अमेरिकाको मौनता कपट र दोहोरो मापदण्ड
- आश्विन २६, २०८१
हालैका महिनाहरूमा नाटोका युरोपेली सदस्यहरूजस्तै बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन र नेदरल्यान्डहरूद्वारा एसिया–प्रशान्त क्षेत्रमा बढ्दो गतिविधिका सङ्केतहरू देखिएका छन् । संयुक्त सैन्य अभ्यासहरू सञ्चालन गर्ने, दक्षिण चीन सागरमा सैन्य जहाजहरू पठाउने र डुङ्गा चलाउने, ताइवान जलडमरूमा उत्तेजना बढाउने क्रियाकलाप गरिरहेका छन् । यसले द्वन्द्व र युद्धले क्षतिग्रस्त विश्वका अन्य भागहरूको तुलनामा अपेक्षाकृत शान्तिपूर्ण रहेको यस क्षेत्रमा तनाव बढाएको छ ।
युक्रेन सङ्कट बढ्दै जाँदा युरोपले आफूलाई संरा अमेरिकाको सुरक्षा ग्यारेन्टीमा बढी निर्भर भएको पाएको छ । चीनलाई आफ्नो सबैभन्दा गम्भीर प्रतिद्वन्द्वीका रूपमा हेर्दै संरा अमेरिकाले आफ्ना सहयोगीहरूलाई एसिया–प्रशान्त क्षेत्रमा आफ्नो भूराजनीतिक चालबाजीमा सामेल हुन दबाब दिइरहेको छ । युरोपमा अमेरिकी दबाब प्रकट र बढ्दो छ ।
वास्तवमा, अमेरिकाको विश्वसनीयतामाथि प्रश्न उठेको बेला युरोपको लागि त्यो लाइन पछ्याउन खतरनाक छ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले युक्रेनको द्वन्द्व एकैदिनमा अन्त्य गर्न सक्ने बताएका छन् । परिस्थितिसँग परिचित व्यक्तिहरूले यसको अर्थ के हो भन्न सक्छन्, ‘अमेरिका प्रथम नीति’ ।
अमेरिकी विदेश नीतिको मूल भनेको अमेरिकालाई युरोप होइन, फेरि महान् बनाउनु हो । यदि डेमोक्र्याटहरू सत्तामा रहे भने, शान्ति मृगतृष्णा बन्ने छ र युरोपको लागि नयाँ सुरक्षा संरचना निर्माण गर्न गम्भीर प्रयास नगरी युरोपमा रगत बगिरहनेछ ।
युरोपेली देशहरूले आफ्नो ट्रान्सएट्लान्टिक सहयोगी (संरा अमेरिका) लाई खुसी पार्न ‘ताइवान कार्ड’ खेल्नु अझ ठूलो गल्ती हुनेछ । यो सबैलाई स्पष्ट छ कि ताइवान प्रश्न चीनको मुख्य हितको केन्द्रबिन्दु हो र एक चीन सिद्धान्त चीन र युरोपेली देशहरूबिचको कूटनीतिक सम्बन्धको राजनीतिक आधार हो । ७८० अर्ब डलरभन्दा बढीको व्यापार र २५० अर्ब डलरभन्दा बढीको दुईतर्फी लगानी भएकाले युरोपले चीनलाई आफ्नो शत्रु बनाउन चाहँदैन । ‘ताइवान स्वतन्त्रता’ यस जलडमरूमा शान्ति र स्थिरताको लागि सबैभन्दा ठुलो खतरा हो । सबैभन्दा परिणाममुखी क्षेत्रमा विपत्तिबाट बच्न युरोपले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ, यस विषयमा हस्तक्षेप गर्नबाट टाढै रहनुपर्छ र ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्नुपर्छ ।
युरोपेली देशहरूका हालैका चालहरू तिनीहरूको ‘इन्डो–प्यासिफिक रणनीतिहरू’ को उल्लिखित उद्देश्यहरू विपरीत छन् । उनीहरू यस क्षेत्रमा शान्ति र समृद्धिका लागि प्रतिबद्ध रहेको तर सैन्य जहाज पठाइएको बताउँछन् । तिनीहरू भन्छन् कि उनीहरूले नेभिगेसन (जहाज आवतजावत) को स्वतन्त्रतालाई समर्थन गरिरहेका छन्, तर यो क्षेत्र संसारकै सबैभन्दा सुरक्षित र स्वतन्त्र समुद्री क्षेत्र रहेको छ जहाजहरूको स्वतन्त्र आवागमन दक्षिण चीन सागरमा कहिल्यै मुद्दा बनेको छैन ।
यसबाहेक, नाटो एसिया–प्रशान्तद्वारा स्वागत गरिएको अतिथि होइन । शीतयुद्धको उपजको रूपमा नाटो विश्व शान्तिमा सकारात्मक योगदान दिनुको सट्टा खेमा भिडन्तको दर्शनमा अडिग छ । संयुक्त राष्ट्र सङ्घका लागि सिङ्गापुरका पूर्वराजदूत किशोर महबुबानी नाटोको खतराबारे स्पष्ट थिए । उनले शीतयुद्धको अन्त्य भएदेखि नै नाटोले धेरै देशहरूमा ठुलो मात्रामा बम खसालेको र धेरै बमबारी मिसनहरू अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध रहेको बताए । अब नाटो आफ्नो भौगोलिक सिमानाबाहिर एक शान्त र समृद्ध क्षेत्र एसिया–प्रशान्ततर्फ बढिरहेको छ । यस क्षेत्रका देशहरूले लामो समयदेखि मतभिन्नताहरू सम्बोधन गर्न आफ्नै तरिका विकसित गरेका छन् र बाहिरबाट हस्तक्षेपको आवश्यकता छैन । शान्ति र स्थायित्व कायम गर्न ठुलो प्रयास गरिसकेपछि क्षेत्रीय देशहरू नाटोले अराजकता र द्वन्द्व ल्याओस् भन्ने चाहँदैनन्, जुन नाटोले सामान्यतया गर्छ ।
एसिया–प्रशान्ततर्फ आफ्नो कदम जायज ठहराउन नाटोले ‘चीन खतरा’ को सिद्धान्त प्रयोग गर्दछ । चीनलाई खतराको रूपमा प्रस्तुत गर्नु वास्तविकताको विरुद्धमा छ । यो स्वयम् नाटो, विशेषगरी युरोपेली सदस्यहरूका लागि पनि प्रतिकूल छ ।
चीनले युक्रेन र मध्यपूर्वमा शान्ति प्रवद्र्धन गर्न रचनात्मक भूमिका खेलेको छ । यदि युरोपले चीनसँग रचनात्मक सम्बन्ध चाहन्छ भने उसले चीनको योगदानलाई मान्यता दिनुपर्छ र उसले देशलाई व्यवहार गर्ने तरिका परिवर्तन गर्नुपर्छ । युरोपले रुसलाई प्रमुख ऊर्जा आपूर्तिकर्ताको रूपमा गुमाइसकेको छ र चीनलाई प्रमुख बजार र सहकार साझेदारको रूपमा गुमाउनु वाञ्छनीय परिदृश्य होइन ।
शान्तिपूर्ण र स्थिर एसिया–प्रशान्त सबैको हितमा छ । नाटोका युरोपेली सदस्यहरूले गठबन्धनको दिशामा पुनर्विचार गर्नु महङ्खवपूर्ण छ । अब इतिहासको विकासक्रमको लागि महत्वपूर्ण क्षण हो । आज हामीले देखेको अस्थिर संसारले थप गल्तीहरू गर्न मिल्दैन ।
(लेखक अन्तर्राष्ट्रिय मामिलाका पर्यवेक्षक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइन
अनुवाद : प्रकाश
Leave a Reply