भर्खरै :

सीटीईभीटीलाई केही सुझाव

सीटीईभीटीलाई केही सुझाव

दिनप्रतिदिन सीटीईभीटीको आफ्नै आन्तरिक कमजोरी र सरकारको उदासिनताको कारण सीटीईभीटीको आकर्षण दिन दुगुना रात चौगुना घट्दो क्रममा छ । समयमै परीक्षा नहुने र समयमै रिजल्ट नआउने त सीटीईभीटीकै विशेषता भयो । अझ सीटीईभीटीलाई सुधार गर्न तथा नयाँ भर्ना प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ ।
प्रायःजसो सीटीईभीटीको प्रवेश परीक्षा सम्पूर्ण +2 का प्रवेश परीक्षापछि मात्रै हुन्छ । यसले सबै विद्यार्थी +2 मा गइसकेपछि छानिएका केहीमात्र सीटीईभीटी प्रवेश परीक्षामा सामेल हुने भए । अतः +2 भन्दा अगाडि वा त्योसँगै प्रवेश परीक्षा र त्यसको रिजल्ट हुन जरुरी छ । कर्मचारी अभाव भो भनेर ढिला गर्ने हो भने सीटीईभीटीका कलेजहरू सुक्नेबाहेक अरुको विकल्प देखिँदैन ।
अघिल्लो वर्षमात्रै डिप्लोमाको पाठ्यक्रम परिमार्जन गरेको सूचना आयो । त्यससँग सम्बन्धित कुनै कार्यशाला भएन । प्रश्नपत्र कस्तो प्रकारको आउने भनेर शिक्षकलाई नै जानकारी छैन भने विद्यार्थीहरू परीक्षामा रणभुल्ल पर्ने नै भए । युद्धमा पठाउने अनि हातहतियार नदिने कार्य पक्कै पनि आत्मघाती नै हुन्छ । यसले सीटीईभीटीको क्रेज घटाउँछ† बढाउँदैन ।
अघिल्लो पल्ट दिएकाको परीक्षाको रिजल्ट नआउँदै विद्यार्थीहरूले कसरी त्यही विषयको फारम भर्छन् होला ? कसरी परीक्षाको तयारी गर्छन् होला ? समयमै परीक्षाको रिजल्ट नआउनु नै सीटीईभीटीको सबैभन्दा ठुलो कमजोरी हो ।
सरकारले शिक्षा मन्त्रालयअन्तर्गतको ९–१२ लाई प्राथमिकता दिएजस्तै सीटीईभीटीलाई दिएको देखिँदैन । नत्र त्यत्रो पूर्वाधार भएको टेक्स स्कूलहरू सीटीईभीटीकै आङ्गिक कलेजहरूमा प्राविधिक शिक्षकका कोटाहरू नपाउने तर ९–१२ भर्खर सञ्चालनमा आएका स्कूलले कसरी पाउने हुन्छ ? यो भेदभाव हटाउनुपर्छ ।
प्रशिक्षकहरूको स्थायित्व नहुनु पनि सीटीईभीटीअन्तर्गतका प्राविधिक विद्यालयहरूको ठुलो समस्या छ । प्रशिक्षकहरूले आफ्नो भविष्य सुरक्षित नदेखेपछि आफ्नै शैक्षिक र व्यक्तिगत उन्नयनको लागि शैक्षिक सत्रको बिचमै छोडेर जानु प्रशिक्षकको रहरभन्दा पनि बाध्यता हुने देखिन्छ । यसले टेक्स कार्यक्रम सञ्चालित स्कूलहरूमा कोर्स समयमै नसकिने र टेक्स कार्यक्रमप्रति विद्यालय र समुदायमा वितृष्णा जगाएको छ ।
सीटीईभीटीका आफ्नै त्यति धैरै अवयवहरू हुँदा पनि यत्रो समयसम्म रोजगार मेला (JOB Fair) हरू गर्न सकेको छैन । सीटीईभीटी आफै आफ्ना उत्पादित जनशक्तिले काम गर्न सक्छन् भनेर विश्वास गरेको छैन भने अरु कसले विश्वास गर्छन् ?
प्रि–डिप्लोमाअन्तर्गतको ओजेटी र डिप्लोमाअन्तर्गतका प्रयोगात्मक परीक्षाको प्रभावकारिता बारे सीटीईभीटी अझै बेखबर छन् । नियमित निरीक्षण र बाहिरी निरीक्षकहरूको प्रभावकारी निरीक्षण हुन जरुरी छ ।
प्रयोगात्मक परीक्षाको बाहिरी निरीक्षकको लागि सीटीईभीटीसँग समन्वय हुनुपर्ने हो तर गरेको देखिँदैन ।
शिक्षकहरूलाई पुनर्ताजगी तालिम भएको छैन । अघिल्लो वर्षहरूमा हुने टेक्स स्कूलहरूको वार्षिक समीक्षा कार्यक्रम नभएको करिब ५ वर्ष भइसकेको छ । पहिला कार्यक्रमहरूको सही समीक्षा हुन सकेको छैन ।
पहिला टेक्स स्कूलहरू डिप्लोमा सम्बन्धन दिने बेला वर्षमा ५ लाख अनुदान दिने सर्तमा छात्रवृत्तिका विद्यार्थी ४ जना बर्सेनि व्यहोर्ने सर्त थियो । त्यसको अर्काे साल नै त्यो बाचा बन्द गरियो । यसले पहिला चलेका टेक्स स्कूलहरूलाई बढी प्रभावित प¥यो । अझै टेक्स स्कूलका शिक्षक कर्मचारी तलब तथा ल्याव चलाउन बर्सेनि २० लाख अनुदान दिइरहेकोमा घटाएर १० लाखमा झारे । त्यसैमा छात्रवृत्तिका विद्यार्थीहरूसँग लिएको केही रकममा (विद्यार्थीको निम्ति प्रयोग हुने) लिएकोमा सीटीईभीटीबाट धम्क्याउने काम भए ।
छोटो अवधिका तालिमहरू पहिला केही टेक्स स्कूलहरू चलाउन दिए पनि कोभिडपछि हाल टेक्स स्कूलहरू त्यस्ता तालिमहरू चलाउन दिइएको छैन । यस्ता तालिमले समुदाय र स्कूललाई जोड्ने पुलको रूपमा काम गरेको थियो । आज भोलि टेक्स स्कूलहरू सुनसान हुँदै गइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *