भर्खरै :

प्रतिक्रियावादी र प्रगतिशील साहित्य

प्रतिक्रियावादी र प्रगतिशील साहित्य

साहित्य दुई किसिमका हुन्छन् – प्रतिक्रियावादी र प्रगतिशील । शोषणको व्यवस्था र शोषकहरूको पक्षमा लेखिएको साहित्यलाई प्रतिक्रियावादी साहित्य भनिन्छ । त्यस साहित्यले अन्याय, अत्याचार, शोषण, आक्रमण र लुटपाटको समर्थन गर्दछ; विदेशी आक्रमण र साम्राज्यवादी युद्धको समर्थन गर्दछ, सामन्तवाद, साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवादको समर्थन गर्दछ । बलियो र ठुलो देशले निर्बलियो र सानो देशमाथि गरेको थिचोमिचो, हस्तक्षेप र दबाबको समर्थन गर्दछ । राजा–महाराजा, पुँजीपति, जमिनदार, मन्त्री र काजीहरूको तारिफ गर्दछ । आक्रमणकारी र थिचोमिचो गर्नेहरूको वैगुण र बेइमानीलाई लुकाउँछ । गरिब जनतामाथि अन्याय, अत्याचार र दमन गर्नेहरूलाई ‘देशभक्त’, ‘युग पुरुष’, ‘उद्धारक’ आदि राम्रा र मीठा कुराहरू जोडेर गुण गाउँछ । कुरूप, फोहर र गह्नाउने वस्तुलाई झिलीमिली पारेर प्रस्तुत गर्छ । यस्ता साहित्यलाई प्रतिक्रियावादी साहित्य भनिन्छ । यसको ठीक उल्टो जनताको साहित्य हुन्छ । जनताको साहित्य प्रगतिशील हुन्छ । प्रगतिशील साहित्यले जनतालाई मद्दत पु¥याउँछ । जनता र क्रान्तिको पक्ष लिन्छ ।
अचेल यथार्थ साहित्यको नाउँमा भाँडभैलो मचाईँदै छ । प्रतिक्रियावादीहरू समाजको साँचो कुरो प्रस्ट्याउने भनेर अल्लारे तरुण र तरुणीहरूको गन्थनलाई बयान गर्छन् । प्रेमका फोहोर फोहोर कुरा लेख्छन् । उत्तेजनात्मक दृश्यहरू बयान गरेर पढ्ने जनताको मनलाई बिगारी दिन्छन् । यस्ता साहित्यलाई वासनाप्रधान वा यौनवादी साहित्य भनिन्छ । हामी त्यसलाई फोहोर साहित्य भन्दछौँ । बजारमा अहिले यस्तै अनेक किसिमका जासुसी किताबहरू जङ्गलमा विषालु झारपात उम्रेजस्तै उम्रेका छन् । यस्ता साहित्यमा शोषक र सामन्तले गरिब जनतालाई गरेको दमन, हत्या, अन्याय, अत्याचार र लुटपाटका कुराहरू लेखिँदैनन्, बरु सानो एक घटनालाई अल्झाएर किताबलाई टुङ्ग्याइदिन्छन् । बेकार बेकारका हत्या र जीउका रौँ ठाडठाडा पार्ने कुराहरू लेखेर जनताको समय नष्ट गराउँछन् । यस्तो प्रतिक्रियावादी साहित्यले जनताको मनलाई वर्गसङ्घर्षबाट हटाएर क्षणिक आनन्द र तातो न छारोको कुरातिर लगाइदिन्छन् । यस्ता साहित्य पढ्नु पनि एक अमल हो, यो खराब अमल हो । प्रतिक्रियावादी साहित्य एक अफिम हो । जसले कामदार जनतालाई वर्गसङ्घर्षका भावनाबाट मनलाई नराम्रो कुरोतिर मोडिदिन्छ ।
समाजमा अनेक प्रकारको दुःखकष्ट र सङ्घर्ष हुन्छ । केही भावुक युवक र युवतीहरू दुःख कष्टबाट चाँडै आत्तिएर आत्महत्यासमेत गर्छन् । तिनीहरू समाज व्यवस्थाको विषयमा सोच्दैनन् । भविष्यको उज्यालोतिर तिनीहरूको विचार पुग्दैन । तिनीहरू आफ्नो दुःख–कष्टमात्रै बुझ्दछन् । समाजदेखि दिक्क र निराशा हुन्छन् । अनि तिनीहरूको आँखामा संसार र समाजको कुनै अर्थ हुँदैन । तिनीहरू समाज यस्तै हो भनेर सुस्केरा हाल्छन्; भाग्यलाई दोष दिन्छन्, आफ्ना कथा, कविता र गीतहरूमा व्यथा, वेदना र सुस्केराहरूमात्रै पोख्छन्; भविष्य अन्धकार देख्छन्; समाजलाई बदल्ने र सङ्घर्ष गर्ने कुरोबाट कोसौँ टाढा भाग्छन् । यस्तो साहित्यलाई निराशावादी या भगुवा साहित्य भनिन्छ । यस्तो विचार धेरैजसो मध्यम वर्गीय लेखक र कविमा पाइन्छ । यस्तो साहित्यले जनताको सङ्घर्ष गर्ने भावनालाई तल झार्दछ । यसले शोषक वर्गलाई फाइदा गर्छ । यसकारण, यो पनि प्रतिक्रियावादी साहित्य हो ।
एक थरी मानिसहरू मोजमज्जा र आकाश पातालका कुराहरू लेख्ने गर्छन् । तिनीहरूमा ‘आफैँ खाउँ आफै लाउँ’ भन्ने भावना हुन्छ । यो भावना स्वार्थी भावना हो । तिनीहरूको निम्ति ‘आफू’ सबभन्दा ठूलो हुन्छ । तिनीहरूलाई समाजमा भएका अन्याय, अत्याचार, सङ्घर्ष र सङ्गठनसँग केही मतलब हुँदैन । तिनीहरू आफ्नो दुःख–सुखलाई जनताको दुःख सुखभन्दा माथि सम्झन्छन् । तिनीहरूको आँखामा जनता मूर्ख छन् र तिनीहरू सबभन्दा जान्ने–सुन्ने हुन् । तिनीहरूले आफ्नो साहित्यमा व्यक्तिलाई सर्वोपरि राख्छन् । यस्ता मपाईँ मार्काको स्वार्थी भावनालाई उचाल्ने साहित्यलाई व्यक्तिवादी साहित्य भनिन्छ । यसप्रकार यौनवादी, निराशावादी र व्यक्तिवादी साहित्य प्रतिक्रियावादी साहित्यकै हाँगाबिँगा हुन् । यस्ता साहित्यले समाजको प्रगतिमा तगारो हाल्दछ । जनताको सङ्घर्षको भावनालाई मैलाउँछ । यसकारण, गरिब र कामदार जनता विवेकशील र बुद्धिजीवीवर्ग यस्तो प्रतिक्रियावादी साहित्यलाई निन्दा गर्छन् ।
किसान, मजदुर र देशका सम्पूर्ण कामदार जनता समाजलाई अगाडि बढाउन चाहन्छन् । तिनीहरू देशको मक्किएको पुरानो सामन्ती शोषणलाई खत्तम गर्न चाहन्छन्, अन्याय, अत्याचार र शोषण, आक्रमण, दमन, थिचोमिचो र दबाबलाई मन पराउँदैनन्, देश र जनताको प्रगति चाहन्छन् । यसकारण, कामदार जनताको पक्षमा लेखिएको र आक्रमण, थिचोमिचो र हस्तक्षेपको विरोधमा लेखिएको साहित्यलाई प्रगतिशील साहित्य भनिन्छ । प्रगतिशील साहित्यले जनताको सेवा गर्छ । जनता भन्नाले देशका बहुसङ्ख्यक जनता किसान–मजदुर र कामदार जनता हुन् ।

साभार : जनताको साहित्य र साहित्यकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *