भर्खरै :

क्यान्सर अस्पताल विकास समितिमा रूपान्तरण : कर्मचारीमा आशङ्का जारी

क्यान्सर अस्पताल विकास समितिमा रूपान्तरण : कर्मचारीमा आशङ्का जारी

काठमाडौँ, ८ असोज । भक्तपुर क्यान्सर अस्पताल अब विकास समितिमा रूपान्तरण भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षतामा असोज ३ गते बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
केही वर्ष अघिसम्म नेपाल अर्बुद रोग निवारण संस्थाले (एनसीआरएस) एकलौटी सञ्चालन गर्दै आएको क्यान्सर अस्पताल २०७७ साल कार्तिक २३ गते वर्तमान प्रधानमन्त्री केपी ओलीकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गठन आदेश जारी गरी नेपाल सरकारको स्वामित्वमा लिएको थियो । गठन आदेशबाट अस्पतालका सम्पूर्ण भौतिक सम्पत्ति राज्यको स्वामित्वमा गए पनि दशकौँदेखि अस्पतालमा कार्यरत चिकित्सक कर्मचारीहरू सबै करारमा रहने कानुनी प्रावधानले लामो समयदेखि स्थायी भएर कार्य गर्दै आएका कर्मचारीहरूको मनोबल घट्न गएको र वृत्ति विकास नै रोकिन गएको थियो ।
गठन आदेश सार्वजनिक भएको लगत्तै नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा तत्कालीन अस्पताल निर्देशक ऋषिकेश नारायण श्रेष्ठ, प्रशासन प्रमुख राजाराम तजलेलगायत प्रतिनिधिमण्डल स्वास्थ्य मन्त्रालयमा गएर स्वास्थ्य सचिव, नीति तथा योजना तर्जुमा शाखा प्रमुख डा. गुणराज लोहनीको ध्यानाकर्षण गर्नुभएको थियो । डा. लोहनीले प्रतिनिधिमण्डललाई ‘अस्पताल सरकारीकरण हुनु ठूलो कुरा हो, कर्मचारीलाई केही अप्ठेरो परेकोमा ध्यानाकर्षण भएको छ, यसको शीघ्र प्रक्रिया अगाडि बढाई समाधान दिने’ वचन दिनुभएको थियो । कर्मचारीहरूको वृत्ति विकासमा अवरोध भएपछि त्यसलाई सल्टाउन भनपा र कर्मचारी प्रतिनिधिहरूको संयुक्त प्रयास निरन्तर जारी थियो ।
२०८१ साल भदौ १२ गते भक्तपुर क्यान्सर अस्पतालको रेडियो थेरापी, मोडुलर ओ.टी. र अति आधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गर्दै भन्नुभएको थियो, “गठन आदेशपछि यहाँका कर्मचारीहरू पीडामा छन् । कर्मचारीहरूको मनोबल बढाउन यहाँका कर्मचारीहरूको स्थायित्वको बारे ध्यान दिनुहोस् । फाइल मन्त्रीको टेबुलमा पुगेको चर्चा छ । यसलाई अगाडि बढाइदिनुहोस् ।” मन्त्री पौडेलले छिट्टै नै त्यसबारे पहल गर्ने बताउनुभएको थियो ।
सार्वजनिक र राज्यको जग्गामा निर्मित क्यान्सर अस्पताल नेपाल अर्बुद निवारण संस्था (एनसीआरएस) ले सञ्चालनको क्रममा आर्थिक अनियमितता, अपारदर्शिताका विषय धेरै चर्चामा आएपछि भक्तपुर नगरपालिकाले त्यसको अनुगमनलाई अगाडि बढाएको थियो तर तत्कालीन पदाधिकारीहरू कोही पनि नगरपालिकाको सम्पर्कमा आउन चाहेनन् । त्यसपछि भक्तपुर नगरपालिकाको मिति २०७६।४।३० मा बसेको कार्यपालिका बैठकले तत्कालीन व्यवस्थापन समिति भङ्ग गरी नगर प्रमुखको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन ग¥यो र अस्पताल नयाँ व्यवस्थापन मातहतमा सञ्चालन भयो । कर्मचारी र जनता खुसी भए ।
तत्कालीन व्यवस्थापन समितिका पदाधिकारी सर्वोच्च अदालत पुगे र अदालतले नगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरेपश्चात् नगरपालिकाले प्रत्यक्ष काम गर्न पाएन । स्थानीय जनताले भ्रष्टहरूलाई अस्पताल छिर्न नदिने भन्दै तत्कालीन पदाधिकारीहरूविरुद्ध धर्ना, नाराबाजीहरू गरे । मुठभेडको स्थितिसम्म सिर्जना भयो । लामो समयसम्म अस्पतालको भविष्य अन्यौल अवस्थामा रह्यो । नगरपालिकाकै मातहतमा ल्याउन निकै प्रयासहरू भए । नपाको मातहतमा नभए प्रदेश वा सङ्घको स्वामित्वमा राख्नुपर्नेमा नगरपालिकाले निरन्तर पहल जारी राख्यो । २०७७ साल कार्तिक २३ गते गठन आदेश जारी भई अरबौँको सम्पत्ति राज्यको स्वामित्वमा गयो । यसलाई भक्तपुरवासीहरूको भ्रष्टाचारविरोधी आन्दोलनको सफलताको रूपमा लिन सकिन्छ ।
भक्तपुर क्यान्सर अस्पताल निर्माणका लागि २०५८ सालमा भक्तपुर नगरपालिकाबाट ५—४—० जग्गा र रकम प्रदान गरेको थियो । त्यतिबेला नगरपालिका, जिविस, मन्त्रालयका प्रतिनिधिहरू व्यवस्थापन समितिमा रहने व्यवस्था थियो । २०५९ सालमा देशभरका स्थानीय तहहरूमा जनप्रतिनिधिविहीनतासँगै एक एक गरी जनप्रतिनिधिहरूलाई हटाई नेपाल अर्बुद रोग निवारण संस्थाले उक्त अस्पताल कब्जा गरेको थियो ।
सिटी स्क्यान, औषधि पसल, एक्स रे लगायतमा भ्रष्टाचार भएको, सामान खरिदमा आर्थिक अनियमितता आएको जनताको गुनासोपछि नगरपालिकाले हात हालेको थियो । प्रक्रियागत रूपमा जाँदा कार्यरत ३०० भन्दा बढी कर्मचारीहरूको वृत्ति विकासमा अवरोध हुन पुगेको र त्यसलाई सल्टाउन अस्पताल प्रशासन र सबै पक्षबाट पहल भयो र अहिले अस्पताल पूर्णरूपमा सरकारीकरण भएको छ । यो सब कामको सफलता स्थानीय सरकार, स्थानीय जनता र त्यहाँ कार्यरत कर्मचारीहरूको संयुक्त प्रयासबाट मात्रै सम्भव भएको हो ।
छिट्टै कर्मचारी विनियमावली ल्याई अस्पताल कर्मचारीहरूको वृत्ति विकासको निम्ति काम हुने आशा छ । अब क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीहरूले उच्च मनोबलका साथ क्यान्सर बिरामीहरूको रोगको उपचार गर्न सकोस् । यही स्थानीय जनताको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *