भर्खरै :

जन्मँदा नै अस्वस्थ जन्मिने शिशु पत्रु खानाले ?

जन्मँदा नै अस्वस्थ जन्मिने शिशु पत्रु खानाले ?

सरकारले उपचार खर्च अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमरजस्ता गम्भीर प्रकृतिका रोगहरूको निःशुल्क उपचार गर्न सक्ने, कतिपय प्रदेश सरकारले क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत दिने लोकप्रिय नीति बनाउने गरेका छन् । तर, रोग लागेकालाई उपचारको व्यवस्था गर्ने सरकारले रोग लाग्नै नदिन चाल्नुपर्ने कदमबारे भने चासो दिएको पाइँदैन । अर्थात्, यस्ता रोगको स्रोत पत्रु खाना पनि हो । रोग न्यूनीकरण गर्न पत्रु खाना नियन्त्रण गर्ने गरी घरेलु पौष्टिक खानेकुराको प्रवद्र्धन गर्ने, पत्रु खानाको विज्ञापन सकेसम्म घटाउने, गलत विज्ञापन गर्न रोक लगाउनेजस्ता कार्यक्रम कहिले सुरु गर्ने ?
सरकारी र निजी अस्पतालका क्यान्टिनमा प्याकेट बन्द पत्रु खाना, केक, चिसो पेयपदार्थ धमाधम बेचिन्छन् । मानिसहरू मुटु र मिर्गौला खराब पार्ने तिनै वस्तु धमाधम खाइरहेका हुन्छन्, अस्पतालभित्र परिवारका कुनै सदस्यको मुटु वा मिर्गौलाको उपचार चलिरहेको हुन्छ ।
पत्रु खानालाई विशिष्ट र आकर्षक परिकार मान्दै महत्वपूर्ण जमघटहरूमा छुटाइँदैन । अरूको के कुरा, विभिन्न मन्त्रालयका बैठकहरूमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन् । त्यस्ता बैठकमा सहभागी हुँदा म त्यस्तो खाजा बहिष्कार गर्छु । तर, सरकारी कर्मचारी, मन्त्रीगण, नेता स्वादको भुलभुलैयामा लागेर आफू र अरूलाई रोगी बनाउन उद्यत छन् । त्यस्तो खानपानकै कारण होला, प्रायः नेपाली नेताहरू नसर्ने रोगबाट पीडित छन् ।
समाजका यी ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘पत्रु खाना’ को कुलतमा परेका छन् । यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ । बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ । त्यसैले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट ‘रोग नलागोस्’ भनेर रोकथामका कार्यक्रममा पनि खर्च गरिनुपर्छ ।
पत्रु खानाको नियन्त्रणले बालबालिका जन्मदेखि नै समस्या लिएर जन्मिने सम्भावना कम हुन्छ । किनभने मोटोपन भएकी कुनै युवती विवाह गरेपछि पनि पत्रु खानाको लतमा परेर जब मधुमेहको शिकार बन्छिन्, उनी गर्भवती छँदा भ्रुणलाई समस्या परेर जन्मजात नै मधुमेह भएको बच्चा जन्मिन सक्छ ।
यस्तो विकराल समस्या निम्तिन नदिन पत्रु खानाको खपतलाई निरुत्साहित गर्नुपर्छ । जसअन्तर्गत विद्यालय र अस्पताल वरिपरि पत्रु खाना बेच्न नदिने, उपभोक्तालाई जागरुक बनाउने हो भने यसको उपभोग केही मात्रामा घट्न सक्छ । यस्तै, गलत विज्ञापनमा रोक लगाउने, आम सञ्चार बोलिरहने र उपभोक्ता जागरुक हुने हो भने पत्रु खानाको खपत कम हुँदै स्वस्थ समाजको निर्माण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *