पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
मोरङ जिल्लाको विराटनगरका ७० वर्षका नारायण तिवारी ४२/४३ वर्षदेखि निरन्तर भाषा र साहित्यमा लागिरहनु स्वयं एक तपस्या हो । त्यसो त साहित्यको निम्ति विराटनगर आफै एक उर्वर भूमि हो । यसबारे व्याख्या आवश्यक छैन ।
मुक्तक, कथासङ्ग्रह, लघु कथासङ्ग्रह, कविता आदि साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने नारायण तिवारी गरिबी, पीडा, पसिना, रगत, परिवार र लालाबालाप्रतिको वात्सल्यता, आफ्नै परिवारलाई प्रतीक बनाएर समाजको अति कम आयमा जीवन बिताइरहेका कामदारवर्ग र कलमजीवीहरूको प्रतिनिधि पात्रको रूपमा आक्रोश पोखेर बहुमत जनताको पक्ष लिनु निश्चय पनि प्रगतिशील साहित्यको एक उदाहरण हो ।
यो ‘अर्थात्’ कवितासङ्ग्रहका कवि नारायण तिवारीको २०३६ सालको सेरोफेरोको देश, परिस्थिति र कालमा उतारिएको चित्रको शाब्दिक र साहित्यिक अभिव्यक्ति हो । ‘घर, जिन्दगी र घाइते हातहरू’ शीर्षकको कविता, ‘भत्किएको मन’, ‘नेपालमा बाल वर्ष’ र ‘मन चुपचाप सोचमा डुबेको छ’ शीर्षकको कविताको पङ्क्तिले देशको राजनैतिक, सामाजिक र आर्थिक परिस्थिति झल्काउनुका साथै शासक भनिने चालकहरूलाई वैचारिक घनको प्रहार गरेको अनुभव पाठकहरू गर्छन् ।
हो, हरेक ‘बाल वर्ष’ मनाउँदा के नयाँ आशालाग्दा सन्देश र घोषणा कसैले सुनेका छन् ? औपचारिकताले छोपिएका नेपालको पञ्चायती व्यवस्था होस् वा प्रजातन्त्र र गणतन्त्र, ती नै तन्त्र धर्म, भाषा र जातिको फासीवाद हो । किनभने, फासीवादमा प्रजातन्त्र हुँदैन । जनताको आवाज सुनिँदैन । बहुमत जनतालाई पराइ र शत्रु सम्झिएको हुन्छ । क्याथोलिक धर्मले इटालीमा राज गर्दा जहाँ जहाँ त्यो कट्टर धर्मले बास गर्यो ती ती माटोलाई मुसोलिनीले आफ्नो देश भनी दाबी गर्यो । हिटलरले आफूलाई ‘पवित्र रगत’ को दाबा गर्यो र भन्यो, जहाँजहाँ जर्मन भाषा बोल्छ त्यहाँ त्यहाँ हाम्रो देश हुन्छ । रोमको पुरानो गौरवलाई फिर्ता लिने र राष्ट्रियताको नाममा सङ्कीर्ण राष्ट्रवाद र अन्धराष्ट्रवादको वकालत गर्यो । एउटै धर्म, जात, भाषा र कट्टर राष्ट्रवादमा ‘अतिवाद’ देखापर्छ । यसको अर्थ हो, अचार, दाल र तरकारीमा नुन चर्काे हुँदा मीठो हुन्न र त्यसले स्वास्थ्यलाई हित गर्दैन ।
यस्ता आग्रहमा आफै लडाइँको लल्कार हुन्छ, विध्वंसले अर्बपति र खर्बपतिलाई नाफा हुन्छ । कामदारवर्गलाई घरपरिवार, छाक छाकको निम्ति थप पीडाको भाँडो घोप्ट्याउँछन्, युद्धपिपासु, हतियार व्यापारी र युद्धका व्यापारी शासकहरूले ।
कवि नारायण तिवारीले कम आय भएका सबै वर्ग र पेसाका पीडितहरूले ‘भोगेका महँगी, भोक र सार्वभौमिकता’ अथवा सबैतिर (व्यापक) र प्रचुरताको सङ्केतले अथवा चोर औँला शत्रुतिरै सोझिएका पाठकहरू अनुभव गर्छन् । लघु कथासङ्ग्रहको भाषा र कथाले मात्र होइन कथाका चित्रहरूले पनि व्यापक जनताको कथा व्यथा वाचन गरेको अनुभव हुन्छ ।
नेपाली साहित्यका वरिष्ठ समालोचक कृष्णचन्द्र सिंह प्रधानले कवि तिवारीको विशेषताबारे थोरै लेखेर धेरै कुरा बताउनुभयो, “व्यङ्ग्यात्मक आघातको स्पर्शले यत्रतत्र छोइन्छ ।”
कवि र साहित्यकारहरूको माझमा बरोबर कुराकानीमा व्यक्त हुन्छ – अब कोसी र कर्णालीका धारालाई आँसुले सिँगार्ने होइन बरु विद्युत् उत्पादन वृद्धि र समाजवादको सङ्केत भनौँ । पश्चिमी बुद्धिजीवीका प्रतिनिधि एच.जी.वेल्सले पिछडिएको रूसमा समाजवाद कसरी सम्भव हुन्छ भनी शङ्का गर्दा लेनिनले उत्तर दिनुभयो, “विद्युतीकरण बराबर समाजवाद ।” एच.जी वेल्सले सुरुमा अनुमान गर्न नसक्दा टिप्पणी ग¥यो, ‘क्रेमलिनको स्वप्नद्रष्टा !’
आँसु र भोकले पीडित हाम्रा परिवार र लालाबालालाई सिकाऔँ – रुने होइन अब, शत्रुहरू हाँस्नेछन् । बरु मुठी कसेर भनौँ, हामीले सजिलो नरोजौँ; काम गाह्रै रोजौँ । ढिलो होला तर फल राम्रो हुनेछ । एक्लै मुठी नकसौँ; सबै मिलेर मुठी कसौँ । त्यसैमा शक्ति हुन्छ । अब नयाँ पुस्ताको कवितामा यस्तै भावना पढ्नेछौँ, हामीले माग्ने होइन आफ्नो खुट्टामा उठौँ । त्यो नै हाम्रो विजयको क्षण हुनेछ ।”
अब नेपाली साहित्यका विविध धारा र सङ्गीतमा समेत हाम्रा परिवारका आमा, दिदीबहिनी र छोराछोरीको पनि स्वर मिसिएको होस् ! नारायण तिवारीको कवितासङ्ग्रहका कविताहरू विदेशी लाग्दैन; आफ्नै नेपाली लाग्छ शब्द शब्द ! छपाइ अति प्रस्ट र गाताको चित्र झन् आकर्षक ! कवि नारायणको ‘महँगी, भोक र सार्वभौमिकता’ शीर्षकका लघुकथाहरू चिटिक्क परेका र एकछिन सोच्नुपर्ने खालका छन् । सबै कथाले नेपाल बोलेको पाइन्छ । लेखाइ वा शैली, छपाइ र प्रस्तुत चित्रहरूले थप कुरा बताउँछन् । यस अर्थमा कविजीको कल्पना ओज र गम्भीरताले पाठकहरूको मनलाई छुने गर्छ ।
नौलो शैलीको साहित्यको स्वाद पनि धीतमर्ने खालको छ – सरल नेपालीमाथि भइरहेको अन्यायप्रतिको व्यङ्ग्य ! लघु कथाकार र कवि नारायणजीलाई साधुवाद एक पाठकको !
Leave a Reply