भर्खरै :

एक हप्तामै चीनविरोधी २५ कानुन

एक हप्तामै चीनविरोधी २५ कानुन

यो सेप्टेम्बरमा संरा अमेरिकाको प्रतिनिधिसभाले एक हप्ताभित्रै २५ वटा चीनविरोधी विधेयकहरू पारित गरेको छ । यसबाट वासिङ्टनको नयाँ शीतयुद्ध अचानक चर्केको बोध हुन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीविरोधी युद्धपिपासु संसदीय विशेष समितिले यो हप्तालाई सगर्व ‘चीन सप्ताह’ भन्यो । धाक लगाउँदै उसले संसद्मा यी विधेयक ‘अत्यधिक सहमति’ ले पारित भएको बतायो ।
एनबीसी समाचारले बतायो, “(चीनलाई) मुख्य भूराजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिरहेको बेला दुवै रिपब्लिकन र डेमोक्र्याटहरू एकमत देखिएका थोरै मुद्दामध्येमा पर्छन् पछिल्ला विधेयकहरू ।”
संरा अमेरिकामा अहिले दोस्रो शीतयुद्ध चरमचुलीमा पुगेको छ । सीआईए निर्देशक विलियम बन्र्सले चीनलाई ‘सबैभन्दा दीर्घकालीन खतरा’ भनेका छन् । पछिल्ला दुई अमेरिकी विदेशमन्त्री डेमोक्र्याट पार्टीका एन्टोनी ब्लिङ्केन र रिपब्लिकन पार्टीका माइक पोम्पेओले चीनलाई दानवको रूपमा चित्रण गर्नमै केन्द्रित भएर भाषण दिए ।
सन् २०२३ को फिनान्सियल टाइम्समा प्रकाशित एक लेखमा मध्यमार्गी बेलायती स्तम्भकार गिडिअन राखमेनले सम्झे, “गत हप्ता वासिङ्टन भ्रमण गर्दा संरा अमेरिका र चीनबिचको युद्धबारे कुरा गर्नु कति सामान्य बनेछ भन्ने देखेर छक्कै परेँ ।” राखमेन थप लेख्छन्, “धेरै प्रभावशाली व्यक्तित्वले अमेरिका–चीन युद्ध सम्भव मात्र होइन, सम्भाव्य नै मानेको देखिन्छ । अमेरिकी अधिकारीहरू शीतयुद्धलाई चेतावनी मात्र मानिरहेका छैनन्, बरु सम्भावित मार्गचित्र नै मान्दै छन् ।”
सेप्टेम्बरको ‘चीन सप्ताह’ मा पारित भएका धेरै विधेयकमध्ये एउटा हो ‘जनगणतन्त्र चीनको घातक प्रभाव प्रतिरोधार्थ कोष अनुमोदन ऐन’ । यसले विश्वभरि चीनविरोधी प्रचारप्रसार गर्ने सङ्घसंस्थाहरूलाई रकम बाँड्न अमेरिकी विदेश मन्त्रालय र यूएसएडलाई पाँच वर्षका लागि १ अर्ब ६३ करोड डलर दिनेछ । (सन् २०२३ देखि प्रतिवर्ष साढे ३२ करोड डलरको दरले सन् २०२७ सम्म यो रकम बाँडिनेछ ।)
वैदेशिक हस्तक्षेपविरोधी थिङ्क ट्याङ्क संस्था उत्तरदायी शासनकलाका लागि क्विन्सी संस्थानले निकालेको हिसाबअनुसार चीनविरोधी प्रचारबाजीका लागि छुट्याइने यो विशाल धनराशि सीएनएनजस्ता संस्थाको वार्षिक बजेटभन्दा झन्डै दोब्बर हुनेछ ।
‘चीन सप्ताह’ मा पारित भएका अन्य विधेयक हेर्दा हङकङ आर्थिक तथा व्यापारिक कार्यालयमाथि खतरा आउनेछन्; ताइवानको विषयलाई लिएर चिनियाँ अधिकारी तथा तिनका जहान परिवारमाथि निसाना साँधिनेछ† प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव बलियो बनाइनेछ; जापान र दक्षिण कोरियासँगको सम्बन्ध प्रगाढ बनाइनेछ; थप चिनियाँ कम्पनीहरूलाई कालो सूचीमा राखिनेछ । कतिपय विधेयक चिनियाँ मुद्रा रेन्मिन्बीलाई कमजोर पार्न लक्षित छन् ।
अधिकांश विधेयकले चिनियाँ मात्र नभई रुसी, इरानी, प्रजग कोरियाली, क्युवाली र भेनेजुयली निकायहरूमाथि थप एकतर्फी आर्थिक प्रतिबन्ध थोपर्न अमेरिकालाई बाटो प्रशस्त गर्नेछन् । (अमेरिकाले अहिलेसम्म विश्वका एकतिहाइ देशमाथि आर्थिक प्रतिबन्ध लगाइसकेको छ । यीमध्ये ६० प्रतिशत देश गरिब छन् ।)
तथाकथित ‘अमेरिकामा विद्युतीय गाडीमा चिनियाँ वर्चस्व अन्त्य गर ऐन’ ले चिनियाँ विद्युतीय गाडीहरूलाई सम्भावित खतरा मानेको छ । यसले ती गाडीको आयातमाथि प्रतिबन्ध लगाउँछ । सो विधेयकले भन्न छुटाएको एउटा तथ्य ‘न्युयोर्क टाइम्स’ मा छापिएको थियो । ‘न्युयोर्क टाइम्स’ ले समाचारअनुसार, ‘अमेरिकामा चीनले थोरै मात्र विद्युतीय कार बेचेको छ ।’ सन् २०२४ अप्रिलको एउटा प्रतिवेदनअनुसार संरा अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार आयोगले सन् २०१८ देखि २०२३ सम्म अमेरिकाले आयात गरेका विद्युतीय गाडीमध्ये २ प्रतिशतमात्र चिनियाँ थिए । यति हुँदाहुँदै पनि एक महिनापछि अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ विद्युतीय गाडीमा शत प्रतिशत कर लगाएको घोषणा गरे ।
‘चीन सप्ताह’ मै पारित भएका केही विधेयकले चिनियाँ ड्रोन, ब्याट्री, बायोटेक्नोलजी, राउटर र मोडेम तथा टेलिसञ्चारका पूर्वाधार तथा मिडिया गृहलाई तारो बनाएका छन् ।
पारित भएको एक विधेयकले चीनसँग वैज्ञानिक सहकार्य बन्द गर्नेछ; चीन, रुस, इरान र प्रजग कोरिया पुख्र्यौली थलो भएका व्यक्तिहरूलाई अमेरिकी खेतको बेचबिखन गर्न रोक लगाउनेछ ।
संसद्ले पारित गरेको एउटा विधेयकअनुसार कन्फ्युसियस संस्थानलाई स्वागत गर्ने अमेरिकी विश्वविद्यालयलाई खर्च रोक्का गरिनेछ । यो संस्थानले विदेशी विद्यार्थीहरूलाई चिनियाँ भाषा र संस्कृति पढाउँदै आएको छ । तथ्य भने अर्कै छ । अमेरिकाको जवाफदेही सरकार कार्यालयको सन् २०२३ मा प्रकाशित रिपोर्ट भन्छ, “सन् २०१८ मा (अमेरिकी) संसद्ले सङ्घसंस्थाहरूसँग सरोकार राख्ने क्याम्पसहरूलाई सरकारी खर्च नदिने गरी प्रतिबन्ध लगाएको थियो; त्यसपछि सबैजसो सङ्घसंस्था लगभग बन्द भएका थिए ।”
‘चीन सप्ताह’ मा पारित भएका सबै विधेयकलाई अन्ततः सिनेटले अनुमोदन गर्नुपर्नेछ र अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेपछि यी विधेयक आधिकारिकरूपमा कानुन बन्नेछन् ।

– ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *