भर्खरै :

जनताले किन भोट हाल्ने भन्ने बुझेकै छैनन्

जनताले किन भोट हाल्ने भन्ने बुझेकै छैनन्

बझाङको उपनिर्वाचनको अनुभव

नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई पनि जनताको बिचमा राजनैतिक चेतना दिने र समाजवादको प्रचार गर्ने अभियानको रूपमा उपयोग गरेको सबैमा विदित्तै छ । पार्टीले २०८१ वैशाख १५ गते सम्पन्न सुदूरपश्चिमको बझाङ जिल्ला क्षेत्र नं. १ (१) मा प्रदेशसभा उपनिर्वाचनलाई पार्टी केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाई त्यस जिल्लामा पार्टीको झन्डा र चुनाव चिह्न प्रचार गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा पार्टी केन्द्रबाट खटिएको प्रचार समूहमा म पनि सहभागी भएँ । काठमाडौँबाट बझाङ पुग्न करिब तीन दिन लाग्यो । फर्कँदा पनि त्यति नै समय लाग्यो । यस हिसाबले हामीले बझाङका विभिन्न गाउँमा ६ दिन प्रचारप्रचार ग¥यौँ ।
हाम्रो टोलीमा सहभागीमध्ये पार्टीमा लामो समयदेखि समर्पित अग्रजहरू पनि हुनुहुन्थ्यो । मजस्तो भर्खरका युवा–विद्यार्थी पनि थियौँ । करिब आधा सङ्ख्यामा महिला दिदीबहिनीहरू हुनुहुन्थ्यो । सुदूरपश्चिमको पहाडी बाटो डरलाग्दो र भूगोल विकट थियो । तथापि, यात्राको क्रममा अग्रज कार्यकर्ताहरूको अनुभव सुन्दा मनको कुनामा रहेको डर हरायो । डडेल्धुरा पुग्दा ठाउँहरूको नाम बोर्डमा लेखिएको देख्दा अचम्म लाग्यो । कीर्तिपुर, बागबजार, पाटन, वसन्तपुर, कालिकास्थान आदि । काठमाडौँ उपत्यकाका सहरहरूको नाम ठ्याक्कै मिल्ने गरी ठाउँको नामकरण गरिएको रहेछ । किन होला ? भन्ने लाग्यो । केही साथीहरू ठट्टामा भन्दै थिए, “यहाँका ठालुहरू काठमाडौँ घुम्न आउँदा काठमाडौँमा देखेका नामहरू फर्केर आफ्नो ठाउँमा पनि राख्न थाले ।” अर्का साथीले ठट्टामा भने, “काङ्ग्रेसी नेता शेरबहादुर देउवाले डडेल्धुरालाई पनि काठमाडौँ बनाउने सपना बाँडेका थिए । डडेल्धुरालाई काठमाडौँ त बनाउन सकेनन् तर काठमाडौँका विभिन्न ठाउँको नाम भने चोरी गरेर डडेल्धुरामा राखे ।” हामी एकछिन हाँस्यौँ ।
बझाङ पुगेकै दिन वैशाख ७ गते उम्मेदवारसँग छलफल गरी साँझबाटै चैनपुर बजारमा चुनावी प्रचार सुरु गरियो । जनताको बिचमा पुग्दा स्थानीय केही युवाहरूमा वर्तमान राजनीतिप्रति वितृष्णा पाइयो । उनीहरू भोट हाल्न नजाने कुरा गर्थे । उमेर पुगेका केही स्थानीय भने चाडपर्वमा ‘प्रसाद’ बाँडेजस्तै रकम, मादक पदार्थ र लुगा–कपडा बाँड्नुपर्ने माग गर्दै बसेको अनुभव भयो । उनीहरू भन्थे, “के ल्याउनुभयो त तपाईँहरूले !?”
पुँजीवादी व्यवस्थामा चुनावलाई पनि व्यवसाय बनाइँदो रहेछ ! हुन त काठमाडौँमा पनि शासक दलका उम्मेदवारहरूले भोज खुवाउने, रकम बाँड्ने, मोबाइल रिचार्ज गरिदिने, सवारी साधनमा इन्धन हाल्दिनेलगायतका आचारसंहिताविपरीत गर्ने गरेका समाचारहरू नआएका होइनन् । चुनावअघि जनताले नेतासँग माग्ने, चुनाव सकिएपछि नेताले जनतालाई चुस्ने ! यो गलत संस्कारको अन्त्य हुन जरुरी छ । नेपाल मजदुर किसान पार्टी यस्ता अपराध र विकृतिको विरोधमा छ । यस मानेमा हामी कार्यकर्ताहरू गौरव गर्छौैँ ।
ग्रामीण भेगमा चुनाव प्रचार गर्दै गर्दा, स्थानीय मतदातालाई कुन तहको निर्वाचन किन हुँदै छ ? भन्ने नै ज्ञात नभएको पाइयो । कुन सरकारको दायित्व के ? भन्ने समेत बुझ्ने प्रयास गरिएन वा पटकपटक चुनाव जितेर जाने पार्टीहरूले बुझाउँदै बुझाएनन् । एकजना आमा भन्दै हुनुहुन्थ्यो, “जे चुनाव भए पनि गाउँमा धारा ल्याइदेऊ !”
गाउँमा एसईई र १२ कक्षा पढेका युवाहरू शून्यजस्तै लाग्यो । कोही उच्च शिक्षाका लागि काठमाडौँ र धनगढी जान्छन् । अधिकांश रोजगारीका लागि भारतका विभिन्न सहर त केही खाडी मुलुकमा जान्छन् । बुढापाका, महिला र स–साना बालबालिकाहरू मात्र गाउँमा देखिए । शासक दलका केही स्थानीय कार्यकर्ताहरू हाम्रो कार्यक्रमपछि लागेको पायौँ । उनीहरू मतदातालाई भाँड्न लागेका हुन् कि भन्ने लाग्यो । तर, हामी बिचलित भएनौँ । हाम्रो प्रचार अभियान निरन्तर चलिरह्यो ।


हामी ठुलै गाडी लिएर गाउँ–गाउँ छिरेका थियौँ । केही ठाउँमा त यसअघि ठुलो गाडी पुगेकै रहेनछ । स्थानीयहरू आफन्तलाई फोन गरेर, सामाजिक सञ्जालमा फोटो र भिडियो पठाएर पनि गाउँमा ठुलो गाडी आएको खुसी साट्दै गरेको पायौँ । उनीहरूले हामीलाई अबिर मालाले स्वागत पनि गरे । जहाँ पुगे पनि हामीले चुनावको प्रचार गर्ने अवसर गुमाएनौँ ।
तलकोट गापाको बस्ती भन्ने ठाउँको प्रचारमा जाँदा, घर ढलान हुँदै थियो । ढलान गर्ने मजदुर र स्थानीयहरूको अगाडि नै हामीले कोणसभा ग¥यौँ । साथीहरूले देउडा गीत पनि गाए । ढलान कार्य छोडेर सबैजना हाम्रो कुरा सुन्न थाले । घरधनीलाई सा¥है रिस उठेको थियो ¤ हामीले आफ्नो कर्तव्य पूरा ग¥यौँ – समाजवादको प्रचार गरेर ।
हामीले निर्वाचन आचारसंहिताको पूर्ण पालना ग¥यौँ । वैशाख १२ गतेसम्म उम्मेदवार खगेन्द्रबहादुर शाहीको साथमा बझाङका विभिन्न पालिकाहरूमा प्रचार ग¥यौँ । १२ गते रातिदेखि प्रचार गर्न पाइँदैनथ्यो । त्यसैले, वैशाख १३ गते बिहान खगेन्द्र दाइ र रमेश दाइसँग बिदा भएर हामी बझाङबाट हिँड्यौँ । फर्किँदा नेपालको पश्चिम सिमाना महाकाली नदी र त्यसमा भारतीय पक्षले हस्तक्षेप गरी बनाएको टनकपुर बाँध हेर्ने कार्यक्रम तय भयो ।
आफ्नो आँखाले समुद्र नदेखेका हाम्रा लागि महाकाली नदी विशाल लाग्यो । तर, दुःखका साथ भन्नुपर्छ, “त्यत्रो विशाल नदीको पानी सबै भारततिर मात्र पठाइएको थियो । नेपालतिर पानी पठाउने कुलो पनि राम्ररी बनेको छैन । नेपाली भूमि सुख्खा, उता भारततिर भने हरियाली !” यस्तो दृश्य देखेर केही साथीहरू आक्रोशित भए भने केही साथीहरूका आँखा रसाए । शासक दलहरू तथा विशेषगरी सुदूरपश्चिमकै काङ्ग्रेसी नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको देशघाती कामविरुद्ध हामी सबै आक्रोशित भयौँ । देश बेचुवाहरूलाई देशभक्त नेपाली जनताले एकदिन अवश्य सजाय दिनेछन् । हामीले आफ्नो मनलाई यसरी बुझायौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *