पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
अफ्रिका महादेश संसारको दोस्रो ठुलो महादेश हो । अफ्रिकालाई विषुवत् रेखाले झन्डै आधा पारेको छ । यसको क्षेत्रफल १ करोड १४ लाख ४७ हजार ३ सय ३८ वर्ग माइल छ भने एसियाको ३ भागमध्ये दुई भाग छ । यो महादेश संसारको सम्पूर्ण भूमिको पाँच भागको एक भाग छ । यसको झन्डै आधा भाग मरुभूमि र आधा भाग पहाड र जङ्गल छ । स्वेज नहर बनाएपछि अफ्रिका एसियाको भूभागबाट अलग्गिएको हो ।
प्राकृतिक विकटताकै कारण यसको जनसङ्ख्या तुलनात्मकरूपमा पातलो छ । यसलाई मानव र सम्पदा विकास भएको भूमिको रूपमा लिइन्छ । उत्तरतिर चौडा र दक्षिणतिर साँघुरिँदै गएको यसको भूभाग छ । दक्षिणपूर्वमा मदागास्कर टापु यस महादेशको बच्चाजस्तो लाग्छ । यो महादेश सुन, चाँदी, हीरा, जवाहरात, कोबल्ट, युरेनियम, तामा, टीन, पेट्रोल, कोइला आदि अनेक खनिज सम्पदाले सम्पन्न छ । युरोपेली अन्वेषक र उपनिवेशकहरू यसभित्र सजिलै जान नसक्दा, यहाँका जनताको भाषा र रीतिरिवाज नबुझ्दा, सजिलै आत्मसमर्पण नगर्ने जनता हुँदा यस महादेशलाई ‘काला महादेश’ को नाम दिइयो । यसमा अनेक प्रकारका भूबनोट पाइन्छ । यहाँ विशाल नदीनाला, तालतलैया र झरनाहरू छन् ।
भूमध्यरेखीय जलवायु प्रदेश भएको हुनाले अफ्रिकामा सा¥है घना जङ्गल र अनेक जङ्गली जनावरहरू छन् । बिचको मुख्य भूभाग गर्मी प्रदेश भएको हुँदा यहाँका निवासी काला देखिएको मानिन्छ । उत्तर र दक्षिणी भूभागको हावापानी भूमध्य सागरीय छ र बिचको मरुस्थलीय र मनसुनी समशीतोष्ण छ ।
सन् १४१८ मा पोर्चुगली रान प्रथमले आफ्नो छोरो हेनरीलाई अफ्रिकाका हब्सी अर्थात् मूर जातिमाथि धावा गर्ने जिम्मा दिए । हेनरीले अफ्रिकाको पश्चिमी भागमा आफ्ना जहाजीहरूलाई नयाँनयाँ भूभाग पत्ता लगाउन पठाए । सन् १४४२ मा पोर्चुगालीहरूले आजको घानामा धावा बोले र त्यहाँबाट १० जना हब्सी दास र सुनका सामान लुटेर लगे । त्यसबेला त्यो ठाउँलाई सुनको किनारा भनियो । अफ्रिकामा त्यसबेला अन्य देशमा जस्तै दासप्रथा प्रचलित थियो । आधुनिक मुद्राको विकास नभएसम्म दास पनि मुद्रा वा साटफेरको वस्तु थियो । पछिपछि युरोपका अन्य देशहरू पनि अरू देश पत्ता लगाउने, कब्जा गर्ने, लुटपाट गर्ने र दास व्यापारमा सामेल भए । सन् १५०३ मा पोर्चुगलले आजको हाइटी टापुमा अफ्रिकी दासहरू लग्यो । युरोपेलीहरूले नयाँनयाँ भूभागबाट दास र सुनचाँदी लग्ने मात्र होइन, ती दासहरूलाई धर्म प्रचारको माध्यम बनाउँदै गए । सन् १५०८ पछि स्पेनको उपनिवेशमा दास बेच्ने अधिकार फ्रान्स र बेलायतका कम्पनीहरूले पाए । पछि डच र जर्मनी त्यस व्यापारमा सामेल भए । सन् १५१७ मा स्पेनका राजा चाल्र्स पाँचौँले एक भारदारलाई वर्षमा ४००० अफ्रिकी हब्सी दासलाई ल्याटिन अमेरिकामा बेच्ने अधिकार दिए । त्यस दरबारीले त्यो अधिकार जेनेभाको एक व्यापारीलाई बेच्यो । त्यस व्यापारीले दास व्यापारको त्यो अधिकार सन् १५३९ मा पोर्चुगाली व्यापारीहरूलाई बेच्यो । पोर्चुगलले आफ्नो राजधानी लिस्बनमा छुट्टै दास व्यापार केन्द्रको बन्दोबस्त गर्यो । त्यस बजारमा सन् १५३९ तिर वर्षमा १०–१२ हजार हब्सी दासहरूको व्यापार हुन्थ्यो । दासका व्यापारीहरू धेरैजसो स्पेनियालीहरू थिए ।
१५ औँ शताब्दीमा युरोपेलीहरूले सुरु गरेको त्यो दास व्यापार ४०० वर्षसम्म चालु रह्यो । यसरी युरोपेली साम्राज्यवादी र उपनिवेशवादीहरूले ४०० वर्षसम्म अफ्रिका र अफ्रिकी जनतामा मानवीय र भौतिक शोषण, अन्याय र अत्याचार गरिरहे ।
पहिलो विश्व युद्धपछि अफ्रिका महादेशमा स्वतन्त्रता आन्दोलन अगाडि बढ्दै गयो । दोस्रो विश्व युद्धपछि अफ्रिकी देशहरूमा सशस्त्र सङ्घर्षपछि स्वतन्त्रता र मुक्ति आन्दोलनले सफलता पाउँदै गयो ।
जुलियस काम्बरेज न्येरेरे
पूर्वी अफ्रिकाको देश तान्जानियाको क्षेत्रफल ९ लाख ४५ हजार वर्ग किलोमिटर छ । जनसङ्ख्या ४ करोड ३९ लाख २८ हजार ९ सय तेइस छ । खनिजमा सम्पन्न यो देशको राजधानी दार ए सल्लाम हो । जुलियस न्येरेरे तान्जानियाका राष्ट्रपिता र अफ्रिकी एकता सङ्गठन (Organization of African Unity – OAU) का संस्थापक हुन् । जुलियस न्येरेरेको जन्म सन् १९२२ मार्च महिनामा जर्मनीको उपनिवेश तान्जानिया (Tanzania) को बुटियामा (Butiama) क्षेत्रमा भएको थियो ।
सन् १९१८ मा जर्मनीको हारपछि राष्ट्रसङ्घ (League of Nations) को स्वीकृति अनुसार तान्जानिया बेलायती साम्राज्यको उपनिवेश बन्यो । बेलायती साम्राज्यवादले वन्य जातिका मुखियाहरूको समर्थनमा उपनिवेश कायम गर्यो ।
युवा अवस्थामा न्येरेरेको जीवनको उद्देश्य विद्यालयको शिक्षक बन्ने थियो । यसकारण, उनी छिमेकी देश युगान्डाको शिक्षक तालिममा सामेल भए । त्यसबेला युगान्डा पनि बेलायती संरक्षण (Protectorate) मा थियो वा बेलायती उपनिवेश नै थियो । यसकारण, उनले राजधानी कम्पाला (Kampala) को मेकेरेरे विश्वविद्यालयमा शिक्षाशास्त्रको अध्ययनका निम्ति भर्ना भए । त्यसबेला उनी २४–२५ वर्षका युवा थिए ।
सन् १९४८ मा उनी बेलायतको एडिनबर्ग विश्वविद्यालय (University of Edinburgh) मा भर्ना भए । १९५२ मा उनी शिक्षाशास्त्रका स्नातक भए । त्यसबेला उनी ३० वर्षका भए तथा उनी शिक्षण पेसामै लागे । शिक्षण पेसामा उनको रूचि थियो । नयाँ पुस्तालाई शिक्षित गर्ने उनको उद्देश्य थियो । आजको जस्तो पैसा कमाउने उद्देश्यले नै शिक्षण पेसा अपनाउँदैनथे । बेलायतमा त्यसैबेला उनले फेबियाली समाजवादी विचारको जानकारी पाए । फेबियाली समाजवाद बेलायती बुद्धिजीवीहरूको उपज हो । यसलाई १८८४ अक्टोबर ४ मा बेलायतमा स्थापना गरिएको थियो । फेबियाली समाजवाद सामूहिकता र लोकतान्त्रिक समाजवादी विचारमा आधारित ठुलठुला उद्योगलाई राष्ट्रियकरण गर्ने र ससाना उद्योग निजी क्षेत्रलाई नै छोड्ने र कानुनी ढङ्गले निर्वाचनद्वारा सरकार बनाउने, विकेन्द्रीकरणमार्फत स्थानीय सरकारलाई बढी अधिकार दिने, मजदुरवर्गको हातमा सत्ता नदिने र वर्गसङ्घर्ष अस्वीकार गर्नु फेबियाली समाजवादको सार हो ।
पछिसम्म पनि तान्जानियाका जनताले न्येरेरेलाई शिक्षक वा तिनीहरूको भाषामा ‘म्वालिमु’ (Mwalimu) भनेर बोलाउँथे । उपनिवेशवादी अधिकारीहरूले राजनीतिप्रति उनको झुकाव देखेर शिक्षण पेसा वा राजनीतिमध्ये एउटा छान्न दबाब दिए ।
सन् १९५३ मा उनले शिक्षण पेसा त्यागे र स्वाधीनता आन्दोलनमा लागे । उनी ताङ्गानिका अफ्रिकी राष्ट्रिय सङ्घ (Tanganyika African National Union– TANU) मा आबद्ध भए । त्यो एक राजनीतिक पार्टी थियो । त्यस पार्टीको मुख्य उद्देश्य देशलाई स्वतन्त्रता हासिल गराउनु थियो । त्यस्तै, वन्य जातिवादको विरोधमा सङ्घर्ष गर्नु, एउटा राष्ट्रको निर्माण गर्नु, एक प्रजातान्त्रिक सरकारको स्थापना गर्नु, अफ्रिकाको आर्थिक र सांस्कृतिक विकास गर्नु, जातिवाद र पक्षपातलाई अस्वीकार गर्नु, मजदुर सङ्घ र सहकारी संस्थाहरूको माझमा घनिष्ठ सम्बन्ध स्थापना गर्नु आदि त्यस पार्टीका उद्देश्यहरू थिए । त्यसबेला उनी ३१ वर्षका युवा भइसकेका थिए ।
सन् १९५८ र १९५९ मा तान्जानियामा विधायिका सभाको चुनाव भयो । तान्गानिका अफ्रिकी राष्ट्रिय सङ्घ (TANU) को विरोधमा बेलायतसमर्थक संयुक्त तान्गानिका पार्टी (United Tanganyika Party) राजनीतिक दबुलीमा देखापर्यो । तर, चुनावमा न्येरेरेकै पार्टीले पूर्ण बहुमत प्राप्त गर्यो । १९६० को निर्वाचनमा जम्मा ७१ स्थानमध्ये ७० स्थानमा TANU ले विजय प्राप्त गर्यो । त्यस चुनावको मुख्य उद्देश्य आन्तरिक स्वायत्तता प्राप्त गर्नु थियो । अब उनी ३८ वर्षका प्रौढ थिए ।
१९६१ डिसेम्बर ९ मा तान्जानियाले स्वाधीनता प्राप्त गर्यो र न्येरेरे प्रधानमन्त्री निर्वाचित भए । सन् १९६२ को निर्वाचनमा उनी त्यस देशको राष्ट्रपति चुनिए । १९६४ मा उनले छिमेकी टापु जन्जिबारसँग एक सङ्घ राज्य बनाए । नयाँ राज्यको नाम तान्जानिया (Tanzania) राखियो र उनी त्यसका राष्ट्रपति भए । त्यसबेला उनी ४२ वर्षका जिम्मेवार नेता देखिए ।
उनको नेतृत्वमा तान्जानियामा एक समाजवादी राज्यको निर्माण गर्ने उद्देश्यले उत्पादनका मुख्य–मुख्य साधनहरूलाई सार्वजनिक स्वामित्वमा ल्याउने काम अघि बढ्यो । उनी अफ्रिकी संस्कृतिका दृढ समर्थक थिए । यसकारण, त्यहाँको स्वाहिली (Swahili) भाषालाई नै सरकारी वा प्रशासनिक भाषा घोषणा गरियो । स्थानीय भाषालाई नै प्रशासनिक भाषा बनाउने तान्जानिया नै पहिलो ‘कालो’ अफ्रिकी देश थियो । तर, तान्जानिया संसारको सबैभन्दा गरिब देशमध्ये थियो । यसकारण, त्यहाँ सहकारीको आधारमा गाउँहरूलाई सङ्गठित गरियो । उनी जनतामा केन्द्रित समाजवादमा विश्वास गर्थे । आत्मनिर्भर विकास, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइयो । न्येरेरेको अफ्रिकी एकता र साम्राज्यवादविरोधी व्यापक दृष्टिकोणले गर्दा तान्जानिया अफ्रिकी स्वतन्त्रता सेनानीहरूको शरणस्थल बन्यो । दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक, अङ्गोला र युगान्डाका स्वतन्त्रता सेनानी र नेताहरू त्यहाँ जम्मा हुन्थे । छिमेकी देशको स्वतन्त्रता आन्दोलनमा सहयोग गर्दा कहिलेकाहीँ घरेलु समस्याहरूमा ध्यान नगएको बारे उनको आलोचना पनि सुनिएको थियो ।
ती सबै कारणहरूले न्येरेरे अफ्रिकाका सर्वमान्य नेतामात्रै बनेनन् बरु असंलग्न आन्दोलनका एक महत्वपूर्ण व्यक्तित्वको रूपमा प्रतिष्ठित भए । २०–२१ वर्षसम्म राष्ट्रपति भएपछि न्येरेरेले १९८५ मा आफ्नो पद र घरेलु राजनीतिबाट अवकाश लिए । त्यसबेला उनी ६३ वर्षका थिए । तर, उनी एक ज्येष्ठ राजनेताको रूपमा तान्जानिया र अफ्रिकी राजनीतिमा सल्लाहकारको रूपमा निरन्तर संलग्न रहे । उनले एक अन्तर्राष्ट्रिय राजनीतिक व्यक्तित्वको रूपमा काम गर्दै गए ।
सन् १९८८ मा उनी अफ्रिकी एकता सङ्गठन (Organization of African Unity) को ‘अफ्रिकाको सुपुत्र’ पदकबाट विभूषित भए । त्यसै वर्ष उनी ‘घानाको तारा’ बाट विभूषित भए । १९९० पछि उनले छिमेकी बुरुन्डीको शान्तिको निम्ति अथकरूपले काम गर्दै गए ।
१९९९ सेप्टेम्बर महिनामा न्येरेरे अस्वस्थ भएर बेलायतको सेन्ट थोमस अस्पतालमा भर्ना गरिए । पूर्व जाम्बियाका राष्ट्रपति केनिथ काउन्डाले न्येरेरेलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका थिए । सन्देशमा लेखिएको थियो, “गम्भीर रोगसँगको सङ्घर्षमा विजय पाउने कामना गर्दछु । अफ्रिका र प्रगतिशील विश्वको निम्ति तपाईँले धेरै लड्नुभयो । यस लडाइँमा पनि तपाईँ विजयी हुने कामना गर्छौँ ।”
न्येरेरे अचेत थिए र उनको होस फर्काउन चिकित्सकहरूले धेरै प्रयत्न गरेका थिए । तर, केही सीप लागेन । १९९९ अक्टोबर १४ को दिन लन्डन अस्पतालमै ७७ वर्षको उमेरमा उनी बिते । क्यान्सर र लुकेमिया रोगबाट उनी पीडित थिए । न्येरेरेको नेतृत्वमा सा¥है मिहिनेतले तान्जानियामा स्थायित्व कायम भएको थियो । यसकारण, उनलाई जनताले राष्ट्रपिताका रूपमा सम्झिरहे । स्वतन्त्रता प्राप्त गरेको बेला तान्जानिया अफ्रिकाको सबभन्दा गरिब देशहरूमध्ये थियो । शिक्षा र स्वास्थ्य तथा सामाजिक प्रगतिमा उनको नेतृत्वमा धेरै प्रगति गर्यो । आर्थिक समस्याहरू झेल्दाभेल्दै पनि १९८० तिर तान्जानियाले शिक्षा व्यवस्थामा धेरै विकास गर्यो र अफ्रिकाको सबभन्दा बढी साक्षरता दर भएको देश बन्यो । शिक्षाबारे उनले अनेक लेख लेखेका र निर्देशनहरू दिएका थिए ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा
Leave a Reply