धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
गत २०८१ साउन २३ देखि ३१ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धिको नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गत सोमबार सार्वजनिक गरेको छ । उक्त परीक्षामा देशभरबाट कुल २,१०,३२१ जना विद्यार्थीहरू ग्रेड वृद्धिका लागि सामेल भएकोमा १,१९,४२५ जना अर्थात् ५६.७८ प्रतिशत विद्यार्थी सफल भएका छन् । यसभन्दा अगाडि २०८० साल चैत १७ गते सञ्चालन भएको एसईईको नियमित परीक्षामा उत्तीर्ण हुनेहरूभन्दा यसपालि झन्डै १० प्रतिशत बढीले विद्यार्थीहरू उत्तीर्ण भएका छन् । नियमित परीक्षाको नतिजा प्रकाशित भएको लगत्तै कुनै दुईवटा विषयमा मात्र नन ग्रेड प्राप्त गरेका विद्यार्थीहरूलाई ग्रेड वृद्धिमा सामेल गराउन सकिने मापदण्ड परीक्षा नियन्त्रण कार्यालयले बनाएको भए पनि सरकारले उक्त निर्णय उल्टाएर असफल भएका सबै विषयहरूमा ग्रेड वृद्धि गर्न पाउने कुरा सार्वजनिक गरिएकोले पनि २,१०,३२१ जना विद्यार्थीहरूलाई पुनः परीक्षामा सामेल हुन पाउने मौका जुरेको थियो । भविष्य कस्तो हुने र बनाउने भन्नेबारे सरोकारवाला र जिम्मेवार पक्ष कोही चिन्तित नहुँदा पनि विद्यार्थीहरू सफल भई प्रमाणपत्र प्राप्तिमा खुसी हुनु केही हदसम्म स्वाभाविक होला तर दिनप्रतिदिन शिक्षाको गुणस्तरमा ¥हास आउने कुरा पक्कै छ ।
विश्वविद्यालयदेखि बाल विकास केन्द्रसम्मका कक्षामा पढाइ लेखाइको स्तर उच्च हुन सकिरहेको छैन । विगतमा पढाइको स्तरमा नयाँपन नभए पनि पास गर्न सक्ने कुरामा मुस्किल हुन्थ्यो । तर, झन्डै १०/१५ वर्षयतादेखि कोभिड महामारी, निरन्तर मूल्याङ्कन प्रक्रिया र सरकारको बलियो र गतिलो निर्णय नभई फितलो र हचुवा तालमा गरिने निर्णयले केही ठाउँमा परीक्षाको नतिजामा आश्चर्य परिणाम निस्किन थालेको देखिन्छ । वर्षभरि पढेर फेल भएका विद्यार्थीहरू फेरि परीक्षामा सामेल गराउँदा केही सफल हुन सके पनि नियमितको भन्दा पुनः परीक्षा राम्रो नतिजा पक्कै आउँदैन । नतिजा राम्रो आउनु नराम्रो होइन राम्रै कुरा हो, आउनुपर्छ । तर, कुनै नयाँ व्यवस्थापनबिना नै राम्रो सफलता मिल्न सक्दैन ।
केही वर्षअगाडि दैलेखलगायत दुर्गम क्षेत्रमा शिक्षक, अभिभावकदेखि आफन्तजन र साथीसङ्गीहरूको सहयोगमा परीक्षाका बेला बाहिरबाट जाने चिटमात्र होइन कालोपाटीमा समेत लेख्ने र विद्यार्थीहरूले सार्ने प्रचलन पनि रह्यो केही समय । जहाँ फलानो विद्यालयले निश्चित सङ्ख्यामा पास गर्न सक्यो भन्ने कुराको प्रचारप्रसार हुन्थ्यो । केही समयपछि त्यो अत्याचार कम भए पनि अझै चिटकै भरमा पास गराउने र गर्ने कुराको अन्त्य हुनसकेको छैन । हालै प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा समग्रमा ५६.७८ प्रतिशत पास भए पनि केही ठाउँमा राम्रैसँग बिग्रेको होला । त्यसो हुनुमा पनि उत्तिकै कारण र कमजोरी होलान् भने पढाइ र विद्यार्थीको स्तर उस्तै उस्तै भए पनि नतिजा आस गरेको भन्दा फरक र आश्चर्यलाग्दो पनि छ ।
दैलेख जिल्लाको पूरै नतिजा विस्तृत बुझ्न समय लाग्ने भए पनि सोही जिल्लाको आठविस नगरपालिकामा अवस्थित १४ वटा माध्यमिक विद्यालयहरूमा सायद अहिलेसम्म कै राम्रो नतिजा आएको छ । नतिजाले विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला खुसी त भए तर कुनै नौलो भने भएको देखिँदैन । विवरणलाई मूल्याङ्कन गरौँ !
दीप मावि पिपलकोट, गणेश मावि रोल, जनज्योति मावि राकम र लक्ष्मी मावि सातलामा पुगनपुग राहत दरबन्दीहरूको व्यवस्था छ । तर, यीबाहेकका अन्य सबै विद्यालयमा शून्य दरबन्दी छ र जहाँ कुनै विद्यालयहरू कक्षा ११/१२ सम्म चलेका छन् । यसमा केन्द्रदेखि स्थानीय कुनै पनि सरकारले फर्केर हेरेको छैन न त सम्बन्धित निकायले नजिकको सम्बन्ध भएर पनि मुखसम्म देखाएको कुनै उदाहरण छैन ।
तर, यसपालिको परीक्षामा ४१६ जनामा ३५९ अर्थात् ८६.२९ प्रतिशत विद्यार्थी सफल भएको तथ्य प्राप्त भएको छ ।
आजभन्दा १३ वर्षअगाडि अर्थात् २०६८ साल असार १४ गते दैलेख जिल्लामा शिक्षासँग सरोकार राख्ने जिम्मेवार पक्षले शैक्षिक सुधारका साथै एसएलसी नतिजामा राम्रो वृद्धिका साथै शैक्षिक स्तर उकास्नका लागि १५ बुँदे प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए । त्यो कागजमा सीमित रह्यो र व्यवस्था र प्रशासनिक एकाइहरूसमेत परिवर्तन हुँदा पनि नदेखिएको नतिजा यसपालिको ग्रेडवृद्धि के त्यसैको परिणाम निस्केको हो र ? प्रतिबद्धता कागजमै र विद्यालयका भित्तामा नै सीमित छन् । (१५ बुँदे प्रतिबद्धता पत्र यसै साथ राखिएको छ) नीति नियमहरू, निर्णय, छलफल र प्रतिबद्धताहरू त तलदेखि माथि सबै प्रशासनिक एकाइमा बेला बेला हुने गरे पनि उक्त कुरा र पहलकदमीहरूको नतिजाले सार्थकता पाएका उदाहरणहरू कम छन् । जहाँ कार्यान्वयन पक्ष बलियो छैन र व्यवहारिकरूपमा अक्षरशः पालना हुन सकिरहेको छैन । तर, वास्तविक गहिराइमा नगई बाहिरीरूपमा मूल्याङ्कन गर्ने हो भने समय समयमा भएका यस्ताखाले निर्णय प्रतिबद्धता गर्दा दैलेख जिल्लामा शैक्षिक प्रगतिमा फड्का मारेको भन्ने अड्कल, अनुमान र व्याख्या भए पनि वास्तविकता त्यो हुने छैन । सङ्घीयता कार्यान्वयन अघि र अहिले कुनै तात्विक भिन्नता देखिँदैन । अहिले झनै विदेशको कमाइ प्रतिस्पर्धाका कारण विद्यार्थीहरू पढाइमा प्रेरित छैनन्, अभिभावक पनि जोहो गरेर आफ्ना केटाकेटीलाई विदेश पठाउनमै लालायित छन् भने स्वदेशमै रोजगार दिने र राम्रो शिक्षा दीक्षाको व्यवस्था गरी नागरिकहरूलाई विदेश जानबाट रोक्नुपर्छ भन्ने कुरामा स्थानीय र केन्द्र सरकारले कुनै नीति नबनाउँदा विद्यार्थीहरू आ–आफ्ना हिसाबले भौतारिरहेका छन्; सरकार टुलुटुलु हेरेर बसेको देखिन्छ । विविध कारणलगायत निम्न कारणले गर्दा दैलेखको आठबिस नपा माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धिमा सोचेभन्दा राम्रो नतिजा आउनुलाई जनमानसमा टीकाटिप्पणी भइरहेका छन् ।
परीक्षामा नतिजा राम्रो निस्कनुमा केही कारणहरू छन् :
१) सरकारी बेवास्ता र लापरबाही,
२) जिल्लामा नै कपी चेक हुनु र लापरबाही तवरले जाँच गरेको आशङ्का,
३) सामाजिक सञ्जाल र मोबाइलको माध्यमबाट उत्तरहरू लेख्न सफल भएको आशङ्का,
४) कक्षा ११ मा विद्यार्थीको अभाव हुने कारणले पास गराउने उद्देश्य र
५) अभिभावक र विद्यार्थीहरू स्तर उन्नतिभन्दा पनि प्रमाणपत्रको सौखिन बढी हुनु आदि ।
आगामी वर्षहरूमा विद्यार्थी, अभिभावक र सरकारी पक्ष जिम्मेवार र जवाफदेही भएर आ–आफ्ना अधिकार र कर्तव्य पूरा गर्ने विषयमा दिलोज्यानले काम गर्नैपर्छ । अन्यथा विकराल समस्या नआउला भन्न सकिन्न ।
Leave a Reply