भर्खरै :

ख्वप विश्वविद्यालय : शिक्षाको नयाँ अध्याय

ख्वप विश्वविद्यालय : शिक्षाको नयाँ अध्याय

विश्वविद्यालय भन्नाले स्कूल, क्याम्पसलगायत अध्ययन, अध्यापन तथा अनुसन्धान कामको थालनी गर्ने, पद्धति विकास गर्ने र नियमित अध्ययन–अध्यापनको वातावरण तयार गर्नेे थलो हो ।
सिकेर, पढेर, सुनेर वा अन्य कुनै तरिकाबाट औपचारिकरूपमा शिक्षा प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विश्वविद्यालयले सञ्चालन गर्ने शैक्षिक क्रियाकलाप कुनै विषयमा लुकेको अमूर्त ज्ञानलाई मूर्तता दिन आवश्यक हुन्छ ।
यसरी हेर्दा हाम्रो घर, समाज नै एक विश्वविद्यालय हो । हाम्रो दिनचर्यामा पनि धेरै किसिमको ज्ञानवर्धक काम भइरहेको हुन्छ र त्यहीँबाट जीवनयापनका लागि चाहिने ज्ञान, सीप र कला आदि सिक्न सकिन्छ । यसैलाई परम्पराको रूपमा अनुसरण गर्दै हामी जीवन अगाडि बढाइरहेका हुन्छौँ ।
दैनिक जीवनमा हाम्रैसामु ज्ञान, विज्ञान, गणित, सीप, कला, भाषालगायत गतिविधि भइरहेको हुन्छ । यी विषयलाई कतिपयले राम्ररी व्यक्त गर्न सक्छन् भने कसैले व्यावहारिक रूपान्तरण गरेर प्रयोगमै ल्याउँछन् र सीपमा निपुण बन्छन् । कसैले सीपमाथि कला जोडेर बेजोड प्रदर्शन गर्न सक्छन् । त्यसैले हाम्रो समाज ज्ञान भण्डारणको संस्था हो ।
अझ यसमा विज्ञान जोडिँदा त सुनमा सुगन्ध नै हुन्छ । यसक्रममा भेटिने त्रुटि कम गर्न, प्राप्त सीप र ज्ञानको जगेर्ना गरिराख्न र चाहेको बेला उपयोग गर्ने प्रक्रिया चलिरहेको हुन्छ । यसमा प्रविधि मिलाएर नयाँ चिजहरूको विकास गराउने काम पनि हुन्छ । यी सबै कामको केन्द्रबिन्दु विश्वविद्यालय हुन्छ । विश्वविद्यालय शिक्षाको मद्दतले हामीभित्र लुकेका ज्ञान, विज्ञान, गणित, सीप र कलालाई उजागर गर्न मद्दत गर्छ ।
हामीमा अन्तरनिहित ज्ञान, सीप र कलालाई अध्ययन–अध्यापन गराउनु जरूरी हुन्छ । यसले परम्परागत शैलीबाट हामीमा हस्तान्तरित ज्ञान, सीप र कला थप उजागर हुन्छ । यस्तो शिक्षा नीतिको अध्ययन–अध्यापन हाल नेपालमा चलिरहेको कुनै पनि विश्वविद्यालयमा मूलतः नरहेको निष्कर्षसहित ख्वप विश्वविद्यालयको अवधारणा अगाडि सारिएको हो ।
भक्तपुर नगरपालिकाले विद्यालय, महाविद्यालय तथा कलेजहरूको सफल सञ्चालन गर्दै लामो समयदेखि भक्तपुर जिल्लामा राम्रो शैक्षिक नतिजा दिँदै आएको छ । यहाँको शैक्षिक अभ्यासलाई छिमेकीलगायत जिल्लाहरूले नमुनाको रूपमा चर्चा गरिरहेका हुन्छन् ।
यहाँ लगभग देशका ७७ वटै जिल्लाबाट विद्यार्थी, कर्मचारी, शिक्षकहरू अध्ययन–अध्यापन गरिरहेका छन् । विभिन्न सङ्कायमा स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन भइरहेको छ ।
पङ्क्तिकार भक्तपुरको स्थानीय बासिन्दा हो । काठमाडौँ विश्वविद्यालयमा कार्यरत छु । प्राज्ञिक क्षेत्रमा कार्यरत रहेकोले मलाई यहाँको शैक्षिक क्षेत्रप्रति गहिरो रुचि छ । एक दशकभन्दा अघिदेखि परिकल्पना गरिएको र बहसमा रहेको ख्वप विश्वविद्यालय अझै प्रतीक्षाकै विषय रहेको छ । हामीले अझै कति कुर्नुपर्ने ? यसको जवाफ खोज्ने क्रममा सँगालेका अनुभूति यहाँ राख्दै छु ।
सम्भाव्यता र आवश्यकताबारे अध्ययन भइसकेरै होला प्रस्तावित ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक अगाडि बढाइएको र संसद्मा टेबल भएको । तर, यसपछि आएका विश्वविद्यालय संसद्बाट पास भएर सञ्चालनमा आइसकेका छन् । छोटो प्रयासमै नेपाल विश्वविद्यालय विधेयक पारित भएर सञ्चालनमा आउने सम्भावना बलियो हुँदै गएको छ ।
तर, ख्वप विश्वविद्यालय आउने अझै छाँटकाँट देखिएको छैन । यसो हुनुको मुख्य कारण के हो ? यसमा प्राज्ञिक, राजनीतिक, व्यापारीवर्ग, राजनीतिक नेतृत्व, बुद्धिजीवी र पत्रकार सबैले विचार विमर्श गर्नुपर्ने भएको छ ।
नेपालमा धेरै विश्वविद्यालय स्थापना भइसकेको हुनाले, देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन वृद्धि हुँदै गएको र भविष्यमा उत्पादित दक्ष जनशक्तिका लागि व्यवस्थापन गर्न गा¥हो पर्ने भएर हो कि ? कि हाल सञ्चालित विश्वविद्यालयले पढाउने विषय र यस प्रस्तावित ख्वप विश्वविद्यालयले प्रदान गर्ने विषयहरूमा पढाइको अन्तर नहुने भएर हो ? कि छिमेकमै थुप्रै विश्वविद्यालय, बग्रेल्ती आंशिक क्याम्पस भएकोले हो ? अन्यथा ख्वप विश्वविद्यालयप्रति सांसदहरू नकारात्मक हुनुपर्ने किन हो ?
परम्परागत ज्ञान, सीप र कलाको भण्डार नै छ भक्तपुरमा । प्रस्तावित ख्वप विश्वविद्यालयले स्थानीय र परम्परागत ज्ञान, सीपलाई अध्ययन, अध्यापन र अनुसन्धान गर्ने अवसर जुटाउने छ । यसलाई संरक्षण गर्ने दायित्व उठाउने छ । यसलाई अनुसन्धानको माध्यमबाट प्रवर्तन गरी प्रकाशमा ल्याउनेछ । यसको प्रतिफल पाउने त देशले नै हो ।
हाम्रो पुर्खाले सिर्जना गरेका अमूल्य प्रविधिहरूलाई हालको एआई प्रविधिमा समायोजन गरेर प्रविधि विकास गर्ने मौका पनि ख्वप विश्वविद्यालयले गर्नेछ । त्यसैले संसद्बाट यसलाई पारित गर्न निकै ढिलो भइसक्यो । संसद्को यो ढिलाइ परम्परागत ज्ञानलाई लिपिबद्ध गर्न र लोप हुनबाट जोगाउन ढिलाइ गर्नु हो ।
विश्वविद्यालय सञ्चालनमा ल्याउन भक्तपुर नगरलाई कठिन पनि छैन । जनशक्ति आपूर्ति पनि अहिले महानगरबाट सञ्चालित विभिन्न क्याम्पसबाट गर्न सकिन्छ । ख्वप कलेज इन्जिनियरिङले समय–समयमा गर्ने सम्मेलन, अन्तर्राष्ट्रिय कार्यक्रममा यसको सहभागिता र त्यसको नतिजाले पनि यसको योग्यता परीक्षित भइसकेको छ ।
चाहे आर्थिक दृष्टिकोण होस् वा भौतिक संरचना, भक्तपुर नगर व्यवस्थापनमा सक्षम छ । यसले स्रोत वृद्धि र व्यवस्थापन वैज्ञानिक ढङ्गले गर्न सक्नेछ ।
अरू विश्वविद्यालत्न्दा फरक विधामा काम गर्न पनि ख्वप विश्वविद्यालय तयार छ । अहिले धेरैजसो अभिभावक आधुनिक शिक्षामा पनि इन्जिनियरिङ, डाक्टरी, प्राविधिक शिक्षामा बढी रुचि देखाइरहेका छन् । ख्वपले यसलाई प्राथमिकतामा राख्नेछ । बरु, यसलाई परम्परागत ज्ञान, सीप र शैलीसँग जोडेर आधुनिकीकरण गर्न मेहनत गर्नेछ । यस किसिमको विधाबाट उत्पादित स्नातक तथा स्नातकोत्तरहरूलाई व्यवस्थापन गर्नमा पनि विचार गर्नुपर्ने त छँदै छ । स्वदेशी तथा विदेशी विद्यार्थी भित्याउने र कम्तीमा १० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी भित्याउने गरी योजना बनाउनुपर्छ ।
हामीकहाँ भएका अधिकांश विश्वविद्यालय चारवर्षे स्नातक तहबाट सञ्चालित छन् । जुन बाहिरी विश्वविद्यालयसँग मिल्दोजुल्दो देखिन्छ । यी विश्वविद्यालयबाट उत्पादित अधिकांश विद्यार्थीको गन्तव्य विदेश नै हुने गरेको छ । हाम्रो लगानी विदेशमुखी विद्यार्थी उत्पादनका लागि जस्तो भइरहेको छ । यसरी हाम्रा अधिकांश विश्वविद्यालय अरू देशको लागि जनशक्ति तयार पार्ने ‘म्यानपावर कम्पनी’ को रूपमा स्थापित भएको जस्तो लाग्नु स्वाभाविक हो ।
विश्वविद्यालयले सहजरूपमा विद्यार्थीलाई उत्तीर्ण गराउने मात्रै होइन† ती विद्यार्थीलाई आफैमा सबल, सुयोग्य, स्वरोजगारमा वृद्धि गर्न सक्ने, आफ्नै स्थान र वातावरणअनुसारको काममा वैज्ञानिक तवरले स्वरोजगार हुनसक्ने गरी क्षमतावान् बनाउनुपर्छ । पढाइमा अब्बल तर काम गर्ने शैली र सीपमा कमसल हुँदा उनीहरूले विश्वमा आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याउन सक्दैनन् । सीप र क्षमता भएकासँग पनि अनुभव नहुन सक्छ ।
यसबाट पैदा हुने हीनताबोधको क्षति समाजले नै चुक्ता गर्नुपर्छ । यस्तो किसिमको विद्यार्थीलाई समतामूलक ढङ्गले व्यवहार गर्ने र अवसरको सिर्जना गर्ने दायित्व विश्वविद्यालयकै हुनआउँछ । अनि मात्र विश्वविद्यालय स्थापना गर्नुको औचित्य सिद्ध हुन्छ । यी उद्देश्यमा चुकेर केवल विद्यार्थी उत्तीर्ण गर्ने दौडमा लाग्ने हो भने कुनै पनि विश्वविद्यालयले आफ्नो औचित्य स्थापित गर्न सक्दैन । ख्वप विश्वविद्यालय यसमा अब्बल उत्रनेछ ।
जीवनोपयोगी शिक्षा
सरकारले लिने शैक्षिक नीतिको प्रभाव शैक्षिक क्षेत्रमा प्रत्यक्ष पर्छ । राजनीतिक अस्थिरताले समेत विश्वविद्यालयको अध्ययन, अध्यापन र अनुसन्धानमा धेरै असर नै पारिरहेको छ ।
पछिल्लो समय धेरैजसो विश्वविद्यालयको शिक्षा प्राविधिकभन्दा रोजगारमूलक र रोजगारोन्मुख कार्यक्रमहरूमा आकर्षित भएर आएको पाइन्छ । शिक्षाको उद्देश्य दक्ष युवा पुस्तालाई आफ्नै स्थानमा रोजगारमूलक कामको सिर्जना गर्न सक्ने क्षमता प्रदान गर्नु हो । यसले विश्वविद्यालयको मूल्य कायम गर्ने र विश्वविद्यालयको साख बढाउने काम गर्दछ ।
यो उद्देश्यमा आफूलाई अब्बल राख्न ख्वप विश्वविद्यालयले विभिन्न सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्नुपर्नेछ । यो काममा सफलता हासिल गर्न सकेमा बिदेसिने विद्यार्थीको सङ्ख्या रोक्न सकिन्छ । आफूले चाहेको विषय पढ्न नपाइनु, विषय भए पनि स्तरीय शिक्षा नपाउनु, भौतिक पूर्वाधार कमजोर हुनुजस्ता समस्या पनि छन् ।
नेपालको भन्दा विदेशी विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई हाम्रा स्थानीय तहदेखिका निकायहरूले रुचाएको पाइन्छ । त्यसैले नयाँ पुस्ताको बढी ध्यान विदेशी विश्वविद्यालयतिर गएको हुनुपर्छ । अहिलेसम्म यस्तो विषयमा निकै कम छलफल तथा विचारविमर्श भएको छ । सबै विश्वविद्यालयहरूले चासो राखे पनि यस विषयमा कुनै अनुसन्धान भएको छैन ।
(लेखक काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।)

साभार : अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *