पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
सन् १९६० मा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमाथि ठुलो सङ्कट आइपर्यो । सार्पिभिल्ले र लाङ्गामा मार्च २१ मा भएको नरसंहारमा ७० भन्दा बढी मानिस मारिनुका साथै २ सय जना घाइते भए । प्रधानमन्त्री भेर्वर्डले श्वेत आतङ्क फैलाएका थिए । पश्चिमा देशहरूले उनीमाथि कूटनीतिक दबाब दिए पनि उनले टेर पुच्छर लगाएनन् । त्यही वर्ष राष्ट्रिय काङ्ग्रेसमाथि भेर्वर्डले प्रतिबन्ध लगाए । त्यसपछि काङ्ग्रेसका नेता तथा कार्यकर्तामाथिको यातना, जेल सजाय, मानवअधिकार हननको क्रम अझ बढ्यो । काङ्ग्रेसको नीति परिवर्तन गर्न चारैतिरबाट माग आयो, सशस्त्र प्रतिरोध गर्नुपर्छ भन्ने हानीजस्ता युवाहरूको मत बलियो थियो । त्यसैबिच १९६१ डिसेम्बर १६ मा काङ्ग्रेसको सशस्त्र दस्ता एमके (MK) गठन भयो । कतिपय पार्टी नेताहरू भने सशस्त्र सङ्घर्षको विषयमा असहज महसुस गर्दै थिए । तत्कालीन परिस्थितिबारे हानीले भने, “…तर, त्यो गम्भीर प्रश्न, समीक्षा र आत्ममूल्याङ्कनको समय थियो, दुवै काङ्ग्रेस र कम्युनिस्ट पार्टीमा ।”
नेल्सन मन्डेला एमकेका कमान्डर–इन–चिफ थिए । एमकेको घोषणापत्रमा लेखिएको थियो, “जनताको प्रतिरक्षाको अग्रपङ्क्तिमा एमके रहनेछ । सरकार र सरकारको जातीय दमनविरुद्ध जनताको लड्ने अस्त्र हुनेछ एमके । अधिकार र अन्तिम मुक्तिका लागि यो जनताको बलियो शक्ति हुनेछ ।”
एमकेलाई स्थानीय भाषामा उमखोन्तो भनिन्थ्यो । स्थापनाकालदेखि नै एमके जातिवादी थिएन । कमान्डर मन्डेला प्रस्ट थिए, “अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वले सधैँ दक्षिण अफ्रिकी काला जनतालाई अहिंसा मात्र सिकायो । तर, यसले केही उपलब्धि भएन । यसको अर्थ हाम्रा समर्थकहरू यो नीतिप्रति सशङ्कित हुन थालेका छन्… ।”
हानीले एमकेको सैनिक नियम ज्यादै मन पराए । नियममा लेखिएको थियो, “उमखोन्तो जनताको युद्ध लड्दै गरेको जनताको सेना हो । यसमा हाम्रा जनताका सबभन्दा उत्पीडित, सबभन्दा शोषितका छोराछोरी समावेश छन् । यसकारण, हामी गौरव र निष्ठाका साथ दाबी गर्छौँ, उमखोन्तो यो देशको हतियार हो ।”
एमके स्थापना भएकै दिन यसको पहिलो सशस्त्र कारबाही सुरु भयो । एमकेका प्राविधिक इन्जिनियर डेनिस गोल्डवर्गले दुईओटा बम बनाएका थिए । एउटा बमको समय जनाउने उपकरणले काम गरेन । अर्को बम राख्न जाँदा उनी गिरफ्तार भए । प्रहरी पहिलेदेखि नै उनलाई त्यस स्थानमा कुरिबसेका रहेछन् ¤
यहाँसम्म आइपुग्दा क्रिस हानीको सैद्धान्तिक दृष्टिकोण क्रमशः प्रस्ट हुँदै गयो । कामाटादेखि एलिससम्मको यात्राबाट उनले धेरै कुरा सिकेका थिए ।
हानीले भने, “अब मैले धेरै काला श्रमिक देखिसकेँ । शोषणको निर्मम रूप देखेँ । दासको जस्तो ज्याला, मजदुरको अधिकारविहीन अवस्था भोगेँ । यस परिस्थितिमा मलाई समाजवादप्रतिको अपिल ज्यादै व्यापक लाग्यो । श्रमिकले धन सिर्जना गर्छ तर अन्त्यमा उनीहरूको हातमा लाग्छ शून्य ¤ उनीहरूले खानका लागि चनाबाहेक केही पाउँदैनन् र आधा पेट खाएर पुँजीपतिका लागि काम गर्छन् ।
यो मेरो सामान्य बुझाइ थियो । मेरो आफ्नै भोगाइसँगै सिद्धान्त निःसृत सामान्य बुझाइ । मैले मजदुर आन्दोलनलाई सिद्धान्तकै रूपमा बुझेको थिइनँ ।”
फोर्ट हायरमा कानुनको पढाइ टुङ्ग्याएपछि क्रिस हानीले सेफर एन्ड सेफर (Schaeffer and Schaeffer) मा कानुनी अभ्यास गर्न थाले । पातलो कार्पेट बिछ्याइएका अँध्यारा काठे कोठाहरू र खात पारेर राखिएका छालाको गाता हालिएका बाक्लाबाक्ला पुस्तकहरूबिच उनले आफ्नो दीक्षा प्रयोग गर्दै गए । तर, त्यतिमा हानीले चित्त बुझाउन सकेनन् । २१ वर्षको उमेर (सन् १९६२) मा उनी आफ्ना पितासँग बस्न केपटाउन गए ।
त्यहाँ उनका बुबा निर्माण मजदुर थिए । उनका बुबा गिल्बर्ट स्थानीय लाङ्गाका बासिन्दाहरूको सङ्गठनका निर्वाचित अध्यक्ष थिए । उनको सक्रियता स्थानीय प्रशासनलाई मन परेको थिएन । त्यसकारण, गिल्बर्ट र उनका साथीहरू प्रशासनबाट बरोबर सताइन्थे ।
केपटाउनमा
केपटाउनमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको सङ्गठन बलियो थियो । अखिल अफ्रिकी काङ्ग्रेसको स्थापनापछि राष्ट्रिय काङ्ग्रेसले नयाँ चुनौतीहरू सामना गर्नुपर्यो । विशेषतः विद्यार्थीहरू अखिल काङ्ग्रेसलाई समर्थन गर्थे । कहिलेकाहीँ राष्ट्रिय काङ्ग्रेस र अखिल काङ्ग्रेसका समूहबिच झडपसमेत हुने गथ्र्याे ।
हानी राष्ट्रिय काङ्ग्रेसको केप प्रान्तका प्रमुख गोभान एम्बेकीको निर्देशनमा काम गर्थे । केपटाउनको राजनीतिक वातावरणमा उनलाई त्यहाँको मजदुर सङ्गठन एवम् राजनीतिक क्रियाकलापमा सक्रिय बन्न धेरै समय लागेन । प्लिइन सहरको तयारी खाना उत्पादन गर्ने मजदुर सङ्गठनका मजदुरहरू कहाँ उनी बरोबर गइरहन्थे । त्यसक्रममा हानीको ओस्कार एम्पिया (Oscar Mpetha), एलिजाबेथ माफिकेड (Elizabeth Mafikeng), रे अलेक्सान्द्र (Ray Alexander) र ज्याक सिमन्स (Ray Alexander) लगायत मजदुर आन्दोलनका अगुवाहरूसँग भेटघाट भयो ।
अध्ययनशील स्वभावका हानी ‘नयाँ युग’ पत्रिकाको कार्यालयमा पुगिरहन्थे । प्लिइन सहरमा पनि त्यसको कार्यालय थियो । ब्राइन बन्टिङ त्यसका सम्पादक थिए । कालान्तरमा वान्की अभियान (The Wankie Campaign) को क्रममा सहयोद्धा जेम्स अप्रिलसँग पनि केपटाउनमा नै हानीको पहिलो परिचय भएको थियो ।
सन् १९६२ मा सरकारी दमनचक्र अझ पेचिलो बन्यो । तथापि त्यतिञ्जेल प्रतिबन्ध लगाई नसकेको दक्षिण अफ्रिकी मजदुर काङ्ग्रेस (SACTU) को नाममा हानी सक्रिय थिए । त्यही वर्ष नवगठित एमकेका कमान्डर–इन–चिफ नेल्सन मन्डेला देश दौडाहाको क्रममा केपटाउन पुगे । गायिका टिसावे (Gayika Tsawe) नामको वैद्यको घरमा भएको बैठकमा मन्डेलाको प्रभावशाली र गम्भीर भाषणबाट प्रभावित भएर सहभागीहरू सशस्त्र सङ्घर्षमा जानुपर्नेमा सहमत भए । त्यहीँबाट एम–योजना (The M–Plan) पारित गरियो । बैठकले एमकेको क्षेत्रीय समिति गठन गर्यो । त्यही समितिले ११ ओटा प्रमुख स्थानहरूमा सङ्गठन विस्तार गर्यो ।
क्षेत्रीय समितिको आयोजनामा केपटाउनबाट ५० किमि पर एउटा गाउँको घर भाडामा लिई तालिम सञ्चालन हुन थाल्यो । त्यहाँ बारुद कसरी बनाउनेजस्ता तालिम दिइन्थ्यो । यस्ता तालिम सँगसँगै प्रशिक्षार्थीहरूले विभिन्न क्रान्तिकारी कृतिको अध्ययन पनि गर्थे । उनीहरू ज्याँ पल सात्रको ‘पर्खाल’ (Wall) र चे ग्वेभाराको ‘गुरिल्ला युद्ध’ (Guerilla Warfare) पढ्थे । एकदिन सुराकीको आधारमा प्रहरीले उनीहरूलाई गिरफ्तार गर्यो । प्रहरीलाई झुक्याएर उनीहरू घण्टाभरमै रिहा हुन सफल भए । तालिममा प्रशिक्षार्थीहरूलाई कसरी हमला गर्ने, टेलिफोनको लाइन कसरी विच्छेद गर्ने र पेट्रोल बम कसरी प्रहार गर्नेबारे प्रशिक्षण दिने क्रम चालु रह्यो ।
पश्चिम केपटाउनको क्षेत्रीय समितिको माथिल्लो गोप्य समितिमा सात सदस्य हुन्थे । त्यसको लागि हानी पनि निर्वाचित भए । घुसपैठ हुन नदिन र गोप्यता कायम राख्न यो समितिबारे तल्लो समितिलाई समेत जानकारी दिइँदैनथ्यो । हानीको रुचि क्रमशः कानुनी अभ्यासबाट राजनीतितर्फ केन्द्रित हुन थाल्यो । उनी फूटबल, रग्बी र क्रिकेटमा चाख राख्थे । युवाहरूबिच खेलकुद समूहहरू गठन गरी राष्ट्रिय काङ्ग्रेसको विचार प्रचार गर्थे ।
हानी दिउँसो सङ्गठन निर्माण र विस्तारमा लागिपर्थे भने राति प्रशासनलाई हायलकायल पार्न टेलिफोन लाइन काट्नेजस्ता भूमिगत गतिविधि गर्थे । राज्यस्तरको दमनविरुद्ध सशस्त्र हमलाको लागि आवश्यक बारुद र डाइनामाइट केपटाउनबाट २५ किमि पर पर्ने बेलभिल्ले क्वारीस्थित पार्टी एकाइले आपूर्ति गथ्र्याे । सरकारविरुद्ध आक्रोशित केपटाउनका जनताको रिस साम्य पार्न त्यहाँको काला जाति हेर्ने प्रशासनले लाङ्गामा सभाको आयोजना गर्यो । राष्ट्रिय काङ्ग्रेसका कार्यकर्ताले मातान्जिमा नामका प्रशासक बसेकै ठाउँमा अग्निउत्सर्जक राखेका रहेछन् । मातान्जिमाको ज्यान मुस्किलले जोगियो । प्रशासनले ९० दिने आपत्काल घोषणा गर्यो । शङ्काको भरमा जोकोहीलाई गिरफ्तार गर्ने अधिकार प्रहरीलाई दिइयो ।
सिबेको, हानी, फाल्दोन जोन्की र जेम्स ट्येकू आदि मिलेर गोप्यरूपमा हाते पर्चा छापे । सरकारले लागु गरेको दमनकारी कानुनको विरोध गर्दै पर्चामा राष्ट्रिय काङ्ग्रेसले सशस्त्र सङ्घर्ष गर्नुका कारणमाथि प्रकाश पारिएको थियो । पर्चा वितरणको क्रममा हानी र अरू साथीहरू पक्राउ परे । ३० दिनसम्म उनीहरू कारागारमा थुनिए । कारागारमा उनीहरूले आफू अपराधी नभई राजनीतिक बन्दी भएकाले त्यसैअनुसार व्यवहार गर्न माग राखी सङ्घर्ष गरे । फलतः उनीहरूलाई पुस्तक, पत्रपत्रिका र खानाको उचित व्यवस्था गरियो ।
दक्षिण अफ्रिकाभरि प्रहरीको निगरानी बढेको थियो । तर, हानी र उनका साथीहरूले प्रहरीको कम ध्यान जाने छिद्रहरूको उपयोग गर्थे । केपटाउनबाट जोहान्सबर्ग जाँदा उनीहरू प्रायशः दोस्रो दर्जाको रेलको डिब्बामा जान्थे । त्यहाँ प्रहरीको त्यति ध्यान पर्दैनथ्यो ।
सन् १९६० मा राष्ट्रिय काङ्ग्रेसमाथि प्रतिबन्ध लागेपछि १९६२ मा काङ्ग्रेसको पहिलो भूमिगत सम्मेलन भयो । लोबास्से भन्ने ठाउँको एउटा घरमा गोप्यरूपमा त्यो सम्मेलन भएको थियो । सम्मेलनले भूमिगत सञ्जाल विस्तार र सशस्त्र सङ्घर्षको रणनीति कार्यान्वयन गर्नेबारे व्यापक छलफल गर्यो । सम्मेलनले केपटाउनको गतिविधिलाई थप गति दियो । तर, केपटाउन पुग्दा नपुग्दै हानी र सिबेको माथि अर्को आपत् आइपर्यो । प्रहरीले उनीहरूको खोजी तीव्र पार्यो । हानीसहित चारजना विरुद्ध मुद्दा लाग्यो । पार्टीले चारैजनालाई प्रवासमा पठाउने निर्णय गर्यो । यद्यपि, प्रवास जाने कार्यकर्ता अविवाहित हुनुपर्ने नियम थियो । तर, हानीबाहेक तीनजना विवाहित थिए । सन् १९६३ फेब्रुअरीमा उनीहरूविरुद्ध सजायको फैसला भयो । चारजना दुई समूहमा विभाजित भएर भूमिगत हुनुपर्यो । हानी र सिबेको एकै समूहमा भूमिगत भए ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा
Leave a Reply