लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, ८ जेठ । नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएको सात वर्ष पूरा भएको अवसरमा जिल्ला भलिबल सङ्घ भक्तपुरको आयोजनामा खेलाडी सम्मान तथा प्रवचन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, मित्रता, अनुशासन र सार्वभौमिकताको लागि हो भन्नुभयो ।
देशको राजनीतिमा देखापरेका अस्थिर र अन्योल अवस्थाले खेलकुदलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने राजनीतिसँग पनि जोडिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वरिष्ठ खेलाडी गोपालसुन्दर मल्ल, विदुरचरण राय र अर्का वरिष्ठ भलिबल खेलाडी रत्नसुन्दर शाक्य बधाईका पात्र हुनुहुन्छ भन्नुभयो ।
भक्तपुरका पुराना खेलाडीहरूको अनुभव वा अन्तर्वार्ता प्रकाशित भए त्यसबेलाको खेलकुदको अवस्थाबारे नयाँ पुस्तालाई जानकारी दिलाउन मद्दत पुग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “भक्तपुर र नेपालमा के कति किसिमका खेलकुद छन्, विवरण सूची तयार हुनु उपयुक्त हुनेछ, जिल्ला भलिबल सङ्घ, भक्तपुरले नयाँ पुस्तालाई प्रशिक्षण दिने तयारी गरेको सकारात्मक हो ।”
उहाँले भन्नुभयो, “२०५६ सालमा नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि भ्रष्टाचार भएको त्यतिखेरै समाचार प्रकाशित भएको थियो । खेलकुदको भवन निर्माणको बजेट पारदर्शी नभएको, पशुपतिको भेटी चोरी भएको लगायत समाचार प्रकाशित भइरहेका छन् । यसलाई आमसञ्चारमा आएको भनी पन्छाउन मिल्दैन, सम्बन्धित पक्ष सचेत हुनैपर्दछ ।”
“अहिले शासक दलका नेताहरू राजनीतिलाई देश र जनताको सेवामा भन्दा पनि सङ्घ र प्रदेशको राजधानीमा घर–जग्गा किन्नेमा लागिरहेको समाचार बढ्दो छ । कतिपय सांसद र मन्त्रीहरू ‘क’ वर्गका ठेकेदार, म्यानपावर कम्पनीका सञ्चालक, भृकुटी मण्डपको सरकारी जग्गा बहालमा भ्रष्टाचार गर्ने, नेपाल स्काउटको जग्गा बहालमा कमिसन खाने, गिरीबन्धु टि स्टेटको सरकारी जग्गा स्थानान्तरण गराई कमिसन खाने, गोकर्ण रिसोर्ट र ललिता निवासको सरकारी जग्गा व्यक्तिलाई दिएर कमिसन खानेमा लागेको पनि समाचार छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले २०४० सालमा ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिट्ठी’ लेखेर राजनीति त्याग, तपस्या र बलिदानको क्षेत्र भएको स्पष्टसँग राख्नुभएको थियो ।” उहाँले भन्नुभयो ।
गृहमन्त्री स्वयम् सहकारीको अर्बौँ रुपैयाँ अपचलनको आरोपको घेरामा परेको र गृहमन्त्रीले आफू सहकारी ठगीमा संलग्न नभएको स्पष्टीकरण दिने प्रक्रिया संसद्मा चालु रहेको उल्लेख गर्दै उहाँले संसद्मा गृहमन्त्री लामिछानेले आमसञ्चारमा प्रकाशित समाचारको आधारमा आफूलाई आरोप लगाउन नहुनेमा जोड दिँदै नेकाका सांसदहरू देशको गोप्य सूचना विदेशीलाई बेच्ने, रातो राहदानी दुरुपयोग गर्ने, यौन दुव्र्यवहारमा परेका, घडी चोर्ने, टीकापुरको सरकारी जग्गा ३० बिघा व्यक्तिको नाममा दर्ता गराई कब्जा गर्ने, भृकुटी मण्डपको सार्वजनिक जग्गा बहालमा लगाई कमिसन खाने, वाइडबडी जहाज खरिदमा कमिसन खाने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने भनी प्रकाशित समाचारतर्फ ध्यानाकर्षण गराउनुभयो ।
२००७ सालको क्रान्ति, २०१७ सालको प्रतिक्रान्ति, २०४६ सालको बहुदल पुनःस्थापना, २०६२÷६३ सालको प्रतिगमनविरोधी आन्दोलनमा भारतीय एकाधिकार पुँजीको प्रभाव परेर सरकारमा पुगेका पुँजीवादी पार्टीहरूको कारण देशमा मौलिक परिवर्तन नआएको बताउनेहरू धेरै भएको उल्लेख गर्दै उहाँले २०४६ सालयताका सरकारहरूले ३०–३५ ओटा सार्वजनिक संस्थानहरू कौडीको मोलमा बिक्री गरेको र ८० लाखभन्दा बढी युवाहरूलाई वैदेशिक रोजगारीमा पठाएको यथार्थलाई अब छोप्न सकिँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरूले सौर्य ऊर्जा उत्पादन गर्न इन्डियाको सहमति चाहिने सौर्य गठबन्धन सम्झौता, दिल्लीमा बिजुली बाल्ने र निभाउने स्वीच रहने सार्क विद्युत् ग्रीड सम्झौता, एक छिमेकी देश चीन र अर्को मित्र देश पाकिस्तान नभएको विम्स्टेक बडापत्रलाई इन्डियाको स्वार्थअनुसार पारित गरेकोमा नेपाल मजदुर किसान पार्टीले विरोध गरेको छ ।”
कार्यक्रममा नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवाले २०७४ जेठ ८ गते भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भइसकेको अवस्थामा पनि सरकारले बजेट बन्दोबस्त गर्न नसकेको कारण भलिबल खेलको आशातीत विकास हुन नसकेको बताउनुभयो ।
उहाँले भौतिक पूर्वाधार र प्रविधिमैत्री प्रशिक्षणबिना भलिबल खेलको स्तर माथि उठ्न नसक्ने बताउनुभयो ।
उहाँले नेपालको खेलकुद क्षेत्रमा अहिले पनि भ्रष्टाचार, पक्षपातले जरा गाडिरहेको र सर्वसाधारण जनताका योग्य र असल खेलाडीहरूले अन्तर्राष्ट्रिय राष्ट्रिय खेलहरूमा सहभागी हुन नपाएको उल्लेख गर्दै भलिबल खेल पनि यसबाट अछुतो नरहेको बताउनुभयो ।
उहाँले नेपालको भलिबलको इतिहासमा भक्तपुरले नेपालमा नै पहिलो पटक भक्तपुर योङ सर्कलको अगुवाइमा निर्मित सहिद स्मृति खेल मैदानमा विच भलिबल, पार्क भलिबल, मिक्स भलिबल र भेट्रान्स भलिबलको प्रतियोगिता सम्पन्न भएको र ८ पटक राष्ट्रिय र २ पटक अन्तर्राष्ट्रिय क्लव च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् जिल्ला भलिबल सङ्घ, भक्तपुरका अध्यक्ष विनोदचरण रायले भक्तपुर नगरपालिकाले खेलकुद विकासको लागि भौतिक पूर्वाधारहरू निर्माण गर्दै आएको र भलिबलको अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माणको लागि प्रक्रिया अगाडि बढेको जानकारी गराउँदै भलिबल खेलको विकासको लागि महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरी नयाँ पुस्तालाई प्रोत्साहन गर्न खोजेको बताउनुभयो ।
उहाँले भलिबल खेल विकासको लागि प्रशिक्षक र निर्णायकहरूको आधारभूत तालिम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला भलिबल सङ्घका उपाध्यक्ष दीपक थापाले विगतमा जस्तै प्रशिक्षणमा निरन्तरता दिई खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
सङ्घका उपाध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुद विकासको लागि विद्यालयस्तरबाट नै प्रशिक्षण दिई परीक्षणको लागि प्रतियोगिताहरू आयोजना गर्नु उपयुक्त हुने भएकोले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष भलिबललगायत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
सातौँ राष्ट्रिय भलिबल दिवसको अवसरमा प्रमुख अतिथि प्रेम सुवालले पाँच दशकभन्दा बढी भलिबल खेलको विकासको लागि योगदान गरेका खेलाडी एवम् खेलप्रेमीको रूपमा सक्रिय खौमा टीमका गोपालसुन्दर मल्ल र विदुरचरण रायलाई सम्मान गर्नुभएको थियो ।
त्यस्तै मृगौला रोग पीडित पूर्वभलिबल खेलाडी कान्छाराम विरवललाई दस हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू गोपालसुन्दर मल्ल, विदुरचरण राय र जिल्ला भलिबल सङ्घ भक्तपुरका कोषाध्यक्ष शिवराम धुख्वाले भलिबलको इतिहास र अनुभव सुनाउनुभएको थियो ।
Leave a Reply