भर्खरै :

वाग्मती प्रदेश सरकारलाई नेमकिपाको ध्यानाकर्षण

वाग्मती प्रदेश सरकारलाई नेमकिपाको ध्यानाकर्षण

वाग्मती प्रदेशसभाको संसद्मा नेपाल मजदुर किसान पार्टीले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै छ । वाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको यो नीति तथा कार्यक्रममा केही रचनात्मक सुझाव र संशोधनहरू हामीले राखेका छौँ । नीति तथा कार्यक्रममा १६ बुँदे संशोधन हामीले राखेका थियौँ । हामीलाई आशा छ, प्रदेश सरकारको ध्यानाकर्षण हुनेछ ।
अहिले समाजको जल्दोबल्दो समस्या भनेको मनोरोग हो । यो एउटा जटिल समस्याको रूपमा देखापर्दै छ । जसरी क्यान्सर, मृगौला रोग, मुटुरोग चिन्ताको विषय बन्दै छ त्यसरी नै मानसिक रोग अहिलेको जल्दोबल्दो समस्या हो । यो जटिलताले त्यति चाँडै छोड्लाजस्तो लाग्दैन । त्यसकारण, विद्यालयका बालबालिकाहरू, शिक्षक–शिक्षिका, कर्मचारीहरूलाई मनोरोगबारे सचेतना दिएर अभियानको प्रारम्भ गर्न पायौँ भने राम्रो होला । हाम्रा अस्पतालहरूमा जहाँ जसरी सम्भव छ, ती ठाउँहरूमा मनोपरामर्श दिन सम्भव हुने गरी मनोचिकित्सकहरूको बन्दोबस्त गरौँ भन्ने हाम्रो आग्रह हो ।
एउटा असल अभ्यासको थालनी हामी गर्न सक्दछौँ यो वाग्मती प्रदेशबाट । विद्यार्थीहरू यतिखेर विचलित अवस्थामा छन् । तल्लोवर्गका विद्यार्थीहरू यतिखेर उच्च शिक्षामा पछाडि छन् । त्यसकारण, माथिल्लो तहमा अर्थात् विश्वविद्यालय तथा कलेज तहको पढाइको निम्ति आफ्नो प्रमाणपत्र धितो राखेर निश्चित ऋण लिन पाउने बन्दोबस्त हामीले गर्न सक्यौँ र अभ्यासको रूपमा अगाडि बढाउन सक्यौँ भने हाम्रो शैक्षिक क्षेत्रमा तल्लोवर्गका विद्यार्थीहरूलाई प्रोत्साहित गर्न सक्नेछौँ । असल अभ्यास जोसुकैबाट सिके पनि हुन्छ । भक्तपुर नगरपालिकाबाट भइरहेको प्रयासबाट सिक्न सक्दछौँ । त्यहाँ एकजना विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर पाँच लाखसम्म अन्यन्त न्यून ब्याजदरमा ऋण दिइन्छ । आफ्नो पढाइ सम्पन्न गरिसकेपछि किस्ताबन्दीमा ऋण तिरे पनि हुने व्यवस्था छ । त्यसले राम्रो प्रभाव पारिरहेको हाम्रो अनुभव छ । नगरपालिकाको सीमा अत्यन्त सीमित भएर पनि त्यस्तो गर्न सम्भव छ भने हाम्रो प्रदेशको दायरा फराकिलो छ । हामीले त्यसलाई नियम र कार्यविधि बनाएर अवलम्बन गर्न पायौँ भने शैक्षिक क्षेत्रमा केही सहायता होला भन्ने हाम्रो विश्वास हो ।
अनिवार्य र निःशुल्क भनिएको छ । त्यसमा एउटा शब्द छुट्यो भन्ने लाग्छ : अनिवार्य, निःशुल्क र वैज्ञानिक शिक्षा । शिक्षा दिउँला तर विज्ञानमा जोड दिन सकेनौँ, वैज्ञानिक शिक्षा दिन सकेनौँ र वैज्ञानिक ढङ्गमा दिन पाएनौँ भने हामी अगाडि बढ्न सक्दैनौँ । निश्चित केही ठाउँमा भए पनि हामीले अभ्यास गरौँ !
वास्तवमा समाजवाद भनेको गर्भदेखि चिहानसम्मको सरोकार हो । गर्भदेखि नै राज्यले सेवा दिन सक्यौँ र चिहानसम्मको बन्दोबस्त हामीले मिलाउन सक्यौँ भने वास्तवमा समाजवादको सामान्य अनुभव हुनेछ । प्रत्येक पालिकामा के—कसरी सम्भव हुन्छ ? शिशुस्याहारको बन्दोबस्त, बालोद्यानको बन्दोबस्त गर्न सके परिवर्तन हामीले जरासम्म पु¥याउन सक्नेछौैँ । यदि हामीले मलजल समाजको जगैसम्म पु¥याउने हो भने वास्तवमा शिशुस्याहार र बालोद्यानबाटै सुरू गर्नुपर्छ । सातौँ पटकसम्म पनि हामी यो विषयमा ध्यानाकर्षण गराउँदै छौँ । सबैतिर गर्न नसकौँला तर सम्भव भएका पालिकाहरूसँग समन्वय गरेर गरौँ भन्ने हाम्रो आग्रह हो  ।
विज्ञ महानुभावहरू सम्पूर्णलाई थाहा हुनुपर्छ । अहिले देशको एउटा समस्या भनेको भूगोल पढ्ने विद्यार्थीहरू नहुनु हो । इतिहास पढ्ने विद्यार्थीहरू छैनन् । राजनीतिशास्त्र पढ्ने विद्यार्थीहरू छैनन् । अर्थशास्त्र पढ्ने विद्यार्थीहरू छैनन् । दर्शनशास्त्र पढ्ने विद्यार्थीहरू छैनन् । मानविकी सङ्कायमा अहिले खडेरी पर्दै छ । यो अत्यन्त चिन्ताको विषय हो । जब मानविकी सङ्काय खत्तम हुन्छ तब हाम्रो समाज बर्बाद हुन्छ । यो अत्यन्त चिन्ताको विषय हो । हामी धेरै ठुलठुला कुरा गर्न नसकौँला तर विद्यार्थीहरूलाई संस्कृति, भूगोल, इतिहास, नीतिशास्त्र, राजनीतिशास्त्र र दर्शनशास्त्र पढ्नको निम्ति कसरी अभिप्रेरित गर्न सक्छौँ । हामी कसरी त्यसमा सहयोग गर्न सक्दछौँ ? त्यसकारण, हामीले भन्यौँ पूर्णछात्रवृत्तिको बन्दोबस्त गरौँ ।
भक्तपुर नगरपालिकाले ख्वप कलेजमार्फत विद्यार्थीहरूलाई छात्रवृत्तिको बन्दोबस्त गरेको छ । उसले सीमित दायरामा गर्ला ! हामी कसरी गर्न सक्दछौँ ? सोच्नको निम्ति आग्रह छ । सबै कुराहरू आजै थालनी गर्न नसकौँला !
ज्येष्ठ नागरिकहरूको बन्दोबस्त अहिलेको सरकारको चासोको विषय बन्नुपर्दछ । हाम्रो समाज ज्येष्ठ नागरिकहरूले भरिँदै जानेछ । जसरी जापानमा अहिले ठ्याक्कै उल्टो जनसङ्ख्या छ । उल्टो पिरामिडमा छ, जनसङ्ख्या । हाम्रो जनसङ्ख्या पनि त्यस्तो नहोला भन्न सकिन्न । बेलैमा हामीले तयारी गरौँ ! हामीले ज्येष्ठ नागरिकहरूको आवास बनाउनुपर्छ । त्यसलाई हरेक समाजवादी र व्यवस्थित देशहरूमा आदर निकेतन भनिन्छ । आदर निकेतन नभएको समाजलाई क्रूर समाज भनिन्छ, असभ्य समाज भनिन्छ । हामीसँग कस्तो खालका आदर निकेतनहरू छन् ? हामीले त्यसलाई कसरी सहयोग गर्न सक्दछौँ ? हामी सबैकै निम्ति पनि भोलि आवश्यक होला ! कति ठाउँमा सहकारीहरूसँग समन्वय गरेर आदर निकेतनहरू खुलेको हामीलाई थाहा छ । उता भक्तपुर सहकारीले दिवा आदर निकेतनको बन्दोबस्त गरेको छ । त्यहाँ रमाउँदैछन् ज्येष्ठ नागरिकहरू । त्यहाँ आफू काम पनि गर्छन् । उत्पादन पनि गर्छन्, रमाउँछन् पनि र आनन्दपूर्वक बस्छन् पनि । स्थानीय पालिकासँग समन्वय गरेर अगाडि बढ्न आवश्यक छ । आदर निकेतनको अवधारणालाई अगाडि बढाउन सकेनौँ भने अबको २५ वर्षमा सबैलाई गा¥हो हुनेछ ।
पहिला पनि हामीले भनेका थियौँ । अब एउटा नयाँ नयाँ समस्या थपिनेछ । विदेशबाट मानिसहरू विविध कारणले फर्किनेछन् । युद्धको कारण, आर्थिक सङ्कटको कारण बाहिरबाट हाम्रा हिजोका नागरिकहरू यहाँ आउनेछन् । त्यतिखेर तिनीहरूको बन्दोबस्त कसरी गर्ने ? तिनीहरू अङ्गभङ्ग भएर आउलान् । तिनीहरू अनेक भएर आउलान् । आज सोचेनौँ भने भोलि गा¥हो हुनेछ । वास्तवमा राजनीति र सरकार चाहिने भनेको अहिलेको निम्तिभन्दा एक पुस्ता, दुई पुस्ता, तीन पुस्तापछि सम्मको निम्ति हो । त्यो दूरदर्शिता राखौँ भन्ने हाम्रो आग्रह हो । समाजवाद वास्तवमा नारामात्र होइन । समाजवाद व्यवहार हो । समाजवाद जीवनपद्धति हो । जीवनपद्धतिमा हामीले ढाल्न सक्यौँ भने मात्र त्यो समाजवादको सार्थकता रहन्छ ।
एउटा व्यवस्थित समाज र सरकारले खेलकुदमा प्राथमिकता दिन्छ । अस्पताल खोल्नुभन्दा अगाडि उसले रङ्गशाला खोल्छ, व्यायामशाला निर्माण गर्छ र खेलकुदमा प्राथमिकता दिन्छ । कमसेकम ३ वर्षदेखि ३० वर्षकाले खेल्न पाऊन् । यदि त्यो गर्दैन भने अझै त्यहाँ प्रजातन्त्र छैन भन्ने अर्थ लाग्छ । युवाहरू अन्यत्र बाटोमा लाग्नेछन् । अहिले लागूऔषधको समस्या छ । आतङ्क नै छ । युवाहरू दुव्र्यसनीमा फस्दै छन् । हामी कति सजग छौँ ? त्यसबाट टाढा राख्न एउटैमात्र विकल्प भनेको खेलकुद हो, सांस्कृतिक गतिविधि हो ।
विद्यालयहरूमा कसरी सम्भव छ ? घुम्ती टोली बनाएर भए पनि विद्यालयमा खेलप्रशिक्षकरू पठाउनुपर्ने देखिन्छ । कमसेकम १२ कक्षासम्म खेलाउँदै पढाउने बन्दोबस्त आवश्यक छ । कतिपय देशहरूमा अहिले अनिवार्य सैनिक तालिमको बन्दोबस्त छ । हामी तत्काल गर्न नसकौँला तर हामी कमसेकम पनि १२ कक्षासम्म पढ्ने विद्याथीहरूलाई खेल्दै, शारीरिक स्फूर्ति हासिल गर्दै अगाडि बढाउन सकेको खण्डमा उचित होला ।
प्रदेशभित्र स्थानीय सीप, सामग्री तथा वास्तुकलाको आधारमा मौलिक शैलीमा भवन निर्माण गर्ने कुरा उठाएका छौँ । राष्ट्रियता भनेको नारा होइन । हामीले ७ वर्षसम्म ध्यानाकर्षण गरायौँ । राष्ट्रियता भनेको मौलिक शैलीमा हाम्रो घरहरूको निर्माण, मौलिक शैलीमा हाम्रा सरकारी भवनहरूको निर्माण र हामी अलग देश हौँ भनेर चिनाउने कार्य, भावना, व्यवहार तथा प्रयास हो । नयाँ बस्तीहरू बसाल्दा पनि मौलिक शैलीमा जोड देऔँ ! अब त्यही कस्सीमा एकपटक जाँचेर हेरौँ हाम्रो प्रदेशसभाको निर्माणाधीन भवनलाई ! के हाम्रो इज्जत धानिएला ? झन्डा हल्लाउँदैमा हाम्रो राष्ट्रियता उजागर गर्न सक्दछौँ ? पक्कै सक्दैनौँ । मठ–मन्दिर निर्माण गर्दा कमसेकम पनि अब मौलिक शैलीलाई नबिर्सौँ । मौलिक ज्ञान र मौलिक वस्तुहरू प्रयोग गरेर मात्र निर्माण अनुमति देऔँ !
भाषासम्बन्धी यहाँ कुरा उठ्यो । हामीले भाषा विधेयक पनि पारित ग¥यौँ । वास्तवमा जबसम्म नयाँ पुस्ताको निम्ति भाषा शिक्षणको बन्दोबस्त हुँदैन, पाठ्यक्रमको निर्माण हुँदैन, तबसम्म त्यो नाराबाजीमा मात्र सीमित हुनेछ । त्यो खोक्रो हुनेछ । पानीको फोकाझैँ हुनेछ । पाठ्यक्रम निर्माण गरेर विद्यालयमा पढाउन आवश्यक छ । साथै, हरेक कर्मचारी, शिक्षक, सरकारी होस् अन्य, तिनीहरूलाई नेपालभाषा र तामाङ भाषाको अनिवार्य ज्ञान दिइनुपर्छ । कमसेकम उनीहरूले सामान्य कुराकानी गर्न सकून् । सङ्ग्रहालय भनेको सभ्यता, इतिहास, समाज र जीवनसँग जोडिएको हुन्छ । भोलिको पुस्ताले हाम्रो देश चिनोस् भन्नाका लागि, बाह्य समाजले पनि देश चिनोस् भन्नाका लागि सङ्ग्रहालय बनाइन्छ । त्यसकारण, यहाँ सङ्ग्रहालय निर्माण गरौँ ! नेपालको इतिहास, संस्कृति, सभ्यता, भूगोल र वनस्पतिबारे सङ्ग्रहालय स्थापना गरिनेछ भनेर उल्लेख नै गरौँ ! हामीले हेटौँडालाई राजधानी त घोषणा ग¥यौँ । राजधानी हुने ठाउँमा सङ्ग्रहालय हुन्छ । मकवानपुरको हेटौँडामा चिडियाघर स्थापना गरी अध्ययन, अवलोकन तथा पर्यटनको विकास गरिनेछ भनेर पनि उल्लेख गरौँ ! योे ठाउँमा हामीले चिडियाघर, सङ्ग्रहालय, अध्ययन केन्द्र, प्रज्ञा प्रतिष्ठानहरू बनाउन सक्यौँ भने कमसेकम एक हप्ता, एक महिनासम्म बस्ने गरी मान्छेहरू अध्ययन र अवलोकन गर्न यहाँ आउनेछन् । यी अत्यावश्यक काम नगरी राजधानी राजधानी मात्र भन्दैमा त्यो राजधानी राजधानीजस्तो बन्दैन । राजधानीको सौन्दर्य थप्ने अन्य विभिन्न उपाय होला । ती विषयमा प्रदेश सरकारले पाइला चालोस् । आजै निर्माण हुन्छ भन्ने हामीलाई लाग्दैन । त्यति अनभिज्ञ हामी पनि होइनौँ ।
वाग्मती प्रदेशको साहित्य, कला र संस्कृतिको प्रवद्र्धन तथा विकास गर्ने हेतुले वाग्मती प्रज्ञा प्रतिष्ठान स्थापना गरौँ ! प्राज्ञहरूसँग हामीले समन्वय गर्न सकेनौँ र समेट्न सकेनौँ भने हामी पछाडि पर्छौँ । हामीले ६ वर्षअगाडि नै भनेका हौँ । वाग्मती प्रदेशको अलग्गै प्रज्ञा प्रतिष्ठान चाहिन्छ । वाग्मती प्रदेशको अलग्गै सांस्कृतिक प्रतिष्ठान चाहिन्छ । त्यसो भएको खण्डमा भाषा, कला, संस्कृति र साहित्यको यथोचित विकास हुनेछ । कला, संस्कृति र साहित्यको विकास नभएसम्म त्यो समाज उज्यालो हुनेछैन ।
विद्यालय तहमा स्काउट कक्षा अनिवार्य गरिनेछ । कक्षा आठदेखि १२ सम्मका विद्यालयमा विद्यार्थीहरूलाई अनिवार्यरूपमा एमसीसी तालिम दिइनेछ । अहिले हामी एकैपटक सैनिक तालिममा जान नसकुँला । तर, प्रारम्भिकरूपमा अनिवार्य गर्नैपर्ने, पाठ्यक्रममा राख्नैपर्ने विषय हो । त्यसकारण, स्काउट कक्षा र एमसीसीको कक्षा अनिवार्य हुन्छ ।
त्यस्तै, सम्पदा संरक्षण र पुरातात्विक वस्तुको जगेर्ना कार्यमा विशेष जोड दिन आवश्यक छ । पुरातत्वको संरक्षण तथा संवद्र्धन महत्वपूर्ण जिम्मेवारी हो । पुरातत्वको संरक्षण नभएम्म हामी पछाडि नै पर्छौँ । त्यसकारण, पाठ्यक्रमको निर्माण गरी विद्यालय तहदेखि पुरातत्व, सम्पदा आदिबारे पठनपाठन गरौँ ! पुरातत्व र सम्पदा विषयमा अनभिज्ञताको कारण हामीले धेरै बर्बादी बेहो¥यौँ ।
राष्ट्रिय विभूतिहरू भृकुटी, अरनिकोबारे अनुसन्धान, खोज तथा अध्ययन गरौँ ! तिनको जन्मस्थान यही वाग्मती प्रदेशभित्र हो । त्यसकारण, अरनिको र भृकुटी हाम्रो राष्ट्रिय भृकुटी हुँदाहुँदै प्रदेशले पनि आफ्नो भूमिका खेलौँ ! भृकुटी छिमेकी चीनको तिब्बत पुग्दाको मार्ग पहिचान गरी इतिहास जगाउने काम थालाँै ! पर्यटनको विकासको ढोका खोलौँ !
जीर्ण भइसकेका पुरातात्विक महत्वका निजी घर प्रदेशको सहयोग तथा स्थानीय पालिकाद्वारा निर्माण गरी घरधनीबाट निश्चित समयावधिभित्र असुल गर्ने बन्दोबस्त गर्न मार्ग प्रशस्त गरौँ भन्ने हाम्रो आग्रह छ । यो अत्यन्त महत्वको विषय छ । त्यो अनुभव गर्न काठमाडौँ उपत्यका संवेदनशील भएर हेरौँ ! यो बिन्दुबाट हामीले सुरू गर्न सक्यौँ भने धेरै बन्दोबस्तहरू मिल्दै जानेछ ।
अन्त्यमा, भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गरी पुरानो नगरको सरहदभित्र रैथानेले मात्र अचल सम्पत्ति किनबेच गर्न पाउने बन्दोबस्त गर्न साथ देऔँ ! त्यस कार्यमा प्रदेशले सहयोग गर्न पाएको खण्डमा देशकै र विश्वकै निम्ति एउटा महत्वपूर्ण योगदान हुनेछ ।
(वाग्मती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जेठ १८ गते बसेको वाग्मती प्रदेश सभाको बैठकमा आ.व. २०८१/८२ को नीति तथा कार्यक्रममा नेमकिपाले राखेको संशोधन प्रस्तावबारे प्रस्ट पार्दै राख्नुभएको विचार सामान्य सम्पादनसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *