“राजनीतिक परिवर्तन हुन एक युग लाग्न सक्छ”
- आश्विन २३, २०८१
परिचय
काठमाडौँ उपत्यकामा मनाइने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरूमा पञ्चदान पर्व पनि एक हो । बौद्ध धर्ममा यो पर्व बुद्ध बोधिसत्वहरूको पूजा गर्ने र बुद्ध धर्ममा दीक्षित भएका सङ्घ सदस्यहरूलाई दान प्रदान गर्ने पर्वसँग सम्बन्धित छ । यी दिनहरूमा विशेष गरेर दीपङ्कर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरूमा भिक्षु (प्रवजित) भइसकेका शाक्य बज्राचार्यहरूलाई ससम्मानका स्वागत सत्कार गरी दान आदानप्रदान गरिन्छ । स्मरणीय छ, दीपङ्कर बुद्ध भन्नाले शाक्यमुनि बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने तथागत थियो । यो पर्व हजारौँ वर्ष पहिलेदेखि नै गुँला (साउन/भदौ) महिनाभित्र दुईपटक धुमधामका साथ मनाइँदै आएका छन् । गुँला महिना (साउन/भदौ) मा पहिलोपटक साउनशुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ भने दोस्रोपटक भदौ कृष्ण त्रयोदशी काठमाडौँ, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरूमा मनाइन्छ । यो वर्ष २०८१ भदौ १५ गते शनिबारका दिन पञ्चदान पर्व रहेको छ ।
पञ्चदानको ऐतिहासिक महत्व
बुद्ध धर्ममा गृहस्थीहरूले कुशल कर्म गर्ने क्रममा दान गर्नु पहिलो खुड्किलो मानिन्छ । त्यसैले, बौद्ध धर्मको इतिहासमा राजादेखि लिएर ठुला महाजनहरूले समेत बुद्ध र उहाँको भिक्षु सङ्घलाई दैनिक आवश्यक वस्तुहरू भोजन, लुगा (चीवर वस्त्र), औषधिहरू दान गर्ने गरेको कुरा बौद्ध साहित्य र बौद्ध इतिहासमा उल्लेख छन् ।
नेपालमा दान गर्ने परम्परा लिच्छवि राजा वृषदेवको समयदेखि नै थियो भन्ने कुरा विभिन्न अभिलेखहरूले पुष्टि गर्दछ । त्यस्तै मानदेव, शिवदेव, अंशुवर्मा, नरेन्द्रदेवजस्ता प्रसिद्ध लिच्छवि राजाहरूको पालामा पनि यस प्रकारको दान परम्परा चलिआएको थियो भन्ने कुरा विभिन्न अभिलेख तथा वंशावली आदिमा उल्लेख भएबाट यसको ऐतिहासिक महत्व रहेको कुरा स्पष्ट छ । त्यस्तै मल्लकालमा पनि यस परम्परालाई सुचारु तथा व्यवस्थितरूपले सञ्चालन गर्न राज्यस्तरलगायत जनस्तरबाट विभिन्न गुथिहरूको स्थापना भएबाट यस पर्वको धार्मिक तथा ऐतिहासिक महत्व रहेको देखिन्छ ।
नेपालमा यो पञ्चदान पर्वको इतिहास र परम्परालाई हेर्दा यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको देखिन्छ । यस प्रकारको जात्रा तथा पर्व अन्य बौद्ध देशहरूमा हेर्न नपाइने र हामै्र देशमा मात्रै चलिआएको पर्व हुनाले बौद्ध संस्कृति क्षेत्रमा यसको छुट्टै महत्व छ । ऐतिहासिक तथ्यअनुसार यो पर्व प्रत्येक वर्ष निश्चित समयमा नियमितरूपमा हालसम्म भव्यताका साथ चलिआएका छन् ।
पञ्चदानको सांस्कृतिक महत्व
बौद्ध धर्ममा दानपर्वको रूपमा चल्दै आएको यो महत्वपूर्ण संस्कृति पूर्णतया जनस्तरबाट चल्दै आएको छ । यो संस्कृति दानसित सम्बन्धित भए तापनि यस पर्वमा ठुलठुला दीपङ्कर बुद्धलाई कुनै प्रकारको खटमा नराखी मूर्तिको भित्र नै मान्छे बसेर जात्रा गरिन्छ । विशेषगरी भक्तपुर नगरमा पञ्चदानको दिन विभिन्न विहारमा रहेको पाँच दीपङ्कर बुद्धलाई नगरका सूर्यमढी दबलीदेखि विभिन्न स्थानमा विराजमान गराई पूजा ग्रहण गर्ने र विभिन्न स्थान चोकमा पयँता बाजाको धुनमा दीपङ्कर बुद्धले देशना (चक्रमण) गर्ने र ङातापोल्हँ मन्दिर परिसर तःमारीको दबलीमा लहरै विराजमा गराउने र भैरव मन्दिरअगाडि तुतस्तोत्र पाठ गरी पञ्चदानको समापन गर्ने परम्परा रहेकोले दीपङ्कर जात्रा नै हुने गर्दछ । यसप्रकारको दीपङ्कर बुद्धको जात्रा गर्ने परम्परा तथा संस्कृति अन्य बौद्ध देशमा पाइँदैन । त्यसैले, यो संस्कृति नेपालको दान परम्परा र दीपङ्कर बुद्धको मौलिक जात्राको रूपमा यसको सांस्कृतिक महत्व रहेको छ । पञ्चदानको दिन बनाइने दानशालामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक महत्वका बौद्ध सम्पदाहरू मूर्ति, पौभा चित्र, थ्यासफू, गुलुपा आदि सजाएर राख्ने र दीपङ्कर जात्राको क्रममा परम्परागत गुँला धाःबाजं, दाफा भजन श्रृङ्गभेरी बाजा आदि साङ्गितिक समूहहरूले आफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ । यो दिनमा यहाँका परम्परागत विहार र बहिहरूमा संरक्षित बौद्ध सम्पदाहरूको पनि प्रदर्शन (नेपालभाषामा बही द्यो ब्वय्गु) हुने हुँदा यस संस्कृतिले नेपालको जीवित सांस्कृतिक सम्पदाहरू संरक्षण गर्ने कार्यमा महत्व रहेको स्पष्ट छ ।
पञ्चदानको धार्मिक महत्व
– पञ्चदानको अर्थ र दान दिइने वस्तुहरू
पञ्चदानलाई स्थानीय भाषामा पंजदान (पंजरां) भनिन्छ । पञ्चदानलाई पंजदान पनि भन्नुको मूल कारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने धारणा रहेकोले हो । हुन पनि यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल आदि पाँच प्रकारका वस्तु दान गरिन्छ । यसरी पाँच प्रकारका दान गर्ने अर्थमा कसैले यो पर्वलाई पञ्चदान भनिएको हो । त्यस्ता पाँच प्रकारका वस्तुहरू निम्नानुसारका हुन् ः
१) पूजा — धुप, दीप, गन्ध र रस,
२) भोजन सामग्री — धान, चामल, गहुँ, क्वाति, सानो केराउ, मास, पिंडालु, मुला आदि ।
३) पेय पदार्थ — सख्खर पानी (सखत), सिसाफल, (फलपूmल)
४) औषधि — हर्रौ (हल) , अवला (अमला), गुलः (औषधि), नून, तेल
५) अन्य आवश्यक वस्तु — सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्ने), काषाय वस्त्र, आसन, खरी ढुङ्गा (चक, दतिवन आदि ।)
पञ्चदान पारमिताको अभ्यास
बौद्ध धर्ममा सम्यक् बुद्ध हुन दस पारपमिताअन्तर्गत दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, बल, उपाय, प्रणिधि र ज्ञान आदि दस प्रकारका गुणहरूलाई पारमिता भनिन्छ । यी दस प्रकारका बुद्ध कारक तत्वको लक्षण परानुग्रह हुनु हो । यसरी दस पारमिता गुण पूर्ण गर्न सर्वप्रथम दान पारमिताबाट शुभारम्भ गरिन्छ ।
पञ्चदानको सामाजिक महत्व
बौद्ध धर्मको इतिहासमा बुद्ध र उहाँका अनुयायी भिक्षु सङ्घ गृहस्थ जीवन छोडेर त्यागी जीवन यापन गर्दछन् । त्यसैले उहाँहरूको मूल उद्देश्य नै बुद्धको ज्ञान बुझ्नु र आपूmले बुझेअनुसार अरुलाई बुझाई उनीहरूको जीवन पनि सरल र राम्रो गराउने भएकोले उहाँहरू निरन्तर अध्ययनमा लाग्नु पर्ने हुन्छ । उहाँहरूको जीवन निर्वाह समाजमा भरपर्नुपर्ने हुन्छ । त्यसैले बुद्धको पालादेखि नै भिक्षुहरू भोजनको लागि गाउँ गाउँमा भिक्षाटनमा जानु हुन्छ ।
बुद्धको पालादेखि नै भिक्षुहरूको जीवन समाजमा निर्भर हुनुपर्ने हुनाले यस प्रकारको जीवनशैली आज पनि अनेक बौद्ध देशहरूमा जीवितै छन् । त्यसैले भिक्षुहरूलगायत महायानी बौद्ध सङ्घ सदस्यहरू र समाजको सम्बन्ध अन्योन्याश्रित रहेको कुरा स्पष्ट छ । यसै सङ्घलाई दान दिने परम्पराअनुरूप नेपालमा पनि पञ्चदानजस्ता दान परम्परा संस्कृतिको रूपमा चलिआएको हो । नेपालको बौद्ध सङ्घको रूपमा यहाँका परम्परागत बौद्ध विहार र बहिहरूमा भिक्षु बनेका शाक्य र बज्राचार्यहरू बिहानदेखि आ–आफ्नो घर, आँगन, चैत्य, विहार बहीमा सर सफाइ गर्ने र शील पालना गरी पिण्डपात्र (गुलुपा) लिई भिक्षाटनमा जाने गर्दछन् । यसरी आफ्नो जीवनमा विहारमा प्रवजित भइसक्नुभएका पञ्चदानमा भिक्षाटनका लागि पाल्नुभएका शाक्य र बज्राचार्य सङ्घका कुलपुत्रहरूलाई यहाँका नेवारी समाजले दान दिँदै आएका हुन् । यसरी दान लिने दिने क्रममा दान वाक्य श्त्रोत्र पाठ गर्ने, आशिका दिने प्रचलन रहेको छ । नेवारी समाजका दाताहरूमा अधिकांशतः कृषक वर्गहरू छन् । त्यसका अलावा, मानन्धर, चित्रकार, प्रजापति, रञ्जितकार, नकर्मी, श्रेष्ठलगायत ब्राह्मण जातिहरू पनि छन् । यस प्रकारको जीवनशैली पूर्णरूपमा बौद्ध जीवनशैलीमा आधारित छ । बौद्ध धर्मअनुसार जीवनको मूल उद्देश्य नै निर्वाण प्राप्त गर्नु हो । यस निर्वाण प्राप्तिको लागि गृहस्थहरूले दान, शील र समाधिको अभ्यास गरेर प्राप्त गर्न सकिन्छ । पञ्चदानको दिन नेवाः बौद्ध समाजमा खिर र फलफूलमात्र सेवन गर्ने प्रचलन रहेको छ भने केही समुदायमा क्वाती खाने पनि चलन छ । त्यसैले धर्माभ्यासको क्रममा दान सबभन्दा पहिलो रहेको हुनाले यसको अभ्यास गर्ने संस्कृतिको रूपमा पञ्चदानजस्तो दानपर्व यहाँको सामाजिक जीवनसँग अत्यन्त सम्बन्ध र महत्व रहेको छ ।
पञ्चदानको आर्थिक पक्ष
बौद्ध समाजमा आफ्नो आयको केही अंश दान दिन भनी छुट्याउने प्रचलन रहेको छ । यसरी आफ्नो आयको केही अंश भिक्षु सङ्घ, विहार सङ्घलाई भोजन, वश्त्र, औषधि आदि दैनिक प्रयोगका लागि आवश्यक वस्तुहरू दान दिने गरिन्छ । यसका साथै आफ्नो विहार, वही तथा अन्य सम्पदाहरूको संरक्षण गर्न पनि समुदायका सदस्यहरूले श्रमदान गर्ने, भौतिक वस्तुहरू प्रदान गर्ने, बौद्ध धर्म दर्शनको शिक्षा दीक्षा सीप प्रदान गर्ने परम्परा रहेको छ ।
बौद्धहरूले आफू बौद्ध भएको कारणले आफ्नो जीवनमा आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र प्रवजित भइसकेको कारणले बौद्ध आचरणअनुसार शील पालना गरी दान लिन जानु वा भिक्षाटनमा सहभागी हुनु हाम्रो मौलिक बौद्ध परम्परा हो । यसरी बौद्धहरूले आफ्नो पहिचानअनुसार गच्छे र क्षमताअनुसार दान प्रदान गर्दै आएको देखिन्छ । तर, विगत केही वर्षहरूदेखि प्रचारप्रसारको कमी, स्थानीय सरकार, केन्द्रीय सरकार, सरकारी प्रशासनको असहयोग र अज्ञानता, हाम्रो सामाजिक व्यवहार, रहनसहन, संस्कार, सांस्कृतिक अतिक्रमण, देखासिकी संस्कृतिको अनुसरण आदि कारणहरूले गर्दा भिक्षाटनमा सहभागी हुनेहरूको सङ्ख्या क्रमशः ¥हास हुनु बौद्ध सम्पदा संस्कृतिको क्षेत्रमा चिन्ताको विषय बनेको छ । हाल पञ्चदान पर्वलाई व्यवस्थित बनाउन काठमाडौँ, ललितपुर, भक्तपुर, थिमि, बनेपामा टोल, विहार वहीहरूमा सामूहिकरूपमा दानशालाहरूको निर्माण गरी दान दिने र समूह–समूहमा पञ्चदान ग्रहण गर्ने सुरुवातले यो पर्वको महत्व बढाउन सहयोग पुग्ने गरी सकारात्मक प्रयास भएको मान्न सकिन्छ । पञ्चदानको दिन भिक्षाटनमा सहभागी भई आफूलाई प्राप्त भएको दान सामग्री आबद्ध सङ्घहरूलाई हस्तान्तरण गरी सङ्घलाई आफ्नो विविध गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्नु पञ्चदान पर्वको विशेषताको रूपमा लिन सकिन्छ । यसरी पञ्चदान पर्वमा दान गर्ने, दान लिन सहभागी हुने र दानमा प्राप्त भएका सामग्रीहरू सङ्घलाई प्रदान गर्ने परम्पराले दान लिने मात्र हैन दान प्रदान गर्नुपर्छ र दानमा प्राप्त भएका वस्तुहरू समाज, सङ्घ र सम्पदा संरक्षण कार्यमा संलग्न हुनुपर्छ । पञ्चदान पर्वको महत्व, यसको ऐतिहासिकतालाई हृदयगमन गरी विभिन्न बौद्ध सङ्घ संस्थाहरूले यसको प्रचारप्रसार गर्न, पञ्चदानमा सहभागी हुन गराउन अझ सक्रिय हुनुपर्ने देखिन्छ भने अर्कोतर्फ स्थानीय सरकार, सङ्घीय सरकार, प्रदेश सरकारका विभिन्न निकायहरूलाई पनि पञ्चदान पर्वको सम्बन्धमा जानकारी एवं ध्यानाकर्षण गराउने, यसको संरक्षण, संवद्र्धनमा सहयोग र सहभागिताका लागि निरन्तर प्रयास हुनु जरुरी छ ।
हाल हाम्रो पहिचान भनेको हाम्रो कला, संस्कृति, भाषा, धर्म, सजीव र निर्जीव सम्पदा आदि हुन् । यी कला, संस्कृति, भाषा, धर्मको जगेर्ना भएमा मात्र हाम्रो पहिचान र अस्तित्व कायम रहन्छ । यसर्थ, यस्तो हाम्रो सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य तथा दायित्व हो । यस्तो सम्पदाहरूको संरक्षण तथा संवद्र्धनको क्रममा हाम्रो सांस्कृतिक पर्व पञ्चदान पर्वलाई भव्यरूपमा सम्पन्न गर्न र हाम्रो मौलिक संस्कृतिहरूलाई प्रवद्र्धन गर्ने कार्यमा अधिकभन्दा सङ्ख्यामा भिक्षाटनमा सहभागी हुन र दान प्रदान कार्यमा सहभागी हुन सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गरिन्छ । यस पञ्चदानबाट प्राप्त दान वस्तु र नगद रकमलाई सम्पदा कोषमा सङ्कलन गर्ने व्यवस्था गरी विभिन्न बौद्ध सम्पदाहरू चैत्य, विहार, वहीको मर्मत सम्भार तथा संरक्षणमा उपयोग गर्न सकिन्छ । यसले हाम्रो बौद्ध सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्ने कार्यमा सहयोग पुग्न गएको छ । पञ्चदानको दिन भौतिक वस्तुहरू मात्र नभई आफूले जानेका सिकेका विभिन्न शिक्षा, दीक्षा, सीप समाजका विभिन्न समुदायलाई सेवा प्रदानको प्रारम्भिक दिनको रूपमा सुरुआत गरी दानको धर्माभ्यासको रूपमा लिई पुण्य प्राप्त गर्न सकिन्छ भने यसले आफ्नो समाजको विविधि पक्षको विकासमा योगदान पुग्ने छ ।
पञ्चदान पर्वमा सुधारका लागि कदम चाल्नुपर्ने पक्षहरू :
१. नेपालको एक विशुद्ध बौद्ध सांस्कृतिक पर्वको रूपमा चलिआएको पञ्चदान पर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रचारप्रसार गर्ने,
२. बौद्ध धर्म परम्परानुसार चुडाकर्म (प्रवजित) गरिसकेका सङ्घ सदस्यहरूले शील समाधी प्रज्ञालाई बुझी त्यसको धर्म अभ्यासका लागि अभिप्रेरित गर्ने,
३. बौद्ध परम्पराअनुसार विहार सङ्घमा प्रवजित भइसकेकाहरूले सम्भव भएमा कायवस्त्रको प्रतीकको रूपमा रहेको वस्त्र लगाएर मात्र पङ्क्तिबद्ध भएर भिक्षा दान ग्रहण गर्ने र दान परम्पराविपरीत गतिविधिहरूलाई निरुत्साहित गर्ने,
४. पञ्चदान पर्वको दिन व्यवस्थित तरिकाले पञ्चदान लिने र भिक्षाटनमा सहभागीहरूले पञ्चशील पालना तथा पञ्चदान स्तोत्र पाठ गरी मात्र दान ग्रहण गर्ने,
५. पूजा दिने क्रममा दीपङ्कर बुद्धलाई चढाइने अन्न, खीर, फलफूल आदि दान गर्दा ती वस्तुहरू धेरै परिमाणमा खेर जाने हुँदा त्यस्ता दान दिने खाद्य वस्तुहरूको पुनःप्रयोग हुने गरी दिने जस्तै धानचामलमा रङ्ग÷अबीरको मिश्रण नगर्ने नगराउने, फलफूल सानो सानो टुक्रामा नकाट्ने, खीर आदि खाद्यान्न ग्रहण योग्य हुने गरी दिने,
६. राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको बौद्ध धर्मको संस्कृतिबारे प्रचारप्रसार गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने,
७. दानशालामा सजाएर राखिने ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरू मूर्ति, पौभा, स्तोत्र पुतक, गुलुपा आदि सुरक्षित हुने गरी प्रदर्शनी गर्ने,
८. भक्तपुरमा पाँच दीपङ्करहरूको प्रदक्षिणा मार्गमा सरसफाइ गर्ने, विहार वही, चैत्यहरूको परिसरमा सरसफाइ गर्ने तथा पाँच दीपङ्कर सम्बन्धमा रहेको अन्धविश्वास हटाई पञ्चदान पर्वको ऐतिहासिक तथा धार्मिक तथ्यलाई प्रकाश पार्ने,
९. पञ्चदान पर्वको परम्पराको महत्व, ऐतिहासिकता, सांस्कृतिक विशेषताहरूका सम्बन्धमा नियमितरूपमा विभिन्न सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमहरूमा विभिन्न लेख आलेखहरू प्रकाशन गरी यसबारे सर्वसाधारणलाई जानकारी दिने ।
Leave a Reply