भर्खरै :

देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको लागि हाम्रो आन्दोलन !!! उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलाई मतदान !!! स्ववियु निर्वाचन २०८१ बारे अपिल

देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको लागि हाम्रो आन्दोलन !!! उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलाई मतदान !!! स्ववियु निर्वाचन २०८१ बारे अपिल

क्रान्तिकारी विद्यार्थी साथीहरू,

स्ववियु निर्वाचनलाई भौतिक बल र धनको होडबाजी बनाउने शासक दलका विद्यार्थी सङ्गठनहरूको प्रवृत्तिविरूद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले स्ववियु निर्वाचनलाई वैचारिक सङ्घर्ष र घोषणापत्रको प्रतिस्पर्धाको रूपमा उपयोग गर्दै आएको छ । नेक्राविसङ्घले सधैँ क्रान्तिकारी, सिद्धान्तनिष्ठ र देशभक्त पक्षको अगुवाइ गर्दै आएको छ । नेक्राविसङ्घ नेपाली विद्यार्थी आन्दोलनमा देखिएको सिद्धान्तहीन, अवसरवादी र अराजक गठबन्धन तथा विदेशी शक्तिसामु लम्पसार पर्ने आत्मसमर्पणवादी प्रवृत्तिको विरोधमा उभिएको छ ।
शिक्षालाई नाफा कमाउने र विलासी वस्तुको रूपमा हेर्ने नीतिलाई नवउदारवादी शिक्षा नीति भनिन्छ । ‘विदेशी सहयोग’ भित्याउने बहानामा उच्च शिक्षामा नवउदारवादी नीति लागु गरियो । ‘दातृ निकाय’ को दबाबमा सत्तासीन दलहरूले शिक्षामा खर्च कटौती गरे, साम्राज्यवादी बजारका लागि सस्तो ज्यामी तयार गर्ने पाठ्यक्रम लागु गरे, देशका आवश्यकताप्रति आँखा चिम्लिए । विद्यार्थीहरूलाई पङ्गु बनाउन पाठ्यक्रम अव्यवहारिक र झन्झटिलो बनाइयो । प्रयोगात्मक अङ्कका निम्ति विद्यार्थीले शिक्षकको खुसामद गर्नुपर्ने स्थिति छ । दलीय भागबन्डाले शिक्षकहरूमा विकृति झाङ्गिँदै छ । उच्च शिक्षाको गुणस्तर खस्काएर श्रमजीवीवर्गका छोराछोरीलाई खोटो शिक्षा दिइँदै छ; ठगिँँदै छ । श्रमसँग नजोडिएको शिक्षाले शिक्षित बेरोजगारहरूको सङ्ख्या मात्र थप्दै छ । नेक्राविसङ्घ सुरुदेखि नै नवउदारवादी शिक्षा नीतिको विरोधमा छ ।
शासक दलका विद्यार्थी सङ्गठनहरूले नवउदारवादी नीतिको भरियाको काम गरे । बहुमत विद्यार्थीलाई धोका दिए । शिक्षामा व्याप्त अराजकताकै कारण आज नेपाली विद्यार्थीहरू शिक्षाको लागि बिदेसिनुपर्ने अवस्था आयो ।
आफूलाई ‘मूलधार’ दाबी गर्ने विद्यार्थी सङ्गठनहरूले आज पञ्चायतकालीन मण्डले विद्यार्थीले गर्ने दङ्गाफसाद, भ्रष्टाचार र छलछामको राजनीति अगाडि बढाइरहेका छन् । शिक्षा कामदार जनताको पहुँँचबाट टाढिँदै जानुमा मातृपार्टीसँगै तिनीहरू पनि दोषी छन् । तसर्थ, नवउदारवादविरूद्ध सङ्घर्ष गर्ने जिम्मेवारी कामदारवर्गका विद्यार्थीहरूको काँधमा आएको छ ।
भारतीय विस्तारवादले सुस्तामा अतिक्रमण गर्दा तत्कालीन शासकहरूसामु आत्मसमर्पण गर्ने देउसीवादी प्रवृत्तिविरूद्ध सङ्घर्ष गर्दै विसं २०२६ सालमा नेक्राविसङ्घको स्थापना भएको हो । नेपालको शैक्षिक आन्दोलन, जनजीविका तथा देशको सार्वभौमिकतासँग जोडिएका मुद्दामा नेक्राविसङ्घ सङ्घर्षरत छ । पुँजीवादी व्यवस्थाले बहुमत श्रमजीवी जनताको हित गर्न सक्दैन । लोकतान्त्रिक गणतन्त्र केही हुनेखाने परिवारको स्वर्ग हो । समाजवादी गणतन्त्र कामदार जनताको प्रजातन्त्र हो । यसर्थ, नेक्राविसङ्घ समाजवादी व्यवस्था स्थापनाका निम्ति क्रियाशील छ । नवउदारवादी शिक्षा नीतिको विरोधमा समाजवादी शिक्षाको निम्ति सङ्घर्षरत छ । निःशुल्क, अनिवार्य र श्रमसँग जोडिएको शिक्षा नै समाजवादी शिक्षा हो । यसले सचेत, सङ्घर्षशील, अनुशासित र सिर्जनशील नयाँ पुस्ता तयार पार्छ ।
नेक्राविसङ्घलाई मत किन ?
– विश्वविद्यालयमा व्याप्त अराजकता र दण्डहीनता अन्त्य गरी स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न,
– स्ववियुभित्र भइरहेको भ्रष्टाचार, आर्थिक अनियमितता र अराजकताको अन्त्य गरी स्ववियुलाई मर्यादित एवम् सम्पूर्ण विद्यार्थीको साझा दबु बनाउन,
– छात्रावास, निःशुल्कवृत्ति र छात्रवृत्ति वितरणमा भइरहेको भागबन्डा तथा पक्षपातको अन्त्य गर्न,
– विश्वविद्यालयको व्यवस्थित शैक्षिक क्यालेन्डर निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गराउन,
– प्राज्ञिक क्षेत्रमा भइरहेको शासक दलहरूको हस्तक्षेप एवम् भागबन्डाको अन्त्य गर्न,
– पाठ्यक्रमलाई उत्पादन श्रमसँग जोड्ने गरी परिमार्जन गराउन अगुवाइ गर्न,
– यातायात र स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुटको निम्ति आन्दोलनको अगुवाइ गर्न,
– शिक्षामा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत साम्राज्यवादी ज्यावलहरूको चलखेल उदङ्ग्याउन र त्यसको विरोधमा सङ्घर्ष गर्न,
– सरकारी विश्वविद्यालय र क्याम्पसहरूलाई ध्वस्त पार्ने शासक दलहरूको षड्यन्त्र रोक्न,
– विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू खारेज गराउन,
– चिकित्सा शिक्षा अध्यापनको लागि पहल गर्न,
– नेपालको शिक्षा व्यवस्थामा नवउदारवादी नीतिको विरोध गर्न,
– डिजिटल पुस्तकालयका साथै हालका पुस्तकालय व्यवस्थित, आधुनिक प्रविधियुक्त स्रोत–साधनसम्पन्न बनाउन,
– प्राध्यापक र विद्यार्थीलाई बारकोडसहितको इलेक्ट्रोनिक परिचय–पत्र व्यवस्था गर्न,
– निजी कलेजको महँगो शुल्क, मनोमानी र लुटपाटको विरोधमा सङ्घर्ष गर्न,
– शोध–अनुसन्धानलाई वैज्ञानिक र व्यवस्थित गराउन, खोजमूलक जर्नल प्रकाशनको लागि पहल गर्न,
– विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन सङ्घर्ष चालू राख्न,
– देशको भू–अखण्डता र सार्वभौमिकता रक्षाकोे आन्दोलन अघि बढाउन,
– देशघाती एमसीसी र एसपीपी सम्झौता तथा नागरिकता विधेयक खारेज नभएसम्म सङ्घर्ष चालु राख्न,
– नेपालको राजनीति, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा साम्राज्यवाद र भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादको हस्तक्षेपको विरोधमा सङ्घर्ष चालु राख्न,
– असमान सन्धि–सम्झौताहरू खारेज गराउन तथा नेपालको भूमि डुबान र कटान हुनेगरी भारतद्वारा एकतर्फीरूपमा निर्मित बाँँध, तटबन्ध र सडक भत्काउन सङ्घर्ष गर्न,
– विद्यार्थीहरूलाई समाजवादी गणतन्त्र प्रचार अभियानमा सङ्गठित गर्न,
– जातीय, भाषिक, धार्मिक, लैङ्गिक र क्षेत्रीय सङ्कीर्णता अन्त्य गर्दै वर्गीय आन्दोलन अगाडि बढाउन ।

२०८१ भदौ १८
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ
मध्यपश्चिम केन्द्रीय क्याम्पस
स्ववियु निर्वाचन परिचालन समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *