भर्खरै :

पाँचौ पुस्ताको नवदुर्गा औषधालय

 
-हिना सुवाल
भक्तपुर, २८ पुस । भक्तपुरका धेरै स्थानमा आयुर्वेदिक पसल छन् । तर आयुर्वेदिक औषधि भन्नासाथ धेरै मानिसको दिमाग इनाचो जाने गरेको छ । इनाचोको ‘नवदुर्गा आयुवेर्दिक औषधालय’ । धेरै पुरानो र एकदमै चर्चित नाम हो यो । पुस्तौं–पुस्तादेखि हस्तान्तरण हुँदै आएको यो पसल अहिले ८१ वर्षका नारायणगोपाल वैद्यका छोरा श्रीराम वैद्य (पाँचांै पुस्ता) ले चलाइरहेका छन् ।

“एउटा औषधि बनाउन ४ देखि ५ दिनसम्म लाग्छ । कुनै भने महिनौं पनि लाग्छ । तर अहिले भने औषधि बनाउन ठाउँको समस्या भएको छ । भूकम्पले घर भत्काएर दुई तलामात्र बाँकी छ । सामान राख्ने कि मान्छे बस्ने भएको छ ।”

 
उनी भन्छन्, ‘मैले त आफ्नो पुर्खौली काम गरेरै आफ्नो परिवार पालिरहेको छु । तर मेरो छोरा (छैठांै पुस्ता) ले भने गर्ने हो वा होइन, थाहा छैन ।’ समयअनुसार मानिसको चाहना फरक–फरक हुनेभएकाले मानिसहरुले आफ्नो पुख्र्यौली पेशा छोड्दै पनि गएका छन् ।  धेरै मानिस समयको परिवर्तनसँगै आफ्नो क्षमताअनुसार काम गर्छन् ।  श्रीराम वैद्यलाई पनि अरु काम गर्ने चाहना नभएको होइन तर आफ्नो बाले गरेको मिहिनेत र अरुलाई निको बनाउने कामबाट प्रोत्साहित भएर सोही पेशा अँगाले ।
‘उहाँले काम गर्नेबेला म बसेर हेर्थें । बाले गर्दागर्दै मैले पनि सिकें । राम्रो लाग्यो अनि यही पेशा अँगालें । छोरालाई पनि सिकाउने विचार छ ।’ उनको भनाइ थियो । उनका छोरा भर्खरै एक वर्षका छन् । छोरी भने सात वर्ष भइसकिन् । कहिलेकाहीं औषधि बनाउने बेला हेरेर बस्छे तर गर्छे कि गर्दिनन्, त्यो त उनीहरुको इच्छा हो’, उनले बताए । ‘मेरो दाइ पनि हुनुहुन्छ । दाइले यो काम मन पराउनु भएन र अर्कै पेशा अँगाल्नुभयो । सबैको आ–आफ्नै इच्छा हो ।’ श्रीराम भन्छन्, ‘तर मेरो काम यही हो । यसैबाट आफ्नो परिवार पालेको छु ।
दिनको सालाखाला रु. १५ सयसम्म कमाउँछु ।’ उनको पसलमा ग्यास्टिक, भिटामिन, जन्डिस, मालिस, स्त्रीरोग, झाडापखाला, सुत्केरी आदि औषधि पाइन्छन् । यी औषधि बनाउन आवश्यक कच्चापदार्थ भेटाउन उनी धेरै ठाउँमा भौंतारिनुपरेको छ । केही कच्चापदार्थ कहिले गाउँ–गाउँबाटै आउँछन् । धेरैजसो सम्पर्क भएकोले पसलसम्मै ल्याइदिने गरेको उनी बताउँछन् ।
“एउटा औषधि बनाउन ४ देखि ५ दिनसम्म लाग्छ । कुनै भने महिनौं पनि लाग्छ । तर अहिले भने औषधि बनाउन ठाउँको समस्या भएको छ । भूकम्पले घर भत्काएर दुई तलामात्र बाँकी छ । सामान राख्ने कि मान्छे बस्ने भएको छ ।” श्रीराम भन्छन् । बा, आमा, श्रीमती र म गरी चारजनाले सबै सम्हालेका छौं । यहाँ धेरै त स्थानीय बासिन्दाहरु नै किन्न आउँछन् र टाढा–टाढा पनि कोही आउँछन् ।
हेलम्बु, मनाङदेखि पनि औषधि लिन आउने गर्छन् । ‘विदेश जानेहरु पनि ग्यास्टिकको औषधि यतैबाट बोकेर जान्छन्’, श्रीरामले भने । ‘अहिलेसम्म ग्राहकको मन जितेको छु । पछिसम्म पनि जित्न सक्ने आशा राखेको छ’, उनले भने । आफ्ना ग्राहकलाई केही अरु साइड इफेक्ट नगर्ने औषधि बनाउने गरेको बताउँछन् उनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *