भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
चाउचाउ केक, चाउमिन (मैदाले बनेको), जङ्क फुड हो । यसको अर्थ पत्रु खाना अर्थात् ‘काम नलाग्ने, बेकारको’ वा ‘अस्वस्थकर खाना’ भन्ने हो । जङ्क फुड शब्द अमेरिकामा सन् १९७२ देखि प्रचलनमा आएको हो । सन् २००२ मा पाउल जोनसोन र केनीले गरेको अध्ययनअनुसार जङ्क फुडले मस्तिष्कमा पनि नकारात्मक असर गर्छ । यसले स्वास्थ्यलाई किमार्थ राम्रो गर्दैन ।
मैदालाई त्यसै पनि मन्द विष भन्ने गरिन्छ । चाउचाउ मैदाले बनेको हुन्छ । खाद्य वैज्ञानिकहरूका अनुसार मैदा बनाउन बेन्जोइल पेरोअक्साइड (Benzoyl peroxide) नामक रसायन प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि घातक मानिन्छ । यो क्यान्सरसमेतको कारण बन्न सक्छ ।
त्यसपछि स्वादिलो बनाउन र सड्न नदिन चाउचाउमा मिसाइएको अजिनोमोटोलगायत रासायनिक पदार्थले हाम्रो मुटुसहित शरीरका विभिन्न अङ्गमा समस्या ल्याउँछ । केटाकेटीले चाउचाउजस्ता जङ्क फुड धेरै खाँदा कुपोषणको समस्या पनि हुने गरेको छ । यस्ता खाना खाने बानी परेपछि घरमा बनाइएका अरु खाना खान मन नलाग्ने हुन्छ । तथापि, हामी आफ्ना बालबच्चालाई चाउचाउ दिन छाडेका छैनौँ । किनकि, यसले हाम्रो समय जोगाउँछ भने शरीरमा तत्कालै प्रतिक्रिया जनाउँदैन । उत्निखेरै असर नगरिहाल्ने खानेकुरासँग हामी खासै डराउँदैनौँ । तर, बेलैमा सचेत हुनुहोस्, तपाईँले खासै ख्याल नगरेको चाउचाउ खाजाले तपाईँका केटाकेटीलाई गम्भीर स्वास्थ्य समस्यातिर लगिरहेको हुनसक्छ ।
केही वर्षअघि अछाम मङ्गलसेनको अस्पतालमा स्वास्थ्यकर्मीहरूसँग छलफल थियो । त्यहाँ उनीहरूले खाजाको प्रस्ताव गरे । हाम्रो ध्यान स्थानीय उत्पादनतिर गएको थियो । तर, उनीहरूले ‘लौ खाऔँ तातोतातो चाउचाउ’ भन्दै ल्याएर राखिदिए । पकाएको चाउचाउको वाफसँगै आउने अजिनोमोटोको गन्धलाई त्यहाँका जनस्वास्थ्य अधिकृतले ‘आहा ¤ कस्तो मीठो बास्ना ल खाऔँ’ भनेको सुन्दा छक्क परियो । अस्पतालका कर्मचारीले नै सजिलोका लागि यस्ता जङ्क फुड खाने गरेको बुझियो ।
अछामकै तत्कालीन चण्डिका गाविसकी एक बालिका आमाको दूध चुस्दै थिइन् । तीन वर्षकी उनी एक वर्षकी जस्तै सानी थिइन् । हिँड्न नसक्ने उनको कपाल पनि अति खैरो थियो ।
‘यो त कुपोषण भएको जस्तै छ, के ख्वाउनुहुन्छ ? तीन वर्षकी बालिकालाई दूध चुसाउनुपर्छ र ?’
ती महिलाले जवाफ दिइन्, “त्यही त तीन वर्षको उमेरमा दूध चुसाइरहनुपरेको छ । चाउचाउ र बिस्कुटबाहेक अरु केही खाँदिन ।”
उनको कुरा साँच्चै अत्यासलाग्दो थियो । तीन वर्ष पुगे पनि बालिका राम्ररी बोल्न सक्दिनन्, हिँड्न सक्दिनन् । तिनलाई त रक्तअल्पता (रगतको कमी) पनि भइसकेको रहेछ ।
“यसरी चाउचाउ मात्र खुवाउनुभयो भने पछि बढ्न पनि सक्दिनन्, राम्ररी पढ्न पनि सक्दिनन्,” हाम्रो चेतावनी सुनेर उनी निराश बनिन् ।
Leave a Reply