भर्खरै :

पद, पैसा र बलको भरमा हुने राजनीति सही नहुने

पद, पैसा र बलको भरमा हुने राजनीति सही नहुने

पद, पैसा र बलको भरमा हुने राजनीति कहिले पनि सही हुने छैन । पद र पैसा भएसम्म सक्रिय हुने र नभएपछि पार्टीप्रति बेवास्ता गर्ने नेता तथा मन्त्रीहरू पनि धेरै देखिए । कति दलका नेताहरू आफूले भनेकै मन्त्री पद पाउनुपर्ने दाबी गर्छन् । आफूले भनेको मन्त्री बन्न पाएन या रोजेको मन्त्री नपाउँदा राजीनामा दिने समाचारहरू बेलाबखत प्रकाशमा आइरहेको छ । तिनीहरू राजनीतिलाई आयआर्जन गर्ने पेसा ठान्छन्† राजनीति जोगी बन्न होइन पैसा कमाउन नै हो भन्छन् । पैसाको निम्ति राजनीति गर्ने नेता, मन्त्री र सांसदहरूले के देश र जनताको हित हुने काम गर्लान् ? नीति निर्माण गर्लान् ? भदौ १८ गते प्रकाशित ‘राजधानी’ दैनिकमा ‘मन्त्रालय फेरिएसँगै मनाङेको राजीनामा’ शीर्षकको समाचार छापियो । आफूलाई ‘घटुवा मन्त्रालय’ दिइएको भन्दै गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका थिए । यसअघि उनी भौतिक पूर्वाधार मन्त्री भएका थिए । सरकारले भागबन्डा मिलाउने क्रममा राजीव गुरुङलाई वन तथा वातावरण मन्त्री दिएको थियो । यसरी मन्त्री पद हेरफेर गरिएको आधारमा मन्त्री पदबाट राजीनामा दिने मन्त्रीहरू कस्ता ! पार्टीले कस्ता नेताहरू तयार गर्दै छ ? मन्त्री पद हेरफेर गरिएको आधारमा मन्त्री पदबाट राजीनामा दिने सांसदहरूको प्रतिष्ठा र इज्जत खोइ ? भदौ १८ गते प्रकाशित ‘नयाँ पत्रिका’ मा ‘ठुला दलले प्रदेशलाई सत्ता दाउपेचको अस्वस्थ अखडा बनाउँदा दीपक मनाङेहरू मन्त्रालय नै किनबेच गर्ने हाकाहाकी घोषणा गर्दै छन्’ शीर्षकको समाचार छापियो ।
मन्त्रीबाट राजीनामा दिएका सांसद मनाङेले भने, “पैसा नदिई र नकिनी मन्त्री हुन कहाँ पाइन्छ ? केन्द्रमा पनि मन्त्री हुन पैसा तिर्नुपर्छ । पद लिनका लागि दुई चार करोड बुझाउनु त सामान्य कुरा हो ।” (नयाँ पत्रिका, १८ भदौ, २०८१) सांसद गुरुङको उक्त भनाइले मन्त्री पाउन र मन्त्री पद अरुलाई दिन पैसाको कारोबार हुन्छ भन्ने थाहा हुन्छ । मेयर, उपमेयर, सांसदजस्ता उम्मेदवार बन्न पार्टीलाई बढीभन्दा बढी पैसा या चन्दा दिनसक्ने, निर्वाचनमा आफ्नो इलाकामा पैसाको छेलोखेलो गर्नसक्ने, जनताको मत पाउन पैसा बाँड्ने, भोज खुवाउने, सामान बाँड्न सक्ने धनी व्यक्तिहरू मात्रै पार्टीको मनपर्ने, योग्य उम्मेदवार बन्ने रहेछ । पदको निम्ति पैसा बाँड्ने या बाँडेर जित्ने यो कस्तो राजनीति ! ठुला दलका नेताहरूको यस्तै यस्तै पद र पैसाको राजनीतिले गर्दा देशमा भ्रष्टाचार, अनियमितता र कमिसनको खेल बढेको हो । राजनीति नै कमाइ खाने माध्यम भएपछि देश र जनताको सेवा कसरी हुन्छ ? ठुला र सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूको यस्तो विकृत राजनीतिले कर्मचारी र सर्वसाधारण जनताको मनस्थिति बिग्रिएको हो । पैसा पाएपछि, भोज खुवाएपछि या कुनै राहत सामग्री पाएपछि मात्र उम्मेदवारलाई मत दिने भनी सर्वसाधारणले भन्न थालेका छन् । कर्मचारी र सर्वसाधारण नागरिकलाई भ्रष्ट बनाउने, मनस्थिति बिगार्ने काम सत्तासीन र ठुला दलका नेताहरूले गरिरहेका छन् । यो विकृत राजनीतिको सबै विरोध गर्नुपर्छ† पद र पैसाको निम्ति राजनीति गर्ने होइन भन्ने कुरा नेता, मन्त्री र सांसदहरूले जनतालाई बताउनुपर्छ र राजनीति देश र जनताको निम्ति गर्नुपर्छ भन्ने सन्देश शासकहरूले बताउनुपर्छ ।
देशको राजनीति बिगार्ने काम शासक र ठुला दलका नेताहरूले नै गरे । हुँदा हुँदा शासकहरूले सर्वसाधारण जनताको मात्र होइन नेता, मन्त्री तथा सांसदसमेत किन्ने काम गर्न थाले । नेता, सांसदलाई पद दिएर पार्टी फुटाउने, पार्टी छोडाउने काममा ती दलका नेता र मन्त्रीहरू लागे । पैसा र सामान बाँडेर ठुलो दल बनाउने र सत्तामा जाने सुविधाभोगी शासकहरूले के देश बनाउलान् ? जनताको हित गर्लान् ? पैसाको प्रलोभन र विदेश मोहकै कारण देशले प्राकृतिक स्रोत र साधन गुमाउनुपरेको छ । आर्थिक सहयोग र विकास भनेपछि देशघाती सन्धि सम्झौतामा पनि आँखा चिम्लेर समर्थन गर्ने प्रवृत्ति देशको निम्ति घातक हुन्छ । देशका ठुलठुला नदी नाला विस्तारवादी भारतको कब्जामा जानुको कारण सरकार संवेदनशील नभएर हो† सरकारको नेतृत्व गर्ने दलका नेताहरू दूरदर्शी नभएर हो । अदूरदर्शी नेताहरूकै कारण नेपाली भूमि धेरै गुमिसकेको छ; नेपाली भूमि डुबिसकेको छ† नेपाली भूमिमा नेपाली जनता बस्न पाएका छैनन् । विदेशी दबाब र प्रभावमा रहेकै कारण नेपाली भूमि कालापानीमा अझै भारतीय सेना छ । यसरी देश रहे पनि नरहे पनि, देशमा दूरगामी असर परे पनि नपरे पनि पैसा र पद नै सबथोक हो भन्ने मान्यतालाई सरकारले आत्मसात गरेसम्म देशको अनुहार फेर्ने छैन । जनताको जीवनस्तर उठ्ने छैन । देश पछि पर्नु या विकास नहुनुको कारण पनि सरकार या सरकारको नेतृत्व गर्ने दलका नेताहरू पैसामुखी र सत्तामुखी राजनीतिमा फस्नु हो । के देशको नेतृत्व गर्नु भनेको दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न हो ? देश र जनताको सेवा गर्न हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *