भर्खरै :

पालैपालो प्रम बन्ने पुँजीवादी प्रयास नयाँ होइन

पालैपालो प्रम बन्ने पुँजीवादी प्रयास नयाँ होइन

देशको राजनीति सत्ताकेन्द्रित भइरहेकोमा शङ्का छैन । एक थरी सत्ता लम्ब्याउने पक्षमा छ भने अर्काे थरी अहिल्यै सरकार ढालेर नयाँ सरकार बनाउने पक्षमा छ । नेका र एमाले तुरुन्तै नयाँ सरकार गठन गर्ने राजनीतिमा होमेको छ भने माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादी सरकार अल्पमतमा परे पनि सत्ता लम्ब्याउने पक्षमा छ । देशका ठुला दलका नेता या शासकहरू पुराना सरकार ढालेर नयाँ सरकार गर्ने प्रतिस्पर्धामा छन् । यो देश र जनताको समस्या समाधानको उपाय होइन । तर, शासकहरू यो कुरा बुझेर पनि बुझ पचाउँछन् । शासकहरू सरकारमा गएर मन्त्री, राजदूत या अन्य उच्च पदहरू भागबन्डा गरेर रजाइँ गर्नु नै आफ्नो धर्म सम्झन्छन् । राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिका छोडेर, दायित्व बिर्सेर सिंहासनमै टाँसिरहने प्रवृत्ति सही होइन । यसतर्फ सरकारमा गएका कुनै पनि दलहरूले शिक्षा लिएनन्† शिक्षा लिएर अघि बढेनन् । यसले जनतामा निराशा छाएको हो ।
पद र पैसाको निम्ति राजनीति गर्ने पुँजीवादी व्यवस्थामा सरकारको नेतृत्व फेरिरहनु स्वाभाविक हो । पटक पटक सरकार ढालेर पालैपालो प्रधानमन्त्री बन्ने पुँजीवादी प्रयास पनि नयाँ होइन । सम्भवतः थोरै समयमा धेरै पटक सरकारको नेतृत्व फेरिरहेको देशमा नेपाल पनि पर्छ । नयाँ सरकार बनाएर काम नगर्ने देश पनि नेपाल नै हो कि भन्ने अभिमत पनि छ । सरकार परिवर्तन गर्न लोभलालच देखाउने, नेता, मन्त्री र सांसद तान्न पाए भने दल नै फोड्ने प्रयास पनि बेलाबखत भइरहेको हो ।
ठुला दलका नेता या शासकहरू अनेक षड्यन्त्र, जालझेल बुन्ने काममा पछि पर्दैनन् । राजनीतिक स्थिरता चाहिन्छ, विधिको शासन चाहिन्छ भन्दै सरकार फेरेर अस्थिरता निम्त्याउने र विधिको शासन भन्दै अराजनीतिक गतिविधि गर्ने, उद्दण्ड मच्चाउने, भ्रष्टाचारी र अपराधीहरूलाई पोस्ने काममा ठुला दलहरू नै अगाडि छन् । कुर्सीको राजनीति गर्दैन भनी फुके पनि उनीहरू कुर्सी छोड्न चाहँदैनन् ।
सत्तासीन दलका नेताहरूको स्थिर सरकार, आर्थिक विकास, सुशासन र विधिको शासनको कुरा कागज र भनाइमा मात्र सीमित रह्यो । सत्तासीन दलका शीर्ष नेताहरूले इमानदार नेता, मन्त्री, सांसद र कार्यकर्ता तयार गर्ने काम गरेनन्† प्रशिक्षित गर्ने काम गरेनन् । दलको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्ने प्रयास गरेनन्† सिद्धान्त र विचार जनतासमक्ष लगेर सुसूचित पार्ने काम गरेनन् । कम्युनिस्ट पार्टीको वर्गसङ्घर्षको बाटो छोडेर वर्गसमन्वयको आधारमा देशमा आमूल परिवर्तन खोज्ने ‘कम्युनिस्ट’ हरू पनि देखिए । वर्ग शत्रु र वर्गमित्रको पहिचान नगरी, सिद्धान्त र विचारको वास्ता नगरी केबल जसरी भए पनि सत्तामा जाने, मन्त्री भाग पाउने र पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउनेतर्फ शासकहरू लागे । फलतः देश पछि प¥यो, जनता पछि परे । तर, ठुला दलका नेता र शासकहरूले भुँडी भरे, बङ्गाला बनाए र ऐøयासी जीवन बिताइरहे । के यो देश र जनताको आवश्यकता हो ? माग हो ? चाहना हो ?
नेपाली जनताको चाहना र आवश्यकता कुन धारा, उपधाराअनुसार कुन दलको कुन नेतालाई प्रधानमन्त्री बनाउने भन्ने होइन । जुनसुकै धारा प्रयोग गरेर प्रधानमन्त्री बने पनि बनेको सरकारले देश र जनताको निमित काम गर्ने हो । एमालेका केपी ओली र नेकाका शेरबहादुर देउवा जो प्रधानमन्त्री बने पनि त्यो दलको सरकारले देश र जनताको निम्ति के कस्ता कार्यक्रम ल्याउने र लागु गर्ने हो ? त्यसतर्फ जनताको चासो हुन्छ । आउने सरकारले इमानदारीपूर्वक राजनीति गर्छ कि गर्दैन या देश र जनताको सेवा गर्न शासकहरू लाग्छ कि लाग्दैनन् भन्ने हो । सरकारका नेता, मन्त्री र सांसदहरू असल चरित्रका छन् कि छैनन् ? उनीहरू सच्चा छन् कि छैनन् ? पद र पैसामा नभुली काम गर्छन् कि गर्दैनन् ? यसतर्फ सत्तासीन दलका नेताहरूको ध्यान जानुपर्छ । सत्तासीन दलका नेताहरू जहिल्यै सत्तामुखीमा राजनीतिमा अल्झिरहे देश उँभो लाग्दैन, जनता खुसी हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *