अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
गत जून २१ का दिन पत्रकार समाज नेपालको आयोजनामा प्राचीन कला नगरी भक्तपुरमा ‘सक्वका राजदास’ नामक आत्मकथा कृतिको सार्वजनिकीकरण कार्यक्रम भयो । एकदमै सरल स्वभावका, तर एकदमै विशिष्ट गुणका व्यक्तित्व स्व. राजदास श्रेष्ठको स्मरण चर्चामा बोल्न पाउँदा मैले आफूलाई गौरवान्वित महसुस गरेँ । संयोगवश राजदास दाइ र मैले अध्ययन गरेको सहर एउटै परेछ – सोभियत युक्रेनको पुरानो राजधानी खार्कोभ । त्यो सोभियत सत्ताले निर्माण गरेको युरोपकै विशाल औद्योगिक ग्राम थियो ।
मैले राजदास दाइको यो जीवनी पढेँ । कति त साथीहरूबाट सुनेको पनि थिएँ । उहाँको जीवनका कतिपय प्रसङ्ग अग्नीदिक्षा उपन्यासको पात्र पाभेल कर्चागिनको जस्तै छ – कैयन् हण्डर ठक्करबाट गुज्रिएको र सङ्घर्षको भट्टीमा खारिएको निकोलाइ अस्त्रोभ्स्कीको जस्तै । जुनै परिस्थितिमा मानव सेवामा समर्पित हुनबाट विचलित नहुने ।
“……. कर्म क्षेत्रमा डट्दा डट्दै १९८५ को दुर्घटनापछि उहाँले श्रीमती गुमाउनुभयो र स्वयम् ३–४ महिना दूर अफ्रिकाको अस्पतालमा अर्धचेत अवस्थामा पल्टिरहनुभयो । तर, उहाँ हार्नुभएन, निराश हुनुभएन । फेरि उठ्नुभयो, फेरि जुट्नुभयो । फेरि अफ्रिका जानुभयो । बोत्स्वानामा इँटा, चुन, रङ्ग, सिमेन्ट उद्योग स्थापनामा आयोजनाको नेतृत्व गर्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो विज्ञता सिञ्चन गर्नुभयो । जागीर मात्र होइन, एउटा अन्तर्राष्ट्रवादी भूमिका निभाउनुभयो ।
अफ्रिकामा उहाँले थुप्रै पैसा कमाउनुभयो । त्यो पैसा बोकेर नेपाल फर्कनुभयो । तर, उहाँले घडेरी किन्नुभएन, दुई चार वटा बङ्गला निर्माणमा लगानी गर्नुभएन† जुन एकदमै मालामाल हुन सक्थ्यो । बरु उहाँले त्यो पैसा मुलुकमा रङ्गीन चुन, सिमेन्ट पेन्ट उद्योग खोल्न लगानी गर्नुभयो । एउटा देशभक्त छोराको कर्तव्य निभाउनुभयो ।
उद्योगधन्दा घाटामा गयो । ढङ्ग पुगेन कि रङ्ग पुगेन । यहाँ त दलाली उद्योग व्यापार पो फस्टाउँछ । त्यो हृदयङ्गम गर्न चुक्नुभयो कि ! सबैलाई रिझाउन वा लोभीपापीहरूलाई खुट्याउन जान्नुभएन कि ! वास्तविकता यो पनि हो कि हाम्रो वर्तमान समाज संरचनामा बैङ्क डुबाउने तर पशुपतिमा गाग्रीका गाग्री दूध चढाउनेहरूको धन्दा फस्टाउँछ ।
उहाँले गोर्कीले जस्तै जीवनमा थुपै्र हण्डर खानुभयो तर हार्नुभएन । घाटापुर्तिको लागि अमेरिका लाग्नुभयो । जेल पर्नुभयो । दोस्रो विवाह गर्नुभयो । दोस्रो पत्नी पनि रोगले बित्नुभयो । अध्ययन गर्न गएका छोराहरू रुसमै अड्किए । उहाँ नितान्त एक्लो पर्नुभयो, तर एक्लो पर्नुभएन । जीवनका अन्तिम दिनहरूमा पनिः
माटोको माया गर्न थाल्नुभयो
बन्जर पाखो फोड्न थाल्नुभयो
पशुपक्षीलाई सम्हाल्नुभयो ।
जीवनले एउटा आशाको सिञ्चन गर्दै थियो ।
सङ्घर्ष, जागर र उत्साहको मलजल गर्दै थियो ।
…..तर, अन्ततः आफै बिलाउनुभयो ……………..!!!……
‘सक्वका राजदास’ का उक्त कथनहरू चानेचुने छैनन् । एउटा रोमान्च, सङ्घर्ष र साहसले भरिएको जीवन यात्रा छ । यसर्थ, पुस्तक पनि चानेचुने होइन, अदम्य गाथाहरूको सँगालो हो ।
पुस्तकको सुरुमै उहाँले त्यतिबेलाकोे जिउँदा नेपाली समाजको जिकिर गर्नुभएको छ । सन् १९६५ मा भारतीय विदेशमन्त्री नेपाल आउँदा ‘नेपाल और भारत केबिच विशेष सम्बन्ध है’ भनेका रहेछन् । त्यो कुराले देशव्यापी हडताल र आन्दोलन नै भयो । युवाहरू उत्रिए । आखिर त्यो ‘विशेष सम्बन्ध’ विरोध आन्दोलन नेपालको उत्तरी सिमानामा रहेको भारतीय सैनिक चेकपोस्ट हटाउने कडी बनेरमात्र टुङ्गिएछ । युवा राजदास आफै आन्दोलनमा सहभागी भएर लेखेका यस्ता प्रसङ्गले पुस्तकमा ऐतिहासिकताको जलप लगाएको छ ।
त्यतिखेरको बन्द समाजमा पनि देशभक्तिको आशलाग्दो झिल्को रहेछ, तर अहिलेका शासकहरू कठै ¤ प्रगतिशील वामपन्थी हुँ भन्नेहरू गेरु वस्त्र लगाएर प्रभुको यज्ञमा नाच्छन् । आजका प्रायः युवा विद्यार्थीहरूमा देशको स्वाधिनताको चासो भेटिँदैन, बरु क्याम्पस प्रमुखलाई ताला लगाएर थुन्छन् । उपभोक्तावाद चरमचुलीमा हाबी छ ।
राजदास दाइले साठीको दशकको नेपालभाषा साहित्य र आन्दोलनको जुन जीवन्त वर्णन गर्नुभएको छ त्यो पुस्तकको ऐतिहासिक अंश बन्न पुगेको छ । उहाँको मातृभाषाप्रतिको मोह, स्नेह र समर्पण ‘राजदास व्यक्तित्व’ निर्माणको अंश हो ।
उहाँको निधनको एक सातापछि हामी (सोभियत भूमिबाट फर्केका चार इन्जिनियरहरू : ध्रुव महर्जन, दीपक श्रेष्ठ, रवीन्द्रराज श्रेष्ठ र म) चौकी भन्ज्याङ जाँदा उहाँको आँगनमा महाकवि गिरिजा जोशीको प्रतिमा देखेका थियौँ । अहो यस्तो पो भाषा प्रेम !
उहाँको अन्तर्राष्ट्रिय विवाहको प्रसङ्गले पुस्तकमा रोचकता थपेको छ र यो वास्तविक प्रगतिशील प्रेम विवाह प्रतीत हुन्छ । पत्नी भ्यालेन्टिना श्रेष्ठको नेपालप्रतिको माया, भिन्न संस्कृति, भाषा, रीतिरिवाजप्रतिको अगाध स्नेह, लगाव र श्रमप्रतिको सम्मानको यसमा वर्णन उच्च छ । किनकि, भ्यालेन्टिना त्यो जुगमा जन्मिइन् जतिखेर सोभियत सङ्घले कृषि, औद्योगिक क्रान्ति, शिक्षा र विज्ञान क्षेत्रमा फड्को मारेर अन्तरिक्ष यात्राको उपलब्धि चुम्दै थियो । उनी सोभियत संस्कृतिमा हुर्किएकी छोरी थिइन् । यसैले उनी नेवारी (नेपालभाषा) खानपान, खेतीपाती र चलनचल्तीलाई सम्मान गर्थिन् । एकप्रकारले उनी पनि अन्तर्राष्ट्रवादी थिइन् ।
आज सोभियत सङ्घ छैन । त्यो युगका ऐतिहासिक सन्दर्भहरूप्रति जिज्ञासुहरूको लागि यो पुस्तक सोभियत समाजवादका विशिष्टताहरूको प्रत्यक्ष वर्णनको अंश हो । यसलाई यो संस्मरणको केन्द्रीय विषयवस्तु मान्न सकिन्छ । लेखकले कुनै कोरा सिद्धान्त वा नारा नछाँटिकन सप्रसङ्ग व्यवहारिक जीवनको सिलसिलासँगै सोभियत दिनचर्याहरूको वर्णन गरेका छन् । यस अर्थमा यो पुस्तक सत्तरीको दशकको सोभियत समाजको ऐना हो भने विश्व इतिहासमा सोभियत सङ्घले निर्माण गरेको इतिहासको सानो फेहरिस्ट पनि हो ।
“…..समाजवादी व्यवस्थामा धेरै काम गर्नुपथ्र्यो । हामी कहाँ जस्तो पुख्र्यौली सम्पत्ति हुनेहरूले कामै नगरिकन सुखसयलमा बस्न पाइँदैनथ्यो ………. सबैले पढ्नुपथ्र्याे, नपढी सुख थिएन ।
…….बच्चाहरूलाई आमाको दूध नपुग्दा भ्यालेन्टिना नजिकको क्लिनिकमा जँचाउन जान्थिन । डाक्टरले उनलाई एउटा प्रेस्क्रीप्सनमा लेखेर दिन्थे,
‘सय ग्राम दूध
सय ग्राम दही
सय ग्राम खुवा’
त्यो प्रेस्क्रीप्सन लिएर म (राजदास) एउटा अफिसमा गएँ । सानो बोटलमा दूध र दही पाएँ । त्यो गाई भैँसीको दूध थिएन । कुनै अन्य सुत्केरी महिलाको दूध थियो । … सोभियत सङ्घको हरेक गाउँ सहरमा यस्तो व्यवस्था थियो । ……..
……… दुई छोरा स्थानीय अस्पतालमै जन्मे ….. तर एक पैसा खर्च भएन । सोभियत सङ्घमा शिक्षा र स्वास्थ पूर्णरूपमा निःशुल्क थियो । ……!!! ”
यी हरफहरूले सोभियत प्रणालीको रोचक बयान गर्छन् र यो पुस्तकको सौन्दर्य बनेको छ ।
उहाँको एउटा आत्म स्वीकारोक्ती मलाई घत लाग्यो । “…दुई छोरा अलेक्सेडर श्रेष्ठ र डेनिस श्रेष्ठ सोभियत रुस पढ्न गएका, उहीँ रहे । … आफू जन्मेको ठाउँ उनीहरूलाई प्यारो लाग्नु स्वाभाविक हो । म जन्मेको सक्व देश मलाई माया लाग्नु पनि स्वाभाविक हो …. ।” यो प्राकृतिक यथार्थलाई स्वीकार्नु सुखी रहने उपाय पनि हो ।
राजदास दाइले थुप्रै पुरस्कारहरू पाउनुभएको रहेछ । थुप्रै सम्मान पाउनुभएको रहेछ । उहाँ एस.एल.सी.मा बोर्ड चौँथो, राजाद्वारा अनुसन्धान कार्य लागि प्रशंसित, यू.एन. संस्थाबाट अफ्रिकी प्रोजेक्टको चिफ इन्जिनियर पनि बन्नुभयो । नवीन उद्योगहरूको पहलकर्ता, संस्थापक र सञ्चालक हुनुभयो । तर, सदा आफूलाई सरलरूपमा प्रस्तुत गर्नुभयो । यही नै उहाँको व्यक्तित्वको सौन्दर्य हो ।
‘सक्वका राजदास’ पुस्तकमा अन्य दस पुस्तकहरूमा अटाउने सामग्रीहरू छन्, यदि विस्तृतीकरण गर्ने हो भने ! प्रत्यक्ष भोगेको जीवन इतिहास र साहित्यिक आन्दोलनहरू छन् । सङ्घर्ष, हण्डर–ठक्करहरू छन् । कैयन अध्ययन, अनुसन्धानका बयानहरू छन् । एसिया, अफ्रिका, युरोप र अमेरिकाका भोगाइहरू छन् । प्रेम छ, सौन्दर्य छ, भाषा संस्कृतिहरू छन्, रीतिरिवाजहरू अटाएका छन् । अन्तर्राष्ट्रवादको चेत छ । सोभियत समाजवादको दिनचर्या छ । रुसी–सोभियत नेता, कवि, लेखक कलाकारको चर्चाका साथ तिनलाई जनबोलीबाट दिइने संज्ञाहरू पनि छन् ।
यति विघ्न गहन विषय वस्तुहरूले भरिएको पुस्तक विरलै लेखिन्छन् । नेपालमा भाइरल पुस्तक लेखेँ भनेर स्याल हुइय्या गर्ने प्रवृतिवाला प्रकाशक, समीक्षकहरूसँग यस्ता विषयवस्तु हुँदा हुन त ती के गर्दा हुन् । ती काल्पनिक दुनियाँमा फूलबुट्टा भरेर ठुला साहित्य सृजना गरे भनी फुइँ उडाउने झुण्डहरूको माझ यो पुस्तक छुट्टै संसारको अंश दस्ताबेजजस्तै हो ।
यस्तो गहकिलो ग्रन्थको प्रकाशन र विमोचनको यतिशीघ्र जमर्कोको लागि पत्रकार समाज नेपाल धन्यवादका पात्र छन् ।
हालसालै मैले ‘मेरा सोभियत सम्झनाहरू’ नामक पुस्तक लेखेको थिएँ । त्यसले अपेक्षा गरेभन्दा बढी पाठकहरूको माया र प्रतिक्रियाहरू कमायो । मैले राजदास दाइको यो पुस्तकमा त्योभन्दा धेरै सूचना र अनुभवहरू भेटेको छु । किनकि उहाँसँग भ्यालेन्टिना थिइन्, …..रुसी ससुराली थियो …..। लाग्छ, राजदास दाइको जति अनुभव ममा छँदो हो त, कम्तीमा दुई–तीनवटा ‘मेरा सोभियत सम्झनाहरू’ निकाल्ने थिएँ ।
अनेकन् सारजन्य सबलताहरूको बाबजुद केही सम्पादन त्रुटीहरूले यसलाई ठाउँ–ठाउँमा खल्लो पार्ने भूमिका खेलेका छन् । यो धाराबाहिकरूपमा ‘मजदुर’ दैनिकमा प्रकाशित अंशहरूको सँगालो भएकोले त्यो स्वाभाविक पनि छ । तथापि, यसलाई अझ राम्रो सम्पादन गर्न सकिन्थ्यो । ठाउँ–ठाउँमा एउटै तथ्यहरू दोहोरिएका छन्, तिनलाइ मिलाउन सकिन्थ्यो । शीर्षक एवम् उपशीर्षकअनुसार क्रमबद्धतामा ध्यान पु¥याउन सकिएको भए पुस्तक अझै सलल बग्थ्यो ।
अन्तमा, कुनै समय पूर्वमा उदाएको लालीमासँगै मुलुकको आमूल परिवर्तन गर्न हिँडेका र राज्यकै पुनर्संरचना गर्न कस्सिएका प्रगतिशील, मुक्तिकामी वीरहरू भोगविलास वीरहरूमा रूपान्तरित हुँदै गेरु वस्त्र धारण गरेर प्रभुचरण स्पर्शको लागि शरणमा लम्केको बेला राजदास दाइहरूको चरम अभाव खट्केको छ ।
पुस्तक प्रकाशक र सार्वजनिकीकरण कार्यक्रम आयोजकलाई यो ओजिलो कार्यक्रम आयोजनाको लागि नमन गर्दछु ।
जाँदाजाँदै मलाई प्रकाशकीयको एउटा वाक्यले सा¥है मन छोयो ।
“……यस देशकै स्रोतसाधनबाट जनताका लागि आश्रयस्थल बनाउन सकिन्छ भनेर राजदास हरदम तत्पर भयो । ……तर, राज्य देशभन्दा पनि परदेशको सेवामा पल्किरह्यो …..।”
हो, मुलुकमा ट्रोजन हर्सहरूप्रतिको कृपा हालिमुहाली भएको अवस्थामा यो अनौठो पनि होइन ।
(वरिष्ठ ई. रामबिन्दु श्रेष्ठले पुस्तक विमोचन कार्यक्रममा व्यक्त गर्नुभएको विचारको सार मजदुरका पाठकहरुको लागि प्रकाशित गरिएको छ–स.)
धेरै धेरै धन्यवाद मजदुर दैनिक
I have read some chapters of the book from Rajdas’s face book page and they are heart renching and also inspirational. I would love to read the whole book.