भर्खरै :

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३

सोभियत सङ्घमा
अनेक दुःखकष्ट झेल्दै उनीहरू अरू झन्डै ४० जना सहयोद्धाहरूसँगै उत्तरी रोडेसिया (जाम्बिया) पुगे । जाम्बियामा उनीहरूलाई केनेथ काउन्डाको एकीकृत राष्ट्रिय स्वाधीनता पार्टी (UNIP) ले सहायता गर्यो ।
तान्जानियाको राजधानी दार–ए–सलाममा उनीहरूको जेमन हादेबे र ओर ताम्बोसँग भेट भयो । हानी र सिबेको जाम्बिया हिँडेपछि क्षेत्रीय समितिको नेतृत्व लुक्सस्मार्ट एनगुडल (Looksmart Ngudle) ले लिए । तर, सबै भूमिगत सञ्जाल छताछुल्ल भयो । पछि लुक्सस्मार्ट गिरफ्तार भए । उनलाई कारागारमा निर्मम यातना दिइयो र धागोको सानो डोरोमा झुन्डिएर मरेको भनियो । गोभान एम्बेकी पनि पक्राउ परे ।
जाम्बियाबाट ३० जनाको टोलीसहित क्रिस हानी सोभियत सङ्घ पुगे । टोलीका अधिकांश सदस्यको निम्ति त्यो पहिलो विदेश यात्रा थियो । रङ्गभेदको चर्को मार खेपेका दक्षिण अफ्रिकी युवाहरू गोरा वर्णका रुसीहरूको स्वागत पाएर खुसी थिए । रुसीहरूको व्यवहारले उनीहरूलाई जातिभेद नभएको समाज निर्माण गर्नमा थप दृढनिश्चयी बनायो ।
जाम्बियाबाट सुडान हुँदै कायरोको छोटो बसाइँपछि उनीहरू मस्को पुगेका थिए । त्यतिबेला सन् १९६२ अक्टोबरको क्युवा मिसाइल सड्ढटमा वुस्साहस प्रदर्शन गरेको भन्दै ख्रुश्चेभ चर्को आलोचनाको तारो बनेका थिए । सन् १९६२ मा अन्नबाली सखाप भएपछि सन् १९६३ मा ख्रुश्चेभको स्थान लियोनिड ब्रेजनेभले लिएका थिए ।
कम्युनिस्ट पार्टीमा आबद्ध भएको भर्खर दुई वर्ष भए तापनि हानीले समाजवाद र माक्र्सवादबारे धेरै अध्ययन गरिसकेका थिए । सोभियत सङ्घ पुगेपछि समाजवाद र माक्र्सवादप्रति उनको निष्ठा अझ बलियो भयो । तत्कालीन सोभियत सङ्घ संसारका कम्युनिस्टहरूलाई जस्तै हानीलाई पनि मुसलमानहरूको मक्का र इसाईहरूको भ्याटिकन सिटीसरह थियो । लेनिनको देश पुग्नु गौरवको विषय थियो ।
चरम गरिबीको मार झेलिरहेका हानी र उनका कामरेडहरूको निम्ति मगन्ते र गरिबी नभएको सोभियत सङ्घ अत्यन्त नौलो थियो । त्यहाँ शिक्षा र स्वास्थ्योपचार निःशुल्क भएको थाहा पाउँदा उनीहरू चकित परेका थिए । ती सबै समाजवादी क्रान्तिका परिणाम थिए । सोभियत समाज आफ्नै आँखाले देखेपछि पश्चिमा साम्राज्यवादीहरूका प्रचारबाजी झूटा भएको उनीहरूले थाहा पाए ।
मस्को पुगेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो । सबैलाई लुगा, जुत्ता, लामो कोट, झोला, सफा ओछ्यान, सिरानी र कोट–पाइन्ट दिइयो । उनीहरूको दैनिक भत्ता २५ रुबल थियो । उनीहरूको तालिम तुरुन्त सुरु भयो । राजनीति, समाजवादको सिद्धान्त, अर्थ–राजनीति र दक्षिण अफ्रिकाको राष्ट्रिय मुक्ति सङ्घर्षबारेमा कक्षाहरू हुन्थे । उनीहरूलाई छापामार युद्धकलाको तालिम दिइयो ।
प्रशिक्षणालयको नियम कडा थिए । विस्फोटक पदार्थसम्बन्धी तालिममा उनीहरूले आफूलाई सफासुग्घर राख्नुपथ्र्याे । भान्छाकोठाको चिनी र काठको धुलोले कस्ताकस्ता काम हुन सक्छन् भन्ने बुझ्न उनीहरूले ती वस्तुका नयाँनयाँ आयामहरू देखे । सानो गल्तीले पनि ठुलो क्षति हुन सक्थ्यो । उनीहरूलाई वाकीटकीबाट गुरिल्ला टोलीबिच खबर आदानप्रदान गर्ने, रेडियो र हातहतियारको व्यवस्थापनबारे तालिम दिइयो । भौगोलिक अध्ययन उनीहरूले सिक्नुपर्ने अर्को विषय थियो । सुरुमा त्यस्ता तालिम ओडीसीमा चल्थे । तर, अफ्रिकाका अन्य देशहरूका मुक्ति योद्धाहरू बढ्न थालेपछि क्रिमियाको पेरेभाल्नोयेमा छुट्टै तालिम केन्द्र स्थापना भयो ।
न्यानो कोठामा प्रशिक्षार्थीहरू प्रशिक्षकका कुरा ध्यान दिएर सुन्थे । दक्षिण अफ्रिकामा सिकेका कुराले मात्र त्यहाँ काम चल्दैनथ्यो । विषयवस्तुको गहिराइमा पुग्नुपर्ने अथवा बुझ्नुपर्ने हुँदा कतिपय कार्यकर्तालाई धेरै कुरा ‘फलामको चिउरा’ जस्तै हुन्थ्यो । तर, हानीको बुझ्ने क्षमता बढी थियो । दिनभर सिकाइएका कुरा राति आफ्ना सहपाठीहरूलाई सरल भाषामा बुझाउँथे ।
तालिमका क्रममा कतिबेला उनीहरूलाई घना जङ्गल र मानव बस्ती नभएका उजाड ठाउँमा पु¥याइन्थ्यो । तालिम सैनिक विषयमा मात्र सीमित नभई सामाजिक तथा सांस्कृतिक विषयमा पनि हुन्थे । उनीहरूलाई सोभियत सरकारद्वारा सञ्चालित कलकारखाना र ग्रामीण क्षेत्रको भ्रमणमा लगिन्थ्यो । यसले समाजवादका व्यावहारिक पक्षबारे बुझ्न उनीहरूलाई सहज हुन्थ्यो ।
तालिम केन्द्रमा एकदिन मोजेस कोटानी दुःखद समाचार लिएर आए । एमकेका अधिकांश कार्यकारी समिति सदस्यहरू १९६३ जुलाई ११ मा गिरफ्तारीमा परेको समाचार थियो । जोहान्सबर्ग, रिभोनियास्थित लिलिसलिफमा उनीहरूलाई छापामार युद्धको चाँजोपाजो मिलाएको र साम्यवादी राजनीतिमा लागेको अभियोगमा गिरफ्तार गरिएको थियो ।
तान्जानिया
तान्जानिया भर्खर बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यहाँ जुलिसय न्येरेरेको प्रगतिशील सरकार स्थापना भएको थियो । दक्षिण अफ्रिकी स्वाधीनता आन्दोलनका सयौँ योद्धाहरू त्यहाँ राजनीतिक शरण लिई बसेका थिए ।
१९६४ नोभेम्बरमा ३० जना तालिमप्राप्त कार्यकर्ताहरू दार–ए–स्लाम फर्के । त्यो वर्ष अमेरिकी नागरिक अधिकारका नेता मार्टिन लुथर किङले नोबेल शान्ति पुरस्कार पाएका थिए । तान्जानियामा ताङ्गानिका र जन्जिबार जुलियस न्येरेरेको नेतृत्वमा सामेल भइसकेका थिए । यी घटनाले दक्षिण अफ्रिकी योद्धाहरूलाई आफ्नो सङ्घर्षमा थप उत्साहित बनाएको थियो ।
सोभियत सङ्घमा वर्षदिनको बसाइँपछि सन् १९६४ नोभेम्बरमा हानीले अफ्रिका महादेश फर्कने निर्णय गरे । हानीसँगै उनका सहयोद्धाहरूले माक्र्सवाद सिकेका थिए, द्वन्द्वात्मक भौतिकवाद बुझेका थिए र सँगै एके ४७ राइफल चलाउन पनि पोख्त भइसकेका थिए । मस्कोबाट उनीहरू तान्जानिया जाँदै थिए ।
क्रिस हानी न्येरेरेको अफ्रिकी समाजवाद र उजामा (Ujamaa) परम्परागत वर्गविहीन सामूहिक बस्तीको सिद्धान्तबाट प्रभावित थिए । न्येरेरेले एमकेलाई प्रयोग गर्न दार–ए–सलामभन्दा ४ सय किमी दक्षिणमा पर्ने कोड्वा (Kongwa) मा सानो टुक्रा जग्गा प्रदान गरेका थिए । हानी, एम्ब्रोस माकिवाना र लिन्नोक्स लाघुलाई कोड्वामा खटाइयो ।
कोवाको जीवन सहज थिएन । त्यहाँ बस्ने योद्धाहरूलाई औलो र आँखाको सङ्क्रमणको खतरा थियो । चर्पीको लागि खाल्डो खन्नुपथ्र्याे । पानी आपूर्तिको समस्या थियो । कार्यकर्ताहरूलाई तीन समूहमा विभाजन गरिएको थियो र उनीहरू पालैपालो खाना पकाउने, घरटहरा बनाउने, पानी बोक्ने काम गर्थे । पढ्ने सामग्री पाउन निकै मुस्किल थियो । एकातिर हानीलगायत तालिमप्राप्त कार्यकर्ताहरूमा आफ्नो देश फर्किने र आन्दोलन निर्णायक तहमा पु¥याउने हतारो थियो भने अर्कोतिर उनीहरू त्यस्तो असहज अवस्थामा बस्न बाध्य थिए ।
त्यस्तो प्रतिकूल परिस्थितिमा हानीले लेखपढको काम भने छोडेनन् । उपयुक्त समय मिल्नेबित्तिकै उनी पढ्न बसिहाल्थे । उनी प्रायशः जङ्गलमा गएर किताब पढ्थे । उनका सहकर्मीहरू सर्पको डर भएकोले जङ्गलमा एक्लै गएर नपढ्न सुझाइरहन्थे । हानी हाँसोठट्टा मन पराउँथे । उनी लिबियादेखि फिडेल क्यास्ट्रोको क्युवाबारे चर्चा गरिरहन्थे । त्यतिबेला उनको उमेर मात्र २३ वर्ष थियो ।
कोड्वामा उनीहरूले चाँडै विभिन्न रचनात्मक गतिविधि गर्न थाले । पहाडको खाँचबाट पाइप बिछ्याएर पानी ल्याउने बन्दोबस्त गरे । त्यही पानी उपयोग गरेर खेतीपातीको काम गर्न थाले । भलिबल, टेबुलटेनिसलगायत खेलकुद गतिविधि गर्ने ठाउँ बनाए । बस्न उपयुक्त घरटहराहरू बनाए । भर्खर विश्वविद्यालयबाट निस्केका हानीजस्ता नवयुवकहरूका निम्ति ती निर्माण कार्य गर्न सजिलो थिएन । यद्यपि, त्यहाँको समय सम्झँदै हानीले भने, “… त्यो हाम्रो लागि अर्को शिक्षालय बन्यो । हाम्रो बौद्धिक ज्ञानलाई शारीरिक श्रमसँग एकाकार गर्ने राम्रो विद्यालय थियो त्यो ।”
सन् १९६४ को क्रिसमससम्म आइपुग्दा एमकेका सबै तालिम प्राप्त योद्धाहरू आफ्नो देश फर्केर स्वाधीनताको निम्ति सङ्घर्ष चर्काउन आतुर भइसकेका थिए । सोभियत सङ्घमा आफूले सिकेका ज्ञानको व्यावहारिक उपयोग गर्न उनीहरू व्यग्र थिए । तथापि पार्टीको नेतृत्व तहमा झाङ्गिँदो सुविधाभोगी चरित्र उनीहरूलाई चित्त बुझेको थिएन । दार–ए–सलाम र मोरक्कोमा बसेको पार्टी नेतृत्वले सङ्घर्षलाई भन्दा आफ्नो निजी सुखलाई प्राथमिकता दिइरहेका थिए । सशस्त्र सङ्घर्षप्रति समर्पणभावको अभाव र निष्क्रियताले हानी असन्तुष्ट थिए । जाम्बियाबाट फर्केको टोलीले केनेथ काउन्डाजस्ता नेता पूर्णतः सुख–सुविधामा डुबेको खबर ल्यायो ।
सन् १९६५ सम्ममा कोङ्वामा मस्को र ओडिसाबाट फर्केका कार्यकर्ताहरूको सङ्ख्या झन्डै ५ सय पुगिसकेको थियो । उनीहरूले भूमिगत गतिविधि गर्न तालिम पाएका थिए । दक्षिण अफ्रिकाको स्वतन्त्रताको लागि लड्न चाहने १२ वर्षका किशोरहरूसमेत त्यहाँ थिए । उनीहरूको शैक्षिक अवस्था कमजोर थियो । हानीले उनीहरूलाई शिक्षित बनाउन कक्षा सञ्चालन गर्ने कार्यमा जोड दिए ।
हानी प्रतिकूल परिस्थितिमा पनि ‘झिसमिसे’ (The Dawn) पत्रिकाका लागि विश्लेषणात्मक लेख लेख्थे । उनी प्रकाशनलाई स्वतन्त्रताको सन्देश फैलाउने र रङ्गभेदको आतड्ढ उजागर गर्ने माध्यमको रूपमा उपयोग गर्न चाहन्थे । कार्यकर्तामा बेलाबेलामा आउने निराशा पन्छाउन कोङ्यामा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिन्थ्यो । त्यहाँको जीवनलाई कालान्तरमा एकजना कार्यकर्ताल ‘जीवनको विश्वविद्यालय’ को संज्ञा दिए । वास्तवमा त्यो शिविर बाँच्नको लागि आवश्यक क्षमताको परीक्षाजस्तो थियो ।
कोङ्वामा दक्षिण–पश्चिम जनसङ्गठन (Swapo), फ्रिलिमो (FRELIMO), एमपीएलए (MPLA) र एमकेका शिविरबिच हरेक शुक्रबार कुनै न कुनै प्रतियोगिता आयोजना गरिन्थ्यो । त्यहाँ जिम्बाब्वे अफ्रिकी जनसङ्घ (ZAPU) र जिम्बाब्वे अफ्रिकी राष्ट्रिय सङ्घ (ZANU) का शिविर पनि थिए ।
कार्यकर्ताहरूले कठिन समय व्यतीत गरिरहेको समयमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका नेताहरूको जीवन भने भिन्न थियो । नेताहरू तलब पाउँथे भने कार्यकर्ताहरू आफ्ना आधारभूत आवश्यकता पूरा गर्न पनि आफ्नो लुगा बेच्न बाध्य थिए । सन् १९६६ सम्ममा कार्यकर्ता तहको असन्तोष झाङ्गिसकेको थियो भने केही कार्यकर्ताहरू घर जानको लागि ट्रक चोरेर भागे । तर, मोरोगोरोमा उनीहरू गिरफ्तारीमा परे ।
त्यतिबेला स्वतन्त्रता आन्दोलन राजनीतिक रसरङ्गको उच्चतम चरणमा पुगेको थियो । पार्टीमा भर्ती बढेकोमा खुसी हुँदै केही नेताहरू एउटा परिस्थितिमा स्वतन्त्रता आफैँ आउँछ भन्ने सोच्थे । त्यसकारण, उनीहरू भित्रभित्रै सल्किरहेको असन्तोषको आगोप्रति बेवास्ता गर्थे । त्यस्तो परिस्थितिमा हानीले नेतृत्वप्रति असन्तोष पोख्दै एउटा पत्र लेखे र सन् १९६९ को मोरोगोरो सम्मेलनमा त्यो पत्र पेस गरे ।
सन् १९६७ मा शिविरका धेरै कामरेडहरू केन्या पुगिसकेका थिए । केही कार्यकर्ताले हानीलाई आफ्ना असन्तोष बुझ्न नसकेको भन्दै आलोचना गरे तापनि धेरैले उनको सुन्ने धैर्य, समस्या समाधानको लागि अग्रसर हुने बानीको प्रशंसा पनि गरे । पार्टीका नेताहरूबिच नातावादी प्रवृत्ति, कोहीमा धेरै रक्सी सेवन गर्ने दुव्र्यसनी फैलिएको थियो । त्यहीबेला क्रिस हानी जाम्बिया गए । कोङ्यामा उनको आलोचना पनि भयो । जोसाह जैलेको नेतृत्वमा रहेकी एउटा सानो समूह पनि लुसाका हुँदै मोजाम्बिक जान कोङ्याबाट हिँड्यो । सन् १९६७ को सुरुमा प्राज्ञ वेन मुगबानेले जाम्बिया विश्वविद्यालय क्याम्पस नजिकै सुनिनदालेस्थित एउटा घरमा क्रिस हानीको बस्ने बन्दोबस्त मिलाए । प्राज्ञ मुगबाने एक वर्षअघि मात्र संरा अमेरिकाबाट त्यहाँ आएका थिए । उनको घरमा प्रशस्त पुस्तकहरू थिए । उनी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका समर्थक थिए । उनले काङ्ग्रेसका टाम्बोलाई पनि बस्ने बन्दोबस्त मिलाएका थिए ।
मुगबाने परिवारका निम्ति हानी जेठो छोरोसरह थिए । प्रायशः आइतबार हुने भेटघाटमा हानीका विचार, शैली र उनले किट्सका कविताहरू कण्ठस्थ गरेर धाराप्रवाह वाचन गर्दा सहभागीहरू चाँडै प्रभावित हुन्थे । कुनै पार्टी वा भोज हुँदा हानी पार्टीबाट छिट्टै निस्कन्ये र कोठामा गएर किताब पढेर बस्थे ।
लुसामा हुने अफ्रिकी भूमिगत बैठकहरूका सहभागीका लागि हानी एउटा नयाँ आविष्कारजस्तै थिए ।
सन् १९६१ डिसेम्बर महिनामा जोहान्सबर्गको एउटा गोप्य ठाउँमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको बैठक भयो । त्यो बैठकले वर्णभेदी शासन सत्ताविरुद्ध युद्धको औपचारिक घोषणा गर्यो । सन् १९६० मा सार्पभिल्ले र लाङ्गामा भएका नरसंहारपछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले शान्तिपूर्ण सङ्घर्षको बाटो त्यागिसकेको थियो । त्यसपछि सन् १९६१ मा भएको जोहान्सबर्ग बैठकबाट काङ्ग्रेसले अन्य मुक्ति सङ्गठनहरूसँग नयाँ उचाइमा सम्बन्ध स्थापित गर्ने तय गरेको थियो ।
जोहान्सबर्गमा गोप्य बैठक बसेको बखत रोडेसियाको हरारे सहरको हाइफिल्ड्समा एउटा अर्को बैठक पनि बसेको थियो । त्यो बैठकबाट जापु (ZAPU) स्थापनाको औपचारिक निर्णय भयो र मजदुर नेता जोशुआ कोमो (Joshua Nkomo) त्यसको सभापतिमा निर्वाचित भए । पछि जोशुआलाई रोडेसियाली (हालको जिम्बाब्वे) प्रहरीले गिरफ्तार गर्यो र क्रान्तिकारी नेता रोबर्ट मुगाबेसँगै जेलमा थुन्यो । मुगाबे जिम्बाब्वेली अफ्रिकी राष्ट्रिय सङ्घ जानु (Zanu) का सभापति र लामो समयसम्म जिम्बाब्वेका राष्ट्रपति बने ।
त्यही वर्ष पीएसीको सैनिक सङ्गठन पोको, अजानियाली जनमुक्ति सेना (एपीएलए) र अङ्गोला जनमुक्ति आन्दोलन (एमपीएलए – MPLA) पनि गठन भए ।
यतिञ्जेल जापु र अफ्रिकी राष्ट्रिय काङ्ग्रेस दुवै कसरी अगाडि बढ्ने विषयमा अस्पष्ट थिए । तथापि एक वर्षकै अन्तरालमा सोभियत सङ्घबाट सैनिक तालिम प्राप्त दुवै सङ्गठनसम्बद्ध लडाकुहरूको तान्जानिया जाने ‘महान् पूर्वी मार्ग’ नामले चर्चित स्थानमा भेट भयो । जापु, मोजाम्बिकको फ्रिलिमो, नामिबियाको स्वापो, एमपीएलए र अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका युवा नेता तथा लडाकुहरू दार–ए–सलाममा भेला भए । दार–ए–सलाममा जापु र काङ्ग्रेसले आफ्ना कार्यालय स्थापना गरे । अरू दुई वर्षमा पार्टीमा भर्ती हुनेको सङ्ख्या बढ्यो । तर सन् १९६३ मा मात्र तान्जानियामा उनीहरूका शिविर स्थापना भए ।
क्रिस हानीका मित्र आकी सिबेकोले ट्युनिसियाबाट जिम्बाब्वे, जाम्बिया आदि बाटोमा पर्ने देशका सुरक्षाकर्मीलाई छकाउँदै लडाकुलाई आवश्यक पर्ने हातहतियार आपूर्ति गर्थे ।

स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *