भर्खरै :

बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलन

बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलन

सन् १८३२ भन्दा पहिले बेलायतमा सबै पुँजीपतिहरूले पनि चुनावमा मत दिन पाउँदैनथे । पुराना राजा, रजौटा, काजी, ठुला–ठालु, सामन्त र बिर्तावाल (जमिनदार) हरूले मात्रै चुनावमा चुन्न र चुनिन पाउँथे । सामन्तवर्गको प्रतिनिधिसभाले ऐन कानुन बनाउँथ्यो । त्यस ऐन कानुन बनाउने सभामा ठुला–ठालु, राजा, महाराजा, जमिन्दार र सामन्तहरू मात्र रहने हुनाले तिनीहरूले आफ्नो वर्गको मात्र फाइदा हुने ऐन–कानुन बनाउँथे । व्यापारी, कारखानाका मालिक र पुँजीपतिहरूलाई पनि सामन्तहरूले थिचोमिचो गर्दथे । तिनीहरूको व्यापार, कारखाना र पुँजीमाथि कर लगाउँथे वा अनेक वाधाहरू दिन्थे । पुँजीपतिवर्गसँग राजा, महाराजा, सामन्त, वडा हाकिम र अरु कर्मचारीहरूले घुस लिएर मात्रै काम गर्थे । घुस, सलामी, कर, भेटी–कोसेली र नाफाको हिस्सा दिँदा पुँजीपतिहरूको नाफा कम हुन्थ्यो । त्यसकारण, पुँजीपतिवर्ग पनि प्रतिनिधिसभा या संसद्मा आफ्नो मान्छे चुनेर पठाई आफ्नो पक्षको ऐन बनाउन चाहन्थे । आफ्नो प्रतिनिधिले आफ्नो पिर–मर्काबारे संसद्मा भन्दथ्यो र आफूलाई फाइदा हुने ऐन कानुन बनाउँथ्यो ।
पुँजीपतिवर्ग झन्झन् धनी हुँदै थियो । तिनीहरूले गाउँ र सहरमा थुप्रै ज्यामीहरू आफ्ना काममा लगाएका थिए । ज्यामीहरूलाई हातमा लिएर पुँजीपतिवर्गले संसद्मा आफ्नो प्रतिनिधि पठाउन पाउनुपर्छ भन्ने माग गर्न थाले । पुँजीपतिवर्गले चुनावमा भाग लिन पाउनुपर्छ भनेर ठुलठुला आन्दोलन गर्न थाले । त्यस आन्दोलनमा पुँजीपतिवर्गलाई मजदुर र किसानहरूले मद्दत दिएका थिए । त्यसको फलस्वरूप १८३२ मा बेलायतमा चुनावको नियमावलीमा सुधार भयो । पुँजीपतिवर्गले चुनावमा भाग लिन पायो । आफ्नो पक्षको प्रतिनिधि संसद्मा पठाएर आफ्नो पक्षको ऐन कानुन बनाउन थाले । सामन्त र पुँजीपतिवर्ग सम्पत्तिवाल वर्ग भएकाले दुवै मिल्न पुगे । मजदुर र किसानहरूलाई तिनीहरूको दाँजोमा राखेनन् ।
मजदुरहरूले के देखे भने पुँजीपतिवर्गले चुनावमा भाग लिएर संसद्मा आफ्नो प्रतिनिधि पठाएका थिए । पुँजीपतिवर्गको पक्षमा ऐन कानुन बन्न थाल्यो । पुँजीपतिवर्गलाई फाइदा भयो । त्यस कुरालाई हेरेर मजदुरवर्गले पनि आफ्नो प्रतिनिधि संसद्मा पठाउनुपर्छ अनि आफ्नो दुःख कष्ट हट्छ भन्ठाने । तर, त्यसबेला मजदुरवर्गलाई के थाहा थिएन भने पुँजीपतिवर्गलाई जस्तै मजदुरवर्गले त्यो अधिकार सजिलोसित पाउँदैन र चुनावमा भाग लिन पाए पनि आफ्नो प्रतिनिधि संसद्मा पु¥याउन गा¥हो हुन्छ, साथै संसद्मा मजदुर प्रतिनिधि पुगेपनि अरु सामन्त र पुँजीपतिवर्गले मजदुरवर्गको कुरामा ध्यान दिनेछैन ।
मजदुरवर्गले यस्तो गुह्य कुरो थाहा नपाउनाले मजदुरहरूले चुनावमा नियम हेरफेर गराउने विचार गर्न थाल्यो । यसको निम्ति १८३५ मा मजदुरहरूको एक ठुलो सभा भयो । सभामा मजदुरहरूले पनि चुनावमा भाग लिन पाउनु पर्दछ र भइरहेको चुनाव नियम फेरिनुपर्छ भनेर माग गर्न थाले । त्यस मागलाई लिएर मजदुरहरूले सङ्गठन, सभा र प्रदर्शनहरू गर्न थाले । पर्चा र कागतहरू टाँस्न थाले । यसरी मागपत्रको आन्दोलन सुरु भयो ।
सन् १८३६ मा बेलायतको सबै सम्पत्ति केही ठुला बडा पुँजीपतिवर्गहरूको हातमा पुगिसकेको थियो । जनतासँग माल सामान किन्न पैसा थिएन । पुँजीपतिवर्गको मालसामान बिकेन । मालसामान नबिक्दा कारखानाले मालसामान तयार गर्न छाड्यो । मालसामान तयार नगदा मजदुरवर्गले काम पाएनन्, काम नपाएपछि ज्याला पाएन । ज्याला नपाएपछि भोका नाङ्गा बढ्न थाले । पसलका माल सामान पनि झन् बिक्न छोड्यो । कारखानामा काम बन्द भएपछि ऊन, कपास, छाला जस्ता काँचो माल सामान पनि बिकेन । काँचो वस्तु पनि बिक्री नहुँदा किसान र गाउँमा समेत त्यसको असर पर्न गयो । हुँदा हुँदा सारा बेलायतमा हाहाकार मच्न थाल्यो । यस्तो परिस्थितिलाई आर्थिक सङ्कट भनिन्छ । पुँजीवादी समाजमा सालाखाला १० वर्षको एकचोटि यस्तो सङ्कट आइलाग्छ । मजदुरहरूको बेकारी अवस्था साहै खराब हुँदै गयो । अनि मजदुरहरूले आफ्नो स्थिति सरकारलाई बताउन ऐनकानुन बनाउने संसद्मा प्रतिनिधि पठाउनुपर्छ भन्ने कुरो मनमा लिन थाले । संसद्मा मजदुर प्रतिनिधि पठाउन चुनाव नियम बदल्नु पर्दथ्यो । १८३७ मा त्यसबारे मजदुरहरूको माझमा कुराकानी सुरु भयो ।
सन् १८४० को गर्मी महिनामा मेनचेस्टर भन्ने ठाउँमा बेलायती मजदुरहरूको एक बैठक बस्यो । मजदुरहरूको त्यस बैठकले एक मागपत्र तयार गर्यो । त्यसमा उमेर पुगेका सबै नागरिकहरूले चुनावमा भाग लिन पाउनुपर्दछ भनेर लेखिएको थियो । अङ्ग्रेजी भाषामा ‘मागपत्र’ लाई ‘चार्टर’ भनिन्थ्यो । भनिन्छ १८३९–४० मै १२ लाख मानिसले त्यसमा हस्ताक्षर गरेका थिए ।
यसकारण त्यो माग गर्नेहरूको एक ‘चार्टिस्ट सङ्घ’ अथवा ‘राष्ट्रिय चार्टर सङ्घ’ बन्यो । देशभरि त्यस सङ्घका सदस्यहरू बनाउन थालियो । त्यस सङ्घको उद्देश्य मान्ने र त्यसलाई चन्दा दिने सबै नागरिक त्यसका सदस्य बन्न सक्थे । त्यसमा कुनै कडा नियम र अनुशासन थिएन । हेरेक सहर र कारखानाहरूमा त्यसको सङ्घ वा शाखाहरू खुल्न थाल्यो ।
सन् १८३२ मा सबै पुँजीपतिवर्गले चुनावमा भाग लिन पाए पछि तिनीहरूले बेकारीहरू (काम गर्ने घर) को ऐन पास गराएको थियो । त्यस ऐनले बेकारी मजदुरलाई एक जेल जस्तो ठाउँमा राखेको थियो । तिनीहरूले जहाज तान्ने ठुलठुला मोटा र लामालामा डोरीहरू बाट्न पर्दथ्यो । तिनीहरूलाई जेलका बन्दीहरूलाई जस्तै एउटै किसिमका लुगा लगाउन दिइन्थ्यो । लोग्नेमानिस र स्वास्नीमानिसहरू अलगअलग ठाउँमा राखिन्थ्यो । डोरी बाट्दा तिनीहरूको हातका औलाहरू खिइएर भल भलती रगत बग्थ्यो । डोरी बाटेन भने सरकारी मान्छे, जाँचकीले कोर्राले हानेर सासना दिन्थ्यो । कामदारहरूले ‘गरिबी दर’ भनेर ज्यालाभन्दा सा¥है कम पैसा पाउँथे । त्यस्ता चार्टिष्टहरू विन्तिपत्र संसद्तर्फ लान्दै घरहरूलाई ‘कामदारहरूको किल्ला’ भनिन्थ्यो । मजदुरहरू त्यस काम गर्ने घरको बन्दोबस्तलाई अपमान गर्ने र यातना दिने घर सम्झन्थे ।
सन् १८४२ मा बेलायतलाई फेरि एक औद्योगिक सङ्कटले अँठ्यायो । मजदुरहरूको स्थिति झन् झन् खराब हुँदै गयो । त्यसकारण, मजदुरहरूले एक नयाँ ’मागपत्र’ तयार गरे । त्यसमा उमेर पुगेका सबै मजदुर जनताले पनि चुनावमा भागलिन पाउनुपर्छ भनेर माग गरेका थिए । ज्याला बढाउने र मजदुरहरूलाई सहुलियत दिनु पर्दछ भनेर लेखिएको थियो । त्यसबेला मजदुरहरूलाई कारखानामा १८ घण्टासम्म काम गराइन्थ्यो । यसकारण, मागपत्रमा मजदुरहरूलाई एक निश्चित समय वा घण्टा काम तोक्नु पर्दछ, गरिबी ऐन र ‘कामको घर’ खतम गरिदिनु पर्दछ, खेती मजदुरहरूले पनि बढी ज्याला पाउनु पर्दछ भनेर माग गरिएको थियो ।
सन् १८४२ मई महिनामा सङ्कट झन् चर्कियो । बेकारी झन्झन् बढ्दै गइरहेको थियो । मजदुरहरूमा झन्झन् असन्तोष बढ्दै गइरहेको थियो । आन्दोलनकारीहरूले मागपत्रमा ३० लाख मानिसहरूको सही छाप गराए । त्यस मागपत्रलाई संसद्मा पेस गर्न लगियो । सही छाप भएको त्यस मागपत्र एउटा ठुलो बाकसमा राखिएको थियो । त्यस बाकसलाई २० जवान मानिसहरूले बोकेका थिए । हजारौँ मजदुरहरू त्यसको पछि पछि जुलुसको रूपमा गएका थिए । तर, संसद्ले त्यस मागपत्रलाई स्वीकार गरेन । सामन्त र पुँजीपतिवर्गका प्रतिनिधिहरूले भरिएको त्यस संसद्ले मजदुरहरूको मागपत्रलाई लत्याइदिए । मजदुरहरूले त्यसको विरोधमा एउटा ठुलो हडतालको आयोजना गरे । देशभरि हडताल भयो । त्यो हड्तालको सिलसिला एक महिनासम्म चल्यो । यसकारण त्यसलाई ‘पवित्र महिना’ भन्ने चलन छ । शोषकवर्गले हड्ताल सफल हुन नदिन अनेक जालझेल गरे । हडताल शोषकवर्गको विरोधमा एक हाँक थियो । तर, सामन्त र पुँजीपतिवर्गको सरकारले हडताल गर्ने मजदुरहरूलाई पक्राउ गर्यो र जेलमा थुन्यो । मजदुर सङ्गठनकर्ताहरूमाथि मुद्दा चलायो । पछि विस्तारै मागपत्रको आन्दोलन सेलाउन थाल्यो ।
असफलताको कारण
सन् १८४० देखि १८४२ सम्म मागपत्रको आन्दोलन उठ्दै गयो । तर, १८४२ को मई आन्दोलनपछि त्यो दबिदै गयो । आन्दोलनलाई दरो क्रान्तिकारी सर्वहारावर्गले नेतृत्व गरेको थिएन । यसको निश्चित कार्यक्रम थिएन । राजनैतिक अनुभवको कमी थियो । मागपत्रको सङ्घमा विभिन्न प्रकारका विचारधाराका मानिसहरू थिए । यिनै त्यसको असफलताका कारण थिए । आन्दोलनकारीहरू दुई ठुला गुटमा विभाजित थियो । एक गुटलाई ‘नैतिक शक्ति’ र अर्कोलाई ‘भौतिक शक्ति’ भनिन्थ्यो । बोलचाली भाषामा ती दुई गुट ‘नरम दल’ र ‘गरम दल’ मा बाँडिएको थियो ।
‘नैतिक शक्ति’ भनिने आन्दोलनकारीहरू सङ्घर्षलाई शान्तिपूर्वक चलाउन चाहन्थे । तिनीहरू पुँजीपतिवर्गसँग मिल्न चाहन्थे । तिनीहरू आन्दोलनलाई जुलुस, पर्चा छर्ने, कागज टाँस्ने, संसद्मा दर्खास्त दिने र बिन्तिपत्र चढाउने जस्ता तरिकासम्म मात्र सीमित राख्न चाहन्थे । त्यसका मुख्य नेता विलियम लोभेट भन्ने थिए । उनी लण्डन मजदुर सङ्गठनका एक नेता थिए । उनी सशस्त्र सङ्घर्षको पक्षमा थिएनन् । उनी शान्तिपूर्वक सङ्घर्षले माग पूरा गर्न चाहन्थे र त्यसमै विश्वास राख्थे । त्यसकारण त्यस गुटलाई ‘नैतिक शक्ति’ वा ’नरम दल’ भनिन्थ्यो ।
अर्को गुटलाई ’भौतिक शक्ति’ भनिन्थ्यो । तिनीहरू सशस्त्र शक्तिले मात्र माग पूरा गराउन सकिन्छ भन्ने पक्षमा थिए । त्यस गुटका मुख्य समर्थक वा नेता फर्गस ओकोनोर भन्ने थिए । उनी इरिस या आयरी जातिका एक वकिल थिए । सबै उपाय असफल भएपछि सशस्त्र विद्रोह नै अन्तिम उपाय बाँकी रहने छ भनेर उनी भन्थे ।
जनतामा उनको ठुलो प्रभाव थियो । उनी शक्तिमा विश्वास गर्ने भएकोले उनको गुटलाई ‘भौतिक शक्ति’ वा ‘गरम दल’ भनिन्थ्यो ।
ओकोनोर एक खाइलाग्दा मानिस थिए । अग्लो, हट्टाकट्टा र लडाकु थिए । उनी सा¥है मेहनती र नथाक्ने सङ्गठनकर्ता थिए । तर उनी सम्पत्तिलाई निर्मूल गर्ने पक्षमा थिएनन् । उनी सानो घर, केही जग्गा, राम्रो आम्दानी, ठीकको धन राख्न दिने कुरामा विश्वास गर्थे । मागहरू पूरा गर्न ‘भौतिक शक्ति’ वा सशस्त्र सङ्घर्षमा विश्वास भए पनि उनको विचार भने सानो पुँजीपतिको जस्तो थियो । मागपत्र सङ्घमा यस्तै अनेक गुटहरू थिए जसले गर्दा आन्दोलनले एक निश्चित बाटो लिन सकेन । ‘उत्तरी तारा’ भन्ने तिनीहरूको मुखपत्र थियो । त्यसका सम्पादक जुलियन हार्ने थिए । तर, त्यसका निर्देशक चाहिँ ओकोनोर नै थिए ।
मागपत्रको आन्दोलनमा क्रान्तिकारी र समाजवादी गुटहरू पनि सामेल हुँदै गए । तिनीहरू उत्पादनका साधन र सम्पत्तिमा व्यक्तिगत स्वामित्वको विरोध गर्थे । तेरो मेरो भन्ने कुरो भएसम्म समाजमा दुःख, कष्ट र विरोध बाधा रहिरहने छ भन्ने कुरामा तिनीहरू विश्वास गर्थे । त्यसकारण, तिनीहरू तेरो मेरो भन्ने कुराहरू मेटाउन चाहन्थे । तिनीहरू फ्रान्सेली क्रान्तिकारी ज्याकोबिनहरूजस्तै सशस्त्र सङ्घर्ष गरेर सत्ता हत्याउने पक्षमा थिए । ती गुटहरूका नेता हेनरी थिए । त्यसै गुटले ’उत्तरी तारा’ भन्ने एक मुखपत्र निकालेको थियो ।
गरम दलका नेता ओकोनोर मजदुरहरूलाई अलि अलि स–साना जग्गा वितरण गर्न र त्यसमा बसोबास गराउन चाहन्थे । त्यस जग्गामा बस्ने मजदुरहरूको सङ्घ बनाउन चाहन्थे । त्यसैबाट उनी समस्या सुल्झाउन चाहन्थे, त्यो सोचाइ वास्तवमा अव्यावहारिक थियो ।
त्यसकारण, १८४२ को मागपत्रको आन्दोलन सेलाएपछि हेनरी र अरु समाजवादी विचार राख्ने मजदुरहरूले ओकोनोरका विचारलाई त्यागे । पछि तिनीहरू माक्र्स र एङ्गेल्सका समर्थक भए । हेनरी र अरु समाजवादीहरू जग्गालाई राज्यको सम्पत्ति गर्नुपर्छ भन्ने पक्षमा थिए । कारखानाहरूमा काम गर्ने समय ८ घण्टाको हुनुपर्छ, केटाकेटीहरूको श्रममा रोक लगाउनुपर्छ, मजदुरहरूको ज्याला बढाउनुपर्छ र तिनीहरूले अरु पनि सुविधा पाउनुपर्छ भन्ने माग गर्न थाले ।
मागपत्रका आन्दोलनकारीहरूले आफ्ना मागहरूलाई जनतासम्म पु¥याउन अनेक उपायहरू गरेका थिए । तिनीहरू राति राति चिरागहरू बाल्दै जुलुस र जनसभाहरू गर्थे । तिनीहरूको भाषण सुन्न मजदुरहरू ठुलो सङ्ख्यामा जम्मा हुन्थे । आन्दोलनकारीहरूले मजदुरहरूको मागहरूलाई लिएर कविता र गीतहरू गाएर टोल टोल र गाउँ गाउँमा समेत पुग्थे । त्यस प्रकार त्यो आन्दोलनका मागहरू जनताका मागहरूको रूपमा लोकप्रिय बनाइएको थियो ।

– ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *