नेपाली जनताले युद्धको विरोध गर्नु जरुरी छ
- आश्विन २६, २०८१
काठमाडौँ, १३ असोज । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भूगर्भशास्त्रीहरूका अनुसार काठमाडौँ उपत्यकाको जमिन खँदिलो र बलियो नभएको हुँदा धेरै संरचना थेग्न नसक्ने बताउनुभयो ।
“सङ्घीय राजधानी पश्चिम नेपालको दाङमा सारेर देशको सन्तुलित विकास गर्नु जरूरी छ । यसले मात्र काठमाडौँको बस्ती सुरक्षित गर्नेछ । नेपालको नदी नाला र जलविद्युत् भारतीय एकाधिकार पुँजीलाई दिनु हुँदैन । दिइएका नदी नाला र जलविद्युत् परियोजना फिर्ता लिनु आवश्यक छ”, सांसद सुवालले जोड दिनुभयो ।
नेपालका सबै जाति र भाषा संरक्षण गर्न अलग अलग प्रतिष्ठान बनाउनुपर्ने उल्लेख गर्दै सांसद सुवालले स्थानीय भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न स्थानीय तहलाई आवश्यक अधिकार र स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले थप्नुभयो, “संविधानको भावनाअनुसार संसद्ले ऐन बनाएको छैन, भएका ऐन नियम पनि कार्यान्वयन भएको छैन । २०७२ सालको भूकम्पमा क्षति भएको भक्तपुर दरबार क्षेत्रको राष्ट्रिय कलासङ्ग्रहालय भएको मल्लकालीन भवन सिंहध्वाका दरबार अझै पुनःनिर्माण भएको छैन । समयमा पुनःनिर्माण नभए यो सङ्ग्रहालयमा भएको सम्पदाहरूसँगै जनको पनि क्षति हुने खतरा बढ्दो छ ।”
“राणा शासनविरूद्ध नेपाली जनताले सङ्घर्ष गरे । तर, दिल्ली सम्झौतामा राणा, राजा र नेकाको सम्झौता गरी जनतालाई धोका दिइयो । ०४६ सालको आन्दोलनको बेला पनि भारतीय नेताहरू काठमाडौँमा बोल्न आए । यसरी अघोषितरूपमा नेपाललाई साम्राज्यवादी र विस्तारवादीहरूले अप्रत्यक्ष उपनिवेश बनाएका छन्”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
नेपालका कामदारवर्ग मजदुर र किसानहरू राजनीतिकरूपले सचेत भएपछि आफ्नो पार्टी नेपाल मजदुर किसान पार्टी नै हो भनी आउनेछन् । जनताका प्रतिनिधिको आवाजलाई नसुन्ने सरकार प्रजातान्त्रिक हुनेछैन । जनतालाई धोका दिने संसद्वादी नेताहरू नै दोषी छन्, उहाँले भन्नुभयो ।
नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती सम्झौता, नेपाललाई भारतको सुरक्षा छातामा राखेको सन् १९५० को नेपाल–भारत सन्धि, अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज नभएसम्म नेपाल सार्वभौम हुनेछैन, सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।
“सङ्घीयता बलियो बनाउन स्थानीय तहलाई देशको आधा बजेट विनियोजन गर्ने र आवश्यक अधिकार दिनु जरूरी छ । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न विधेयक र सल्लाघारीको नेपाल ट्रस्टको १०८ रोपनी जग्गा माग गर्दै छ । सरकारले सहरी विश्वविद्यालय सञ्चालनको नमुना भक्तपुरबाट सुरू गर्नु जरूरी छ”, सांसद सुवालले थप्नुभयो ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०८१ असोज १० गते गोरखापत्र दैनिकको अनलाइन संस्करणको लागि दिनुभएको अन्तर्वार्ताको सार – सं.)
Leave a Reply