भर्खरै :

चिनियाँ अनुसन्धान टोलीसँग तःमुंज्याको अन्तरक्रिया सम्पन्न

चिनियाँ अनुसन्धान टोलीसँग तःमुंज्याको अन्तरक्रिया सम्पन्न

भक्तपुर, २० असार । नेपालभाषा साहित्य तःमुंज्याको एक टोली र चीनको सिचुवान विश्वविद्यालय तथा येनान विश्वविद्यालयको संयुक्त अनुसन्धान टोलीबिच नेपाल र चीनका जनजातिका विविध विषयमा मङ्गलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सिचुवान विश्वविद्यालयका प्राध्यापक ली थावले नेतृत्व गर्नुभएको टोलीले विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रअन्तर्गतको नेपाल अध्ययन एकाइले नेपालका विभिन्न पक्षको अध्ययन गरिरहेको र यही सिलसिलामा सत्यतथ्य बुझ्न अन्य विदेशीद्वारा नेपालको बारेमा लेखिएका पुस्तकहरू (Secondary sources) र अन्य अध्ययन सामग्रीले सत्यतथ्यमा पुग्न नसकिने भएकोले नेपालमै आएर यहाँका जनतासँग साक्षात्कार गरेर अध्ययन गर्ने (Primary resource) भ्रमणको उद्देश्य रहेको बताउनुभयो ।
प्राध्यापक ली थाओले यस अध्ययनले नेपालको चितवनको चेपाङ जनजातिमा विदेशीहरूले इसाईकरण गर्दै गरेको घटना चिन्ताजनक भएको बताउनुभयो । नेपालजस्तो संवेदनशील भूराजनैतिक अवस्थितिमा रहेको देशका गरिब जनतामा गरिरहेको यो इसाईकरणलाई सबैले गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनुभयो ।
सो अन्तरक्रियामा नेपालभाषा तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जारले नेवार जनजातिले बोल्ने नेपालभाषा उनीहरूको मात्र नभई लिच्छविकालदेखि विकास हँुदै आएको यो भाषा विगतमा सिङ्गो नेपालीले बोल्ने भाषासमेत रहेको बताउनुभयो । राजनैतिक घटनाक्रमले राष्ट्रको एकीकरणको नाममा मूल धारको राजनीतिमा शाहहरूको बर्चस्व भएपछि दबाइएका अन्य धेरै जनजातिमध्ये नेवार जाति र उनीहरूको नेपालभाषा पनि दबाइएको चर्चा गर्दै उहाँले कुनै भाषा विश्वकै सम्पदा हुने भएकोले त्यसलाई जोगाउनु सबैको कर्तव्य हो भन्नुभयो ।
वरिष्ठ पत्रकार एवं लेखक लक्ष्मणराज जोशीले औपनिवेशिक कालमा इसाईकरण गर्दै अफ्रिकी जनताको हातमा बाइबल ठमाउँदै पश्चिमाहरूले उनीहरूको देश लुटेको सन्दर्भ बताउनुभयो ।
शिक्षक योगेन्द्रमान बिजुक्छेँले नेपालमा विगतदेखि नै इसाई धर्मलाई भित्याउन खोजेको भए पनि कुनै पनि सरकारले स्वागत नगरेको ऐतिहासिक पृष्ठभूमि बताउँदै राणाशासकहरू तथा पञ्चायतकालमा शिक्षा, स्वास्थ्य र विकासका केही कार्यहरू गर्न अनुमति पाएका विदेशीहरू विशेषगरी अमेरिकी र बेलायतीहरू भित्रभित्रै धर्मप्रचार र धर्म परिवर्तन गर्न लागिरहेको बताउनुभयो । वि.सं. २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना र ६२/६३ को आन्दोलनपश्चात् विभिन्न गैरसरकारी संस्थाहरूमार्फत इसाईकरण बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यस्तो अनुसन्धानहरूमा जनताको तहबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले जनजाति सँगसँगै उनीहरूको भाषा, परम्परा र रैथाने ज्ञानको पनि संवद्र्धन गर्नु निकै चुनौतीको विषय भएकाले चीनजस्तो विशाल देशमा ती जनजातिहरूको हक अधिकारको संरक्षण गरी कसरी अगाडि बढ्यो भन्ने कुरा हामीले पनि सिक्नुपर्ने बताउनुभयो ।
तःमुंज्याका सदस्य केशव तमखु एवं अध्यापिका सुशिला कर्माचार्यले जनजातिसम्बन्धी आ–आफ्नो धारणा राख्नुभएको थियो ।
तःमुंज्याका सचिव नरेश खत्रीले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो । अनुवाद चिनियाँ भाषा शिक्षक राजेन्द्र चवाल र चिनियाँ टोलीसँग सहजीकरण नीरज लवजुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *