भर्खरै :

धर्म कसले बेच्छ ?

धर्म कसले बेच्छ ?

भारतीय राजनीतिको नक्कल गर्दै नेपालमा पनि राजनीतिक स्वार्थ साध्न धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको छ । यही मनसायसँगै ब्राह्मण समुदायका गैरहिन्दू धर्मका अनुयायीहरूलाई ‘धर्म बेचुवा’ भनेर गाली गरेर धार्मिक द्वन्द्व सिर्जना गर्ने कोसिस जारी छ । हिन्दू धर्ममा रहेको जात व्यवस्थाको कारण नेपालमा थुप्रै कथित दलित जाति प्रताडित भएर जीवन गुजार्नु परिरहेको अवस्थामा क्रिश्चियन धर्मका अनुयायीहरू आएर समान व्यवहारको आश देखाउँदा तिनीहरू त्यस धर्ममा आकर्षित भएका छन् । एक धर्मबाट अर्को धर्ममा आस्था परिवर्तन गर्नुलाई प्रायः धर्म परिवर्तन भनिन्छ । धर्म परिवर्तनको पछाडि व्यक्तिगत विश्वासका परिवर्तनहरू, सांस्कृतिक प्रभावहरू, विवाह वा आध्यात्मिक अनुभवजस्ता विभिन्न कारणहरू हुनसक्छन् । हुन पनि पछिल्लो समय हिन्दू धर्मअन्तर्गत तल्लो जाति भनेर हेपिएका दलित समुदायमा क्रिश्चियन धर्म अपनाउनेको सङ्ख्या धेरै देखिएको छ । यही वास्तविकतालाई इङ्गित गर्दै ब्राह्मणहरूद्वारा विशेषगरी दलितहरूलाई धर्म बेचुवा भनेर आरोप लगाउने गरिन्छ । अरु जातलाई दबाउन पाउने अधिकार रहेको जस्तो गरेर व्यवहार गर्ने ब्राह्मणहरू आफू नसुध्रिने अनि दलितले जात व्यवस्थाको विरोध गरेर धर्म परिवर्तन गर्दा उनीहरूलाई धर्म बेचुवाको आरोप लगाउनु बर्चस्ववादी सोच हो ।
‘धर्म बेच्नु’ भनेको के हो ?
‘धर्म बेच्नु’ ले कुनै व्यक्तिले प्रायः आफ्नो व्यक्तिगत लाभको लागि धार्मिक विश्वासको व्यवसायीकरण गर्ने अभ्यासलाई जनाउँछ । नाफाको लागि धार्मिक कलाकृतिहरू, पुस्तकहरू, कथित वरदान प्राप्त हुने भनेर सेवारूपी भ्रम बेचेर तथा सप्ताह, पुराणजस्ता समारोह आयोजना गरेर पैसा कमाउनेलाई ‘धर्म बेच्ने’ भन्न सकिन्छ । कहिलेकाहीँ आर्थिक लाभको निम्ति धार्मिक मिथकलाई शोषण गर्ने माध्यमको रूपमा प्रयोग गरिन्छ । आर्थिक लाभ प्राप्त गर्ने प्राथमिक लक्ष्यका साथ धार्मिक रूपान्तरण प्रयासहरूमा मानिसहरू संलग्न हुने गर्छन् । यसले व्यक्तिलाई पैसा दान गर्न तथा आध्यात्मिक सेवाको सट्टामा धार्मिक उत्पादनहरू खरिद गर्न दबाब दिन्छन् । केही धार्मिक प्रचारकहरूले भक्तजनहरूबाट चन्दा माग्छन् र प्रायः बदलामा ईश्वरीय आशीर्वादको लोभ देखाउँछन् । आर्थिक पक्षलाई मात्र धेरै जोड दिइने भएर यसलाई ‘धर्म बिक्री’ को रूपमा हेर्न सकिन्छ । आध्यात्मिक ज्ञानको आश्वासन बाँड्ने धार्मिक कार्यक्रमहरूमा भाग लिनको लागि शुल्क लिने काम धर्मलाई व्यवसायीकरण गर्नु हो । मानसिकरूपमा कमजोर व्यक्तिहरूलाई थप सङ्कटको त्रास देखाएर दान दिन बाध्य गर्ने कार्यहरू पनि गरिन्छन् ।
स्वर्गमा स्थान सुरक्षित हुने लोभ देखाएर पैसा दान गर्न मानिसहरूलाई उक्साउने वास्तवमा ‘धर्म बेच्ने’ को रूप मान्न सकिन्छ । प्रायः त्यस्ता दानहरूले दाताको पछिको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भनेर आश्वासन बाँडेको हुन्छ । अन्धविश्वासको व्यापारीकरणले आध्यात्मिक र धार्मिक अभ्यासहरूलाई मात्र एक लेनदेनमा परिणत गर्दछ । व्यक्तिको गहिरो धार्मिक विश्वास र मृत्युपछिको जीवनको बारेमा डर तथा आशा देखाएर शोषण गरेको हुन्छ । यस्ता पाखण्डीहरू धार्मिक अभ्यासको इमानदारी र प्रामाणिकतालाई कमजोर पार्दै आध्यात्मिक र नैतिक शिक्षालाई वित्तीय लेनदेनमा परिणत गरिरहेका हुन्छन् ।
वास्तवमा धर्म कसले बेचिरहेको छ ?
धर्मबाट फाइदा उठाउनेहरू नै धर्म बेच्नेहरू हुन् । धार्मिक उद्यमीहरूले धर्म किन्ने र बेच्ने गर्दछन् । भेटी सोहोरेर पास्टर र पुजारीले लाभ उठाउँछन् । तिनीहरूले आफ्नै दैवी कथाहरूको रचनालाई आम्दानीको स्रोतमा परिणत गरिरहेका छन् । ग्रह शान्तिका लागि ज्योतिषीहरूले दक्षिणा जम्मा गरेर धर्म बेच्छन् । गरुड पुराण, श्रीमद्भागवतको नाममा आफ्ना बाबुलाई खुवाउने, पितृलाई भोकबाट बचाउने, यमराजबाट मृत आत्मालाई उद्धार गरी स्वर्गमा पु¥याउनेहरू धर्म बेचिरहेका छन् । सुनको जलहरी चढाएर धर्मको नाममा राजनीति गर्नेहरूले पनि धर्म बेचेर आफ्नो राजनीतिक पसल थापिरहेका छन् ।
व्यापारीले आफ्नो वस्तुको वास्तविक विशेषता र गुणहरू ग्राहकलाई सम्झाएर नाफाको रूपमा आफ्नो भागमा केही अंश छुट्याउँछन् भने त्यसलाई स्वाभाविक प्रक्रिया मान्नुपर्छ । अरुलाई भ्रममा पारेर किन्ने बेच्ने कार्य गर्छ भने त्यसलाई कालो व्यापारी भनिन्छ । आफूलाई धर्मात्मा र धर्म रक्षक दाबी गर्नेहरूले विज्ञानसम्मत कुरा नगरी मिथकको आधारमा गफ बाँड्दै धर्म बेचिरहेका छन् । विगतमा धर्मले हामीलाई रक्षा गर्छ भनेर सुनिआएकोमा अहिले धर्मका ठेकेदारहरूले हामीलाई धर्म बचाउ भनेर अर्ती उपदेश दिएर उल्टो बाटो देखाइरहेका छन् । धर्म बेचुवाको आरोप लगाउनेहरू आफैँले धार्मिक अभ्यासको इमानदारीलाई कमजोर बनाइरहेका छन् ।
कथा वाचक पुजारीले आफ्नो सेवाको मूल्य तोक्दै प्रवचन दिन्छ भने त्यसलाई धर्म बेचेकोको रूपमा हेर्न किन नमिल्ने ? यस्ता कथा वाचनहरू विशेषगरी परोपकारी उद्देश्यहरूको लागि भन्दा पुजारीको व्यक्तिगत लाभको लागि प्रयोग गरिन्छ । टेलिभिजन, रेडियो वा इन्टरनेट प्रयोग गरेर व्यापकरूपमा चन्दा माग्ने र बदलामा स्वर्गको आश देखाउने पुरोहितलाई अन्धविश्वासको व्यापारी किन नभन्ने ?
गायन समूहले कन्सर्ट आयोजन गरेर दर्शक स्रोताहरूलाई मनोरञ्जन गरेर पैसा कमाउने व्यवसाय भनेजस्तै धार्मिक कथा वाचकले अनेक प्रकारका धार्मिक कथा सुनाएर दानको नाममा पैसा कमाउनु पनि व्यवसाय नै हो । यहाँ गायन समूहले स्रोताहरूलाई कुनै बनावटी कुरा नगरी मजोरञ्जन दिएर स्वाभाविक व्यवसाय गरेको छ भने अर्कोतिर धार्मिक कथा वाचकले स्वर्ग जाने मिथक कथा सुनाएर पैसा कमाउने भएकोले उक्त पैसालाई कालो धन भन्न सकिन्छ ।
कुनै पनि धर्ममा उल्लेख गरिएको कुरामाथि जिज्ञासा व्यक्त गर्नेबित्तिकै धर्मविरोधीको बिल्ला लगाउने चलन चलेको छ । आलोचनात्मक सोच र तर्कसङ्गत सोधपुछलाई निरुत्साहित गरिने हुँदा समाजमा ‘धर्म भनेको कर्तव्य पूरा गर्नु हो’ को सट्टा ‘मिथकहरूमाथि विश्वास गर्नु’ नै धर्म भएको छ । यस परिप्रेक्ष्यमा यी मिथकहरूलाई पछ्याउनु नै धर्मको बाटोमा हिँड्नु हो भनी तर्कहीन कुतर्क गरिन्छ । धर्मका अनुयायीहरूले यसमा गहिरो सत्य, नैतिक मार्गदर्शन र उद्देश्य रहेको भाव पाउँछन् ।
सारमा, एक धर्मबाट अर्को धर्ममा आस्था परिवर्तन गर्नु सहजै ‘धर्म बेचुवा’ भन्न मिल्दैन । व्यक्तिगत विश्वास तथा आध्यात्मिक अनुभवको कारण कुनै पनि आर्थिक लाभबिना कुनै पनि धर्मलाई अँगाल्नु भनेको धर्म बेच्नु होइन । यद्यपि, धर्मान्तरण प्रक्रियामा आर्थिक लाभले भूमिका खेलेको छ भने यसलाई धर्म बेचेको मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *