भर्खरै :

लू–लाग्नु (HEAT–STROKE)

लू–लाग्नु (HEAT–STROKE)

अत्यधिक गर्मी वा प्रचण्ड गर्मीको कारणबाट व्यक्तिको पसिना आउने प्रक्रिया (Sweating Mechanism) मा प्रतिकूल असर परी उत्पन्न हुने आकस्मिक अवस्थालाई लू—लाग्नु (Heat-Stroke) भनिन्छ । यो एउटा जीवनमरण (Life-Threating Emergency) को अवस्था हो, जसमा तुरुन्त चिकित्सकको सेवा आवश्यक पर्दछ । यदि तत्काल चिकित्सकीय उपचार नपाएमा बिरामी व्यक्तिको मृत्यु हुनसक्छ ।
गर्मीको समयमा वातावरणको तापक्रम अत्यधिक भएको बेलामा लू चल्ने हुन्छ । सामान्य भाषामा लू चल्नुलाई तातो हावा चल्ने पनि भनिन्छ । गर्मीको मौसममा चल्ने तातो हावालाई लू भनिन्छ । लू चलेको समयमा वातावरणको हावा ज्यादै तातो हुने भएकोले हाम्रो शरीरको तापक्रम पनि बढ्न सुरु हुन्छ र हाम्रो शरीरले खप्न सक्नेभन्दा धेरै तातो अर्थात् १०४ देखि १०६ डिग्री फरेनहाइटभन्दा बढी शरीरको तापक्रममा पुग्ने हुन्छ । शरीरको तापक्रम अत्यधिक बढेको अवस्थामा शरीरको पसिना आउने प्रक्रियामा प्रतिकूल असर परी शरीरबाट पसिना आउन प्रक्रिया बन्द हुन्छ र व्यक्ति बेहोस हुन जान्छ । लू लाग्दा केही समयको लागि (ठाउँअनुसार १० देखि १५ मिनेटको समयमा) शरीरको तापक्रम १०६ डिग्री फरेनहाइटभन्दा बढी हुने सम्भावना हुन्छ र समयमै तत्काल आकस्मिक उपचार नपाए लूले प्रभावित व्यक्तिको मृत्युसमेत हुनसक्छ ।
स्वस्थ अवस्थामा हाम्रो शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (98.6oF) वा ३७ डिग्री सेल्सियस (37oF) मा स्थिर रहन्छ । वातावरणको तापक्रम बढेमा होस् वा घटेमा होस् हाम्रो शरीरको तापक्रममा कुनै परिवर्तन हुँदैन । वातावरणको तापक्रम बढ्दा वा घट्दा हाम्रो शरीरको तापक्रम प्रभावित नहोस् भन्ने उद्देश्यले हाम्रो शरीरमा तापक्रमलाई नियन्त्रण गर्ने प्रणाली हरबखत सक्रिय रहिरहेको हुन्छ र शरीरको तापक्रमलाई सन्तुलनमा राखी राखेको हुन्छ । जाडोको समयमा शरीरमा कम्पन गराएर र गर्मीको समयमा शरीरबाट पसिना निकालेर शरीरको तापक्रमलाई शरीरको तापक्रमलाई यथारूपमा राख्ने काम सो प्रणालीले गरिरहेको हुन्छ ।
जोखिममा पर्ने व्यक्तिहरू (High Risk)
१. जो कोही व्यक्ति जोखिममा पर्न सक्छ ।
२. बालबालिकाहरू
३. गर्भवती महिलाहरू
४. ज्येष्ठ नागरिकहरू
५. दीर्घ रोगीहरू
६. घर बाहिर काम गर्ने व्यक्तिहरू

लू लागेको व्यक्ति बेहोस भएमा राख्ने आसन

हाम्रो शरीरको तापक्रममा असर पार्ने तत्वहरू (Factors Affecting Body Temperature) :
१. मौसम (Climate)
२. शारीरिक व्यायाम (Physical Exercise)
३. तापक्रम लिने ठाउँ (Site)
४. समय (Time of day)
५. उमेर वा वर्ष (Age)
६. कठिन परिश्रम (Hardwork)
लक्षण तथा चिह्नहरू (Clinical Features) :
१. सुरुमा टाउको दुख्नु,
२. घाइतेको मुख रातो, फुस्रो एवं सुक्खा देखिनु,
३. छाला रातो, तातो र सुक्खा देखिनु,
४. चक्कर वा रिङ्गटा लाग्नु,
५. बान्ता आउनु,
६. पसिना नआउनु,
७. पिसाब नहुनु वा भए पनि ज्यादै कममात्रामा हुनु,
८. पेटका मांसपेशीहरू दुख्नु,
९. हातखुट्टाका मांसपेशीहरू बाउँदिनु,
१०. तिर्खा लाग्नु,
११. थकाइ महसुस हुनु,
१२. नाडी कडा र छिटो छिटो चल्नु,
१३. शरीरको तापक्रम ज्यादै बढेको (१०४oF भन्दा बढी) हुनु,
१४. अचेतावस्थामा पुग्नु र
१५. यदि लू लागेका व्यक्तिको तापक्रम तुरुन्त कम नगरेमा मर्न पनि सक्छ ।
प्राथमिक उपचार गर्नुको उद्देश्य (Aim) :
– छिटोभन्दा छिटो लू लागेको व्यक्तिको तापक्रम घटाउनु ।
लू लागेको व्यक्तिलाई तत्काल गर्ने स्याहार वा प्राथमिक उपचार (First Aid) :
१. घाइते वा बिरामीलाई सकेसम्म चाँडो शीतल ठाउँमा ल्याउने वा छहारी भएको ठाउँमा ल्याउने ।
२. शीतल ठाउँमा ल्याएर आरामसाथ राख्ने ।
३. घाइते वा बिरामीको शरीरमा भएका कस्सिएका र तातो लुगाहरू फुकालिदिने ।
४. घाइते वा बिरामीको शरीरमा चिसो पानी अलिअलि छर्किदिने वा चिसो कपडाले छोप्ने वा ओडाउने ।
५. घाइते वा बिरामीको निधार, काखी र काँछमा पानीमा भिजाएको चिसो कपडा राखी दिनाले पनि शरीरको तापक्रम चाँदै कम हुने हुन्छ ।
५. पङ्खा लगाई राख्ने वा कागतले हम्किरहने ।
७. सामान्य चिसो पानी भएको भाँडामा हातखुट्टा डुबाइदिँदा पनि शरीरको तापक्रम कम हुने हुन्छ ।
६. यदि घाइते वा बिरामी व्यक्ति होसमा भए चिसो पानी (ज्यादै चिसो होइन) वा अन्य पेयपदार्थहरू पिउन दिने । उपलब्ध भएमा नरिवलको पानी सेवन गर्ने र गराउने ।
८. होसमा नआएमा चाँडोभन्दा चाँडो नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा पु¥याउने कोसिस गर्ने ।

लू लागेको व्यक्तिलाई चिसो पार्ने तरिका

रोकथामका उपायहरू (Preventive Measures) :
– गर्मी मौसममा बढी मात्रामा पानी वा तरल पदार्थ पिउने बानी बसाल्नुपर्छ ।
– लू लाग्ने सम्भावना भएका ठाउँमा घरबाट बाहिर जाँदा पानी पिएर निस्कने वा पानीको बोटल लिएर जाने । यदि उपलब्ध भएमा मोही वा अन्य पेय पदार्थहरू लिएर जाने ।
– घरबाट बाहिर जाँदा पातलो, हलुका र खुकुलो कपडा लगाउने ।
– गर्मी मौसममा पसिना निस्कन सहज गराउन हलुका रङ्गको सुतिको लुगा लगाउने ।
– दिउँसो चर्को घाम लागेको समयमा कडा शारीरिक परिश्रम हुने खालका काम नगर्ने ।
– बिहान बेलुकाको खानामा काँचो प्याजको प्रयोग गर्ने ।
– घरभित्र प्रशस्त ताजा हावा आउजाउ गर्ने व्यवस्थालाई मिलाउने ।
– रक्सी एवम् अन्य मदिराजन्य पदार्थको सेवन नगर्ने ।
– घरबाट बाहिर जानुभन्दा पहिला मौसमसम्बन्धी पूर्वानुमानबारे जानकारी लिने ।
– घरबाट बाहिर जाँदा आफूलाई आवश्यक पर्ने छाता, पेय पर्दाथहरू र खाना बोक्ने ।
– घर बाहिर जाँदा फराकिलो किनारा भएको टोपी लगाउने ।
– आवश्यकताअनुसार चर्को घामबाट पोल्न नदिन सन स्क्रिन लगाउने ।
– अत्यावश्यक कामबाहेक चर्को घाम लागेको समयमा यातायातको साधन प्रयोग नगर्ने र घरबाट बाहिर ननिस्कने ।
सन्दर्भ सामग्रीहरू :
1. First Aid, Basic Surgery, Basic Medical Procedure, Bishnu Bhakra Kawan, 5th Edition, 2073, Bhundipuran Prakashan, Kathmandu
2. Manual of First Aid, L.C. Gupta and Abhitabh Gupta, 1st Edition, 1995, Jaypee Brothers, New Delhi, India
3. First Aid Manual, St. John Ambulance, St. Andrew’s Ambulance Association, and the British Red Cross, 6th Edition, A Dorling Kindersley Book, London
4. Standard First Aid and Personal Safety, American Red Cross, 2nd Edition, Third Printing, 1981, Double day and Company, Inc. Garden City, New York.
5. Internet sources.

Leave a Reply

Your email address will not be published. Required fields are marked *