भर्खरै :

अरुन्धती एक अभियन्ताः उनको विचारलाई किन सजाय ?

अरुन्धती एक अभियन्ताः उनको विचारलाई किन सजाय ?

भारतले हालसालै चर्चित लेखक, अभियन्ता नर्मदा बचाउ अभियानकर्मी अरुन्धती रायलाई गैरकानुनी गतिविधि रोकथाम अधिनियमअन्तर्गत मुद्दा दर्ता गरेको छ । यो खबरले लेखक अरुन्धती रायका पाठकहरूलाई अचम्मित बनाएको छ । उनलाई सन् २०१० सालमा ‘कश्मीर’ लाई लिएर दिएको बयानसँग सम्बन्धित गरेर मुद्दा दर्ता गरिएको हो ।
यस्तै, खबरका बिच अर्को खबर पनि हामी पढिरहेका छौँ । लेखक अरुन्धती रायलाई सन् २०२४ को पेन पिन्टर अवार्ड प्राप्त भएको छ । लेखक अरुन्धती रायले १४ वर्ष पहिले कश्मीरको विषयमा गरेको टिप्पणीलाई लिएर मुद्दा चलाउने धम्कीको सामना गरिरहेकी छन् । सन् २००९ मा च्यारिटी इङ्गलिस पेनद्वारा स्थापित यो पुरस्कार नोबेल पुरस्कार विजेता नाटककार हेराल्ड पिन्टरको सम्झनामा साहित्यको उत्सव मनाइने गरी स्थापना गरिएको हो ।
अरून्धती राय
अरुन्धती आफूले पेन पिन्टर पुरस्कार स्वीकार गरेर खुसी व्यक्त गरिन् । उनले भनिन्, “मलाई लाग्छ कि हेरोल्ड पिन्टर आज हामीबिच हुन्थे भने दुनियाँको विषयमा वास्तविकतालाई बुझेर लेख्थे होलान् तर यिनी हामीमाझ छैनन् । त्यसैले हामीले पिन्टरजस्ता व्यक्तिको स्थान लिने कोशिश गर्नुपर्दछ ।”
अरुन्धती रायलाई १० अक्टोबरमा ब्रिटिश लाइब्रेरीद्वारा सहआयोजित एक समारोहमा पुरस्कार प्रदान गरिनेछ । जहाँ अरुन्धती रायले आफ्नो मन्तव्य पनि व्यक्त गर्नेछिन् ।
२१ अक्टोबर २०१० मा दिल्लीको एलटीजी अडिटोरियममा ‘आजादी द वन्ली वे’ प्रेस कन्फरेन्समा अरुन्धतीले ‘कश्मीर भारतको अभिन्न हिस्सा थिएन । यसमाथि सशस्त्र बलले जबरजस्ती कब्जा गरेको हो’ भन्ने विचार नै उनलाई मुद्दा दर्ता गराउने कारण बनेको थियो ।
अरुन्धती राय तथा कश्मीर केन्द्रीय विश्वविद्यालयका पूर्वप्रोफेसर शेख शौकत हुसैनलाई पनि मुद्दा दर्ता गरिएको थियो । घृणा फैलाउनेमाथि चालिने मुद्दाअन्तर्गत यो कदम चालिएको बताईदै छ । यो मुद्दा २९ नोभेम्बर २०१० मा नै एफआईआर दर्ता भइसकेको थियो । सैयद अली शाह गिलानी, एसएआर गिलानी तथा माओवादी समर्थक बारबरा राव उक्त कार्यक्रममा सम्मिलित थिए । आरोपी कश्मिरी पृथकतावादी नेता सैयद अली शाह गिलानी तथा दिल्ली विश्वविद्यालयका लेक्चरर सैयद अब्दुल रहमान गिलानी दुबै जनाको कारबाहीको दौरान मृत्यु भइसकेको छ ।
अरुन्धतीको विचारको विरोध गर्नेमध्ये दिल्लीका एक पेन्टरले अरुन्धतीलाई माओ, ओसामा विन साथै राखेर उनको न्युड फोटो पनि बनाएको चर्चा चलेको थियो, २०११/१२ तिर । ती कलाकारको मान्यता थियो कि अरुन्धतीको विचार ती माओ र ओसामाको जस्तै नै छ । उनको अनुसार अरुन्धती रायद्वारा नक्सली आन्दोलन र कश्मिरी पृथकतावादीलाई समर्थन गरेको आधारमा यस प्रकारले विरोध गरेका हुन् । एक कलाकारले अर्को सृजनाकर्मीलाई विरोध गर्ने शैली पनि अचम्मको हुने रहेछ ।
को हुन् अरुन्धती राय ?
अरुन्धती रायको जन्म २४ नोभेम्बर १९६१ मा भारतको मेघालय, सिलोङमा भएको थियो । यिनकी आमा सिरियन क्रिश्चियन परिवार केरलकी थिइन् भने बाबु हिन्दू बङ्गाली थिए । यिनको क्रिश्चियन नाम सुजाना अरुन्धति राय थियो भने पछि गएर उनले यो नाम त्यागिदिइन् । अरुन्धतीकी आमा एक सामाजिक अभियन्ता थिइन् । अरुन्धती २ वर्षको हुँदा यिनको आमा बाबु अलग भएका थिए । त्यसपछि अरुन्धती केरलमा आएर त्यहीँ आफ्नो बाल्यकाल बिताइन् । केरलमा उनले ‘कार्पस क्रिस्टी’ स्कूलबाट विद्यालय शिक्षा पूरा गरेर दिल्लीबाट आर्किटेक्टको पढाइ पूरा गरिन् । अरुन्धती रायले १६ वर्षको उमेरमा आफ्नो घर छोडेकी थिइन् । उनले खाली बोटल बेचेर आफ्नो विद्यालयको खर्च उठाएकी थिइन् ।
अरुन्धती रायका अङ्ग्रेजी भाषाका कृतिहरू प्रसिद्ध भएका छन् । उनका लेखन तथा सामाजिक कार्यको लागि कतिपय ठुला पुरस्कारहरू पनि जितेकी छन् ।
करियरको सुरुआती दिनमा अरुन्धतीले अभिनय पनि गरिन् । ‘मैसी साहव’ नामक फिल्ममा उनलाई आदिवासी युवतीको भूमिका दिइएको थियो । यो फिल्मले विभिन्न पुरस्कारहरू पनि प्राप्त ग¥यो । अरुन्धतीले कयौँ फिल्मको लागि पटकथा पनि लेखिन् । अरुन्धतीको लेखनमा परिवार, माता–पिताको सम्बन्ध विच्छेदको गहिरो असर देख्न सकिन्छ । उनको पुस्तकमा उनको बाल्यकालका घटनाको पनि उल्लेख गरिएको पाइन्छ । टेलिभिजन सिरियल ‘द बनियान ट्रि’ तथा डकुमेन्ट्री ‘डयाम÷एज’ अ फिल्म विथ अरुन्धती राय सन् २००२ मा प्रसारित भएका थिए ।
‘द गड अफ स्मल थिङ्गस’ कृतिको लागि बुकर पुरस्कार प्राप्त अरुन्धती राय लेखनका अलावा ‘नर्मदा बचाओ’ आन्दोलनसमेत भारतका अन्य आन्दोलनमा पनि सरिक छन् । ‘न्यायका गणित’, ‘द डक्टर एन्ड द सेन्ट’ जस्ता पुस्तक चर्चित छन् । ‘गड अफ स्मल थिङ्गस’ को लागि उनले बुकर पुरस्कार प्राप्त गरेकी थिइन् । ‘द मिनिस्ट्रिी अफ अटमोस्ट हयापिनेस’ आदिवासी समुदाय, विश्वको मानव संस्कृति, विविधता र उनीहरूको अस्तित्वका चुनौतीको विषयमा लेखिएको थियो । यो पुस्तकको रोयल्टी आदिवासी अधिकारमा कार्यरत संस्थालाई हस्तान्तरण गर्ने निर्णय गरिएको थियो ।
अरुन्धतीले समसामयिक राजनीति र संस्कृतिको विषयमा सयौँ निबन्धहरू लेखेकी छिन् । उनको कृति ‘आजादी’ को फ्रेन्च अनुवादले ४५ औँ युरोपियन निबन्धअन्तर्गत लाइफटाइम अचिभमेन्ट पुरस्कार पाएको थियो ।
अरुन्धती रायको आवाज
अमेरिकी साम्राज्यवाददेखि लिएर परमाणु हतियारको होड, नर्मदा बाँध निर्माणलगायतका स्थानीय अन्तर्राष्ट्रिय मुद्दाको विरुद्ध आवाज बुलन्द गर्दै आइरहेकी छिन् । अब उनले प्रस्तुत गरेको विचारमा भारतमा हिंसारहित तथा नागरिक अवज्ञा आन्दोलनले केही पनि काम बनिरहेको छैन । अरुन्धती स्वीकार गर्छिन् कि उनी गान्धीको अन्धभक्त होइनन् । उनकै अनुसार आखिर गान्धी एक सुपरस्टार थिए । जब उनी भोक हडताल गर्थे तब उनी भोक हडतालमा बसेका सुपरस्टार थिए । तर म सुपरस्टार राजनीतिमा विश्वास गर्दिन । यदि कोही झोपडीको जनता भोक हडताल गर्छन् भने कसैले पनि उसको पर्वाह गर्दैनन् ।
अरुन्धतीलाई लाग्छ कि बजारवादको प्रवाहमा हिँडिरहेको भारतमा विरोधका स्वरहरूलाई अनसुना गरिराखिएको छ । उनी भन्छिन्, “म बुझ्छु कि हाम्रो लागि यो विचार गर्नु महत्वपूर्ण छ कि हामी कहाँ सही छौँ र कहाँ गलत ।” न्यायपालिकाको अवहेलना गरेको आरोपमा छोटो अवधिको कैद पनि काटिसकेकी अरुन्धती रायको स्पष्ट भनाइ छ । उनी हतियार उठाउने व्यक्तिको निन्दा गर्दैनन् । उनले ‘रोयटर्स’ लाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, “प्रत्येकले विरोधस्वरुप हतियार नै उठाउनुपर्छ भनेर म भन्दिन, किनकि म आफैं हतियार उठाउन तयार छैन । तर, साथसाथै म ती व्यक्तिहरूको निन्दा पनि गर्दिन जसले प्रभावित भएको कारण दोस्रो तरिका अपनाइरहेका छन् ।”
आफ्नो विचारलाई लिएर ‘गार्डियन’ लाई दिएको अन्तर्वार्तामा अझ प्रस्ट गरेकी छिन् । “मेरो लागि कसैलाई हिंसालाई लिएर उपदेश दिनु अनैतिक हुनसक्छ । जब म घिनलाग्दो हिंसाबाट सुरक्षित छु । म निश्चय पनि इराकी, कश्मिरी या प्यालेस्टिनीलाई यो भन्न सक्दिन कि उनीहरूले सामूहिक भोक हडताल गरे भने उनीहरूमाथिको सैन्य कब्जाबाट मुक्ति मिल्नेछ भनेर । मैले यस्ता खालका नागरिक अवज्ञा आन्दोलन सफल भइरहेको देखिरहेको छैन ।”
आदिवासी जनजाती, प्राकृतिक स्रोत, तथा विभिन्न सीमान्तीकृत समुदायको मुद्दामा आफ्नो उनीहरूप्रतिको समर्थन र आवाज लेखनमार्फत गर्दै आएकी लेखक अरुन्धती रायको आगामी विचार र पुस्तक पढ्न पाइयोस् । आफ्नो विचार प्रवाह गरेकै आधारमा उनले लोकतान्त्रिक मानिएको देशमा कुनै समस्याहरू झेल्न नपरोस् । यही अपेक्षा छ ।

स्रोत : विभिन्न अनलाइन पत्रिकाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *