भर्खरै :

रुसी भूमि क्रक्समा युक्रेनको आक्रमणको अन्तर्य

रुसी भूमि क्रक्समा युक्रेनको आक्रमणको अन्तर्य

दक्षिण एसियाको हाम्रा छिमेक बङ्गलादेशमा विद्यार्थी आन्दोलनको क्रममा शेख हसिनाले देश छोड्नुपर्ने बाध्यता आइपर्दा अगस्त ६ मा विगत दुई वर्षदेखि नाटोको उक्साइमा रुसको सुरक्षामा अप्ठेरो पार्न उद्यत रहेको युक्रेन र रुसबिचको द्वन्द्वले नयाँ मोड लिएको खबर आयो । दुई वर्षसम्म अमेरिका र अन्य युरोपेली देशहरूबाट निरन्तर हतियार र पैसाको सहयोग पाउँदा पनि रुसको विशेष सैनिक कारबाहीमा परेको थियो । युक्रेन पराजयको सँघारमा पुग्दै गर्दा अचानक अहिले रुसको पश्चिमी सीमाको क्रुक्स प्रान्तमा अप्रत्याशित आक्रमण गरेर केही किलोमिटर भित्र घुसी केही गाउँहरू कब्जामा लिएको खबरलाई पश्चिमा सञ्चारमाध्यमले ठुलो महत्व दिएर हो–हल्ला ग¥यो ।
पश्चिमाको फेर्दै गरेको प्रतिक्रिया
पश्चिमा सञ्चारमाध्यमको समाचारअनुसार पश्चिमाहरू विशेष गरेर अमेरिकाले रुसी सीमाभित्र पसेर युक्रेनबाट गरेको यस पछिल्लो आक्रमणलाई अत्यधिक उत्साहित भएर विभिन्न चर्चाहरू गर्न थालेको बताइन्छ । चरणबद्धरूपमा समय अगाडि बढ्दै जाँदा पश्चिमाहरूको प्रतिक्रियामा पनि फरक हुँदै आएको देखिन्छ । अगस्त ६ देखि सुरुका केही दिनमा युक्रेनको यस अप्रत्याशित आक्रमणको बारेमा अमेरिकासँग केही पूर्व जानकारी नभएको र सल्लाह पनि नगरिएको कुरा सुनिएको थियो । घटना अगाडि बढ्दै जाँदा अझ केही युक्रेनी सेनाहरू रुसी क्षेत्रभित्र पस्नासाथ रुसले दुई क्षेत्रमा सङ्कटकाल घोषणा गर्दै आफ्ना नागरिकहरूलाई त्यहाँबाट सुरक्षित स्थलमा लगेपश्चात् अमेरिकाको प्रतिक्रिया फेर्दै गयो । उच्च ओहदाका अमेरिकी सैनिक अधिकारीहरू युक्रेनी जनरलहरूसँग निरन्तर संवाद सल्लाह साहुतिमा रहेको कुरा फुक्न थालियो । अमेरिका र अन्य युरोपेली देशहरूले युक्रेनलाई उपलब्ध गराएको हतियारहरूले राम्रो काम गर्न थालेको, आफ्नो देशलाई अभेद्य ठान्ने रुसका भ्यादिमिर पुटिनको टाउको युक्रेनले झुकाएको, एक महाशक्ति र आणविक अस्त्रले लैस भएर पनि आफ्नो सीमाको सुरक्षा गर्न नसकेको जस्ता अभिव्यक्ति दिन पनि पश्चिमाहरू पछि परेनन् । एक अमेरिकी सिनेटरले युक्रेनले गरेको सो आक्रमण र हिंसालाई ‘सुन्दर’ (Beautiful) सम्म भन्न भ्याए । दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा विदेशी सैनिकको आक्रमण भएको यो पहिलो घटना भएको पनि हल्ला मच्चाउँदै आइरहेको देखिन्छ ।
युक्रेन के भन्छ ?
दुई वर्षभन्दा बढी समयदेखि सम्पूर्ण नाटो देशको आर्थिक, भौतिक, कूटनैतिक र सैनिक सहयोग पाइरहेको अवस्थामा पनि युद्ध युक्रेनको पक्षमा जाने सङ्केत देखिएको थिएन । आर्थिक नाकाबन्दी गरेर रुसको अर्थतन्त्रलाई ध्वस्त पार्ने पश्चिमाको नीतिले पनि रुसलाई गलाउन सकेको थिएन† उल्टै रुसको आर्थिक वृद्धिदर माथि उकासिएको तथ्याङ्कले देखायो । रुसले कब्जा जमाएको युक्रेनको रुसी जातिका नागरिकहरूकै गणतन्त्रहरू लुहान्स र डोनेस्क (डोनबास) भूमिमा रुसको पकड बलियो हँुदै गएको अवस्थामा रुसको क्रुक्स प्रान्तमा युक्रेनले रुसमाथि गरेको आक्रमणले नयाँ तरङ्ग ल्यायो । तर, युक्रेनले त्यस रुसी भूभाग कब्जा गरेर बस्ने योजना नभएको रुस र युक्रेनबिच ‘बफर जोन’ निर्माण गर्न लागिएको, रुससँग वार्ता भएको अवस्थामा आफ्नो मोलमोलाइ रुसमाथि दबाब दिन यस्तो गरिएको युक्रेनका अधिकारीहरूले जनाए । युक्रेनको आधिकारिक भनात्न्दा बढी र फरक धारणा र अभिव्यक्तिहरू अमेरिकाबाटै आइरहेको देखिन्छ । यसले अमेरिकी युद्धलाई युक्रेन–रुस युद्ध ‘प्रोक्सी वार’ भनी आफ्नो अपराध र कमजोरी लुकाउन संसारको ध्यान अन्त मोड्न खोजिएको हो ।
क्रुक्स आक्रमणको अन्तर्य के हुनसक्छ ?
कुनै निश्चित स्थानमा दुई देशबिच युद्ध सुरु भएको स्थानलाई युद्ध मोर्चा भनिन्छ । नयाँ युद्ध मोर्चा खोल्ने कारण विभिन्न हुनसक्छ । पहिलो, कुनै युद्धमोर्चामा आफू कमजोर र शत्रु पक्ष प्रवल देखियो भने उसले अर्को स्थानमा युद्ध सुरु गर्न खोज्छ† त्यसलाई नयाँ युद्ध मोर्चा भनिन्छ । नयाँ युद्ध मोर्चा खोल्दा शत्रु पक्षको ध्यान नयाँ मोर्चामा आकर्षित हुन्छ र पुरानोमा आफूलाई दबाब कम हुन्छ र कम दबाब भएपछि आफ्ना मोर्चालाई सबल बनाउने अवसर पाउने रणनीति मानिन्छ । दोस्रो, कुनै एउटा मोर्चामा दुवै पक्ष अगाडि बढ्न नसक्ने अवस्थालाई ‘यथास्थिति’ अर्थात् ‘डेडलक’ भनिन्छ । यस्तो अवस्थामा पनि आक्रामक शक्ति धेरै भएको देशले अर्को युद्ध मोर्चा पनि खोल्छ । तेस्रो, थप नयाँ हतियार र सैनिक सङ्ख्याले पनि नयाँ मोर्चा खोल्न उत्साहित गर्छ । त्यस्तै, हार्दै गरेको देशका जनता र सहयोग गर्ने पक्षको निराशालाई केही मत्थर पारी उनीहरूमा आशा जगाउन पनि नयाँ मोर्चा खोली आफूले जित्दै गरेको झूटो प्रचार गर्छन् ।
दोस्रो विश्वयुद्धमा नाजी जर्मन सेनाले फ्रान्सलाई पूर्णरूपमा कब्जा गरी आफ्नो कठपुतली सरकार गठन गरी सकेपश्चात् आक्रमण बेलायततिर सोझ्याइयो । तर, फ्रान्स र बेलायतको बिच अवस्थित समुद्री भाग इङ्गलिस च्यानललाई पार गर्न नाजी सेनालाई अप्ठेरो भएपछि कसैले नजित्ने समय आयो । जर्मनीले रुसलाई आक्रमण गरी पूर्वी मोर्चा खोल्यो जुन उसको लागि पछि घातक सिद्ध भयो । तर, बेलायत भने जर्मनी सेनाको आक्रमणबाट बच्यो ।
युक्रेनले खोलेको नयाँ मोर्चाका कारणहरू पनि विभिन्न हुनसक्छन् । यस युद्ध बाहिरबाट हेर्दा जस्तो रुस र युक्रेन दुई देशको मात्र अवश्य होइन । यो रुस र सिङ्गो नाटोसँगको लडाइँ हो, युक्रेन त अमेरिको मोहडा मात्र । त्यसैले डोनबास क्षेत्रमा परेको रुसी दबाब घटाउन मात्र युक्रेनलाई नयाँ मोर्चा खोल्न लगाएको नहुनसक्छ । प्यालिस्टिनी जनताको इजरायलले गरेको नरसंहारले अमेरिकामा आफ्नो छवि धमिलो हुँदै गर्दा संरा अमेरिकाले विश्वको ध्यान अन्तै मोड्न पनि यसो गर्न लगाएको हुनसक्छ । रुसलाई अझ उक्साई थप नरसंहार मचाओस् भन्ने चाहना पनि हुनसक्छ पश्चिमाहरूको । शिथिल भइसकेको युक्रेनलाई अझ युद्धको लागि उक्साउँदै, युद्ध लम्ब्याउने रणनीति पनि हुनसक्छ । साँच्चिकै, नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पको जीत भए रुससँग शान्ति सम्झौता हुनसक्ने सम्भावनालाई पनि नकार्न सक्दैन । यस्तो अवस्थामा रुसको केही भूभाग आफ्नो अधीनमा राखी युक्रेनले भनेजस्तो बार्गेनिङ शक्ति बढाउने रणनीति पनि हुनसक्छ ।
रुसलाई विभिन्न मोर्चाबाट आक्रमण गरी आरामले बस्न नदिने अमेरिकाको चालाबाजी मात्र हुनसक्छ । करिब साँढे दुई वर्षको युद्ध अवधिमा नाटोले रुसविरुद्ध विभिन्न साना ठुला छद्मयुद्ध पनि नगरेको होइन । युरोपमा प्राकृतिक ग्यास आपूर्ति गर्ने नर्डस्ट्रिम पाइपलाइनमा आक्रमण, क्रेमलिन भवनमा ड्रोन आक्रमण, मस्कोस्थित क्रोकस सिटी हलमा आतङ्कवादी हमला, रुसी समर्थक ब्लगरहरूको नियोजित हत्या, रुसको पक्षमा लड्ने भाडाका सैनिक समूह वागनर समूहका प्रमुख एभगेनी प्रिगोजिनलाई युक्रेन युुद्धकै बिचमा रुसविरुद्ध विद्रोह गर्न लगाउने जस्ता कार्यहरू गरी रुसलाई कमजोर पार्ने षड्यन्त्रहरू पनि अमेरिकाले नगराएको होइन । तर, पश्चिमाहरूले भनेजस्तो यो आक्रमण अप्रत्याशित देखिँदैन । केही महिना यतादेखि युक्रेनलाई नयाँ नयाँ हतियार उपलब्ध गराउँदै र युक्रेनले ती हतियार प्रयोग गरी रुसी क्षेत्रमा मार हान्ने अनुमति उसलाई दिइसकेको भन्ने पश्चिमाहरूको भनाइ हो । यो केही महिनाको सुनियोजित आक्रमण नै हो भन्ने अनुमान लगाउन गाह्रो छैन ।
रुसका कमजोर संशोधनवादी र उदारवादी नेताहरूलाई गलाएजस्तै पुटिनलाई गलाउन न्वारानदेखिको बल लगाउँदै आएका पश्चिमाहरूले के बुझ्नुपर्छ भने कमजोर रुसलाई नयाँ सहारा दिने नेता पुटिनलाई सत्तारोहण रुसी जनताले नै गरेका हुन् । अन्य देशमा जस्तै व्यापक घुसपैठको सम्भावना पुटिनको शासनकालमा सम्भव देखिँदैन । नाटोको रुसप्रतिको आक्रामक रणनीतिले उल्टो चीनलगायत अन्य समाजवादी देशहरूले पनि एकै ठाउँमा उभिँदै जाने अवस्थामा पश्चिमा शक्तिलाई आफ्नो नीति घाटक (ब्याक फाय्र) सिद्ध हुनेछ ।
नाङलो ठटाएर हात्ती तर्सँदैन
करिब ९ हजार किमि लम्बाइ र २५०० देखि ४००० किमिसम्मको चौडाइमा फैलिएको देश रुस आकार र क्षेत्रफलमा विश्वकै सबभन्दा विशाल देश हो । यो भीमकाय आकार रुसको लागि शक्ति र कमजोरी दुवै हो । यस विशाल भूमिको लोभमा शत्रु आक्रमण गर्न उद्यत हुन्छन् र त्यही भीमकाय आकार नै आक्रमणकारीको काल पनि बन्छ । विश्व विजेताको सपना देख्ने नेपोलियन सन् १८२५ मा रुसमा आक्रमण गरी मस्कोसम्म पुगे, तर त्यहीबाट उनी खेदिए । रुसको आक्रमणबाटै उनको पतन भयो । त्यस्तै दोस्रो विश्वयुद्धमा हिटलरको नाजी सेना पनि मस्कोसम्म पुगे । केही महिना आफ्नो अधीनमा राखेपछि रुसको कठ्याङ्ग्रिने जाडो उनीहरूको काल साबित भयो ।
३० किमिभित्र युक्रेनी सेना पसेको घटनालाई पश्चिमाहरूले संसारै जितेको भान पर्ने गरी प्रचार गर्दै छन् । यो कहिले पानीको फोका साबित हुने हो ? हेर्न बाँकी नै छ ।
३ भदौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *