सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
पुस्तकको बजारमा आख्यानको भिड नै लागेको बेला एकाध प्रकाशन गरिने गैरआख्यानमा भर्खरै एउटा निबन्ध प्रकाशित भएको छ । हुन त निबन्ध विधाका पुस्तकहरू प्रकाशन नै नहुने होइन । केही सङ्ख्यामा प्रकाशित हुने भए तापनि विगत केही वर्षमा प्रकाशित भएका पुस्तकहरूमध्ये केही अब्बल दर्जामै पर्दछ । लेखक, साहित्यकार वा निबन्धकारकै रूपमा नचिनिएका तर धेरै लामो समयसम्म प्राध्यापन तथा अनुसन्धानकर्ममा दत्तचित व्यक्तित्वहरू र उनीहरूको कृतिजस्तै कट्टक मल्लको ‘न्याय अन्याय’, संजीव उप्रेतीको ‘सिद्धान्तका कुरा’, संजीव पोखरेलका ‘एक अनि शून्य’, अरुण गुप्तोका ‘संस्कृति चिन्तन’ गैरआख्यान तथा निबन्धसङ्ग्रहका रूपमा अब्बल पुस्तकहरू हुन् । यसमा आत्मपरक र मनोगत आख्यानहरू मात्र नभई मानव जीवन र उसका सामाजिक पक्षहरूसँग जोडिएर आउने विविध पक्ष, साहित्य र साहित्यकारका बारेमा समेत विशद चिन्तन गरिएको छ ।
मिडियाको हो–हल्लाभन्दा धेरै पर तर सशक्त ढङ्गले कलम चलाउदै आएका अर्का उम्दा निबन्धकार रोशन शेरचनको पाँचौँ कृति ‘गल्ली संसार’ को प्रकाशन बुक हिलले गरेको छ । ‘गल्ली संसार’ ले उत्तम शान्ति पुरस्कार पाएको छ । शेरचनको चौथो कृति निबन्धसङ्ग्रह धोवीघाट एक्सप्रेसबाटै प्रभावित यो पङ्क्तिकार उत्तिबेलैदेखि उनको आलेख पत्रपत्रिकामा पढ्न लालायित हँुदै आएको हो । पेसाले वनविज्ञ शेरचन नेपाली साहित्यको चिन्तन मनन पनि उत्तिकै गरिरहने व्यक्ति हुन् । नेपाली साहित्यिक फाँटमा विज्ञानमा आधारित लेख रचनाहरूको अभाव महसुस हुन्छ । साहित्य लेखन मनोगत र काल्पनिक कथाका आधारमा मात्र सीमित नरही विज्ञानसम्मत हुनुपर्ने मान्यता राख्ने लेखकका यस कृतिमा बन विज्ञानदेखि विश्व वातावरणसम्मका चिन्तनमनन भेटिन्छ ।
मूल चार अध्यायमा विभाजित पुस्तकको पहिलो अध्याय ‘वैचारिकी’ मा लेखकले चीनको भ्रमण गर्दा तङ स्याउ फिङले चीनमा भित्याएको आर्थिक उदारीकरणले चीनमा भएको आर्थिक छलाङदेखि मानव उद्विकासको डार्विनको सिद्धान्त, त्यसपछिका नामी सामाजिक–जीव वैज्ञानिक एडवार्ड ओ. विल्सनदेखि, रिचार्ड डकिन्स र युभा नोहाल हरारीसम्मका विचार र सिद्धान्तको जगमा आज २१ औँ शताब्दीसम्ममा मानिसको स्वभाव र प्रकृतिलाई मिहीनरूपमा केलाउने प्रयास गरेका छन् । यस अध्यायलाई जीव विज्ञानको सिद्धान्तमा मात्र लेखकले सीमित गरेका छैनन् । नेपालमा निबन्ध लेखकको प्रवृत्तिबारेमा विवेचना, निबन्ध लेखनका मानक व्यक्तित्व शङ्कर लामिछानेको लेखन सशक्त हुनुमा लेखकको विश्लेषण, नेपालको एक साहित्यिक अभियान एवं लेखनको वैचारिक चिन्तन लीलालेखनका बारेमा लेखकको विचार र विश्लेषणलाई १४ वटा निबन्धले प्रस्ट्याउन खोजेका छन् ।
दोस्रो अध्याय ‘पर्यावरण’ मा ८ वटा निबन्ध समावेश गरिएका छन् । हाम्रो पर्यावरणको अधारभूत तत्व वनको बारेमा मात्र होइन बरु वन, वातावरण, साहित्य र मानव सस्कृतिको अन्तर सम्बन्धका विभिन्न आयामलाई सांस्कृतिक परिस्थितिको सैद्धान्तिक आधारमा टेकेर विश्लेषण गरिएको छ । पेसाले वनविज्ञ लेखक शेरचन बन, रुखहरूको मात्र विज्ञान नभई वनसँग आश्रित अन्य वनस्पति जीव जन्तु र मानव समुदायसमेतको सर्वाङ्गीण अध्ययन भएको मान्यता राख्छन् । तेस्रो अध्याय ‘स्मृति सन्झ्यालमा’ १४ निबन्ध अटाइएका छन् । यी निबन्धहरूमा आफ्ना अनुभवका विविध विषयहरू समावेश गरिएका छन् । बर्लिनको पर्खालका तीतामिठा सम्झना, स्कटलैन्डको एडिन्बरामा अध्ययनगर्दाका सम्झनादेखि कवि ईश्वरबल्लभलाई काठमाडौँमा भेट्न जाँदाको स्मरण र उनको सामीप्यतामा उनको विशेषता र स्वभावका बारेमा चर्चा गर्न भ्याए लेखकले ।
अन्तिम एवं चौथो अध्याय ‘यात्रा र यात्राहरू’ मा जम्मा १४ वटा निबन्ध समावेश गरिएका छन् । यात्रालाई खुला विश्वविद्यालयको रूपमा लिनुपर्ने मान्यता राख्ने निबन्धकारको जीवनको एउटा उद्देश्य यायावरी नै हो । नेपालकै मनाङ, कालिङचोक र रारादेखि लिएर आसामको गुहाती र चीनको ग्रेटवालसम्मका बारे यात्रा उनले देखेका र पाएका तथ्यहरूलाई पाठकहरूसँग बाँडीचुँडी गर्न कन्जुस्याइँ गरेका छैनन् । यस अन्तिम अध्यायमा मात्र होइन ३०७ पेजको सिङ्गो पुस्तकमा थुप्रै यात्राका विवरण र अनेकन सूचना र आफ्ना अनूभुतिहरूलाई पाठकसामु निर्धक्क पस्केका छन् । हिमाली भेगका विभिन्न रैथाने जातमध्येको एक थकालीहरूको इतिहास, संस्कृति र तिनीहरूका अनुभवजन्य रैथाने ज्ञानका बारे पनि लेखकले बताएका छन् ।
हाम्रो प्राकृतिक परिवेश, वातावरण र यसमा आश्रित विभिन्न जातका वनस्पतिदेखि ठुलासाना जीवजन्तुको अन्तरनिर्भरताको अध्ययनको विषयवस्तु पारिस्थितिकीलाई (Ecology) र साहित्यको समेत त्यससँगको सम्बन्धलाई केन्द्रमा राखेर लेखिएको निबन्धसङ्ग्रह ‘गल्ली संसार’ को स्थान नेपाली साहित्यमा छुट्टै प्रयोग हुने निश्चित छ । पुस्तकको नामकरण ‘गल्ली संसार’ राखिएकोमा अलि अलमलमा परेका यो पङ्क्तिकारले यही ‘गल्ली संसार’ निबन्धलाई छिचोलेपछि अनुभव भयो । साँच्चिकै महानगरभित्रका असङ्ख्य गल्लीभित्रको मानवीय मनोविज्ञान र चरित्र, दैनिकी र स्वभावलाई लेखकले गरेको चित्रणले लेख्न करै लाग्यो– आँखीझ्यालले संसार देखेजस्तै साँच्चिकै गल्ली संसार विशाल हुने रै’ छ ।
मानिस र उसको प्रकृतिसँगको अन्तरक्रियाका बारेमा मानिसले उसको परिवेश र वातावरणलाई गर्ने अविवेकी र अहम्पूर्ण व्यवहारलाई लिएर पुस्तकको विभिन्न प्रसङ्गमा लेखकले यसरी मानिससँग दाजेका छन् – ‘मान्छेले अत्यन्त घमण्ड गर्छ तर सोच्ने हो भने पहराको धूपीको रुख जति लामो पनि बाँच्दैन मान्छे ।’ (पेज ११९)
प्रकृतिमाथि मानिसको निसङ्कोच दोहनलाई रोक्न लेखकले साहित्य पनि एउटा ज्यावल (टुल्स) हुनसक्ने आशा व्यक्त गर्दै लेखक लेख्छन्, प्रकृतिमाथि विजय प्राप्त गर्न तम्सने पुरुष चरित्रभन्दा स्याहार गर्ने नारीको स्त्रैण चरित्रलाई अबको साहित्यले सम्हाल्नु जरुरी छ । इकोसेन्ट्रिक एप्रोच (अथवा वातावरणलाई केन्द्रमा राखेर गरिने व्यवहार) नारीवादी सिद्धान्तको धारसँग नजिक छ । (पेज १५०)
पुस्तकका बारेमा लेख्दा छुटाउनै नहुने कुरा भनेको लेखकको पहिचान र विशेषता हो । त्यो भनेको लेखक कुनै स्थान विशेषको यात्रा वा घुमघामको अनुभव सुनाउँदै गर्दा समाज र मानव जीवनको राम्रा र नराम्रा पक्षसँग जोडेर त्यसमा थप घोत्लिने गर्छन्, यसबाट थप नयाँ के सिक्न सकिन्छ भनेर । उनको एडिन्बरा सहरको अनुभव सुनाउदै साँझ त्यहाँका ‘पव र वारहरू’ धाउँदा त्यहाँ बजाइने स्थानीय सङ्गीतको धुन र कर्णप्रिय लोकभाकाका गीतले मनलाई अत्यन्तै शान्त बनाउने र बाल मस्तिष्कमा समेत त्यसले सकारात्मक भाव उत्पन्न गर्ने गर्छ । तर, नेपालमा यसको ठीक विपरीत सार्वजनिक बसमा र बारहरूमा छाडा र द्विअर्थी गीतहरू पटक्कै बालमैत्री नभएको तर्फ सबैको ध्यानाकर्षण गर्दै लेखक लेख्छन् – सानो उमेरमै राम्रा सङ्गीत सुन्ने बानी नपरेपछि रुचिको परिष्कार प्रौढ उमेरमा लगभग असम्भव हुन्छ ।………..सांस्कृतिक उन्नयनमा राम्रा र सृजनात्मक सङ्गीतको जति महत्वपूर्ण छ, सवारीसाधनमा हरदम बज्ने कमसल द्विअर्थी र शरीरकेन्द्रित गीतमा प्रतिबन्ध लगाउनु उत्तिकै आवश्यक छ । (ग्रास मार्केट, पेज १६५)
लेखकको अर्काे विशेषता भनेको लेखकले मानव जीवनमा पठनको महत्वलाई पुस्तकका धेरै ठाउँमा उल्लेख गरेका छन् । जस्तै : पठन लेखनको पूर्वसर्त हो । मानिस लर्निङ मेसिन बन्नुपर्छ । नत्र उमेर बढ्छ, ज्ञान घट्छ । (पेज ७१)
Leave a Reply