर्गीय घृणा बढ्यो । पुँजीवादी सरकार साँचोमा पुँजीपतिवर्गको पाले, आठ–पहरिया, गुण्डा र लठैत हो भन्ने बुझ्यो । पुँजीवादी सरकार मजदुरवर्गको शत्रु रहेछ भन्ने बुझ्यो । मजदुरवर्गको गुप्त सङ्गठनको परम्परा अगाडि बढ्यो । पुँजीपतिवर्ग र मजदुरवर्ग एक आपसमा मिल्न नसक्ने वर्ग हुन् र मजदुर आन्दोलन पुँजीपतिवर्गको निम्ति एक गृहयुद्ध समान हुने रहेछ भन्ने बुझे । सबै मजदुरहरू एक भएमा, पुँजीपतिवर्गसँग ज्यान फालेर लड्ने आँट गरेमा लड्न सकिने छ भन्ने देखाइदियो । यो नै बेलायतका मजदुरवर्गको मेसिन फोर्ने लुडाइट आन्दोलनको शिक्षा हो ।
– ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट
Leave a Reply