धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
‘धर्म जनताको लागि अफिम’ भन्ने माक्र्सको धर्मप्रतिको दृष्टिकोणको आलोचना गर्दै रजनिश ओशोले एउटा प्रवचन कार्यक्रममा भनेका थिए, “व्यक्तिलाई भित्री अवरोधहरूबाट मुक्त गर्न र वास्तविक व्यक्तिगत स्वतन्त्रतामा योगदान गर्न आध्यात्मिकताको सम्भावनालाई पहिचान गर्न माक्र्स असफल रहेको छ ।” ओशो रजनीशले धर्मलाई परिभाषित गर्दै भने, “धर्म भनेको आत्म–खोज र आन्तरिक रूपान्तरणको मार्गको साथै प्राकृतिक नियमका साथै सत्य र ज्ञानको लागि व्यक्तिगत खोज धर्म हो ।” साँचो धर्मले व्यक्तिलाई ध्यान र जागरूकतामार्फत भित्री ज्ञान र आत्म–प्राप्तिको लागि मार्ग प्रदान गर्दछ भन्ने ओशोको धारणा थियो ।
वास्तवमा ओशोको परिभाषाअनुसारको धर्म मान्ने मान्छे औलामा गन्न सकिन्छ । अधिकांश मानिसले मान्ने धर्म भनेको परम्परागत धार्मिक अभ्यास र सामाजिक मान्यताहरूको पालना हो । रीतिरिवाज, मिथक वा सङ्गठित संस्थाहरूको पालना गर्नु नै धर्मको रूपमा अधिकांश मानिसले मान्ने गरेका छन् । अधिकांश मानिसले मानिआएको यी धर्मलाई इङ्गित गरेर माक्र्सले धर्म अफिम हो, यसलाई सक्दो चाँडै निर्मूल पार्नुपर्छ भन्नुभएको थियो । तसर्थ, माक्र्सको धर्मप्रतिको आलोचना ओशोद्वारा परिभाषित गरिएको धर्मको परिवर्तनकारी दृष्टिकोणको सट्टा धर्मको सामान्य र संस्थागत दृष्टिकोणसँग सम्बन्धित छ । अधिकांश मानिसले रजनीशको धर्मको दृष्टिकोणभन्दा धर्मको सामान्य दृष्टिकोण मात्र बुझ्छन् । ओशोले भनेजस्तै धर्म भनेका ‘सत्य र ज्ञानको लागि व्यक्तिगत खोज नै धर्र्म’ मान्ने हो भने माक्र्स उच्च तहको आस्तीक ठहरिने छ । उनले सत्य र ज्ञानको खोजमा आफ्नो सम्पूर्ण जीवन निछावर गरे । यस अर्थमा कम्युनिस्ट र आस्तिक हुनसक्ने व्यक्ति माक्र्स हुन् ।
माक्र्सले आफ्नो कृति ‘हेगेलको अधिकार दर्शनको आलोचना’ “A Contribution to the Critique of Hegel’s Philosophy of Right” मा ‘धर्म जनताको लागि अफिम’ भनेर वर्णन गरेका थिए । माक्र्सले धर्मलाई शासकवर्गले उत्पीडितहरूलाई भ्रामक खुसी प्रदान गर्न प्रयोग गर्ने साधनको रूपमा हेरे । माक्र्सका अनुसार धर्मले यथास्थिति कायम राख्छ र वास्तविक सामाजिक–आर्थिक मुद्दाहरूबाट ध्यान हटाउँछ । “धर्म उत्पीडित प्राणीको सास हो, हृदयविहीन संसारको हृदय हो र आत्माविहीन अवस्थाको आत्मा हो । यो मानिसहरूको लागि अफिम हो ।” भन्दै माक्र्सले धर्मलाई समाजको आर्थिक संरचना प्रतिबिम्बित गर्ने वैचारिक अधिरचनाको (संस्कृतिहरू, धर्म र विचारधाराजस्ता विभिन्न संस्थाहरू समाजको आर्थिक पूर्वाधारबाट उत्पन्न हुन्छन्) एक हिस्सा मान्नुभयो । यस दृष्टिकोणमा धर्मले विद्यमान सामाजिक र आर्थिक असमानतालाई औचित्य पुष्टि गर्ने र सुदृढ पार्ने काम गर्दछ । मानिसलाई कठिन परिस्थितिमा सान्त्वना दिने तर अन्ततः उनीहरूलाई उनीहरूको पीडाको मूल कारणहरू पहिचान गर्नबाट रोक्ने धर्म एक भ्रम हो । त्यसैले माक्र्सले धर्मलाई वर्ग शोषण र आर्थिक उत्पीडनको कारक माने । वर्गविहीन समाज प्राप्त गर्ने प्रक्रियामा धर्मको उन्मूलन आवश्यक कदम हुनेछ भन्ने माक्र्सको विश्वास थियो । उहाँले धार्मिक भ्रमको अन्त्यलाई क्रान्तिको आधार माने ।
सङ्गठित धर्मले विद्यमान सामाजिक व्यवस्था र वर्ग संरचनाको औचित्य कायम राख्न महत्वपूर्ण भूमिका खेलेको १९ औँ शताब्दीको युरोपको सन्दर्भमा माक्र्सले धर्मको आलोचना गरेका थिए । ‘धर्म जनताको लागि अफिम हो’ भन्ने उनको दृष्टिकोणले उत्पीडित वर्गहरूलाई शान्त पार्न र नियन्त्रण गर्न कसरी धर्मको प्रयोग गरियो भन्ने झल्काउँछ । प्रत्येक परिप्रेक्ष्यको प्रासङ्गिकता र सटीकता सन्दर्भमा निर्भर हुनसक्छ । दमनकारी व्यवस्थालाई न्यायोचित ठहराउन धर्मको प्रयोग हुने अवस्थाहरूमा माक्र्सको आलोचना हुने गरेको छ ।
‘धर्म जनताको लागि अफिम हो’ भन्ने कार्ल माक्र्सको कथन आफ्नो समयमा विद्यमान सङ्गठित धर्मको आलोचना गर्न प्रयोग गरिएको थियो । धर्मले कसरी सामाजिक नियन्त्रणको लागि एक उपकरणको रूपमा सेवा ग¥यो र उत्पीडितहरूलाई भ्रामक सान्त्वना प्रदान गरेर यथास्थिति कायम राख्यो भन्ने कुरामा ध्यान केन्द्रित ग¥यो । सामाजिक–आर्थिक असमानताहरू कायम राख्न र मानिसहरूलाई वास्तविक, भौतिक परिवर्तन खोज्नबाट बिचलित गर्न संस्थागत धर्मको भूमिकामा माक्र्सको विश्लेषण आधारित थियो । धेरैजसो मानिसहरूले सामान्यतया धर्मलाई सामान्य दृष्टिकोणको आधारमा बुझ्छन्, जसमा सङ्गठित अभ्यासहरू, साम्प्रदायिक पूजा, सिद्धान्त वा विश्वासहरूको पालना र चर्च, मस्जिद वा मन्दिरहरूजस्ता धार्मिक संस्थाहरूमा सहभागिता हुने कार्यलाई जनाउँछ । यस परम्परागत बुझाइमा अनुष्ठान, परम्परा र धार्मिक नेताहरूको मार्गदर्शन हुन्छ । धर्मको सामान्य दृष्टिकोणले प्रायः चर्च, मस्जिद वा मन्दिरजस्ता सङ्गठित संस्थाहरूसँग सम्बन्धित विश्वास, अनुष्ठान र अभ्यासहरूको पालना जनाउँछ ।
यस अर्थमा कम्युनिस्ट र आस्तिक दुवै हुने सम्भावना कम्युनिस्ट विचारधारा र धार्मिक विश्वासको व्याख्या र अनुकूलनमा निर्भर गर्दछ । यद्यपि, भौतिकवाद र उत्पीडनको एक उपकरणको रूपमा धर्मको आलोचनामा केन्द्रित कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सका विचार मौलिकरूपमा नास्तिक भएको हुनुको साथै माक्र्सवादी विचारधारा परम्परागत नास्तिक अडानका कारण एकै व्यक्तिमा कम्युनिस्ट र आस्तिक संयोजन पाउन गा¥हो हुन्छ ।
कुनै व्यक्ति सामाजिक न्याय र समानताको आदर्श सँगसँगै आध्यात्मिक अनुभव, भित्री रूपान्तरण र ज्ञानमा केन्द्रित छ भने उक्त व्यक्ति कम्युनिस्ट र आस्तिक दुवै हुनसक्छ । आध्यात्मिकता र राजनीतिक विचारधाराको संश्लेषण गरी समग्र समाजको हित नै धर्म हो भनेर सोचिन्छ भने एकै व्यक्ति कम्युनिस्ट र आस्तिक हुनसक्छ । यसको विपरीत माक्र्सवाद पनि बोक्ने अनि त्यससँग असङ्गतरूपमा देखिने सामाजिक–आर्थिक असमानताहरूलाई पूर्वजन्मको फलको रूपमा सहज ढङ्गले स्वीकार्ने सङ्गठित संस्था र परम्परागत सिद्धान्तहरूसँग सम्बन्धित धर्मको पालन गर्ने हो भने एकै व्यक्ति कम्युनिस्ट र आस्तिक बन्न सक्दैन । तसर्थ, सामान्य दृष्टिकोणमा माक्र्सवादी नास्तिकता र संस्थागत धर्मबिचको आधारभूत विरोधको कारण कम्युनिस्ट आस्तिक हुने सम्भावना कम हुन्छ । निचोडमा धर्मलाई समग्र मानवताको भलाइ हुने कार्यमा आफ्नो जिन्दगी समाहित गराउन प्रेरित गराउने र कर्तव्यनिष्ट हुन सिकाउने माध्यमको रूपमा लिँदा कम्युनिस्ट आस्तिक हुनसक्छ । तर, धर्मको सामान्य धारणाको आधारमा अवसर हेरी भैँसी पूजा गर्ने र सस्तो लोकप्रियता कमाउने नाममा सुनको जलहरी दान गर्ने एकै व्यक्ति आस्तिक र कम्युनिस्ट हुनसक्दैन ।
Leave a Reply