भर्खरै :

बच्चालाई क्षमताभन्दा बढी भारी झोला बोकाउँदा आउने स्वास्थ्य समस्या

बच्चालाई क्षमताभन्दा बढी भारी झोला बोकाउँदा आउने स्वास्थ्य समस्या

नयाँ शैक्षिक सत्र सुरु भएको केही महिना मात्र भएको छ । तर, यसवर्ष पनि अघिल्लो वर्षझैँ बिहान बेलुका अधिकांश स्कुलको समयमा बालबालिकाहरू बाटोमा सकी–नसकी काँधमा झोला बोकेर हिँड्दै गरेका भेटिन्छन् । कोही बस कुरिरहेका भेटिन्छन् । कसैका अभिभावकले आफैं काँधमा झोला बोकेर छोराछोरीलाई स्कुल पु¥याउन लागेको भेटिन्छन् । यसरी बालबालिकाले आफ्नो क्षमताभन्दा बढी भारी बोक्दा उनीहरूलाई समस्या देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले बालबालिकालाई आफ्नो उमेरअनुसारको भारी बोक्नुपर्ने बताउँछ । जुन निम्नानुसार तय गरिएको छ ।
एल केजी – २.२ किलो
यु केजी – २.४ किलो
कक्षा १ – २.६ किलो
कक्षा २ – ३ किलो
कक्षा ३ – ३.४ किलो
कक्षा ४– ३.८ किलो
कक्षा ५– ४.१ किलो
कक्षा ६– ४.५ किलो
कक्षा ७ – ५ किलो
कक्षा ८– ५.८ किलो
कक्षा ९– ६.५ किलो
कक्षा १०– ७.३ किलो
तर, नेपालको अधिकांश विद्यालयका विद्यार्थीहरूले कापि, किताब, खाजा, पानीको बोतल गरी झन्डै १० किलो भारी बोक्ने गरेको पाइएको छ । हुन त यो भारी दिनभरि बोक्ने हैन, एकछिन बस कुर्ने बेलासम्म त हो नि भन्ने सम्बन्धित निकायलाई लाग्न सक्छ । तर दिनहुँजसो एक–एक छिन बोक्ने झोलाको भारीले बालबालिकालाई विभिन्न समस्या निम्त्याउँदैछ । यसरी कलिलो उमेरमा नै आफ्नो क्षमता भन्दा बढी भारी बोक्दा बालबालिकाको मांशपेशी तानिन्छ । त्यसपछि मेरुदण्डको हड्डीमा दबाब सुरु हुन थाल्छ । लामो समयसम्म पनि यही प्रक्रिया चलिरह्यो भने बालबालिकाहरूमा ढाड कुप्रो हुने, हड्डी बाङ्गिने, कम्मर दुख्ने, कुम दुख्ने, जोर्नी दुख्ने समस्या देखिन्छ । यस समस्याले गर्दा कहिलेकाहिँ श्वासप्रश्वासमा पनि कठिनाइ देखिने गरेको पाइन्छ ।
यसतर्फ न त विद्यालय प्रशासनको ध्यान गएको देखिन्छ, न त सम्बन्धित निकायको नै । हाल हाम्रो क्लिनिकमा आउने बालबालिकाको परीक्षण गर्दा उनीहरूमा मानसिक समस्या पनि थपेको छ । विद्यार्थी बालबालिकाहरू आफ्नो उमेरले सक्ने भन्दा बढी वजन बोकेको कारण बालबालिकाहरूमा उमेरभन्दा होचो हुने सम्भावना हुन्छ । साथीहरूभन्दा होचो भएपछि बालबालिकाहरूमा आत्मविश्वासको कमी हुँदै जान्छ । विस्तारै यसले मानसिक समस्या पनि निम्त्याउन बेर लगाउँदैन ।
बालबालिकाको ढाड दुख्ने, मांशपेशी दुख्ने, ढाड कुप्रो हुँदै जाने, कम्मरमुनीको दुखाइ बढ्दै गएमा लापरपाही गर्नुहुँदैन । समयमा नै फिजियो थेरापिस्ट डाक्टरकहाँ लगेर समस्या समाधान गर्न सकिन्छ । चिकित्सकको यस्तो समस्याहरूलाई फिजियोथेरापी, स्पाइनल म्यानुपुलेसन, काइरोप्राक्टिक विधिबाट समयमा नै उपचार गरे बिरामीलाई पूर्ण लाभ मिल्छ ।
(डा. कापरी फिजियो थेरापिष्ट तथा कायरो प्राक्टिसनर हुन् ।)

– स्वास्थ्य खबर पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *