भर्खरै :

प्राकृतिक विपत्तिको कहर र असंवेदनशील सरकार

प्राकृतिक विपत्तिको कहर र असंवेदनशील सरकार

शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा लगातार भारी वर्षा भयो । यसमा पनि वाग्मती प्रदेश आसपासका जिल्लामा धेरै पानी प¥यो । जल तथा मौसम विज्ञान विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रमा शनिबार २४ घण्टाको अवधिमा २४० मिलिमिटर वर्षाको रेकर्ड भयो । ललितपुरको चापागाउँ केन्द्रमा ३२३ मिलिमिटर र भक्तपुरमा १९५ मिलिमिटर वर्षा मापन भएको थियो । अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष छ । नेपाल यो वर्षात्मा जति कुनै पनि वर्ष वर्षा नभएको बुढापाकाले भनिरहेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा अति वर्षा र प्राकृतिक विपत्तिको रूपमा अगाडि आएको छ ।
भारी वर्षा र त्यसले निम्त्याएका कहरका समाचारहरूले हिजोआज हरेक सञ्चारमाध्यमका समाचार बुलेटिन भरिएका छन् । अनलाइन समाचार पोर्टलहरूका प्राकृतिक विपत्तिले पु¥याएका क्षतिका दर्जनौँ तस्बिरहरू पोस्ट भइरहेका छन् । यसरी दुई दिनसम्म परेको लगातारको वर्षाले काठमाडौँ उपत्यकाका अधिकांश तटीय क्षेत्र डुबानमा परे । देशभरका कम्तीमा ४०० घर आंशिकदेखि पूर्ण क्षति भएका छन् । उपत्यका जोड्ने नुवाकोटतर्फ बाहेक सबै सडक सञ्जाल बन्द भएका छन् । देशका अधिकांश राजमार्ग अवरूद्ध छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरूद्ध छ । कान्ति राजपथअन्तर्गत मकवानपुरको बगुवा र ललितपुरको माल्टा जोड्ने वाग्मती नदीको पक्की पुल पनि बाढीले बगाएको छ । दोलखा र रामेछापलाई तराईका जिल्लासँग जोड्ने ‘लाइफलाइन’ को रूपमा रहेको सिन्धुली खुर्कोटस्थित सुनकोसी नदी पुलको बायाँतर्फको स्पान पूर्णरूपमा क्षति भएको छ । यो लेख लेख्दासम्म देशभरमा विपत्तिमा परेर अकाल मृत्युवरण गरेकाको सङ्ख्या डेढसय नाघेको छ, दर्जनौं अझै बेपत्ता छन् । सयौँ जना घाइते भएका छन् र घाइतेहरूलाई अस्पताल पु¥याउने कार्य जारी छ ।
ठुलो जनधनको क्षतिको समाचारले मन भारी भइरहेको अवस्थामा यति धेरै मानवीय क्षति हुनुका कारणबारे पनि चर्चा गरिनैपर्छ । काठमाडौँ र धादिङको सिमानास्थल झ्याप्ले खोलामा शनिबार राति आएको पहिरोले गरेको क्षतिले देश स्तब्ध रहेको छ । पहिरोले गाडी पुरिएका थिए । उक्त पहिरो आएको स्थानभन्दा १ सय मिटर अगाडि सुरूमा पहिरो गएको थियो । सो पहिरोका कारण काठमाडौँतर्फ आउने गाडी झ्याप्ले खोलाको घटना हुने ठाउँमा रोकिन बाध्य भए । बाहिर अँध्यारो थियो, मुसलधारे पानी परिरहेको थियो । राति २ बजे आसपास सडकमाथिबाट पहिरो खस्दा बुटवल, चितवन र गोरखाबाट आएका ३ वटा यात्रुवाहक बस पुरिए । ती सवारी साधनबाट आइतबार दिउँसो ३५ शव निकालिएको छ । अझै अरू सवारीसाधन र शवको खोजी कार्य जारी छ ।
राजधानी नजिकको स्थानमा जुन गतिमा उद्धार कार्य हुनुपथ्र्यो त्यस्तो हुन सकेको देखिँदैन । त्यसप्रति ठुलो जनआक्रोश व्यक्त भएका छन् । दुर्घटनास्थलभन्दा झन्डै १ सय मिटर अगाडि काठमाडौँतर्फ सानो पहिरोले सडक अवरोध गरेको थियो । स्थानीयका अनुसार राति ९ बजेतिर गएको सो पहिरोले बाटो बन्द भएको थियो । तत्काल जेसीबी ल्याएर त्यो पहिरो पन्छाइ बाटो खुलाएको भए त्यति ठुलो दुर्घटना नहुने स्थानीय जनताको भनाइ रहेको छ । सो पहिरोका कारण सिङ्गो राजमार्गका पूरै सवारी साधन ठप्प भए । पहिरो हटाउनका लागि राति प्रहरीलाई फोनबाट अनुरोध गरे पनि सुनुवाइ नभएको राजमार्गमा अलपत्र परेका सवारी चालकहरूले बताए । समयमै पहरो पञ्छाउने कार्य नहुँदा राजमार्गमा दसौँ किलोमिटर लामो सवारी जाममा परेका छन् र अर्को विपत्तिको खतरा देखिएको छ । त्यस्तोमा सरकारले एउटा विज्ञप्ति निकाल्ने बाहेक थप संवेदनशीलता देखाउन सकेको छैन, विपत्तिमा परेकाको उद्धार कार्यलाई तिव्रता दिन जरूरी कदम चालेको छैन । न त मन्त्री र नेताहरू उद्धार राहत कार्यमा जुटेका देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *