नेपाली जनताले युद्धको विरोध गर्नु जरुरी छ
- आश्विन २६, २०८१
२०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले जनमतसङ्ग्रह घोषणा गरेपछि नेपालका राजनैतिक दलका नेताहरूले थरीथरीका टिप्पणीहरू गर्न थाले । नेपाली काङ्ग्रेसका नेता बी.पी. कोइरालाले राजा वीरेन्द्रले घोषणा गरेको जनमतसङ्ग्रहलाई स्वागत गरे । त्यस्तै नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले नेपाली जनताले एक लोटा पानी मागेकोमा राजाले ठुलो घ्याम्पो भरी पानी दिएको भनी राजाको घोषणालाई समर्थन गरे । तत्कालीन नेकपा (माले) र तत्कालीन चौथो महाधिवेशन वा मोहनविक्रम सिंहले ‘जनमतसङ्ग्रह धोखा’ बताए । अन्य केही दलहरूले जनमतसङ्ग्रह बहिष्कार गर्ने घोषणा गरे । नेकपा (कोसी अञ्चल) समूहका नेता मनमोहन अधिकारीले जनमतसङ्ग्रहलाई स्वागत गर्दै बहुदलीय व्यवस्थालाई जिताउन नेपाली काङ्ग्रेससँग मिलेर चुनावी प्रचारप्रसारमा लाग्नुपर्ने नीति लिए । नेमकिपा (तत्कालीन नेमकिसङ्गठन) ले ‘जनमतसङ्ग्रह’ लाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग गर्दै आन्दोलनलाई अगाडि बढाउनुपर्ने सिद्धान्तलाई अगाडि सा¥यो ।
२०३५–३६ सालको विद्यार्थी आन्दोलन बिस्तारै जनआन्दोलनमा विकास हुँदै थियो । विद्यार्थीहरूले १८ वटा माग राखी आन्दोलन गरेका थिए । उनीहरूले ‘बजारभाउ सस्तो गर, कालाबजारियाहरूलाई कारबाही गर, जनताको राजनीतिक र मौलिक अधिकार फिर्ता गर’ आदि नारासहित विभिन्न जिल्लामा विरोध प्रदर्शनहरू गरे । यसरी विद्यार्थी आन्दोलन बिस्तारै जनआन्दोलनमा विकास हुँदै थियो । नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ आन्दोलनको बाटो छोडेर जनमतसङ्ग्रहको निर्वाचनमा बहुदलको पक्षमा चुनावी अभियानमा लागेको थियो भने माले समर्थित अखिल पाँचौँ र चौम समर्थित अखिल छैटौँ ‘जनमतसङ्ग्रह धोखा हो’ भन्दै आन्दोलनलाई अगाडि बढाउनुपर्छ भनी जनमत अभियानमा लागे । नेपाली काङ्ग्रेसको चुनावी सभामा अखिल पक्षले पटकपटक आक्रमण गरेका समाचारहरू छापाहरूमा देखिए । अखिल पाँचौँ र छैटौँका यस्ता क्रियाकलापलाई लिएर काङ्ग्रेसका नेता बी.पी. कोइरालाले ‘मण्डले र अखिल एउटै हो’ भन्ने टिप्पणी गर्दा अखिलले पाँचौँ र छैटौँ दुवैले काङ्ग्रेसको नेता बी.पी. कोइरालाको कडा विरोध गरे । जनमतसङ्ग्रहमा भाग लियो भनेर नेमकिपाका नेता रोहितलाई दरबारिया कम्युनिस्ट भनेर आधारहीन आरोप लगाई गालीगलौज गरेर जनताबिच बदनाम गर्ने दुष्प्रयास गरियो । माले र चौमबाट निर्देशित अखिलहरूको आरोपलाई खण्डन गर्दै नेमकिपाले सन् १९०५ मा रुसमा मजदुर आन्दोलन विद्रोहमा र विद्रोह क्रान्तिमा विकास हुँदै गएको अवस्थामा नेता लेनिनले ड्युमाको चुनाव बहिष्कार गरी आन्दोलनमा बोल्शेविकहरूलाई उत्साहित गर्दा रुसमा बहिष्कार पूर्णरूपले सफल भएको तर सन् १९०६ र १९०७ को निर्वाचन बहिष्कार असफल भएको दृष्टान्त दिएको थियो । सन् १९०६ र १९०७ मा क्रान्ति विद्रोह र विद्रोह साधारण हडतालमा परिणत हुँदै जनताको ध्यान क्रान्तितिर नभई चुनावतिर गएकोले सन् १९०६ र १९०७ को ड्युमाको चुनाव बहिष्कार गर्नु गलत भएको स्वीकार्दै लेनिनले त्यसपछिका निर्वाचनमा भाग लिएको ऐतिहासिक तथ्य प्रस्तुत गरिएको थियो ।
कस्तो परिस्थितिमा चुनाव बहिष्कार गर्ने र कस्तो परिस्थितिमा चुनावमा भाग लिने भन्नेबारे सैद्धान्तिकरूपले जवाफ दिँदै बहिष्कारवादीहरूको कोरा सिद्धान्तवादी विचारलाई नेमकिपाले उदाङ्ग्याइदिएको थियो । बहुदलीय व्यवस्था निर्दलीय पञ्चायती व्यवस्थाभन्दा एक पाइला प्रगतिशील व्यवस्था भएकोले बहुदलीय व्यवस्थालाई जिताउन जनमतसङ्ग्रहमा भाग लिनु लेनिनवादी सिद्धान्त हो । यसरी जनमतसङ्ग्रहको चुनावमा भाग लिने र बहिष्कार गर्ने सवाललाई लिएर बहस भइरहेको अवस्थामा जनमतसङ्ग्रहलाई निष्पक्ष र धाँधलीरहित चुनाव गराउन नेमकिसं, नेकपा (बनारस गुट) सहाना प्रधानको समूह, मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (कोसी अञ्चल) का जयगोविन्द साहको अ.ने.कि.सं. र निर्मल लामा (प्रतिनिधि, नेकपा चौम) आदि वाम घटकको कार्यगत एकता गर्ने समाचार आयो ।
विभिन्न परिवेशमा विभिन्न घटकमा फुटेका कम्युनिस्टहरूको पहिलोपटक वाम कार्यगत एकता भएको थियो । जनमतसङ्ग्रहको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित गराउन वामपन्थी दलहरूले केही मागहरू अगाडि सारे । मागहरू निम्न छन् :
१) सम्पूर्ण राजबन्दीहरूलाई बिनासर्त रिहा गर ।
२) प्रवास तथा भूमिगत बसेका राजनीतिक नेता तथा कार्यकर्ताहरूको मुद्दा फिर्ता लिई राजनीतिक गतिविधि गर्ने व्यवस्था गर ।
३) नागरिकको मौलिक हक बन्देज हुने सबै कानुनहरू निलम्बित गर ।
४) अन्तरिम सरकार गठन गर ।
५) १८ वर्ष पुगेका सबै नागरिकलाई मताधिकारको व्यवस्था गर ।
यी माग पूरा गराउन २०३६ भदौ २४ गते देशव्यापी आन्दोलन गर्ने घोषणा भयो । भदौ २४ गतेको आन्दोलन घोषणा भएदेखि वाम दलका कार्यकर्ताहरू सक्रिय भए । भदौ २४ गतेको आन्दोलन सफल पार्न देशव्यापीरूपमा पर्चा बाँड्ने र प्रचारात्मक अभियान चलाउनुका साथै जुलुस, कोणसभा र जनसभाहरू पनि भए । यसरी वामपन्थी दलको संयुक्त कार्यक्रम देशव्यापीरूपमा सञ्चालन भएको देख्दा नेपाली जनता धेरै आशावादी र उत्साहित देखिए । वामपन्थीहरूको आन्दोलनले आमजनताको विश्वास जिती आन्दोलनमा ऊर्जा थप्दै गएको देख्दा पञ्चायती व्यवस्था आत्तियो । जिल्ला जिल्लामा प्रहरी गतिविधि पनि बढ्यो । यसरी आन्दोलनकारी र प्रहरीको दिनहुँको गतिविधिले सन्त्रासको वातावरण सृजना भयो । भदौ २४ गते नजिकिँदै आउँदा देशमा ठुलो परिवर्तन हुने जनतामा विश्वास जागेको देखियो । वामका कार्यकर्ताहरू पनि जनताको समर्थन पाएको हुँदा अत्यन्त उत्साह र उमङ्गका साथ आन्दोलनमा लागे । ठुलो परिवर्तन आउने विश्वासका साथ वामका कार्यकर्ताहरू जनताको बिचमा गइरहेको बेला तत्कालीन नेकपा (माले) अहिलेका एमालेका कार्यकर्ताहरूले आम जनतालाई आन्दोलनमा सरिक हुनबाट रोक्न ‘भदौ २४ गतेको आन्दोलनमा नजाऊ’ त्यहाँ गोली चल्नेछ भनेर आन्दोलनको दिन घरघरमै बस्न प्रचार गरी हिँडेको जिल्ला जिल्लाबाट रिपोर्टहरू आएको कुरा बाहिरियो । आफू मात्र सच्चा कम्युनिस्ट ठान्ने तत्कालीन नेकपा (माले) हालका एमालेका कार्यकर्ताहरूको वाम एकताको आन्दोलनको विरोध गरी जनमतसङ्ग्रहको बहिष्कार गर्नुको अर्थ बुझ्न गा¥हो भएन ।
जनमतसङ्ग्रह भनेको निर्विकल्प भनिएको तानाशाही पञ्चायती व्यवस्थाको विकल्प बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायती व्यवस्थामध्ये कुन रोज्ने हो भनी दिएको एक हाँक थियो । राजाको त्यो हाँकलाई स्वीकारी जनमतसङ्ग्रहलाई निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन विभिन्न माग राखी आन्दोलनलाई अगाडि बढाउनु सही र क्रान्तिकारी बाटो हो भने राजाको हाँकलाई अस्वीकार गरी चुनाव बहिष्कार गर्नु र क्रान्तिको बाटोबाट भाग्न खोज्नु कायरता थियो । झ्याल ढोका थुनेर सूर्यको किरणलाई छेक्न खोज्नु एक दुस्साहस हो । भदौ २४ गते बिहानदेखि बन्दुकधारी प्रहरीहरू समूह समूहमा घुमिरहेका थिए । बिहान ७ बजे भक्तपुरको सूर्यमढी टोलमा भेला हुन नेमकिपाले सारा जनतालाई अपिल गरेको हुँदा ७ बज्नुअगावै पार्टी कार्यकर्ता तथा जनता सूर्यमढीमा भेला हुँदै थिए । नेमकिपाका नेताले उपस्थित जनसमुदायलाई सम्बोधन गरिरहँदा प्रहरीले आन्दोलनकारीहरूको मनोबल गिराउन र तर्साउन कसैले जुलुस र आमसभा गरेमा गोली हान्ने आदेश छ भनेर जनतालाई तर्साउँदै माय्किङ ग¥यो । शान्तिपूर्ण जुलुसमाथि प्रहरीले गोली हान्ने धम्की दियो । नेमकिपाका युवाहरू “हामी गोली खान तयार छौँ, आँट छ भने गोली हान” भनी प्रहरीलाई चुनौती दिँदा आन्दोलनकारीहरूले प्रहरीको भ्यानलाई छेक्न जाँदा माय्किङ गर्दै आएको प्रहरीको गाडी भागेको थियो । त्यसपछि जुलुस सूर्यमढीबाट दत्तात्रय हुँदै इनाचो, गोलमढी, सुकुलढोका, टौमढी हुँदै नासमनामा पुग्दा एक समूह बन्दुकधारी प्रहरी आइपुग्यो । “जुलुसलाई कुनै शक्तिले रोकेर रोकिँदैन, छेकेर छेकिँदैन, जुलुस अगाडि बढ्छ” भनेपछि प्रहरी छेउ लागेर जुलुस अगाडि बढ्दै वंशगोपाल, टेखापुखु, इटाछेँ हुँदै खौमामा पुगेपछि जुलुस सभामा परिणत भयो । सभामा विभिन्न नेताहरूले सम्बोधन गरी सभा बिसर्जन भएको थियो । त्यस्तै काठमाडौँमा पनि जुलुस गरी इटुँ बहालमा आमसभा भयो र सो आमसभामा नेमकिपाका किसान नेता गोविन्द दुवालले सम्बोधन गर्नुभएको थियो । त्यस्तै भदौ २४ गते जनकपुर, चितवन, लुम्बिनी र पश्चिमका विभिन्न जिल्लामा जुलुस र आमसभा भए तर पार्टीको नीतिविपरीत कार्यगत एकता गरी आन्दोलनमा गएको भनी नेकपा (चौम) का महासचिव निर्मल लामालाई कारबाही गरी मोहनविक्रम सिंह महामन्त्री बनेपछि पाँच वामको संयुक्त आन्दोलन तुहिएको थियो ।
भदौ २४ गतेको आन्दोलन एक दिन मात्र भए तापनि यसले केही सन्देशहरू दियो –
१) आन्दोलनले नेपाली वामपन्थीहरू फुट्न मात्र जानेको र जुट्न नजानेको भनी आलोचना गर्नेहरूलाई आवश्यकता परे जुट्न पनि जानेका छन् भन्ने जवाफ दियो ।
२) विभिन्न गुट–उपगुटमा विभाजित वामपन्थी पार्टीहरू एक भएमा ठुलो शक्ति बन्दो रहेछ भन्ने नेपालको राजनैतिक आन्दोलनमा स्थापित भयो ।
३) नेपाली जनताले देशमा महत्वपूर्ण परिवर्तनको लागि वामपन्थी एकताको आवश्यकता अपरिहार्य छ भनी महसुस गरे ।
४) प्रतिक्रियावादी सरकारले फोड्न नसकेको नेमकिपालाई मित्रशक्ति भनिएको नेकपा
(चौम) ले नारायणी र लुम्बिनीको पार्टी सङ्गठनलाई भाँड्ने काम ग¥यो ।
५) भदौ २४ गतेको आन्दोलनले अध्यक्ष रोहितको विचारलाई सही साबित गर्यो । प्रजातान्त्रिक आन्दोलनको लागि नेपाली काङ्ग्रेससँग संयुक्त मोर्चा गर्नुपर्छ भन्ने मतसँग अध्यक्ष रोहितले विमति राख्दै भन्नुभएको थियो कि प्रजातान्त्रिक आन्दोलनको लागि नेपाली काङ्ग्रेससँग कार्यगत एकता वा संयुक्त मोर्चा गर्ने हो भन्ने कम्युनिस्ट पार्टी पनि काङ्ग्रेसकै हाराहारीमा बलियो हुनुपर्छ । अनि मात्र नेपाली काङ्ग्रेसले कम्युनिस्टहरूको प्रस्तावलाई स्वीकार्छ । सत्याग्रहको बेला पाँच वाम कार्यगत एकताको शक्ति देखेपछि २०४६ सालको जनआन्दोलनको लागि काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंह विभिन्न घटकका वामपन्थी नेताहरूसँग सम्पर्क गरी सहयोगको लागि अनुरोध गर्नुले अध्यक्ष रोहितको विचार सही साबित गरेको छ ।
Leave a Reply